- ‘डरले दर्शक बसिरहनुभएको स्थानलाई मैले बादल लागेको जस्तो देखें, माइक समाउँदा १० किलोको ढुंगा उचालेको जस्तो भएको थियो,’ पहिलो स्टेज कार्यक्रमको स्मरण गर्दै राजेन्द्र भन्छन्, ‘चिसो मौसममा समेत डरले खलखल पसिना आएको थियो ।’
राजेन्द्र नेपाली ‘लट्टे’ नाम एक, परिचय अनेक । ओठलाई अनेक मोड दिएर अभिनय र व्यंग्य मार्फत दर्शक हसाउने भूमिकामा होस् या नक्कली धुर्मुसको चरित्रमा होस् या अरु पात्र । आफूलाई पारंगत रुपमा प्रस्तुत गर्न सक्ने पृथक खुबी छ उनी सँग । र त नेपाली हाँस्यव्यंग्य क्षेत्रमा नयाँ पुस्ताको उत्साह र आशा लाग्दो प्रतिभाको रुपमा मोफसलमै बसेर जबरजस्त स्थान बनाइरहेका छन् । मोफसलमै बसेर पनि मूलधारको हाँस्य क्षेत्रमा ‘नोटिसेवल’ मात्र होइन, अपरिहार्य पात्र बनेर हाँस्य व्यंग्य सो मार्फत उदाए राजेन्द्र। मुन्द्रेको कमेडी क्लब, कमेडी हब, गडबडी लगायतका टेलिभिजन कार्यक्रम मार्फत चर्चा कमाएका उनको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समेत स्टेज कार्यक्रममा माग छ ।
सकस लाग्दो बाल्यकाल
बाबाले आमा र उनलाई मादक पदार्थ सेवन गरेर पिट्थे । पछि अर्कैसंग विवाह गरे । पारिवारिक माहोल राम्रो भएन । हरेक दिनको लडाईं, झगडाले गर्दा उनी कहिले मामाघर त कहिले आफ्नै घर हुन्थे । पारिवारिक बैमनस्यताका कारण उनले पढाइलाई निरन्तरता दिन सकेनन्। ६ कक्षा पढ्दै गर्दा विद्यालय छोड्न बाध्य भए । आमाले त पढ्नुपर्छ भनिरहन्थिन् । पढाई छोडेपछि उनी पोखराकै एक फर्निचरमा काम गर्न थाले । पढाई किन छोडेको, पढ्नुपर्छ भन्दै आमा उनलाई काम गर्ने फर्निचरमा पनि गाली गर्न पुग्थिन् । सन्तानको भविष्य बनाउने भन्दै डोकोमा फलफूल बेच्थिन् । बिरामी थिइन्, तर औषधी खाँदै डोकोमा तरकारी बेच्थिन् छोराहरुको भविष्यका लागि । त्यसैले पनि उनलाई लाग्थ्यो र मनमनै संकल्प गर्थे, ‘अब आमालाई काम गर्न गराउन हुन्न, आमाले दुःख गर्न नपर्ने गरि काम गर्नुपर्छ ।’
बाबाले सानोमा आफूलाई पिट्नु भन्दा आमालाई पिट्दा पीडा हुन्थ्यो राजेन्द्रलाई । अनि लाग्थ्यो एक दिन पुलिस बनेर बाबालाई थुनेर कुट्छु । कुटाई सहन नसकेर आमा माइत जान्थिन् कास्कीकै नौडाँडा । आमासंगै राजेन्द्र र उनका भाइ जान्थे । अहिले भने उनी बाबालाई सम्मान गर्छन्, सम्बन्ध राम्रो छ । ‘सानोमा बाबालाई कुट्छु भन्ने हुन्थ्यो, आफूलाई भन्दा पनि आमालाई पिट्दा भने साह्रै चित्त दुख्थ्यो,’ उनले भने, ‘अहिले बाबालाई देख्दा माया लाग्छ, जान्छु, बाबा र अर्को आमासंग बोल्छु, भाइ बहिनी छन्, उनीहरुसंग बोल्छु, आजभोलि लाग्छ, गल्ती बुबाको मात्र होइन, हाम्रो पनि थियो कि त्यो समयमा ?’
