पितृ पुजामा चेलीको ‘बली’ ! – कथालिका

पितृ पुजामा चेलीको ‘बली’ !

  • रामेछापको पछिल्लो घटनाले परम्परा, अभ्यास, संस्कार, संस्कृति बदनाम हुने र यही बाहनामा पृथक मौलिकता र अर्थ बोकेका संस्कार, संस्कृति पनि आक्रमणमा पर्दै जाने खतरा बढ्दै गएको छ ।

नेपाली समाजमा पुरै सिंगो देश नेपाल र नेपाली एकैसाथ खुसी हुने खबर दुर्लभ प्रायः छ । तर, एकाविहानै अप्रिय खबरहरु भने बग्रेल्टी आउने गर्छन् । जसले अचेल मानिसहरुमा दुःख, पीडा, संवेदनाको भाव समेत हराउन थालेको छ । ए..यस्तो पो भएछ भन्नेमा मात्रै दुखद दर्दनाक घटनाहरु सिमित हुन थाल्नुले मानवीयतामा ह्रास आइरहहेको सहजै प्रतित हुन्छ । पितृको श्राद्ध गर्ने क्रममा रामेछापमा एक महिलाको निर्ममतापूर्वक हत्या र उनकी आमालाई मरणासन्न हुने गरी कुटपिट गरिएको घटना यसको ताजा उदाहरण हो ।

सोह्र श्राद्ध अन्तिम दिनको त्यो त्रासदीपूर्ण घटना
वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्वपूर्ण कर्म मध्येको एक हो । श्रद्धा मूलमा रहेका श्राद्धको मानव जीवन पद्धतिमा महत्त्व छ । श्रद्धा शब्दका दुई अर्थ छन्– श्रत् र धा श्रत्को अर्थ सत्यप्रतिको विश्वास र धाको अर्थ धारणा गर्नु हो । जुन भावनाले ईश्वरीय दिव्यता र शास्त्रीय आदेशमा सम्पूर्ण विश्वास धारणा गर्छ, त्यो श्रद्धा हो । मार्कण्डेय पुराणमा भनिएको छ–परम श्रद्धाका साथ पितृहरूको नाम, गोत्र उच्चारण गर्दै जुन अन्न प्रदान गरिन्छ; त्यो आहारका रूपमा परिणत हुन्छ ।

सबैको यो लोक र परलोकसमेत राम्रो होस् तथा सबैको सद्गति प्राप्त गरून् भनी सन्तान भएर पितृकार्य अर्थात् पितृ ऋण तिरेमा जीवन सुःख, शान्ति समृद्धिको भएर जाने विश्वास छ ।
यही विश्वासको जगमा रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खामा स्थानीय माझी समुदायले पनि पितृ श्राद्ध गर्दै थिए । सोह्र श्राद्धको अन्तिम दिन माझी समुदायमा पितृ तार्ने पर्व नै मनाउने प्रचलन छ । दुई दिन अघि पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने र यसरी बोलाउँदा परिवारको कुनै एक सदस्यको शरीरमा पितृ पस्ने (झाक छुट्ने) विश्वास छ । शरीरमा पितृ पस्न साथ काम्न थालिन्छ, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने, भोलिपल्ट सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमै घाट (नदी)मा लगेर विधिपूर्वक पितृ विसर्जन गर्ने स्थानीय प्रचलन छ । नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाडे पितृ खुसी भएको विश्वास सहित सोह्र श्राद्ध सकिन्छ । तर, अहिले सोह्र श्राद्धको दुखद अन्त्य हुन पुग्यो । नदीमा बगाए पश्चात पनि झाँक (काम्न) नछोडे पछि स्थानीयले यसको कारण खोज्न थाले । यसक्रममा कथित ‘बोक्सी’ भएका कारण आफ्नै समुदायका ५५ वर्षीया बिबी माझी र उनकी ७० वर्षीया आमा सुनमाया माझीकै घर पुगेर कुटपिट र दुव्र्यवहार सुरु भयो ।

घटना बिबी माझी र उनका आमाका कारण भएको निष्कर्ष सहित आक्रोशित मुद्रामा एक समूह घरमै पुुगे । जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धान अनुसार स्थानीयले चामलको अक्षताले आँखामा हान्दै बिबीलाई अनुहार तथा टाउकोमा मुड्की प्रहार गरे । उनी अर्धचेत अवस्थामा पुगिन् । संयोग ! त्यही समयमा एउटा बिरालो बिबीको घरमा आइपुुग्यो । बिबीको शरीरबाट बिरालो उत्रिएकोको दावी सहित बिरालो छेकथुन गरेर समाएनन् मात्रै, त्यहीँ काटेर आगोमा पोलिदिए । निर्घात कुटपिट गरिएकी बिबीको त्यति बेला सम्म घटनास्थलमै मृत्यु भइसकेको थियो । त्यस पछि आमा सुनमायालाई पनि घरबाट निकालेर मरणासन्न हुने गरी कुटपिट गरे ।

छोरीको हत्या पछि कुरुवा बिहीन ७० वर्षीया आमा अस्पतालमा 
निर्मम कुटपिटबाट अचेत अवस्थामा पुगेकी ७० वर्षीया सुनमाया माझीको रामेछाप मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था हाल खतरामुक्त रहेको अस्पतालका चिकित्सकले बताएका छन् । यद्यपि, वृद्धामा डिप्रेसनको समस्या देखिएकाले विशेष निगरानीमा राखेर उपचार जारी रहेको छ । हत्या गरिएकी बिबी सुनमायाका एक मात्र छोरी थिइन् । माइतीमा बुबा बितिसकेकाले आमा उनकै सहारामा बस्दै आएकी थिइन् । विवाह भइसकेको भए पनि यसअघि नै श्रीमान् गुमाइसकेकाले घरमा आमा छोरी मात्रै बस्दै आएकी थिइन् । अहिले अस्पतालमा रेखदेख गर्ने कोही पनि नहुँदाको दृश्यले जो कोहीको मन बिथोलिन्छ ।

