गुमनाम गन्तव्य खोज्ने ‘ट्राभलर’ को कथा – कथालिका

गुमनाम गन्तव्य खोज्ने ‘ट्राभलर’ को कथा

  • यात्राको रोचक किस्सा सुनाउँदै सिर्जना भन्छिन्, ‘से-फोक्सुण्डो पुग्दा मेरो मनमा अनौठो संशय र अनुभूति जन्मियो । त्यहाँ पुगे पछि दिमागमा झट्ट यस्तो कुरा आयो कि अहिले सम्म देशमा कति मान्छे मरिसके। तर, ओहो ! यी मान्छेहरु से-फोक्सुण्डो नपुगेरै मरे है ! मनमा निकै थकथकी लागिरह्यो ।’ 

सिर्जना सिर्जु (२५) धेरैका लागि अलौकिक लाग्छन् । रहर, सौख, सपनाले घुम्नेहरुमा पनि पृथक । ‘भर्जिन गन्तव्यहरु कठिन यात्रा गरेर पहिल्याउने होस् या पत्याउनै मुश्किल घगडान हिमाल, पडाडहरुमा पैदल यात्रा मार्फत पुगेर होस् या स्थानीयलाई पर्यटनमा उत्साहित बनाउने कार्यमा होस् या गाउँले लवजमा यात्रा कथा सुनाएर मन्त्रमुग्ध पार्ने होस् या हिँड्दै मनमोहक दृश्य देखाएर मोहित र अरुलाई फिदा बनाउने कदमले होस् । सिर्जनाको यो साहसिक कर्मले प्रंशसकको ग्राफ दैनिक उकालो लाग्दो छ । यद्यपि, उनी प्रशंसाको भोक, भिड, भाइरल र फ्लोर्स भन्दा पनि आफ्नो निश्चित लक्ष्य, उद्धेश्य केन्द्रित कर्ममै आफूलाई केन्द्रित गरिरहेको बताउँछिन् ।

बच्चैमा पानी सुरु हुने स्थानमा पुग्न चाहन्थिन् सिर्जना
कर्णाली रुकुम पश्चिम कालीभेरी गाउँपालिका–११ कि सिर्जु बच्चा बेलामै कुनै यस्तो ठाउँमा पुग्न चाहन्थे, जहाँबाट पानीको सुरुवात हुन्छ, जहाँबाट नदिको मुहान सुरु हुन्छ । उनले आफ्ना यसबारे सानैमा हजुरबुबालाई जिज्ञासा समेत राखेकी थिइन् । ‘म सानैदेखि जिज्ञासु थिए, पानी कहाँबाट सुरु हुन्छ भनेर सोध्दा हजुरबुबाले कहाँ हो कहाँ भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले म आफै घुम्दै डुल्दै नदि सुरु हुने मुहान सम्म पुगे, बिडम्बना अहिले हजुरबुवा हुनुहुन्न । उहाँ भएको भए सुनाउथे, मैले भेटाए नि भनेर । र लाग्छ, यात्रा साह्रै कष्टकर हुन सक्छ तर नभेटिने र नपुगिने चाही हैन रहेछ ।’

कर्णालीका ‘भर्जिन’ गन्तव्य खोज्दै पैदल यात्रा
अहिले हात हातमा क्यामेरा छन्, व्यक्ति व्यक्तिका मिडिया, युट्युव,अनलाइन छन् । यात्रा गर्ने, भ्लग बनाउने संख्या पनि बग्रेल्ती छन् । अर्को भाषामा भन्दा युट्युव, टिकटकमा भिडियो खिचेर हाल्नेहरुको बाढी छ । यो समयको बाढीमा सतही विषय उठान, सस्तो लोकप्रियताको होड छ । तर, यही समयमा यस्ता पात्र पनि आए, जसले गम्भिर र गहन रुपमा गुमनाम गन्तव्य स्थलहरुको खोजी मात्र गरेनन्, त्यसको यथेष्ट प्रचार र प्रवद्र्धनमा पनि सशक्त भूमिका निभाए । तीनै निकै कम पात्र मध्येको एक हुन् सिर्जना सिजु ।

