खोचमा एक सुन्दर सोचले कायापलट – कथालिका

खोचमा एक सुन्दर सोचले कायापलट

भिर थियो, पाखा थियो । डरलाग्दा खोच थियो । सीमाना जोडिएर पनि एक जिल्लाबाट अर्को जिल्ला जान, एक बस्तीबाट अर्को बस्तीमा पुग्न निकै सकस । कालीगण्डकीको गडगडाहट, घना जंगलको बिचबाट बडो सन्त्रासका बाबजुद हर दिने उकाली ओराली, ओहोर दोहोर गर्नुपर्ने स्थानीयको बिबशता । जहाँ सम्भावना र अवसर देखिन्नथ्यो । देखिन्थ्यो केवल अत्यास लाग्दा दुःख र सकसपूर्ण दृश्य, मुख थुन्नुपर्ने कडा दुर्गन्ध । अनि सुन्नुपथ्र्यो उराठ लाग्दा, आशा बिहिन संवाद । यहाँका अधिक मान्छेहरुलाई यी सबै देख्दा, सुन्दा र हेर्दा लाग्थ्यो कि यस ठाउँमा जन्मिनु या बस्न बाध्य हुनु एक किसिमको दुर्भाग्य हो ।

तर, पछिल्लो एक दशक यता पर्वतमा पर्यटन र पूर्वाधारका क्षेत्रमा ठोस पहल भए । स्थानीयको सकसपूर्ण दैनिकीमा पनि टेवा दिने गरी चौतर्फी अग्ला, लामा झोलुंगे पुलहरु पर्वत उद्योग बाणिज्य संघ र स्थानीय अगुवाको अग्रसरतामा निर्माण भए । सघं नै प्रवद्र्धक भएर यान्त्रिक पुल बने पछि यसले विस्तारै मानिसहरुको ध्यान खिच्दै थियो ।

यही अनुक्रममा ७ वर्ष अगाडि एक युवाको पर्वतमा पहिलो पटक पाइला प¥यो । भोटेकेसी नदीमा बञ्जी गराएको अनुभव बोकेर नयाँ सम्भावनाको हुटहुटीमा रहेका राजु कार्कीको आगमन पर्वत र बागलुङ जिल्लाका लागि कोशेढुंगा बन्यो । एक युवाको स्वर्णिम गन्तव्य बनाउन सकिने सुन्दर सोच र परिकल्पनाले छोटो समयमै साकार रुप लियो । यसले समग्र धौलागिरी क्षेत्र र गण्डकी प्रदेशमै पर्यटन र व्यावसायिक रुपमा उल्लेख्य उभार ल्यायो ।

भोटेकोशी, फ्रान्स हुँदै पर्वत आएका राजु
राजु कार्की सिन्धुपाल्चोकमा जन्मि हुर्किएका हुन् । भोटेकोशीको द लास्ट रिसोर्टमा क्रु को रुपमा उनले पाँच वर्ष काम गरे । यसक्रममा उनले साहसिक खेल बञ्जी, स्वीइङ र क्यानोइङ गराए । त्यसपछि भने सायद अरु आम युवाहरुमा जस्तै उनमा पनि विदेशको भुत सवार भयो र, फ्रास हानिए ।

युरोपको तीन वर्ष बसाइँ पश्चात पुनः नेपाल फर्किए । नेपाल फर्किदा कार्कीसँग देशमै केही गर्ने हुटहुटी अझ बढेको थियो । साहसिक खेलको सम्भाव्यता बोकेका स्थल सोच्न र खोज्न थाले । त्यही क्रममा पर्वतको निर्माणाधीन विश्वकै सबै भन्दा लामो दाबी गरिएको कुश्मा-बलेवा- कैया पुल अध्ययन गर्न पुगे । सुरुवातमा त सोही सार्वजनिक पुलको प्रयोग गरेर बञ्जी सुरु गर्ने योजना बनाए । तर, यो प्रयास बिफल बन्यो ।

सुरुवाती दुई वर्षको प्रयास बिफल
बञ्जी भनेको डाँडाकाडाँ, खोचहरुमा गर्ने हो । यस्तो सम्भाव्य ठाउँहरुको खोजिमा थियौ । अनि पर्वत-बागलुङ जोड्ने ठाउँमा छ रे भन्ने सुन्यौ । त्यसपछि स्थलगत अध्ययनमा आएको कार्की बताउँछन् । यहाँ आएर हेरेर उपर्युक्त लागे पछि आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाई छ । यसका लागि कार्की सम्बन्धित मन्त्रालयदेखि कार्यालयहरुमा कैयन पटक धाए । यसरी नै दुई वर्ष बित्यो ।