हत्या आरोपितको बयानः ‘पितृले नै मारेका हुन्’
२१ औं शताब्दीको यो कहाली लाग्दो हत्या र कुटपिट आरोपमा ७ महिला सहित २३ जना स्थानीय पक्राउ परेका छन् । घटनाको निश्पक्ष छानविन गरी दोषि उपर कडा कारबाही गर्न अधिकारकर्मीले माग गरेका छन् ।
पक्राउ परेकाहरुको सँगको प्रारम्भिक बयानमा कुटपिटबाट बिबीको ज्यान गएको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख राजकुमार थिङ बताउँछन् । यद्यपि, आफूहरूले नभई पितृ खुसी नभएकाले पितृले नै आएर मारेको जिकिर उनीहरुले गरेका छन् । घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएकाले अहिले नै धेरै कुरा भन्न नमिल्ने प्रहरी प्रमुख थिङको भनाई छ । बताउँछन् ।

बोक्सी आरोप र हत्यामा के कारवाही ?
बोक्सी आरोप कसूर र सजाय ऐन २०७२ मा कसूर अनुसारको सजाय तोकेको छ ।
-बोक्सीको आरोप लगाउने व्यक्तिलाई ६ महिनादेखि २ वर्ष सम्म कैद र पाँच हजारदेखि बीस हजार सम्म जरिवाना
-बोक्सी आरोपमा गाली बेइजती गर्ने वा परिवारका सदस्य प्रति अपमानजनक व्यवहार गर्नेलाई १ वर्षदेखि ३ वर्ष सम्म कैद र दश हजार देखि तीस हजार सम्म जरिवाना
-बोक्सीको आरोपमा बहिष्कार गर्ने वा बसोबास गरेको ठाउँबाट निकाला गरेमा २ वर्षदेखि ५ वर्ष सम्म कैद र बीस हजारदेखि पचास हजार सम्म जरिवाना
-धामी झाक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै कुनै माध्यमद्धारा आरोप लगाउने व्यक्तिलाई ३ देखि ७ वर्ष कैद र तीस हजारदेखि ७५ हजार सम्म जरिवाना
-बोक्सी आरोपमा कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमुत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी घुमाउने -वा कुनै किसिमको क्रुर, अमानवीय व्यवहार गर्नेलाई ५ वर्षदेखि ८ वर्ष कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना
-बोक्सी आरोपमा अंगभंग गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम हुने सजायमा थप १० प्रतिशत सजाय
-बोक्सीको आरोपमा यस्तै कुनै कार्य गर्न उद्योग गर्ने, दुरुत्साहन दिने वा सहयोग गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय
-यदी बोक्सी आरोपमा हत्या जस्तो जघन्य अपराध भएमा भने कर्तव्य ज्यान मुद्धा आकर्षित हुन्छ ।

‘यस्ता घटनाले परम्परा, संस्कार बदनाम र आक्रमणमा पर्छ’
के संसारमा बोक्सी साँच्चिकै हुन्छ त ? यसको ठोस जवाफ छैन । यद्यपि, अहिले भनिने बोक्सी अप्रमाणित विषय भएको त्रिभुवन विश्वविद्यालयमा कार्यरत मानवशास्त्री डा.मानबहादुर खत्री बताउँछन् । ‘रामेछाप घटनाबारे अनुसन्धान भइरहेकाले यसको तथ्यगत विषय आउन बाँकी नै छ,’ खत्रीले भने, ‘यद्यपि नेपाली समाजमा बोक्सी भनेको कमजोर, अशक्त, असहाय व्यक्ति माथि थुपारिने आरोप हो । यो अन्धविश्वास र कुरीति हो ।’

यस घटना हेर्दा तत्कालको एक घटनाले मात्र काम नगरेको हुन सक्ने उनको अाँकलन छ । ‘आरोपित आक्रमणमा उत्रिने मध्ये कसैको मृतक माझी र उनका आमासँग कसैको पुराना द्धेषहरु हुनुपर्छ,’ उनले थपे, ‘यो आकस्मिक र एकाएक मात्र भएको घटना जस्तो लाग्दैन, धार्मिक संस्कारका नाममा स्थानीयले जे गरे, त्यो क्रुर अभद्र र आपराधिक कार्य हो, त्यसलाई कानुनले छुट दिदैन ।’ यस घटनाका पछाडिको सामाजिक मनोविज्ञान, व्यवहार लगायतका कारण जरुर खोज्नुपर्नेमा उनको जोड छ । रामेछापको पछिल्लो घटनाले परम्परा, अभ्यास, संस्कार, संस्कृति बदनाम हुने र यही बाहनामा पृथक मौलिकता र अर्थ बोकेका संस्कार, संस्कृति पनि आक्रमणमा पर्दै जाने भएकाले सबै सचेत, जागरुक र जिम्मेवार बन्नुपर्ने उनको भनाई छ ।

२०७९, ११ आश्विन मंगलवार ०६:२४
कथालिका नयाँ कथा
कथालिका