‘फेक भिसा’ले खोसेको खुसी – कथालिका

‘फेक भिसा’ले खोसेको खुसी

  • भिसा आएर दुबई जानका लागि बिभिन्न चरणमा ७ लाख बुझाइसकेका उनीहरु दुवई एम्बेसीमा पुगेको बेला भिसा ‘फेक’ भएको थाहा पाए पछि छाँगाबाट खसे जस्तो भए ।

नेपालमा ठगी धन्दाका अनेक रुप छन् । यसमा सम्भवतः सबै भन्दा बढी वैदेशिक रोजगारीमै छ । दशैंको सम्मुखमा दुवई जाने सपनाले राजधानी काठमाडौं आएका तनहुँ ६ खोलाखेत राइपुरका अनिल पोखरेल ठगिए । विदेश जाने क्रममा धेरै ठगिएको सुन्दा सुन्दै आफै ठगीको फन्दामा परेको उनी सुनाउँछन् । उनीसँगै तनहुँकै सन्दिप थापा, डोलबहादुर थापा पनि एकसाथ ठगिएका छन् ।

म्याग्दीका बुद्धिबहादुर रुचाल जिल्लातिरै सुरक्षा गार्डको जागिर गर्थे । गर्जो टार्ने बाहेक अरु केही नभए पछि विदेश जाने निधोमा पुगे । र दुवई जाने सोचले कागजात पठाए पनि । बिडम्बना, उनी पनि वैदेशिक रोजगारको यात्रामा राजधानीमै आइनपुग्दै ठगिएको बताउँछन् । बागलुङको ताराखोला गाउँपालिका १ निशान नाइसा ६ वर्ष साउदी बसे । कोरोनाकालमा कम्पनीको काम बन्द भए पछि स्वदेश फर्किए । साउदीमा रहँदा कुकमा राम्रो अनुभव सँगालेका उनी कुकमै त्यो भन्दा राम्रो देशमा जान चाहन्थे । राजधानी आए पछि अरु पनि साथी भेटिएर ११ जनाको टोली दुवई जान कागजात पेश गरे । अन्ततः उनीहरु ठगी धन्दा चलाइरहेका दलालकै फन्दामा फसेका छन् । अहिले आफ्नो फसेको पैसा फिर्ताका लागि राज्यका निकायमा हारगुहार गरिरहेका छन् ।

११ युवा यसरी परे ठगी धन्दाको फन्दामा
विदेश जाँदाको केही अनुभव समेत भएकाले नाइसाले अरु १० जना साथी सहित दुवई जान नेतृत्व गरे । उनीसँगै धादिङका सोनाम तामाङ, कृष्णबहादुर तामाङ,बागलुङका नवीन नाइसा, संगम शाही, बाबुराम किसान र अमिट परियार पनि थिए । सबैको दुवई जानेमा एकमत भए पछि लैजाने मान्छे खोज्दै जाने क्रममा राजधानीमै भेटिएका सुनिल कुमार आचार्यले दुवईमै भएका एक व्यक्तिलाई सम्पर्क गर्न सुझाए । उनी थिए भारतिय महम्मद वाकस अली । उनीसँग +९७१ ५४५६१९५६८ नम्बरको ह्वाट्स एपमा सम्पर्क भयो । उनीसँग कुरा भए पछि पासपोर्ट लगायतका कागजात र केही दिन पश्चात पैसा पठाएको निशान नाइसा बताउँछन् । ‘सुरुमा त उसले पनि हामीलाई विश्वास गरेको थिएन, आवश्यक कागज एकसाथ पठाए पछि बल्ल प्रक्रिया अघि बढाउने बताएको थियो,’ उनले भने, ‘पछि अफर लेटर पठायो, सुरुमा ११ जनाको २६ हजारका दरले पैसा पठाउन भन्यो, त्यसमा थप कामका लागि फेरि २६ हजार पठाउन भने पछि पठायौ, त्यस पश्चात ७ जनाको भिसा पनि आयो, अगष्ट २० तारिखको फ्लाइटको टिकट समेत आयो भने पछि थप रकम बुझायौ ।’ उनीहरुले यस प्रक्रिया सम्म आइपुग्दा ७ लाख बढी रकम बुझाइसकेका छन् ।

