तीजले डगमगाएको ‘पुरुष सत्ता’ – कथालिका

तीजले डगमगाएको ‘पुरुष सत्ता’

तीजमा महिलाहरुमा जे जस्तो परिवर्तन, जागरण देखिरहेको छ, त्यसबाट ‘पुरुष सत्ता’ आतंकित छ । पछिल्लो समय घर भन्दा बाहिर नदेखिने या नखुल्ने नारीहरु पनि क्रमशः घरलाई होइन, पृथ्वीलाई खुल्ला संसार ठानेर निस्किनु, खुलेर रंग रमाइलो गर्नु, मनमा लागेको कुरा निर्धक्क सँग राख्न थाल्नुले समानताको अभियानमा उल्लेख्य उभार आएको प्रतित हुन्छ।

हरितालिका तीज, पुरातन कथाको इतिहाससँग जोडिए पनि यसलाई नेपाली समाजमा जाति र समुदाय अनुकुल भिन्न भिन्न स्वाद र शैलीमा मनाइन्छ । पारिवारिक भेटघाट, सद्भाव, एकता, स्वतन्त्रता, उल्लासको रुपमा हिन्दु महिलाहरुले मनाउने यस पर्वको दायरा क्रमशः फराकिलो बन्दो छ ।

नेपाली समाजमा तीज एक पर्वको रुपमा मात्र भित्रिदैन । यसले अनेकन आयाम ल्याएर आउँछ । र त पछिल्लो समय तीजी पर्व महिलाहरुको दुःख, वेदना पोख्ने, नाँचगान, रंग रमाइलो गर्नेमा मात्र सीमित छैन ।

हुन त पहिले र अहिलेको समयमा मात्र होइन, व्यवस्था, अवस्था, चेतना, सोच, शैली हरेकजसो चिजमा बदलाव आएको छ । तीजमा पहिले पहिले गाउने गीत र आजकालका गीतमा आकाश पातलको भिन्नता छ । पहिले पहिले यस्ता गीतहरु गुञ्जयमान हुन्थे, जसले मौलिकता र नेपाली समाजका कथाहरु जिवन्त रुपमा बोल्थे ।

तिजको खाजा मिठो पोलेको तामाले
नरोउ भान्जि लिन आउछु भन्थे मामाले…

तामा झै मीठो के हुन्थ्यो बरै खोलीको जलुका,
मै रुन पाए आमाको काखमा मन हुन्छ हलुका!

दिनुभयो बाबाज्यूले कालीपार तारेर
आउँला माइत वर्ष दिनको तीज पारेर

मामा आउलान भनेर तगारिमा बसेर
किन आउथे हाम्रो मामा माईजु छोडेर

पहिलेका गीतहरुमा जुन मौलिकता र यथार्थता हुन्थे । अहिलेका गीतहरुमा त्यो रस, सौन्दर्यकला र मौलिकता भेटिन्न । अहिले त भिडले के खोजिरहेछ ? या के बिक्छ ? भाइरल कसरी हुने भन्ने होडले तीजी पर्वमै अनेकन बिकृति भित्रिएको छ ।

खैर, समय अनुसार बदलिनु त पर्छ नै । तर, यसरी बदलिन थाल्यौ कि जुन बदलावमा नेपाली समाजको मौलिकता, सुन्दरता, अपनत्वको गुञ्जायस क्रमशः हराउँदो छ ।

तीज पर्व नाँचगानका अलावा स्वतन्त्रता, समानताको अभियान र आन्दोलनका हिसाबले अझ महत्वपूर्ण छ । तीजमा श्रीमान या योग्य वर पाउने, मनोकांक्षा पुरा हुने कामनाका साथ महिलाहरु तीन किसिमको(निराहार, जलाहार, फलाहार) वत्र बस्ने प्रचलन छ । यसले महिलाहरु पुरुष प्रति बढी आशक्ति र समर्पित भएको झल्काउँछ । यस हिसाबले हेर्दा समानता, स्वतन्त्रता घुमाइ फिराई ‘पुरुष सत्ता’सँग आत्मसमर्पण गरिरहेको देखिन्छ ।