चौतारीमा साथी जम्मा गरेर हँसाउथे, भुत बनेर तर्साउथे
पोखराका राजेन्द्र नेपाली ‘लट्टे’ उर्फ पोखरेली धुर्मुस यही कठिन र जटिल अवस्थाबाट आजको विन्दुमा आइपुगेका हुन् । कास्कीकै पुरन्चौरमा जन्मिए । जब बाबाले अर्कै विवाह गरे, अनि आमा र भाइसहित राजेन्द्र लामाचौरमा बस्न थाले । त्यही ठाउँले उनलाई कलाकारितामा जम्न सहयोग ग¥यो । विद्यालय नछोड्दा सम्म उनले जति पढे, त्यो समयमा उनको कक्षा भन्दा नाटक, गाउन र नाँच्नमै ध्यान हुन्थ्यो । कक्षामा बस्दा प्रत्येक दिन उनले नाटक प्रदर्शन गर्थे । गाउँमा क्यारिकेचर गर्दै भुत बनेर धेरैलाई तर्साएको नेपाली सम्झिन्छन् । लामाचौरमा साँझ भएपछि साथीभाइलाई चौतारोमा भेला पारेर हँसाउन सुरु गर्थे राजेन्द्र । साँझमा हँसाउने, नाँच्ने र गाउन निरन्तरता दिए पनि उनले फर्निचरको काम छोडेका थिएनन् । दिनभरी काम अनि साँझ साथीसंग भेला भएर रमाइलो गर्नु उनको दैनिकी थियो ।
नक्कली धुर्मुसदेखि पोखरेली धुर्मुस हुँदै लट्टे बनेको राजेन्द्र
त्यस बखत लामाचौरमा शुक्लागण्डकी क्लब स्थापना भएको थियो, जुन अहिले छैन । एकदिन उनी लामाचौरको चोकमा सधैं जस्तो आफ्ना साथीलाई हँसाइरहेका थिए । त्यहीका बासिन्दा सुरेन्द्र भण्डारीले राजेन्द्रलाई क्लबको कार्यक्रममा प्रस्तुति राख्न आग्रह गरे । ‘त्यो दिन म औधी खुसी भएको थिएँ । ठूलो स्टेजमा आफ्नो प्रस्तुति राख्न पाएकोमा ।’ त्यसपछि राजेन्द्रले फर्निचरको काम र नाटकलाई आधा–आधा समय दिन थाले । सिताराम कट्टेल ‘धुर्मुस’ को क्यारिकेचर सिक्न थाले । राजेन्द्रले धुर्मुसको क्यारिकेचर सिक्ने स्थान गण्डकीलाई बनाए । गण्डकीमा हरेक बिहान गएर क्यारिकेचर गर्न, हाउभाउ सबै सिक्थे । राजेन्द्र चिच्याएको नदीको आवाजको बिचमा कहीं हराउँथ्यो ।
आफ्नै ठाउँमा केही चलेको भए पनि उनलाई आफूसहित आमा र भाइको जिम्मेवारी निभाउनु थियो । क्लबको कार्यक्रम पश्चात् उनी काम गर्न फर्निचरमा फर्किसकेका थिए । विश्वकर्मा पुजाको दिन उनले क्यारिकेचर गरिरहेका थिए । लामाचौरकै सन्तोष केसी उनले काम गर्ने फर्निचरमै थिए । सोही समयमा केसीले उनलाई बोलाएर प्रतिभा भएको मान्छे यसरी मेसिन मात्रै चलाएर बस्नु हुँदैन भनिदिए । ‘सन्तोष केसी दाइ हामी माझ हुनुहुन्न, उहाँले मलाई कलाकारितामा लाग्न प्रोत्साहित गर्नुभएको थियो,’ उनले भने, ‘उहाँले मलाई औद्योगिक व्यापार मेलामा लिएर जानुभएको थियो ।’ त्यो समयमा मेरी बास्सै खुब चलेको थियो । उनको प्रस्तुतिमा सबै जना दर्शक मज्जाले हाँसेको उनले अनुभव गरे । उनलाई पहिले सबैले नक्कली धुर्मुसको नामले चिन्थे । पछि गायक प्रजापति पराजुलीले पोखरेली धुर्मुसका रुपमा नामाकरण गरिदिए ।
राजेन्द्र जहाँ मेला–महोत्सव हुन्थ्यो, त्यहाँ आफैं टिकट काटेर स्टेज पछाडि गएर कार्यक्रम सञ्चालकलाई म धुर्मुसको क्यारिकेचर गर्न सक्छु भन्थें,’ संघर्षका कठिन दिन सम्झिदै उनी भन्छन्, ‘दिनभरी आफ्नो पालो आउँछ कि भन्दै कु¥यो, कति पटक त पालो नै आउँदैनथ्यो ।’
पहिलो स्टेजः बादल जस्ता दर्शक, माइक १० किलो ?
