घरदेखि घाट सम्म ‘कुकुर’को त्यो अद्भुत प्रेम – कथालिका

घरदेखि घाट सम्म ‘कुकुर’को त्यो अद्भुत प्रेम

जब कर्णालीको घाटमा हैरानीको शव चितामा चढाएर दाग बत्ती दिन थालियो । सबैलाई थप स्तब्ध बनाउने गरी कुकुर चितामै चढ्यो । र शव जस्तै गरी लमतन्न परेर बसिरह्यो । मलामी गएकाहरुमा एकाएक सन्नाटा छायो । 

घर पालुवा जनावर कुकुर, घर र मानिसको रक्षक । तर, यस्तो लाग्छ कुकुर, कुकुरका कारणले भन्दा मान्छेका कारणले समाजमा बढी बदनाम छ । मान्छेहरु आपसमा रिस, प्रतिशोध साँध्छन् तर कुकुर कै नाम लिएर गाली गर्छन् । आफै जिस्काउँछन्, अनि ढुंगा हान्छन्, घाइते बनाउँछन् ।

शहरमा केही कुकुर पाल्ने सौख देखिए पनि आम रुपमा कुकुर प्रतिको परम्परागत सोच र धारणा खराब छ । र त ३६५ दिनमा एक दिन कुकुर तिहारको दिन पुजा गर्नु बाहेक अरु इतर दिन कि पूर्णतः बेवास्ता गरिन्छ, कि त ढुंगा हानिन्छ । कुकुर आफ्नै भाषा र भाकामा कराउन त सक्छ तर, मान्छेले बुझ्ने गरेर आफ्ना समस्या, खुसी, दुःख, भावना प्रकट गर्न सक्दैन । यद्यपि, मान्छेले झै बोल्न नसक्ने भए पनि एक असल संरक्षक (मालिक/पालनकर्ता) प्रति कुकुर कति बफादार रहन्छ ? र कुन हद सम्म प्रेम दर्शाउन सक्छ भन्ने पछिल्लो उदाहरण कैलालीको लम्कीचुहा नगरपालिका–५ मा देखिएको छ ।

न बिरामी हुँदा साथ छोड्यो, न घाट लैजाँदा
लम्कीचुहा नगरपालिका ५ की हैरानी चौधरीले कुकुर पालेकी थिइन् । त्यो कुकुरको (छाउरो) उनले ८ वर्ष अघि बेवारिसे अवस्थामा सडकमा फेला पारेकी थिइन् । माया लागेर सडकबाट उठाएर ल्याएको कुकुरलाई पछि उनले सफी नाम दिइन् । कुकुरलाई आफ्नै सन्तान जस्तै मायाले हुर्काइन् । दिनभर हिँड्दा, घुम्दा होस् या रातमा सुत्दा पनि अघिपछि र छेउछाउमै हुन्थ्यो सूफी । क्यान्सरले च्याप्दै गर्दा पनि छेउमै बसेर न्यायोपनको आभाष दिन कोसिस गथ्र्यो । अपसोच ! सफीलाई सडकबाट ल्याएर हुर्काएकी हैरानी चौधरीको क्यान्सरका कारण शनिबार निधन भयो । उनको निधनबाट परिवारका सदस्य, आफन्त त स्तब्ध बने नै, उत्तिकै स्तब्ध सूफी नामको कुकुर पनि देखियो । जुन दृश्य अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

रुखमा साङ्लोले बाँधियो तर चुँडाएर शव पछ्याइरह्यो
नेपाली समाजमा सामान्यतः कुकुर–बिरालोलाई शव छुन नदिने प्रचलन छ । तर, सूफी यस्तो पात्र बन्यो । जसलाई परिवारका सदस्य, आफन्त र मलामी गइरहेका आफन्तले लखेट्नै सकेनन् । हैरानीको मृत्यु हुँदा मृतक चौधरीकै शवको छेउछाउमै बसिरह्यो । परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर, शव राख्नुअघि नै कुकुर पलङमा गएर बसिदियो । कुकुर धपाउन खोजे पनि अटेर गरिरह्यो ।