‘पहिले पर्वत कुश्मा र बागलुङको कैया बलेवा जोड्ने सार्वजनिक पुलबाटै गराउने भन्ने थियो । सोही सोचले पुलमा यात्रा गर्नेलाई डिस्टर्ब नहोस् भन्ने हिसाबले काम अघि बढाइरहेका थियौ । यसमा कागजी,कानुनी प्रक्रिया अघि बढायौ । जसमा दुई वर्ष व्यतित पनि ग¥यौ,’ उनले भने, ‘सार्वजनिक पुल भएकाले जुनसुकै बेला बन्द या अवरोध गर्न सक्ने अवस्था देख्यौ, कम्पनी लगानी सुरक्षित हुने अवस्था नदेखे पछि अरु विकल्पको खोजीमा लाग्यौ । र अहिले भइरहेको स्थान छनोट ग¥यौ । आफै पुल बनाएर सुरुवात गरेका हौ ।’ यसमा उनलाई आफ्नै जीवन संगिनी फ्लोरेन्स कार्कीका साथै स्थानीय युवराज जोशी, नेत्र पराजुली, नवराज शर्मा, राजन जोशी लगायतले दरिलो साथ र आड भरोसा दिए ।

पहिलेको त्यो दिसा गर्ने, बाँदर हिँड्ने भिर
यस क्षेत्रमा अहिले जे जस्तो पर्यटकीय पूर्वाधार र व्यावसायिक चहल पहल छ । ७ वर्ष अघि फर्किएर हेर्ने हो भने चामत्कारिक लाग्छ अहिलेको पूर्वाधार र प्रगति । पर्वत र बागलुङ तर्फको दुवै पट्टिको भेग पिछडिएको ठाउँ थियो । दुवै तर्फ दिसा पिसाव गर्थे । उपेक्षित खोँच थियो । भिरहरुमा बाँदर मात्र हिँड्थ्यो । खेतिपाती केही गरिएको थिएन । अलि अलि घाँसहरु काट्थे । कठिन भिर र खोँच भएकाले सुरुवातमा संरचना बनाउँदा पनि निकै सकस बेहोर्नु परेको कार्की बताउँछन् । हिलैहिलो, माटैमाटो गाडी फस्नेदेखि पुलको लठो नदीमा खस्ने सम्मको धेरै हैरानी खेपेको उनले सुनाए ।

त्यतिबेला दिसा पिसाब गर्ने स्थल, बाँदर हिँड्ने भिर आसपास अहिले पुरै पर्यटकीय पूर्वाधार र व्यापार व्यवसायले भरिएका छन् । त्यस समयमा बञ्जी बनेको क्षेत्रमा एउटा सानो छाप्रो मात्र थियो । अहिले अप्ठ्यारा जंघार लाग्ने भिरपाखा खोपेर समेत व्यवसाय खडा गरिएको छ । यो क्षेत्र ७ वर्ष अघि र अहिले हेर्दा राम्रो भिजन र सकारात्मक सोच भए यति छिट्टै ठुलो परिवर्तनको उभार आउन सक्ने प्रत्यक्ष अनुभव गर्दा पृथक अनुभूति भइरहेको कार्की बताउँछन् ।

हामी भिजन सहित आएका थियौ । यस ठाउँलाई ‘टुरिजम हब’ बनाउने सोच बोकेर आएको हो । बागलुङ कालिका, मुस्ताङ जाने पर्यटकहरुको राम्रो लहड थियो । पोखरामा पनि चाइनिज र भारतिय पर्यटकहरुको निकै चहल पहल थियो । यस क्षेत्रलाई मानिसहरुले ट्रान्जिटको रुपमा मात्र प्रयोग गर्थे । कोही पनि नबस्ने, यसो छिर्ने मात्र प्रचलन थियो । ‘यसमा हामीले बागलुङ कालिका, मुस्ताङ पुग्ने पर्यटकलाई आकर्षित गर्न सक्यौ भने पनि त्यसले हाम्रो सपनाले साकार रुप लिन्छ भन्ने लागेको थियो । हामी नेपालमै भएको भन्दा पनि केही फरक गर्नु पर्छ भनेर लागेका थियौ,’ उनले भने । द क्लिफ प्रालि मार्फत अनेकन साहसिक तथा रमाइला खेलहरु खेल्ने स्थल र अवसर छ । जहाँ ८४ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