पहिलो पटक प्रस्तुतिका लागि स्टेजमा पुग्दाको कथा चलचित्र भन्दा कम छैन उनको । स्टेजमा चढ्नुभन्दा अगाडि केही गर्न सक्छु भन्ने जोश उनमा थियो । पछि उनलाई डर लाग्न थाल्यो । स्टेजमा पुगेर पहिलो पटक क्यारिकेचर गर्दा उनले दर्शकलाई देख्दै देखेनन्, दर्शकतर्फ नजर लाउन सकेनन्, दर्शक हाँसेको मात्र थाहा पाउँथे । ‘डरले दर्शक बसिरहनुभएको स्थानलाई मैले बादल लागेको जस्तो देखें, माइक समाउँदा १० किलोको ढुंगा उचालेको जस्तो भएको थियो,’ पहिलो स्टेज कार्यक्रमको स्मरण गर्दै राजेन्द्र भन्छन्, ‘चिसो मौसममा समेत डरले खलखल पसिना आएको थियो ।’ क्यारिकेचर सकेर स्टेज पछाडि जाँदा उनलाई त्यो डर भगाउन करिब १ घण्टा लाग्यो ।
पहिलो पटक स्टेजको अनुभव पश्चात एकैपटक उनले काम पाएका होइनन् । निकै मेहनत गर्नुप¥यो । त्यो दिन पछि उनले पोखरा तथा आसपासमा आयोजना हुने मेला–महोत्सव लगायत कार्यक्रमको आयोजकलाई ‘म यस्तो हो, धुर्मुसको क्यारिकेचर राम्रोसंग गर्न सक्छु’ भन्दै फोन गर्थे आफैंले । राजेन्द्र जहाँ मेला–महोत्सव हुन्थ्यो, त्यहाँ आफूलाई आवश्यक पर्ने कपडा सहितको झोला बोक्दै आफैं टिकट काटेर म यस्तो गर्न सक्छु भन्दै जान्थे । ‘स्टेज पछाडि गएर कार्यक्रम सञ्चालकलाई म धुर्मुसको क्यारिकेचर गर्न सक्छु भन्थें,’ संघर्षका कठिन दिन सम्झिदै उनी भन्छन्, ‘दिनभरी आफ्नो पालो आउँछ कि भन्दै कु¥यो, कति पटक त पालो नै आउँदैनथ्यो ।’ तर पनि राजेन्द्र हरेस खाएनन्, टिकट काटेर कार्यक्रम सञ्चालकलाई भनिरहन्थे, मैलै पनि क्यारिकेचर गर्न सक्छु । ‘कहिलेकाहीं अति नै आग्रह गर्थे, यसले हैरान बनाउथ्यो, पालो दिउँ न त भन्दै पालो दिदाँ दर्शक मेरो क्यारिकेचर देख्दा हाँस्थे । बल्ल आयोजक र सञ्चालक खुसी देखिन्थे ।’
मलेसियाको भिसा नआए पछि बने कलाकार
राजेन्द्रलाई कलाकारिताको मोह यति धेरै थियो कि मेला महोत्सव बाहेक तिहारमा आयोजना हुने देउसी भैलो कार्यक्रममा जुनसुकै टिममा म क्यारिकेचर गर्न सक्छु भन्दै जान्थे । कसको र कहाँको टिम हो, उनलाई त्यसको भन्दा आफ्नो प्रतिभा प्रस्तुत गर्नु महत्वपूर्ण हुन्थ्यो । मेला–महोत्सव, देउसीभैलो मात्रै होइन, उनले पोखराका रेडियोलाई समेत छोडेनन् । म यस्तो क्यारिकेचर गर्छु, तपाईंको एफएममा आउँछु भन्थे उनी । त्यही बेला पोखराकै रेडियो सराङ्कोटमा उनको साथी युवराज भण्डारीले कार्यक्रम चलाउँथे । आफैं म आउँछु तिम्रो कार्यक्रममा भनेर त्यहाँ पुगेको उनी बताउँछन् । भण्डारीलाई राजेन्द्रले नै ‘तिमी माग्ने बुढाको क्यारिकेचर गर, म धुर्मुसको क्यारिकेचर गर्छु भन्दा उनले स्वीकार गरे,’ राजेन्द्र भन्छन् । केही समय पश्चात गाउँमा गएर दुवैले आफूलाई आवश्यक पर्ने कपडाको जोहो गरियो । पछि उनीहरुको टिमअप भयो, संगै मेला महोत्सवमा काम गर्न थाले ।
