दसैंमा खसी होइन, खसी बाँध्ने ‘नाइलन’ – कथालिका

दसैंमा खसी होइन, खसी बाँध्ने ‘नाइलन’

  • पोखराको हेम्जा याम्दीमा रहेको च्यांग्रा खसी बिक्री स्थलमा दसैंले निम्त्याउने दुःखका थप दृश्य देखियो । हजारौं पर्ने च्यांग्रा किनेर दसैं मनाउने योजनामा आएका ग्राहकको भिडमा साना खुसी र खर्च जोहोका लागि ९ वर्षीय बालकदेखि बच्चा बोकेर नाइलन बिक्रीमा आएकी महिलाको दुःखले केबल उनीहरुको समस्या र संघर्ष मात्र होइन, सिंगो समाजको वर्गीय बिभेदको प्रष्ट तस्वीर देखाउँछ।

बडा दसैंको रौनकता सम्मुखमा छ । शहरबाट दसैं मनाउन गाउँ फर्किनेको भीड बसपार्क र बाटाहरुमा भेटिन्छन् । दसंैमा अनेकन ठाउँमा छरिएर रहेका बन्धुबान्धवको आगमन मात्र होइन, उत्तिकै आगमन महत्पूर्ण हुन्छ च्यांग्रा खसीको । यो दसैंका लागि पनि मुस्ताङ, मनाङ, बझाङ लगायत जिल्लाबाट च्यांग्रा खसी आइसकेको छ । हिमाली जडिबुटी खाने भएकाले च्यांग्रा र खसीको मासु स्वास्थ्यको लागि समेत राम्रो हुने विश्वास छ ।

दसैंका लागि लक्षित गरेर विभिन्न जिल्लाबाट पोखरामा ल्याइपु¥याइएका च्यांग्रा र खसी छानेर किन्न हेम्जास्थित याम्दीमा दैनिक भिड छ । बुधबार च्यांग्रा र भेडा व्यापार गर्ने व्यवसायी व्यापार गर्नमा व्यस्त देखिन्थे । खसी खरिद गर्न आएका र व्यापारीहरु बिच मूल्यको घटिबढाउ चलिरहेको थियो । यतिबेला बजारमा झै यी च्यांग्रा खसीको मुल्य पनि उस्तै आकाशिएको छ, आधा लाख सेरोफेरो पैसा नहुनेलाई त च्यांग्रा खसी हेरेरै दसैं मनाउने जस्तो अवस्था आएको किसान, मजदुर बताउँछन् ।

पोखराको हेम्जा स्थित याम्दीमा रहेको च्यांग्रा खसी बिक्री स्थलमा यस्तै दृष्य देखियो । हजारौं पर्ने च्यांग्रा किनेर परिवार र आफन्तका साथ एकजुट भएर दसैं मनाउने योजनाका साथ आएका ग्राहकको भीडमा एक ९ वर्षीय बालक बिजय विके हातमा नाइलनको डोरी लिएर यताउता गरिरहेका थिए । जहाँ च्यांग्रा किन्नेले च्यांग्रा उचाल्थे, त्यहाँ ती बालक टुप्लुक्क पुग्थे । खासमा उनी च्यांग्रा किनेर लैजानेका लागि नाइलनको डोरी बेच्न आएका रहेछन् । बिजयका आमा केही समय अगाडि मात्रै यो संसारबाट बिदा भइन् । बाबाले घर बनाउने ज्याला मजदुरीको काम गर्ने रहेछन् । सिम्पानीमा बस्ने बिजयलाई डोरी बेच्न भने उनको आफ्नै बाबाले त्यहाँ पठाएका रहेछन् । पोखरामा च्यांग्रा र खसी व्यापार गर्ने व्यापारी आउन थालेपछि नै बिजय नाइलनको डोरी बेच्न आएको बताउँछन् । एउटा डोरीलाई जम्मा ५० रुपैयाँ बेच्ने गरेको उनको भनाई छ । डोरी बेचेको पैसा दैनिक घरमा लगेर बाबालाई दिने गरेको उनले सुनाए ।

ग्राहक आउँदै गर्दा डोरी कतै बिकिहाल्छ कि भन्ने झिनो आशा सहित जता ग्राहक पुग्छन् त्यतै लागिरहन्छन् । यही लहरमा अरु पनि रहेछन्, जसमध्ये अर्की थिइन् यशोधा विके । घर सुुर्खेत भए पनि परिवारसंग सिम्पानीकै कस्केरीमा बस्छिन् उनी । बाबा आमाले के काम गर्नुहुन्छ भन्ने प्रश्नमा केही डर मान्दै सानो आवाजमा भनिरहेकी थिइन्, ‘बाबाले ट्रिपरमा सामान लोड–अनलोड गर्नुहुन्छ, ममी बहिनी ६ महिनाको मात्रै भएकाले घरै बस्नुहुन्छ, तर बहिनी अलि ठूलो भएपछि ज्यामी काम नै गर्ने हो रे ।’ उनले बुधबार प्रत्येक डोरीलाई ५० रुपैयाँमा ६ वटा बेचिसकेकी रहिछन् । डोरी विक्री भएर भएको आम्दानी उनले आमालाई दिने बताइन् । दसैंमा उनलाई खासै केही किन्ने मन रहेनछ । ‘अहिले केही नकिन्ने । तीजमा नै फ्रक र टिसर्ट किनिसकेको छु,’ उनले मुसुक्क मुस्काउँदै भनिन् ।