बञ्जी किन गर्ने ?
बञ्जी गर्दा कति जिब्रो काड्छन् त कति स्वर्णिम संसारको अनुभूति गर्छन् । बञ्जी एक पृथक अनुभव हो । यो जो कोहीले गर्न सक्दैन, गरिहाल्ने विषय होइन । यतिको उचाईबाट हाम फाल्ने विषय सामान्य होइन ।

बञ्जीमा हाम फाल्दा डर कति लाग्छ त ? हुन त पहिलो देखेर, सोचेर माइन्डमेक अप गरेर आएको हुन्छ । पुल सम्म आउँदा पनि सामान्य नै लाग्छ । तर, जब हार्नेस लगाएर एजमा जान्छौ, त्यतिबेला चाहीँ डरको महसुुस बढी हुन्छ । यसले आफ्नो स्वास्थ्य, शक्तिको परीक्षण हुने र व्यक्तिगत रुपमा आत्मविश्वास अभिवृद्धिमा टेवा पुग्ने उनको अनुभव छ । ‘अहिलेको पुस्तामा युवाहरुमा आफू बहादुर छु, साहसिक छु भन्ने परीक्षण पनि हो । अर्को तर्फ अहिले सामाजिक सञ्जालमा युवाहरु कसरी फरक देखिने भन्ने होड छ,’ द क्लिफका कार्यकारी प्रमुख इश्वर श्रेष्ठ भन्छन्।

बञ्जीमा जोखिम उच्च हुन्छ । यद्यपि, क्लिफसँग व्यावसायिक टिम भएको उनको दाबी छ । नेपालकै पहिलो बञ्जी मास्टर प्रकाश प्रधानको नेतृत्वमा सञ्चालित छ । बञ्जी, स्वीइङ भन्ने बित्तिकै हाइटको कुरा आउँछ । यहाँको सबै कुराले साहसिक र रोमाञ्चित बनाउँछ ।

निर्माणकै क्रममा डिप्रेशनको अवस्था सम्म पुगेको त्यो क्षण
धेरै मानिसहरुले सफलता भए पछि त्यही सफलता मात्र हेर्छन्, देख्छन् । आहा ! भन्छन् तर, यसका पछाडिको दुःख, दर्द, हण्डर र मेहेनत हेर्दैनन् ।

सुरुवाती संघर्षका दिन निकै दुःखका थिए । उद्धेश्य नौलो थियो । आफ्नै बुद्धि विवेकले नयाँपन दिने गरी गर्दा गाह्रो भयो । धेरै हण्डर ठक्कर खायौ । एकै थलोमा ६ वर्ष लगाएर योजना अघि बढाए पनि ठोस परिणाम नदेखिदाँ मनमा खिन्नता मात्रै होइन, केही समय त चरम निराशाले डिप्रेशनको अवस्था सम्म पनि पुगेको कार्की बताउँछन् ।

‘अहिले देख्दा चल्यो, चहल पहल छ । तर, आजको दिन र अवस्थामा आउन सहज बाटो थिएन । यसको दुःख कठिनाई प्रोजेक्ट गर्ने मान्छेलाई मात्र थाहा छ । एक समय त बिचमै छोडेर जाउँ जस्तो पनि भयो, फेरि नयाँ आँट र अठोट लिएर अघि बढ्यौ,’ उनी भन्छन्, ‘सञ्चालनमा आएको एक वर्ष केही बढी मात्र भयो, संघर्ष दुःखमय भए पनि अहिले जे जस्तो चहल पहल, आकर्षण छ, धेरै टाढा टाढाबाट मानिसहरु आउँदा र उहाँहरुलाई सेवा दिन पाउँदा चाही निकै खुसी छौ, पवित्र लक्ष्य बोकेर दृढ अठोटका साथ हिँडिरहे गन्तव्य र सफलता ढिलै भए पनि प्राप्त हुँदो रहेछ ।’

कुश्मा बजार चलायमान, पोखरा पनि लाभान्वित
पर्वत कुश्माको बञ्जी साइड (जहाँ पहिले बाँदर हिँड्थ्यो, मानिसहरु दिशा पिसाव गर्थे, सुनसान थियो) अहिले पुरै रेष्टुरेन्टले भरिभराउ छन् । मध्यरात सम्म आगन्तुकहरुको चहल पहल, व्यापार पनि उस्तै हुने गरेको छ । अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु साहसिक खेलमा रमाउन पर्वत पुग्ने र पोखरामा बास बस्ने योजनाका साथ अधिक आउने गरेका छन् । जसका कारण पर्वत र बागलुङका साथै पर्यटकीय सहर गण्डकी प्रदेशको राजधानी पोखरालाई थप चलायमान बनाउन पनि बञ्जी र यससँगै तयार गरिएका अरु साहसिक खेल र आकर्षणले महत्वपूर्ण टेवा पुग्ने द क्लिफका कार्यकारी प्रमुख इश्वर श्रेष्ठ बताउँछन् ।

