धौलागिरी सांगीतिक उत्सवः मौलिकताको संरक्षण, कलाकर्मीको सम्मान – कथालिका

धौलागिरी सांगीतिक उत्सवः मौलिकताको संरक्षण, कलाकर्मीको सम्मान

देश विदेशका मेला, महोत्सव, कन्सर्टहरुमा सांगीतिक प्रस्तुति दिने कलाकार मञ्चमा गीत गाउनमा होइन, कार्यक्रम तयारी र व्यवस्थापनको दौडधुपमा देखिन्थे । यो शिलशिला राजधानी काठमाडौंको बिजी बैक्वेटमा दिनभरजसो देखिरह्यो । लोकप्रिय कलाकार देवी घर्ति, कृष्णसमिप सुवेदी, जुना श्रीस, दीपक शर्मा, राजन भुजेल लगायतका कलाकारहरु मञ्च सेरोफेरोमा कार्यक्रमको अनेकन व्यवस्थापनका पाटो मिलाउनमा तल्लीन थिए । मनग्गे पारिश्रमिक लिएर प्रस्तुति दिने कलाकारहरुको यो परिदृश्य केही अपत्यारिलो थियो । यद्यपि, धौलागिरीबाट उदाएका कलाकारहरुको जमघट सहित धौलागिरी सांस्कृतिक समितिले आयोजना गरेको धौलागिरी सांगीतिक उत्सव सत्य एक महत्वपूर्ण परिघटना थियो ।

धौलागिरी सांगीतिक उत्सव
धौलागिरीबाट संघीय राजधानी आएका कलाकारहरुको साझा र संगठित समूह हो धौलागिरी सांस्कृतिक समिति । यस समितिले संगीत क्षेत्रमा पृथक सोच सहित रचनात्मक कार्य गर्दै आएको छ । यही अनुक्रममा आयोजना गरिएको धौलागिरी सांगीतिक उत्सव । जहाँ धौलागिरी क्षेत्र (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) का ऐतिहासिक संस्कृतिको झलक मात्र प्रस्तुत गरिएन, धौलागिरीमा जन्मिएर नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका साहित्य र संगीत साधकहरुलाई विविध उपाधि सहित सम्मान गरियो ।

जब राष्ट्रिय सभा अध्यक्षले मादल बजाए…
कला, साहित्य, संगीतसँग जोडिएका हर बिधामा आफूलाई पारंगत देखाउन कोसिस गर्ने स्वभावले सधैंजसो चर्चामा रहन्छन् पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली । कहिले उनी गितार बजाउँछन् त कहिले बाँसुरी, कहिले तबला बजाउन कस्सिन्छन् त कहिले बाजा । आफूले मात्र होइन, आफ्नै समकक्षी नेताहरुलाई समेत बजाउन लगाउने उनै ओली अध्यक्ष रहेको एमालेबाट राष्ट्रिय सभा अध्यक्ष बनेका पर्वतका गणेश तिमिल्सिनाले शनिवार धौलागिरी सांगीतिक उत्सवको मादल बजाएर उद्घाटन गरे ।

तिमिल्सिनाले मादल बजाएर पहिलो पटक उद्घाटन गर्दा उनी त दंग रहे र हाँसिरहे नै, कार्यक्रममा उपस्थित धौलागिरीका कलाकार, दर्शकहरुमा पनि हाँसो र उत्साहको फोहोरा छुट्यो । मादल बजाएर उद्घाटन गर्न लगाउनुमा बिम्बात्मक सन्देश प्रवाह गर्न खोजिएको अध्यक्ष सुवेदी बताउँछन् । यसले कला, संस्कृतिको संरक्षणमा राज्यका निकायमा पदासिन व्यक्ति र निकायलाई झकझकाउने उनको विश्वास छ ।

नचरीदेखि यानीमाया र थकाली नाच एकै मञ्चमा
धौलागिरी क्षेत्र यानीमाया, सालैजो, झाम्रे, चुट्का लगायत मौलिक भाका र सस्कृतिको अद्गम थलो हो । यसैमा खेल्दै र रमाउदै आएका कलाकार, संस्कृतिकर्मी, कवि र साहित्यकारले सिर्जेका सिर्जना राज्यको अमूल्य गहना र सम्पति बनिसकेको छ । कला, साहित्य, संस्कृतिमा अब्बल धौलागिरीको थप पहिचान, संरक्षण र प्रवद्र्धनका लागि लोपोन्मुख अवस्थामा पुगेका संस्कृतिको समेत राजधानीमा प्रदर्शन गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पु¥याइएको अध्यक्ष सुवेदीले बताए ।

सांगीतिक उत्सवमा अनेकन रोचक र महत्वपूर्ण इभेन्टको रुपमा बागलुङको नचरी र मुस्ताङको थकाली नाँच प्रदर्शन गरियो । अनि म्याग्दीको यानीमाया, उस्तै रोचक लाग्ने पर्वत पाङ खुर्कोटको पार्वती दिव्यधाम भजन कृतन समूहको भजन, पर्वत बाजुङकै नौमति बाजा र नाच निकै हेर्न लायक रह्यो ।

