डेरा खोज्न पनि ‘दलाल’ – कथालिका

डेरा खोज्न पनि ‘दलाल’

  • काठमाडौं महानगरभित्र मात्र सरदरमा १ लाख ५३ हजार घरहरु छ । काठमाडौं महानगरपालिकामा कार्यरत सहरी विकास विभाग निर्देशक सुरज शाक्यका अनुसार यो यहाँको क्षेत्रफलले धान्ने भन्दा बढी घरहरुको संख्या हो । र पनि बाहिरबाट आएका नागरिकलाई किन डेरा पाउनै मुश्किल छ ?

काठमाडौं भविष्य खोज्न आउनेहरुका लागि अवसरको सहर मात्रै होइन, बेथितिका अनेक जञ्जालले बेरिएको सकसको सहर पनि हो । यदि तपाई काठमाडौंलाई कर्मथलो बनाउँदै हुनुहुन्छ भने सुरुवातमै गहिरो सकस, ठगी र उपेक्षाको महुशुस गर्नुहुनेछ डेराको खोजीमै । पैसा तिरेर बस्ने घर, कोठा पाउन पनि निकै मुश्किल छ काठमाडौंमा । यहाँ आएर डेरा खोज्ने धेरैलाई यस्तो लाग्छ, काठमाण्डु गरिखानेको ठाउँ मात्र होइन, अनेक धन्दा चलाएर ठगी खानेहरुको बिगबिगी भएको ठाउँ हो । सामान्य मानिस काठमाण्डौका घरभेटीसँग सिधा संवाद गर्ने अवसर निकै कम हुन्छ । यदि सम्भव भइहाले पनि अनेकन शर्त र लोकसेवामा जस्तो सोधिने प्रश्नले आजित र निराश तुल्याउँछ ।

आखिर यस्तो किन छ ?
फेरि काठमाडांंै उपत्यकामा करोडौं, अरबौ रुपैयाँका अनगिन्ती संख्यामा गगनचुम्बी महल र घरहरु छन् । काठमाडौं महानगरपालिकाको पछिल्लो तथ्यांक अनुसार महानगरभित्र मात्र सरदरमा १ लाख ५३ हजार घरहरु छ । काठमाडौं महानगरपालिकामा कार्यरत सहरी विकास विभाग निर्देशक सुरज शाक्यका अनुसार यो यहाँको क्षेत्रफलले धान्ने भन्दा बढी घरहरुको संख्या हो । अब त काठमाडौं महानगरपालिकाभित्र खाली ठाउँको नाममा केही सार्वजनिक स्थल (पार्क र पोखरी क्षेत्र)हरु मात्र बाँकी छन् ।

र पनि बाहिरबाट आएका नागरिकलाई किन डेरा पाउनै मुश्किल छ त ? मुलुकको संघीय राजधानी, धेरैको रोजीरोटीको सहर, देशबाट परदेश भएर जानेहरुको लर्को पनि यही । यी लगायतका कारण काठमाडौंमा डेरा पाउन ठुलै पापड पेल्नुपर्ने बाध्यता छ । कतिपय देशमा सरकारले नै डेरा व्यवस्थापनका लागि एजेण्टलाई नै जिम्मा दिने प्रचलन छ । तर, नेपालमा नागरिक दैनिक ठगिरहेको समस्यालाई ध्यानमा राखेर प्रभावकारी अनुगमन गर्ने, नियम, कानुन बनाएर व्यवस्थित गर्ने दायित्व बोकेको राज्य सत्ता स्वार्थकै भुलभुलैयामा छ । राज्य र यसका निकाय निरिह नहुँदा बिचौलियाले मनपरी गर्ने मौका पाइरहेका छन् ।