हुन त चाडबाडको समयमा उत्साहका साथ रमाउँदै, उल्लासपूर्ण तरिकाले मनाउन पाउनु पर्ने हो हरेक बालबालिकाले । तर, देश भित्रको वर्गीय बिभेदको खाडल यति गहिरो छ कि अभिभावक मात्र होइन, सानै उमेरमा बालबालिका यसरी संघर्षरत हुन बिबश छन् । कति बालबालिका बाआमाको दुःख र संघर्ष देखेर स्वंयम् उमेर भन्दा अगाडि नै परिपक्व बनिदिन्छन् हाँस्ने, खेल्ने र रमाउने उमेरमै । त्यहाँ डोरी बेच्न आएका बालबालिकाको कुरा सुन्दा यस्तै लागिरहेको थियो ।

दसैंको बेला घरमा आमाबाबालाई आर्थिक रुपमा केही सहयोग गर्न सकिन्छ कि भन्ने उनीहरुको चाहना होला सायद । त्यसैले त च्यांग्रा बिकेको खण्डमा ग्राहकले डोरी किनिदिन्छन् कि भन्ने आशासहित उनीहरु पछि लागिहाल्थे ग्राहकको । उनीहरुले डोरीलाई पसलबाट १ सय ५० रुपैयाँको १६ वटा किन्ने रहेछन् । च्यांग्रा र भेडा किन्ने ग्राहकलाई प्रत्येक डोरीको ५० रुपैयाँ लिन्थे । कोही ग्राहकले भने आफैंले डोरी लिएर आउने रहेछन् । त्यो समयमा डोरी बेच्नन बसेका बालबालिका निराश बन्थे ।

कस्केरीकै एउटा विद्यालयमा कक्षा ६ मा पढ्ने ११ वर्षीय लक्ष्मी विक पनि त्यही भीडमा भेटिइन् । उनको पनि खास घर सुर्खेत रहेछ । अहिले परिवारसंगै कस्केरीमा बस्छिन् । विद्यालय बिदा भएकाले डोरी बेच्न आएको उनले बताइन् । उनी सोमबारबाट डोरी बेच्न पुगेकी रहेछिन् । ‘यो पैसा ममीलाई दिने हो, मैले त लिन्न नि ।’ उनले भनिन्, ‘बाबाले ट्रिपरमा सामान लोड–अनलोड गर्ने काम गर्नुहुन्छ, ममीले काम पाउनुभयो भने ज्यामी काम गर्नु हुन्छ, नत्र घरै हो ।’ खासमा लक्ष्मीलाई डोरी बेच्ने तरिकाको विषयमा जानकारी थिएन । उनलाई आफ्ना बाजेहरुले बताएका थिए । ‘सुरु–सुरुमा त बाजेहरुले भन्नुभयो, अनि डोरी बेच्न पठाउनुभयो ।’ उनले भनिन्, ‘आएर हेर्दा कति धेरैले च्यांग्रा र भेडा लैजानका लागि ग्राहकलाई डोरी बेचिरहेका रहेछन्, अनि पसलबाट डोरी ल्याएर बेच्न थालेको हो, दिनमा ८ सय हजार जति कमाइ भइरहेको छ ।’

खसीसँगै डोरी बेचिरहेका बालबालिकाको भिडमा भेटिइन् ३२ वर्षीया बालिका पाण्डे पनि । १८ महिनाको छोरालाई बोकेर उनी च्यांग्रा र भेडाको हुलभन्दा केही पर उभिइरहेकी थिइन्, उनको पनि हातमा नाइलनकै डोरी थियो । बालिका मंगलबारबाट च्यांग्रा र खसी बिक्री भइरहेको स्थानमा आएकी थिइन् । त्यसरी त्यहाँ आउनुमा उनको पनि आफ्नै व्यथा रहेछ । दसैं आइसक्यो, तर उनलाई न कुनै हर्ष छ न कुनै रंग । सुर्खेत घर भएकी उनी कस्केरीमा बस्छिन् । यो वर्ष घरमा टीका नलगाउने भए पछि उनी पोखरा नै बस्नेछिन् । श्रीमानले मिस्त्री काम गर्छन् भने उनी आफैं ज्यामी काम गर्छिन् । ‘नानीहरुले डोरी बेचेको देखेर २,४ सय रुपैयाँ भए पनि आम्दानी हुन्छ भन्ने आशले आएकी हुँ,’ उनी भन्दै थिइन् । खासमा यो दसैंमा आफ्नो १८ महिने छोरालाई जुत्ता किन्ने पैसा जोहो गर्न सकिन्छ कि भन्ने आश रहेछ । ‘आम्दानी धेरै छैन, छोरालाई जुत्ता किन्ने पैसाको जोहो गर्न सकिन्छ कि भनेर डोरी बेच्न आएँ, तर डोरी बेच्ने धेरै रहेछन्’ केही निराश भावमा उनी बोलिन् ।

२०७९, १३ आश्विन बिहीबार ०३:५२
कथालिका नयाँ कथा
कथालिका