सिर्जना कर्णालीका कुनाकन्दरा पुगेर भर्जिन गन्तव्यको पहिचान र प्रवद्र्धन गरिरहेकी छिन् । सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोल्पा लगायतका दुर्गम गाउँ वस्ती, हिमाल, पहाड सेरोफेरो उनले पैताला मार्फत नापिसकेकी छिन् । उनी यस्तो ठाउँ र गन्तव्यमा जान्छिन् र जान चाहन्छिन्, जहाँ पहिले सायदै मानिसहरु गएका होउन् ।

जुम्लाको गोठीचौर गाउँपालिका-१ मा पर्ने दुध कुण्डली र आकाशे ताल । जुन ४६०० मिटरको उचाईमा पर्छ । यो तालमा सिर्जना केही स्थानीय साथ पुगेनन् मात्रै, ताललाई पहिलो पटक विश्व समुदाय माझ परिचित गराए । यति मात्रै होइन, अहिले सम्म बेनामी रहेको तालको नामाकरण समेत गरेर फर्किए । मौसम खुलेको बेला ताल निलो आकाशे रङ्ग जस्तै देखिने रहेछ । तिब्बतियन भाषामा यसलाई माहोङ् नाम्छो भनिन्ने रहेछ । ’नाम्ं’ भनेको आकाश र ’छो’ भनेको ताल हो । त्यसैले यसलाई सिर्जना सहितको टिमले आकाशे ताल राखेर फर्किएको यात्रामा सहभागी भाष्कर बस्नेत बताउँछन् ।

कुनै कुनै यात्रा र गन्तव्य यस्तो हुन्छन्, जसले मानिसलाई आफू हो भन्ने कुरा नै बिसाईदिने गरेको सिर्जु बताउँछिन् । डोल्पाको जगतुल्ला ताल पुग्दा उनलाई यस्तो आभाष भयो । जगदुल्ला ताल डोल्पा जिल्लाको जगदुल्ला नगरपालिकामा ४७०० मिटरको उचाइमा अवस्थित छ । यो एक तीर्थस्थल हो ।

  • लोकसेवाको दोस्रो परीक्षामा लिखितमा पास भइन् । अन्तरवार्तामा फालिए । चरम निराशाले महिना दिन बढी कोठामै कैद भएर बसिन् । पछि अर्को अवसरले प्रतिक्षा गरिरहेको निश्कर्ष सहित हेप्पीली ब्याक भए ।

सिर्जु पुगेर आम मानिसका बिच ल्याएको अर्को आकर्षक गन्तव्य स्थल हो युलसा ताल । जुम्ला जिल्लाको गोटीचौर नगरपालिकामा ४२०० मिटरको उचाइमा अवस्थित छ । युल्सा ट्रेक एउटा ‘भर्जिन ट्रेल’ हो । जसले मानिसहरूको जीवनशैली, प्रकृति, संस्कृति तथा पतासरासी, मौरे ताल, भङ्गा ला पास आदि चुचुराको असाधारण दृश्य अवलोकन गर्न पाइन्छ ।

‘बाटो बिराएर सधैं गलत ठाउँमा पुगिन्छ भन्ने छैन’, सिर्जना भन्छिन्, ‘कहिलेकाही बाटो बिराएर पनि फरक तर सही गन्तव्यमा पुगिन्छ ।’ रोल्पा जिल्लाको पश्चिमी भागमा अवस्थित तिलाचन तालमा पुग्दा लुकेको स्वर्गमा पुगेको अनुभूति भएको सिर्जु बताउँछिन् । यो धेरै उचाईमा अवस्थित छ, जहाँ मानिसहरू आफ्नो गाइ वस्तु चराउन जान्छन् । यस तालको सुन्दरताको शब्दले मात्रै बर्णन गर्दा अन्याय हुने बताउँछिन् सिजु ।