दुवई एम्बेसीमा पुगेपछि छाँगाबाट खसे जस्तो
तनहुँका अनिल पोखरेल, म्याग्दीका बुद्धिबहादुर छन्त्याल, बागलुङका निशान नाइसा लगायत ७ जनाको दुवईको भिसा आयो । कहाँ जाने, कसरी जाने भन्ने चिन्ता र पिरलोका बिच भिसा आउँदाको खुसी भिन्नै थियो । तर, यो खुसी र उत्साह लामो समय टिक्नै पाएन । यो भिसा आए पछि सुरुमा त नक्कली हो कि भन्ने संशयले सम्पर्क गराइदिने आचार्यलाई नै सोधेको नाइसा बताउँछन् । हामीले यो भिसा सक्कली हो ? भनेर सोध्दा आचार्यले सक्कली नै भएको जवाफ दिए पछि सबै खुसी भएको उनको भनाई छ । तर, भिसाको मिति आए पछि जाने तयारीका साथ दुवई एम्बेसी पुग्दा भिसा फेक भएको बताए पछि आफुहरु छाँगाबाट खसे जस्तो भएको नाइसा सम्झिन्छन् ।

पैसा फिर्ताका लागि भौतिरहेछन् तर, जटिल छ प्रक्रिया
दुवईको रोजगारीका लागि जाने क्रममा अबैध धन्दाबाट ठगिएको थाहा पछि पीडित युवाहरु न्यायका लागि भौतारिरहेका छन् । नेपाल प्रहरीदेखि वैदेशिक रोजगार बोर्डको ढोका पनि ढकढकाइरहेका छन् । तर, सहज हिसाबले पैसा फिर्ता हुने र ठगी धन्दा चलाउने अलीलाई कानुनी कारबाही हुने सम्भावना कम छ । वैदेशिक रोजगार बोर्डको कार्यालय पुग्दा म्यान पावर कम्पनीबाट नभई व्यक्तिगत हिसाबले काम र रकम लेनदेन गरेकाले सहयोग गर्न नसक्ने बताएको नाइसा सुनाउँछन् । त्यसपछि पीडित युवाको समूह प्रहरी कार्यालय पुगेको थियो । प्रहरी वृत्त महाराजगञ्जमा पुगेर उनीहरुले अली विदेशमा भएकाले पैसा पठाउन भनेका नेपालका नागरिकको ठेगाना पाउन निवेदन दिए । जस अनुसार धनुषा रामपुर नगरपालिका बट्टाई टोलका सन्तोषकुमार मण्डल र रामेछाप बेताली ६ का मेखबहादुर भण्डारीको नाममा रहेको खातामा उनीहरुले पैसा जम्मा गरेको खुलेको छ । तर, खातावाल दुवै जना विदेशमा रहेकाले मुद्धा दर्ता, अदालतले पक्राउ पुर्जी जारी लगायतका कानुनी जटिलताले आफुहरु अन्यौलमा रहेको निशान बताउँछन् ।

‘अबैध बाटोबाट विदेश नजाऔ’
अबैध बाटोबाट बैदेशिक रोजागरमा जान प्रक्रिया गरेर ठगीमा परेकाहरुको न्याय मात्र होइन, यदि कथमकदाचि विदेश जुनकुनै बाटो गए पनि पछि अप्ठ्यारो अवस्था आए उद्धार गर्न पनि अवैध कामदारलाई समस्या हुने वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसाल बताउँछन् । ‘विदेशको रोजगार प्रक्रियामा ठग्ने र ठगिने क्रम पहिलेको तुलनामा घटेको छ, अझै रोकिएको छैन,’ भुसालले भने, ‘यसमा सरकारले आफ्ना तर्फबाट पहल र काम त गरिरहेको छ, विदेश जाने नागरिक स्वयंम् पनि सजग र सचेत हुन जरुरी छ । छिटो या सस्तोमा जान पाए अवैध बाटोमा पनि हिँड्ने नेपाली युवाको प्रचलन छ, जसले ऋणधन गरेको पैसा मात्र डुब्दैन, अमूल्य समय, कतिपय सवालमा त जीवन पनि बर्बाद हुने अवस्था आउन सक्छ । यसर्थ सबैले बुझेर मात्र सचेततापूर्वक कानुनी रुपमा बलियो भएर नै बैदेशिक रोजगारको प्रक्रिया अघि बढाउनुहोस् ।’

 

२०७९, ६ आश्विन बिहीबार ०७:५३
कथालिका नयाँ कथा
कथालिका