डेरामा दैनिक ठगिन्छन् नागरिक
लोकप्रिय कलाकार स्तुपा कार्की समेत डेरा खोज्ने क्रममा ठगिइन् । उनले आफुलाई डेरा चाहिएकाले हाम्रो बजारमा देखेको विज्ञापनका आधारमा सम्पर्क गरेर कोठा खोजी गरिदिने शर्तमा मोवाइलबाट ईसेवा मार्फत बिना भट्टराई ढकालको खातामा ५ सय रुपैयाँ पठाइ दिइन् । तर, बिडम्बना त्यसपछि ती महिलाले न डेरा खोजिदिए, न त पैसा फिर्ता नै । बरु पटक पटक फोन हान्दा समेत नउठाएको र पछि स्वीच अफ गरेर राखेको उनको गुनासो थियो । ‘बुबाले पनि अब ठगी त हाल्यो, थप झमेला र तनाब नलेउ छोड्देउ भनेर भन्नुभएको थियो, यो कुरालाई दबाएर राख्न मेरो मनले मान्दै मानेन,’ कार्कीले भनिन्, ‘मेरो ५ सय गयो भनेर चुपचाप लागौ भनेको थिए तर, म जस्तो १० जना मान्छेको ५ सय गयो भने त ५ हजार गयो नि । म जस्तो अरु नठगिउन् भनेर यसलाई सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएको हुँ, मान्छे ठग्न कार्यालय खोलेरै बस्दा समेत सरकार र यसका निकायले अनुगमन र कारबाही गर्न किन सकिरहेको छैन ?’

यसरी खुलेआम ठगिने इस्तु मात्र होइनन्, पहिलो पटक काठमाण्डौं भित्रिएर डेरा खोज्ने र डेरा सर्नेहरुको नियति उस्तै छ । बुद्ध नगर, शंखमुल क्षेत्रमा फल्याट खोज्न एक हजार रुपैयाँ बुझाएकी निरु थापाले कोठा त पाइनन् नै, नराम्रा केही कोठा देखाएर यतिकै पैसा खाइदियो । ‘सुरुमै कोठा हेर्नकै लागि भनेर हजार रुपैयाँ माग्यो, फ्लाट फाइनल भए प्रति कोठा अनुसार ५,५ हजार थप दिनुपर्छ भनेको थियो,’ थापा भन्छिन्, ‘धेरै भौतारिएकाले त्यो शर्त मान्ने कि नमान्ने भन्ने द्धिविधा भयो । यो त नियतवश नै ठगी धन्दा चलाउने काम भयो, म जस्ता त कति ठगिए होलान् ?’
अनामनगर, बबरमहल क्षेत्रमा ५ सय तिरेर कोठा खोजिरहेका ज्योति गुरुङ त्यस क्षेत्रमा पाइने सम्भावना नदेखे पछि बानेश्वर तिर हानिए । त्यहाँ पनि घुम्दै फिर्दै उनी कोठा खोज्ने जिम्मा लिने दलालकै फन्दामा उनी परिन् । उनले कोठा खोज्न सुरुवातमै अर्को एक हजार रुपैयाँ अग्रिम पैसा दिए तर, डेरा पाइनन् । उनको दुई हजार रुपैयाँ यसै गयो ।

ठगका थरिथरिका तरिका

डेरा व्यवस्थापन गर्न विज्ञापन, मध्यस्थकर्ताको भूमिका बिधि प्रक्रिया पुरा गरेर जो कसैले गर्न सक्छन् । निश्चित सेवा शुल्क लिएर काम गर्न गर्न सक्छन् । कैयनले सन्तोषजनक सेवा पनि दिइरहेका छन् । तर, पैसा लिने, सेवा काम भने अनुसार नदिने समस्या र प्रवृत्ति बढ्दो छ । सरकार र सरोकारवालाको बेवास्ताले यो समस्या अहिलेलाई सानो र सामान्य लागे पनि यसले ठगी धन्दालाई ठुलो मलजल पुगिरहेको छ ।

सोझा सोझा गाउँबाट आएका दर्जनौ युवायुवतीहरु ठगिए पनि चुपचाप मौनता साँधेर बस्ने धेरै छन् । सुरुमै कोठा देखाइदिने भन्दै नाम नम्बर राखेर पैसा असुल्छन् । कतिले सुरुमा ५ सय, एक हजार रुपैयाँ लिएर कोठा देखाए पश्चात बस्ने निश्चित भयो भने पनि थप प्रति कोठा २ हजारदेखि ५ हजार रुपैयाँ सम्म पैसा लिने गरेका छन् । कतिले दुई तीन महिनाको अग्रिम भाडाको रकम लिएर घरबेटीलाई नबुझाउने र डेरावाल ठगिने गरेका छन् । यसरी धन्दा चलाउनेहरुले डेरावालसँग मात्र होइन, घरभेटीसँग पनि उस्तै शैलीमा पैसा लिन्छन् । दोहोरो लाभले बिचौलिया मालामाल हुन्छन् ।