त्यसपछि स्थानीयले कुकुरलाई जबरजस्त समातेर नजिकैको रुखमा साङ्लोले बाँधिदिए । रुखमा बाँधेपछि चर्को स्वरमा कराउन थाल्यो । पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा राखेर घाटतिर हिँड्दै गर्दा कुकुर साङ्लो चुँडाएर घाट सम्मै पछ्याएको हैरानीका कान्छो छोरा अनन्तलाल चौधरीले टेलिफोनमा बताए । ‘मान्छेको पछि लागेर कुकुर घाट सम्म जाने त देखेको थिए,’ उनले भने, ‘तर हामीलाई समेत भावबिह्वल बनाउने गरी यति सम्म गरेको देखेको थिएन ।’ घरमै बाँधेर राखेको कुकुर साङ्लो चुँडाएर गाडी पछ्याउँदै करिब पाँच किलोमिटरसम्म दौडिएर आएको उनले सुनाए ।

सडकमा अरु धेरै गाडी चलिरहे पनि कुकुरले पिछा नछोडेपछि मलामी हिँडेका आफन्तले कुकुरलाई गाडीमै राखेर घाट सम्म पुगेका थिए । गाडीमा पनि कुकुर मृतक हैरानीकै शवको छेउमा दुखित भएर बसेको थियो ।

मृतक हैरानी चौधरीका छोरा अनन्त भन्छन्, ‘आमाको अन्तिम विदाईमा हामी त सफीको व्यवहार देखेर साह्रै नै भावबिह्वल भएका छौ, अहिले पनि खाना खाइरहेको छैन, धेरैले कुकुरलाई घृणा गर्छन्, हेप्छन्, देख्न साथ लखेट्छन्, यो घटना र दृश्यले मलाई पनि कुकुर प्रति थप माया र सम्मान भाव बढाएको छ, सायद यो देख्ने अरुलाई पनि कुकुर प्रतिको सोच र दृष्टिकोणमा परिवर्तन गर्नेछ ।’

कुकुर चितामै चढे पछि घाटमै सन्नाटा
घाटमा पुगे पछि परिवार र आफन्तले अन्तिम संस्कारको कार्य गर्दै थिए । चिता चढाउनु अघि भूइँमा राखिएको शव छेउमै बसिरह्यो सफी । जब कर्णालीको घाटमा हैरानीको शव चितामा चढाएर दाग बत्ती दिन थालियो । सबैलाई थप स्तब्ध बनाउने गरी कुकुर चितामै चढ्यो । र शव जस्तै गरी लमतन्न परेर बसिरह्यो । जसरी पहिले पहिले सती प्रथा हुन्थ्यो । उस्तै झझल्को दिने गरी कुकुर चितामा चढेको दृश्यले सबैलाई निकै भावुक बनाएको घाट पुगेका ह्यारी कार्कीले बताए । ‘चिताबाट कुकुरलाई तान्न खोज्दा पनि मानिरहेको थिएन । कुकुरलाई जबरजस्त समातेर निकाले पछि मात्रै हैरानीको शवमा आगो लगाइएको थियो’, कार्कीले भने, ‘चितामा आगो दनदनी बलिरहँदा पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो ।’

‘कुकुरको व्यवहार मान्छेले गर्ने व्यवहारमा निर्भर’
कुकुर माथि गहिरो अध्ययन गरेका ‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले लेखेका छन्,–‘धेरैलाई लाग्ने गर्छ कि, कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ ।’

निकै धेरै स्तनधारी जीव, प्रेम, डर, बेचैनी र खुशीजस्ता कुराको महसूस गर्न सक्छन् । अझ कुकुरले त मान्छेका लागि अरु पनि भावनात्मक प्रतिक्रिया दिने प्रहरीको केन्द्रीय डग स्कुलका अधिकारी बताउँछन् । मृतक हैरानी चौधरीका छोरा अनन्त भन्छन्, ‘आमाको अन्तिम विदाईमा हामी त सफीको व्यवहार देखेर साह्रै नै भावबिह्वल भएका छौ, अहिले पनि खाना खाइरहेको छैन, धेरैले कुकुरलाई घृणा गर्छन्, हेप्छन्, देख्न साथ लखेट्छन्, यो घटना र दृश्यले मलाई पनि कुकुर प्रति थप माया र सम्मान भाव बढाएको छ, सायद यो देख्ने अरुलाई पनि कुकुर प्रतिको सोच र दृष्टिकोणमा परिवर्तन गर्नेछ ।’

२०७९, २७ भाद्र सोमबार ०५:३६
कथालिका नयाँ कथा
कथालिका