अधिकांश आमा बाबा आफ्नो सन्तानले भविष्य राम्रो बनाओस्, विदेश गएर परिवारको जिम्मेवारी निर्वाह गरोस् भन्ने नै हुन्छ । उनलाई आमाले केही नभने पनि आम नेपाली युवालाई जस्तै विदेश जाने लहडको सोच आएको थियो । शुक्लागण्डकी क्लबमा क्यारिकेचर गर्नु भन्दा अगाडि राजेन्द्र विदेश जान ठिक्क परिसकेका थिए । मलेसियाका लागि प्रक्रिया पुरा भइसकेको थियो । मेडिकल गरेर अब १५ दिनमा भिसा आउँछ अनि जाने भन्ने भइसकेको थियो । तर, १५ दिन होइन, २,३ महिना बित्यो, उनको भिसा आएन । काठमाडौंमा म्यानपावर कम्पनीलाई फोन गर्दा यो पटकलाई माफ गरिदिनुहोला भन्ने जवाफ आयो । ‘त्यो समयमा भिसा आएर मलेसिया गएको भए सायद म भित्रको कलाकारिता हराउँथ्यो,’ उनी भन्छन् ।
नक्कल गर्दाको सकस
धुर्मुसको क्यारिकेचर गर्ने क्रममा उनलाई आफ्नो प्रतिभाले होइन, अर्केको नक्कल गरेर हिट भएको भन्ने आरोप लाग्थ्यो । यो विषयमा राजेन्द्र आफैंले सोच्थे । कहिलेकाहीं महोत्सवमा जाँदा कार्यक्रम सञ्चालकले तपाईं स्टेज पछाडि बस्नुस्, नदेखिनुस् भन्थे । कार्यक्रम सञ्चालन गर्ने क्रममा सिधै धुर्मुस् र माग्ने बुढाको जोडी भनिन्थ्यो । कोही दर्शक राजेन्द्र र युवराज भण्डारीलाई साँच्चिकै धुर्मुस र माग्ने बुढा भन्ने ठानेर फोटो खिच्न आउँथे । ‘मेरी बास्सै हामीले हेर्छौं, कति राम्रो लाग्छ भन्थे, हामीलाई भने अफ्ठ्यारो लाग्थ्यो,’ उनी भन्छन् ।
पोखरेली धुर्मुस् र माग्ने बुढा मिलेर यता स्टेज तताइरहेका हुन्थे । त्यसको असर भने साँच्चिकैका धुर्मुस ‘सिताराम कट्टेल’ र माग्ने बुढा भनेर चिनिने ‘केदार घिमिरे’ लाई परिरहेको थियो । उनीहरुलाई फोन गरेर हामीलाई नभेट्ने भन्दै गुनासो गर्न थालेछन् । जब कि दर्शकलाई थाहै थिएन उनीहरु पोखरेली धुर्मुस र पोखरेली माग्ने बुढा हुन् भन्ने । अति नै हुन थालेपछि राजेन्द्र र युवराजलाई असली धुर्मुस र माग्ने बुढाले भेटेका रहेछन् । सुरुमा जसको क्यारिकेचर गरेर आफूहरु मेला महोत्सवमा गइन्छ, उनीहरुले नै भेट्न खोजेपछि उनीहरु खुसी भए, आफ्नै गुरुहरुलाई भेट्न पाइयो भन्दै । भेट्ने बित्तिकै त गाली गरेछन् । पछि नक्कल गरेपनि हामी नक्कली हौं भन्दै दर्शकलाई जानकारी देऊ भन्ने जवाफ दिए ।