यसरी काम गरे बापतको रकम कतिले नगदमै त कतिले ईसेवा, बैंकिङ प्रणाली मार्फत नै गरेका छन् । कार्यालय नै खोलेर कोडा,फ्लाटको काम गरिरहेकाहरु समेत आफ्नो पुरा परिचय दिन इन्कार गर्छन् । किन तपाईहरुको सेवामा यति विघ्न गुनासो भन्ने कथालिकाको प्रश्नमा बुद्धनगरमा कन्ट्याकमा काम गरिरहेका बुद्ध लामा भन्छन्, ‘हामीले त्यसै पैसा खाँदैनौ, पहिले कहाँ खाली छ सोधखोज गर्नुपर्छ, त्यसपछि मान्छे सहित लगेर डेरा देखाउनु पर्छ, दुःख छ नि । यही सेवा प्रदान गरे बापत निश्चित पैसा लिन्छौ ।’ यद्यपि, सबैले भने अनुसार भने कोठा, फ्लाट मिलाउनै नसकिने उनको स्वीकारोक्ति थियो ।

यसबारे महानगरको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालयमा भने खासै उजुरी पर्ने गरेको छैन । ‘यस कार्यबाट दैनिक दर्जनौको संख्यामा नागरिक ठगिरहेका छन्, सम्बन्धित निकायमा उजुरी कति प¥यो परेन ? त्यो अर्कै कुरा भयो तर, नागरिक माथि खुलेआम ठगि भइरहेको सत्य हो, यसलाई सरकार र यसका निकायले गम्भिरतापूर्वक लिनुपर्छ,’ एक दशकदेखि काठमाडौं बस्दै आएका रामेश निरौलाले भने ।

राजश्व मात्र उठाउने कि अनुगमन पनि गर्ने ?
काठमाडौंका चोक चोकमा राखिएको कोठा, फल्याटको व्यवस्था लेखिएका साना सटरका कार्यालयदेखि रुम हब, हाम्रो बजार, सटर पसल खरिद बिक्री केन्द्र लगायतको सामाजिक सञ्जाल, अनलाइनले पनि कोठाको विज्ञापन र सहजिकरणको काम गर्छन् । जसमध्ये निकै कम मात्र आधिकारिक रुपमा दर्ता गरेर सञ्चालनमा छन् । अधिकांशले मनपरी रुपमा कोठा मिलाइदिने भन्दै अवैध पैसा असुल्ने गरेका छन् ।

काठमाडौं महानगरपालिकाले घर बहाल कर, भवन, नक्सा पास लगायतका बिभिन्न शीर्षकबाट उल्लेख्य मात्रामा राजश्व संकलन गर्ने गरेको छ । महानगरले राजश्व उठाउने काम मात्र नगरी नागरिक नठगिने अवस्था सिर्जना र बिचौलियाको मनपरी नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई प्रभावकारी बनाउनु पर्ने नागरिकको माग छ ।

काठमाडौं महानगरपालिकाका राजश्व विभाग प्रमुख डा.शिवराज अधिकारी घर बहाल लगायतको राजश्व असुलीमै ध्यान केन्द्रित गरिएको बताउँछन् । घर भाँडा लाउने क्रममा नागरिक ठगिएको बारे महानगरमा उजुरी परे न्यायिक समितिले हेर्ने उनको भनाई छ । यद्यपि, जनशक्ति सीमित भएकाले नागरिकको गुनासाका बारेमा प्रभावकारी तबरले अनुगमन गर्न नसकिएको अधिकारी बताउँछन् । यसमा जिल्ला प्रशासन कार्यालयको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाई छ ।

 

२०७९, ६ भाद्र सोमबार ०९:०५
कथालिका नयाँ कथा
कथालिका