- तीन पटक मदन पुरस्कार जित्ने, जीवित अवस्थामै हुलाक टिकटमा तस्वीर प्रकाशित सत्यमोहन पहिलो नेपाली हुन् । ९५ वर्षकै उमेरमा उनलाई नई प्रकाशनले ‘शताब्दी पुरुष’को उपाधि दिएको थियो ।
‘शताब्दी पुरुष’ को उपाधि पाएका संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि अस्पताल भर्ना भएका उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।
जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए । खानामा अरूचि, शारीरिक कमजोरी लगायत समस्या देखिएपछि अस्पताल लगिएको थियो । उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्याका साथै डेंगी पनि देखियो । करिब दुई साताको उपचारपछि उनी दोहोरो कुराकानी गर्न सक्ने भएका थिए । तर, शुक्रबार शरीरमा अक्सिजनको मात्रा घटेपछि उनी फेरि सिकिस्त भएका थिए । जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो ।
जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित पहिलो नेपाली
संस्कृतिविद्को आमचिनारी बनाएका भए पनि सत्यमोहन जोशीका समाजमा बहुआयामिक भूमिका र योगदान छ । औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक देखि पुरातत्व विभागका निर्देशक, नेपाल–अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी, तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भए । उनी इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानमा पनि महत्वपूर्ण भूमिका खेलका छन् ।
वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी तीनपटक मदन पुरस्कार पाएका थिए ।
जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् । जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।
सय वर्ष बाँच्दा पनि अधुरै रहेको एक सपना
सत्यमोहन जोशी पुरा एक शताब्दी बाँच्दा पनि केही वर्ष अघि सम्म उत्तिकै तन्दुरुस्त थिए । उनले पछिल्लो संवाद र अन्तरवार्ताहरुमा आफ्नो एक महत्वकांक्षी सपनाका बारेमा बताउने गरेका थिए । जोशी भन्थे, ’मलाई अब कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार जितेको हेर्ने इच्छा छ ।’
यो त निकै कठिन कुरा होला नि नेपालका लागि तत्काल त ? उनी जवाफ दिन्थे, ’असम्भव भन्ने छैन र मैले नेपालमा असम्भव चाहिँ देखेको छैन, छेउमै रवीन्द्रनाथ टैगोरले पाउन सक्छन् भने कुनै नेपालीले जित्न नसक्ने भन्ने हुन्छ र ?’ उनले भने जस्तै नेपाली साहित्यकारले नोबेल पुरस्कार पाउने सपना असम्भव त थिएन तर, आफ्नै जीवनकालमा देख्ने सत्यमोहन जोशीको एक सपना भने अब अधुरै रह्यो ।
९५ वर्षमै दिइएको थियो ‘शताब्दी पुरुष’को उपाधि
तीन पटक मदन पुरस्कार जित्ने एक्लो सर्जकको सूचिमा त सत्यमोहनको नाम इतिहासमा दर्ज भएको थियो नै । २०१३ सालमा नेपाली लोक संस्कृति, २०१७ सालमा नेपाली राष्ट्रिय मुद्रा तथा २०२८ सालमा कर्णाली लोक संस्कृति पुस्तकका लागि मदन पुरस्कार पाएका उनलाई ९५ वर्षको उमेरमै नई प्रकाशनले पहिलो पटक ‘शताब्दी पुरुष’को उपमा दिएको थियो । पछि २०७४ साल वैशाख २१ गते सरकारले ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि जोशी पहिलो व्यक्ति हुन् । अरनिको ६३ वर्षको उमेरमा सन् १३०६ मा चीनमा नै स्वर्गिय भए भन्ने कुरा जोशीले नेपाली भाषामा लिपिवद्ध गरेका थिए । उनलाई राज्यले विख्यात त्रिशक्ति पट्ट, सुप्रबल दक्षिणबाहु र उज्जवल कीर्तिमय राष्ट्रदीपबाट विभुषित गरेको थियो ।
जोशीको शव नजलाउने, अध्ययनका लागि राखिने
शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको कान्छा छोरा डा. पूर्णराज जोशीले बताए ।
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिनेछ।
अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राखे पछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए। ‘हामी सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई डेकोरेट गरि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राख्नेछौ, त्यसपछि केमिकलमै डुबाएर शरीरलाई अनन्तकालसम्म राख्नेछौ’, उनले भने। जोशीले आफ्नो मृत्यु पश्चात जलाएर पठाए खरानी हुने तर नजलाए विद्यार्थीले शरीर पढ्न सक्ने, मृत्युपश्चात पनि केही गर्न सकौं भनेर इच्छाले जीवित रहँदा नै हस्ताक्षर गरेर विद्यार्थीलाई अध्ययनका लागि किष्ट अस्पताललाई दिने घोषणा गरेका थिए । सोही अनुसार शरीर नजलाई अस्पताललाई दिन परिवारले सहमति दिएको छ ।