हस्पिटलको बेडबाट बिरामी अवस्थामा धेरै अग्रज, साथीसँग फोन गरेर सहयोगका लागि अपिल गरे, कसैले सहयोग गरेनन् । त्यो समयमा उनले नर्सलाई सलाइन पानी निकाल्न लगाएर म पैसा लिएर आउँछु भनेका थिए । राजेन्द्र भन्छन्, ‘त्यो समयमा पैसा खोजेर फेरी हस्पिटलको बेडमा आएर सुतेको छु ।’ उनलाई त्यो समयमा निकै पीडा भएको थियो ।
अनि आफै नयाँ चरित्र निर्माणमा लागे, मोफसलमै बसेर राजधानीको ध्यान खिचे
धेरैले उनलाई आफ्नै क्यारेक्टर जन्माउनुपर्छ । सधैं अर्काको नक्कल गरे हुँदैन भनेपछि उनले धुर्मुसको नक्कल गर्न छोडिदिए । अनि आफैं लागे नयाँ क्यारेक्टर जन्माउन । उनले यो अवधिमा विभिन्न क्यारेक्टर जन्माएका छन्, त्यसमा सबैभन्दा बढी महिला बनेर अभिनय गरेका छन् । अनि मात्र उनको पछिल्लो समय गर्ने लटे क्यारेक्टर जन्मिएको हो । जसले उनलाई आफ्नै पहिचान दिएको छ । लटे नाम र बोल्ने तरिका उनको मामाघरतिरका एकजना व्यक्तिको लिएका हुन् । स्वरमा उनले आफ्नै जन्म गाउँको एकजना आमाको मिसाएका हुन् । ‘लटे क्यारेक्टरमा फरक भनेको ओंठ हो, ओंठ छड्के बनाउन मैले धेरै समय ऐना हेरेर कोसिस गरेको हुँ’ राजेन्द्र भन्छन् । यो भन्दा अगाडि उनले क्यारेक्टर निर्माण नगरेका होइनन् । तर, लटे जस्तो अन्य क्यारेक्टर उनलाई मन परेन ।
राजेन्द्रलाई बच्चादेखि नै अर्काको होइन, आफ्नै काम गर्ने हो भन्ने लाग्थ्यो । आफूले मेहनत गरे काठमाडौंबाट बोलावट आउँछ भन्ने उनलाई संधै लागिरहन्थ्यो । केन्द्रमा बसेर कलाकारिता गरेका कलाकारको हेरेर सिक्दै उनले पोखरामा सिरियल निर्माण गरे । पोखराकै एउटा स्थानीय टेलिभिजनबाट उक्त सिरियल प्रसारण भएको थियो । सोच जस्तै पोखरामा बसेर कलाकारितालाई निरन्तरता दिइरहँदा उनलाई नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रमका लागि हाँस्य कलाकार जितु नेपालले फोन गरेका थिए । हाँस्य कलाकारिता गरिरहँदा राजेन्द्रलाई लाग्छ, रुवाउनुभन्दा हँसाउन बढी अध्ययन गर्नुपर्छ ।
उपचार खर्च नहुँदा अस्पतालको त्यो पीडादायक क्षण
उनलाई आर्थिक अभाव हुँदा कलाकारिता छोडौं भन्ने नभएको होइन । एकपटक उनलाई जण्डिस भएर अस्पताल भर्ना हुनुप¥यो । सलाइन पानी दिइएको थियो । केही रकम नभएको होइन तर, उपचार गर्दा त्यो पनि सक्कियो । हस्पिटलको बेडबाट बिरामी अवस्थामा धेरै अग्रज, साथीसँग फोन गरेर सहयोगका लागि अपिल गरे, कसैले सहयोग गरेनन् । त्यो समयमा उनले नर्सलाई सलाइन पानी निकाल्न लगाएर म पैसा लिएर आउँछु भनेका थिए । राजेन्द्र भन्छन्, ‘त्यो समयमा पैसा खोजेर फेरी हस्पिटलको बेडमा आएर सुतेको छु ।’ उनलाई त्यो समयमा निकै पीडा भएको थियो । अनि सोचेका थिए कलाकारिता क्षेत्र नै छोड्छु । तर, छोड्न भने सकेनन्, अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिइरहेकै कारण आजको सफलता आर्जन भएकोमा उनी पुलकित छन् ।