३६०० मिटर उचाईको जुम्लाको चिमरा मालिका होस् या उत्तरपश्चिमी गोठीचौर या अरु यस्तै सुन्दर पर्यटकीय सम्भावना बोकेका गन्तव्य स्थलहरु । जसले कर्णाली विकट र अभावग्रस्त छ भन्ने मानक बदल्न उत्प्रेरित गर्ने सिर्जना बताउँछिन् । ‘एक जोडा आँखाले एकै समयमा प्रकृतिको चारै दिशा हेर्न असम्भव छ । यहाँ पृथक रंगी विरंगी संसार छ,’ उनी थप्छन्, ‘यहाँ आएर कर्णालीको प्राकृतिक सुन्दरता हेर्न सकिएला, जति घुमेर हे¥यो, त्यति बुझ्न कठिन लाग्ने छ ।’

कर्णाली प्रदेशको अधिकांश भूभाग पहाडै पहाड भएकाले साहसिक गन्तव्य खोज्नेहरुलाई अफ बीट ट्रेकिङ ट्रेल, व्हाइट वाटर ¥याफ्टिङ, जुम्ला, सुर्खेत, दैलेखमा आध्यात्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका क्षेत्र, उच्च पहाडी हिमाली क्षेत्रमा औषधीय गुण भएका जडिबुटीले सम्भावना नै सम्भावना देखेको उनी बताउँछिन् ।

‘रहर र सपनाको कुनै जेण्डर हुँदैन’

सिर्जना भर्खरको युवती, हेर्दा पनि उस्तै आकर्षक । बोलि व्यवहारमा उस्तै सरल । उनी महिनौ दिन सम्मको दुरदराज, अपरिचित, सुनसान बस्ती, घना जंगलहरुमा एकल यात्रा गर्छिन् । धेरैलाई लाग्छ, एक पैदल यात्रु, त्यसमा पनि महिला ट्राभलरका दुःख, समस्या, चुनौती अझ बढी होलान् । लैंगिकता, यौनका विषयमा शहरका युवतीहरु समेत असुरक्षित भइरहेको चर्चाका बिच उनी कसरी एक्लै यात्रा गर्न सकेकी होलिन् ? के उनलाई यात्रामा यस्तो कुनै लैंगिक र यौनजन्य, दुव्र्यवहार भएको छ ? प्रत्यक्ष अनि फेसबुक, टिकटक, युट्युवमा बग्रेल्ती प्रश्न आउँछन्, यसको जवाफमा सिर्जु प्रतिप्रश्न सहित भन्छिन्, ‘रहर, सपना लैंगिक आधारमा त देख्ने होइन नि । पुरुषले देख्ने सपना र महिलाले देख्ने सपना फरक नै हुनुपर्छ भन्ने सोच संकिर्णताको उपज हो । रहर र सपनाको पनि लैंगिकता (जेण्डर) हुन्छ र ? हामी सबै मान्छे हौ भनेर सोच्यौ भने यसको उत्तर काफी हुन्छ ।’

हरेक यात्रीलाई सिंगो पृथ्वी नै एउटा घर जस्तो लाग्छ । तर, दुरदराजका गाउँहरु पुग्दा, छोरी मान्छे एक्लै देख्दा गाउँलेले अचम्म मान्छन् । घरबाट कसरी छोड्दिनु भएको ? एक्लै किन हिँड्नुभएको ? भनेर सोध्ने धेरै छन् । ‘मैले आफ्नो तर्फबाट उहाँहरुलाई बुझाउँछु, बुझाउनु पर्छ । एक साँझ एक गाउँलेले बास नदिने भने । पछि आफ्नो यात्रा, सोच, लक्ष्यबारे बताए पछि बास मात्रै दिएनन्, भोलिपल्ट घुमाउन समेत सघाए । पुरानो पुस्तालाई अहिलेको पुस्ताले बुझाउदै जानुपर्छ,’ उनी थप्छिन् ।

पहिलो आफू सही हुनुपर्ने र सही हुँदाको बखतमा कसैले नियतबश गर्ने दुव्र्यवहार भोग्न नपर्ने उनको विश्वास छ । आफू माथि नियतवस केही भइरहेको छ भने त्यस्तो किन भइरहेको छ ? कहिले आफैले आफैलाई प्रश्न गरेर सोच्ने कि ? को मान्छेले कुन नजरले हेर्छ, त्यो धेरै हद सम्म स्वयंम्मा निर्भर हुने उनी बताउँछिन् ।