‘बञ्जीले स्थानीयलाई लगानी गर्न हौसाएको छ’
पर्वत उद्योग बाणिज्य सघंका अध्यक्ष गोपी अधिकारी बञ्जी लगायतको पर्यटनमैत्री पूर्वाधारले पर्वतलाई नयाँ आयाम दिएको बताउँछन् । ‘पहिले पर्वत जिल्ला भनेको बागलुङ, म्याग्दी भन्दा पनि कति टाढा हो भनेर सोध्ने अवस्था थियो, यति सानो जिल्लामा करोडौं लगानीको संरचना, पूर्वाधार खडा गर्ने कार्य ठुलो जोखिमपूर्ण कदम थियो, यद्यपि त्यसले क्रमशः सम्बन्धित कम्पनीलाई मात्र नभई पर्वत र यस क्षेत्रको पर्यटन र व्यवसायमा नै कायापलट ल्याउन भूमिका खेलिरहेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘नेपाली मात्र होइन, विदेशी पर्यटक पनि भित्रिन थालेका छन्, यसले कुश्मा आउन नचाहने कुनै घर परिवार र व्यक्ति सायदै होलान्, सिजनमा त होटल प्याक नहुने, टिकट पाउन पनि मुश्किल अवस्था छ, यसले हामी सबैलाई व्यापार व्यवसाय, पर्यटनमा थप लगानी गर्न हौसाएको छ ।’

पर्यटकलाई प्रयाप्त सेवा सुविधा पुग्ने स्तरिय होटल र राम्रो बास नपाएर पोखरा फर्केर बस्नुपर्ने बाध्यता रहेकाले सुविधा सम्पन्न होटल निर्माणको तयारीमा लागेको उनले सुनाए । ‘पर्वत पोखरा पछि राम्रो सम्भावना बोकेको पर्यटकीय नगरीको रुपमा विकास भइरहेको छ,’ अधिकारीले थपे, ‘अब पोखरा आउने पर्यटक, मुस्ताङ पुग्ने पर्यटकको अनिवार्य गन्तव्य पर्वत बनाउन बञ्जी लगायतको पूर्वाधार छ, अरु बहुउद्धेश्यीय सभा हल लगायतका पूर्वाधार पनि निर्माण गर्न पहल गरिरहेका छौ ।

नेपालमा होइन, अन्तर्राष्टिय प्रतिस्पर्धाको लक्ष्य
अहिले त बञ्जी गर्ने गराउनेको लहड छ । द क्लिफको स्वीङ विश्वकै अग्लो र बञ्जी विश्वकै दोस्रो अग्लो हो । जहाँबाट बञ्जी गर्छौ, त्यो एशियाकै नमुना पुल हो । यस्तो गतिविधि गर्नका लागि खोँच चाहिने हो, भिर चाहिने हो, त्यो यहाँ माथिदेखि तल सम्म प्रयाप्त छ । अहिले सम्म यथोचित प्रचार प्रसार गर्न नसके पनि राम्रै उपस्थिति र आकर्षण छ । भोलिका दिनमा अफर गर्ने सर्भिस पनि आफ्नो छँदैछ, प्रकृतिको सुन्दरतालाई पनि प्रवद्र्धन गर्ने गरी अघि बढ्नेछौ ।

लागत र समय भन्ने कुरा नेपालमा सोचे अनुरुप नहुँदो रहेछ । सुरुमा १६ करोड लागतमा सक्ने लागत अनुमान र योजना थियो । अहिले त ३६ करोड लागत पुगिसक्यो । अझै पनि लगानी थप्ने क्रम जारी रहेको कार्की बताउँछन् ।

नेपालमा प्रतिस्पर्धा होइन, अन्तर्राष्ट्रिय एडभेन्चर हबसँग प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ अघि बढिरहेको कार्की बताउँछन् । जस्तै हार्ड, क्रेजी बिज्र लगायत बालीको भन्दा अझ राम्रो बनाउने, भविष्यमा अझ युनिक कुरा राखेर आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गर्ने सोच क्लिफको छ । ‘जसले गर्दा पोखराको नाइट स्टे पनि बढोस् । धौलागिरी क्षेत्रको पनि राम्रो विकास, पर्यटन प्रवद्र्धन होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।

२०७९, ३१ श्रावण मंगलवार ०४:४४
कथालिका नयाँ कथा
कथालिका