‘नपढेका सबै नराम्रा र असक्षम मात्र पनि छैनन्’
राजेन्द्रले आफ्नै साथीकी छोरीलाई विवाह गरेका छन् सीमा नेपालीलाई । दुवैले एकअर्कालाई मन पराए पछि भागेर विवाह गरेका हुन् । किनकि घरमा विवाहको कुरा लिएर जाँदा सीमाका आमा बाबा मानेका थिएनन् । यहाँसम्म कि राजेन्द्रले आफू बाहेक अन्य साथीलाई कुरा गर्न पठाउँदा समेत सहमत भएनन् । भागेर विवाह गरेपनि पछि सीमाको परिवारले स्वीकार गरे । दुवै जना घर आउ, हामी राम्रैसंग विवाह गरिदिन्छौं भनेपछि उनीहरु घर फर्किए । त्यसपछि भने उनीहरुले रामै्रसंग विवाह गरेका हुन् । अहिले यो जोडीको एक छोरा छन् । विवाहपछि राजेन्द्रले माया, परिवार, सम्बन्ध, समर्पणको अर्थ बुझेका छन् । ‘म अहिले बुझ्दै छु, माया भनेको मायामा हुँदासम्म मात्र होइन रहेछ, जिउँदो हुँदासम्मका लागि रहेछ,’ उनी भन्छन् । कोरोनाको समयमा लकडाउन भइसकेपछि उनले आफ्नी श्रीमतीलाई समेत कलाकारितामा भित्राएका छन् ।
लकडाउनको समयमा उनलाई केही हदसम्म गाह्रो भएको थियो । त्यो समयमा उनले घर निर्माण गरेका थिए । बैंकले समेत फोन गरेर हैरान पाथ्र्यो । ‘किस्ताको लागि बैंकले फोन गर्दा तनाव हुन्थ्यो,’ राजेन्द्रले युट्युबलाई आयस्रोतको माध्यम बनाए । घरमा नै श्रीमान श्रीमती मिलेर भिडियो बनाउँथे । युट्युबमा अपलोड गरेपछि केही आम्दानी हुन्थ्यो । उनले अहिले कलाकारिता बाहेक अन्य पेसाका विषयमा सोच्न समेत सक्दैनन् । जीवनको अन्तिम समयसम्म आफ्नो पुरै ध्यान कलाकारितालाई दिन चाहन्छन् ।
उनले नाटक पढेका छन्, कलाकारिता पढेका छन्, सिकेका छन् र कलाकारिताका अझै धेरै अध्याय सिक्नु छ । एकेडेमिक क्वालिफिकेसन नभए पनि निरन्तरको मेहेनतले सफलताको बाटोमा उभ्याइरहेको छ । ‘त्यो बेला नपढेकोमा धेरथोर थकथक त हुन्छ, पढ्नु पर्दैन भन्ने होइन, जीवनमा पढाई आवश्वक छ,’ उनी भन्छन्, ‘तर किताब कण्ठ पारेर मात्रै हुँदैन, जे बन्ने हो, उद्धेश्य लक्ष्यमा दृढ र समर्पित भएर लाग्न आवश्यक हुँदोरहेछ ।’ अहिले आम नेपालीको सोंच नपढेकाले केही गर्न सक्दैन भन्ने हुन्छ । तर, उनी यसलाई मान्दैनन् । उनी आफ्नै अनुभवबाट समेत भन्छन्, ‘पढेका व्यक्तिले धेरै राम्रा काम गरेका छन् होला, तर नपढेका सबै मान्छे नराम्रा, खराब र असक्षम मात्र पनि छैनन्, उनीहरुले समेत आफूले इच्छ्याएको क्षेत्रमा प्रगति र सफलता हासिल गर्न सक्छन् ।’