यद्यपि, तीजमा महिलाहरुमा जे जस्तो परिवर्तन, जागरण देखिरहेको छ, त्यसबाट ‘पुरुष सत्ता’ आतंकित छ । पछिल्लो समय घर भन्दा बाहिर नदेखिने या नखुल्ने नारीहरु पनि क्रमशः घरलाई होइन, पृथ्वीलाई खुल्ला संसार ठानेर निस्किनु, खुलेर साथीसँगी सँग रंग रमाइलो गर्नु, मनमा लागेको कुरा निर्धक्कसँग राख्न थाल्नुले समानताको अभियानमा उल्लेख्य उभार आएको प्रतित हुन्छ भने स्वतन्त्रताको पनि यथेष्ट उपयोग गर्ने दिशामा महिलाहरु अग्रसर भइरहेका छन् । यसबाट ‘पुरुष सत्ता’ या चिन्तन भने डडमगाइ रहेछ ।

दर खाने कार्यक्रममा ‘दारु’ खान थालेको भन्दै चर्को बिरोधमा उत्रिन थालेको भेटिन्छ । यति सम्म कि महिलाहरुको दरखाने कार्यक्रममा अनेकन बाहना बनाएर पुरुषहरु स्वयंम् नै दारु खान्छन् । ‘दारु’ या मदिरा सेवन गर्नु खराब कुरा हो ? यदि हो भने बाह्रैमास पुरुषहरु मदिरा खान हुने, महिलाहरु कुनै दिन, खास दिने खाने कुरा कुन ठुलो कुरा भयो र ? स्वच्छन्द रुपमा हिँड्डुल र नाँचगान गर्न महिलाहरु नहुने हो भने पुरुषहरु डान्स क्लबदेखि दोहोरी र खुलेआम मैदानहरुमा किन नाँच्ने ? यो त केबल पुरुषवादी पितृसत्तात्मक सोच र चिन्तनको उपजका कारण मात्र जबरजस्त ठुलो विषय बनाइएको छ । बिरोध, आलोचना र हाँसोको पात्र हामी महिलाहरुलाई बनाइएको छ । आखिर किन ? र कहिले सम्म यस्तो संकिर्ण सोच र चिन्तनमा बाँचिरहने ? समय कहाँबाट कहाँ पुगिसक्यो, यो हेक्का कहिले राख्ने ?

तीजले सम्पूर्ण नेपाली महिलाको आत्मसम्मान र स्वतन्त्रताको आवाजलाई मुखरित गर्छ । समानता र सम्पन्नताको आवाज अनि सवैखाले हिंसा विरुद्धको आवाजलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ । तीज विशेषतः महिला स्वतन्त्रताको पर्व हो । यसलाई बुझ्ने, मनाउने नेपाली समाजको बिबिधता अनुरुप आ–आफ्नै सोच र शैली छ । व्रत आस्था हो । जसलाई मन लाग्छ, स्वतस्फुर्त बस्ने हो । यहाँ कसैलाई जबरजस्त छैन । जुन कुराले मनले मनबाट गरिन्छ, त्यसबाट प्राप्त हुने सफलता, खुसी, आनन्द र सन्तुष्टि कति हो कति उच्च हुन्छ । सकिन्छ तीज पर्व सबैले खुसी र उत्साहपूर्वक मनाऔ । होइन, तीज नमनाउने हो भने पनि अरुका चाडपर्व, रीतिरिवाज, संस्कार, संस्कृतिको सम्मान गरौं । सुन्दर संस्कृतिमा दखल पुग्ने बिकृति र खराब प्रवृत्तिहरु छन् भने त्यसले निरुत्साहित गरौं ।

 

२०७९, १४ भाद्र मंगलवार ०८:१२
कथालिका नयाँ कथा
कथालिका