लोकसेवा जाँच पछि मोडिएको बाटो
सिर्जनासँग पहिलेदेखि नै सिर्जनशील सोच र मन थियो । र सँगैका साथीहरुले पढे भन्दा फरक विषय र बाटो रोजिन्, काठमाडौं फरेस्ट्री कलेजमा पढ्न थालिन् । तीन वर्षे डिप्लोमा कोर्स सके पछि रुकुम फर्किइन् । कोरोनाकालको जटिलता थपिदै गयो । यसक्रममा उनले लोकसेवा परीक्षाको तयारी गरिन् । पहिलो परीक्षामा फेल भइन्। दोस्रो पटक फेरी कडा मेहेनतका साथ जाँच दिइन् । लिखित परीक्षामा उत्तिर्ण भइन् । लिखित पछि अन्तरवार्तामा सिर्जना सफल भइनन् अर्थात् प्रतिस्पर्धी भन्दा केही पछि परे ।

यो विषयले उनलाई निकै दुखित तुल्यायो । मेहेनतको फल नपाएको निश्कर्षले महिना दिन सम्म आफूलाई कोठामै कैद गरे । लोकसेवाको दोस्रो प्रयासको अन्तरवार्तामा बिफल भए पछि जीवनमा एक किसिमको फष्टेसनमा पुगेको सिर्जना बताउँछिन् । तर, पछि भने विस्तारै आफूलाई नयाँ ढंगले फरक सोच सहित अघि बढ्ने निर्णयमा उभ्याइन् । ‘लोकसेवाको परीक्षा, सरकारी जागिरमा म फिट रहेनछु भन्ने सोँच्न थाले, युट्युव धेरै हेर्न थाले, त्यसमा पनि सकारात्मक सोच, धेरै त ट्राभलकै भिडियोहरु हेरे,’ उनले भनिन्, ‘मलाई कुनै अवसरले प्रतिक्षा गरिरहेको छु, त्यो खोज्छु र भेट्छु भन्ने अठोट राख्न थाले, अन्ततः हेप्पीली ब्याक भए ।’

त्यसको केही समय पछि यात्रामा निस्किन थालेको उनले बताइन् । यात्रा गर्दै जाँदाको अनेकन अध्ययन, अनुभवले समाज, प्रकृति, पर्यावरण र पर्यटनका क्षेत्रमा अझ गम्भिर र समर्पित भएर काम गर्न उत्प्रेरित गरेको उनको भनाई छ । यात्रा सँगसँगै काठमाडौं कलेजमै अध्ययन अघि बढाइरहेकी उनी अहिले परीक्षा दिने तयारीमा छिन् ।

वर्तमानमा मज्जाले बाँच्ने, भविष्य नसोच्ने 
विषयवस्तुको खोज र यात्राका हिसाबले अहिले युट्युव र ट्राभलरमा हिट सिजु अब के ट्राभलर नै बन्ने सोचमा छिन् त ? बाँकी दैनिकी र भविष्य कसरी बिताउने ? सरल रुपमा सिजु भन्छिन्, ‘वर्तमानमा मज्जाले बाँच्नुपर्छ । कडा मेहेनेत गनुपर्छ भन्ने सोच्छु, म भविष्य नै सोचिहाल्ने मान्छे होइन । सोचेको छैन ।’

घुमेर के पाइन्छ ? यसको जवाफमा उनी भन्छिन्, ‘खोई मलाई थाहा छैन तर, गुमाउने र पाउने कुरा बिच नै आँफु भित्र बिवाद चल्यो भने त गुमाएको धेरै याद हुन्छ, पाएको त पत्तै हुँदैन, गुुमाएको कुरा बिर्सेर पाएको कुरा अँगाल्न सक्नु पर्छ ।’