सांगीतिक उत्सवको विविधता अनेकन कला, संस्कृतिको प्रस्तुतिले सार्थक रुप लिएको आभाष भएको कार्यक्रम हेर्न आएका म्याग्दीका दिलमाया पुर्जाले बताइन् । कार्यक्रममा चर्चित गायक विमलराज क्षत्री, देवी घर्ति, प्रकाश सपुतले गीत प्रस्तुत गरेका थिए भने बाल कलाकार विहानी सुवेदीको नृत्य पनि आकर्षक रह्यो ।

‘हाम्रो मौलिकता बोकेका धेरै कुरा लगभग हराइसकेको छ । अब बचेखुचेका संस्कार, संस्कृतिलाई राम्रा मञ्चहरुबाट प्रदर्शन गरेर संरक्षणका लागि पहल गरिनु पर्छ भन्ने अभिप्रायले यो पहल र प्रयास गरिएको हो,’ अध्यक्ष सुवेदीले भने, ‘अब हाम्रो महत्वपूर्ण पहिचान र मौलिकता झल्कने कला, संस्कृतिको संरक्षण गरेर समय सापेक्ष रुपमा अघि बढाउन राज्यलाई पनि ध्यानाकर्षण सहित जिम्मेवार गराउनु पर्दछ ।’

भूपी शेरचनलाई मरणोपरान्तदेखि विशेष सम्मान सम्म
सांगीतिक उत्सवमा बिभिन्न विधा मार्फत सम्मान प्रदान गरियो । धौलागिरी क्षेत्र भन्दा बाहिरका दिग्गज कलाकारका लागि धौलागिरी राष्ट्रिय सम्मान, धौलागिरीबाट लामो समय देखि निरन्तर योगदान पु¥याएका कलाकारलाई धौलागिरी साधना सम्मान, युवा अवस्थामै पाएको लोकप्रियता, साधना, कलाकृति र हौसलाका लागि धौलागिरी युवा सम्मान प्रदान गरियो ।
विशेष उल्लेखनीय र नयाँ आयामका लागि धौलागिरी विशेष सम्मान, सामाजिक जिम्मेवारी, उत्तरदायित्व, सह–अस्तित्व र एकताका लागि धौलागिरी मैत्रीपूर्ण सम्मान अन्तर्गत धौलागिरी साहित्य सम्मान, खेलकुद सम्मान, पत्रकारिता सम्मान र सामाजिक सम्मान प्रदान गरियो ।
क–कसले कुन सम्मान उपाधि पाए ?
धौलागिरी राष्ट्रिय सम्मान – प्रेमदेब गिरी
धौलागिरी साहित्य सम्मान – भुपी शेरचन (मरणोपरान्त)
धौलागिरी साधना सम्मान – बिबि अनुरागी
धौलागिरी युवा सम्मान – देवी घर्ती, दिपक शर्मा, प्रल्हाद सुवेदी, आशिष अविरल
धौलागिरी विशेष सम्मान – प्रकाश सपूत
धौलागिरी मैत्रीपुर्ण सम्मान
ठ) धौलागिरी सामाजिक सम्मान – देवीप्रकाश भट्टचन (अध्यक्ष प्रभू ग्रुप)
ड) धौलागिरी पत्रकारिता सम्मान – नारायण अमृत (सम्पादक नेपाल समय)
ढ) धौलागिरी खेलकुद सम्मान – अरुणा शाही (कप्तान राष्ट्रिय महिला भलिबल)

विविध बिधामा फरक फरक मापदण्ड बनाएर समितिमा छलफल गरेर सम्मान प्रदान गरिएको अध्यक्ष सुवेदीको भनाई छ । कार्यक्रम पछि कथालिकासँगको कुराकानीमा सम्मानको संस्कार स्थापित गर्ने गराउने उद्धेश्यले सुरुवात गरिएको सम्मान कार्यक्रमलाई एकसाथ दर्जनौ सम्मानयोग्य पात्र भए पनि सीमितलाई सम्मान गर्नुपर्ने यसको उपादेयता र मर्यादालाई बुझिदिन उनले सबैलाई आग्रह गरे ।

‘अब संगीतसँगै धौलागिरीको पर्यटन प्रवद्र्धन’
धौलागिरी सांगीतिक उत्सव भव्यता साथ सकाएको आयोजक अब थप रचनात्मक कार्यक्रमका लागि उत्साहित छन् । उनीहरुले अब संगीतसँगै पर्यटनलाई पनि अघि बढाउने कार्यक्रम तय गर्ने भएका छन् । यसले धौलागिरीको पर्यटकीय सम्भावना मात्र नभई मौलिक कला, संस्कृतिको पनि उजागर र प्रवद्र्धन गर्नमा महत्वपूर्ण टेवा पुग्ने धौलागिरी सांस्कृतिक समितिका अध्यक्ष कृष्ण समिप सुवेदी बताउँछन् । ‘अब हामी हाम्रा प्रस्तुतिहरु हिउँदको समयमा पर्यटनको आधार क्षेत्र मानिएका धौलागिरीका ठाउँमा गर्ने योजनामा छौ । त्यस क्षेत्रका कलाकारलाई आ–आफ्नो स्थानमा प्रस्तुतिका लागि लैजाने छौ,’ उनले थपे ‘यो हाम्रो अर्को अभियान रहेको छ । जसले पर्यटन र संस्कृतिलाई सँगै जोड्ने छ र उक्त ठाँउको महत्व र आकर्षण अझै बढाउने छ ।’

२०७९, २७ भाद्र सोमबार १४:०४
कथालिका नयाँ कथा
कथालिका