घुमे पछि संसार आफ्नो हुन्छ । यसका लागि तपाई स्वयंम्को व्यवहार निर्भर हुन्छ । यात्रा गर्न, घुम्न पैसा छैन भन्नु पनि बाहनाबाजी बकबास मात्र भएको उनको टिप्पणी छ । ‘यदि घुम्ने इच्छा शक्ति छ भने समय, पैसा सेकेण्डरी कुरा हो, नत्र त्यो केबल बहानाबाजी मात्रै हो,’ सिर्जु भन्छिन्, ‘अहिले म यति धेरै यात्रा गर्छु, धेरै भएर खर्च गर्न हिँडेको हैन, एक हजार, १५ सय रुपैयाँले पनि काफी यात्रा गरेको छु ।’

घुम्नु स्वयंम्लाई चिन्ने, प्रकृति र देश बुझ्ने अवसर
आजको समयमा पनि कैयनलाई लाग्छ, घुम्नु भनेको समय बर्बादी मात्रै हो । तर, त्यसले घुम्नुबारेको निम्न चेतनास्तरलाई झल्काउने सिर्जनाको कथन छ । घुम्नुमा अनेक अवसर छ । घुम्नु भनेको आफुलाई चिन्नु हो, समाज र प्रकृतिलाई बुझ्ने अवसर हो, ‘हामी कति कुराले दुःखी छौ । म्ोरो घर भएन, सफल भएन, पैसा कमाएन, गाडी भएन भन्ने जस्तो लाग्छ । खुशी यसमा मात्र छैन । कति कुना कन्दरामा खुसी, आनन्द र सन्तृष्टि छन् । जहाँ अपेक्षा छैन मान्छेका । अभाव, दुःख छ र पनि खुसी साथ बाँचिरहेका मानिसहरु देखेर हाम्रा आफ्ना दुःखहरु दुर हुन्छन् ।’

उनी यात्रामा भोग्ने कष्टप्रद क्षणलाई दुःख भन्न रुचाउँदैनन् । त्यो त एक भोगाई र सिकाई हो । यात्राले देखावटी दुनियाँ भन्दा बाहिरको खुसीलाई नजिकबाट महुशुस गर्ने अवसर दिने उनी बताउँछिन् । युट्युवरको भिडमा आए पनि आफूलाई भाइरल, पपुलर बन्ने मोह कत्ति नभएको उनको दावी छ । ‘म त २०० लाइक, सस्क्राइव हुँदा पनि त्यही इच्छा शक्तिका साथ काम गरे । अस्वभाविक रुपमा कहिले खुसी पनि भएन, दुःखी पनि हुन छोडे । मैले गरेको कामहरुमा मेहेनेत हुनुपर्छ, सबैले चिनोस् भन्दा पनि आफुले गरेको काममा स्वयंलाई आनन्द मिल्नुपर्छ भन्ने सोच्छु,’ उनले भने ।

कर्णाली नेचर, कल्चर, रेञ्ज, रहनसहन, खानपान हरेक हिसाबले विशेष रहेको उनको अनुभव छ । यात्राको रोचक किस्सा सुनाउँदै सिर्जनाले भन्छिन्, ‘से-फोक्सुण्डो पुग्दा मेरो मनमा अनौठो संशय र अनुभूति जन्मियो । त्यहाँ पुगे पछि सोचे कि अहिले सम्म देशमा कति मान्छे मरिसके। तर, ओहो ! यी मान्छेहरु से-फोक्सुण्डो नपुगेरै मरे है ! मनमा निकै थकथकी लागिरह्यो ।’

र अन्त्यमा, सिजुको यात्रा भिडियो हेरेपछि भुपाल वलीले भनेका छन्–‘छोरी हामी खुसी छौ तिम्रो मेहेनत प्रति । दुःख, कष्ट देखेर चिन्ता पनि लाग्छ । यात्रामा थकान त लाग्छ होला तर, कहिले नथाक्नु शुभकामना ।’ उस्तै निश्चल र अर्गानिक शुभकामना हाम्रो पनि सिर्जना सिजुलाई थप सुखद र सिर्जनशील जीवन यात्राका लागि ।

 

२०७९, २२ श्रावण आईतवार ०९:०१
कथालिका नयाँ कथा
कथालिका