छाउगोठ बसेकी योगी महानगरको एक्लो महिला वडाध्यक्ष – कथालिका

छाउगोठ बसेकी योगी महानगरको एक्लो महिला वडाध्यक्ष

  • द्धन्द्धको चपेटामा अपहरणमा परे पछि उपचारका लागि पोखरा आएकी शाही दम्पति कालीकोट छोड्ने निर्णयमा पुगे । अहिले ३३ वडा रहेको पोखरा महानगरमा उनी एक्लो महिला वडाध्यक्ष बनेर इतिहास रचेकी छिन् ।

प्रायः छोरी मानिसहरु विहान सवेरै उठ्छन् र ढिला सम्म कर्ममा तल्लीन हुन्छन् । त्यो निद्रा र आराम पुगेर होइन । आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर सक्रिय रहन्छन् भन्ने कुरा समाजले अझै बुझ्न नसकेको बताउने राधिका कुमारी शाही ‘योगी’ कालीकोटमा जन्मिइन् । पछि पोखरालाई कर्मथलो बनाइन् । अनेक गलत परम्परा अँगाल्दै महिला केबल गृहणीको रुपमा बाँच्ने समाजमा उनी पृथक बाटोमा हिँड्ने दुस्साहस गरिन् । र त गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट उनको परिचयमा थपिएको छ पोखरा महानगरपालिका १७ को वडा अध्यक्ष । ३३ वडा रहेको महानगरमा उनी एक्लो महिला अध्यक्ष हुन् । आज महानगरको वडा अध्यक्षको पदमा चुनावी प्रतिस्पर्धाबाट अब्बल सावित भएकी राधिका कसैको अनुग्रह, आर्शिवाद र आडमा होइन, आफ्नै संघर्षको जग र बलमा आजको सफलता हासिल गरेकी हुन् ।

अहिले उनको व्यस्त दैनिकी छ । कार्यालयमा उपस्थित भएर सेवा, सहजीकरण गर्नेदेखि बैठक, कार्यक्रममा सहभागिता जनाउने कार्यतालिकाले दिनभर दौडादौड हुन्छ । उनी सगौरव भन्छिन्, ‘आम नागरिकका सेवा गर्न नसके जनप्रतिनिधि भएको के काम ? जनताकै सेवाको लागि नै हामीलाई उहाँहरुले निर्वाचन मार्फत् जिताउनु भएको हो ।’ उनी सेवा प्रवाहको कामलाई जारी राख्दै भनिरहेकी थिइन् ।

कथालिकाले उनको विगत फर्किएर हेर्न आग्रह गरेपछि पुरानो फेहरिस्त सुनाइन् । कालिकोटको साविक नानीकोट गाविस वडा नम्बर ६ भिट्टा भन्ने गाउँमा राधिका जन्मिइन् । आमा गोमा शाही र बुबा हरिबहादुर शाहीको पहिलो सन्तानका रुपमा जन्मिएकी राधिकाका दुई भाइ छन् । उनले आमा र बाबाको एकैसाथ माया भने पाउन सकिनन् । उनी ६ वर्षको हुँदा उनको बुबाको निधन भयो । राधिकालाई आफ्नो बुबाको अनुहार याद छैन । केही झलक आउँछन् तर, अनुहार कस्तो थियो भन्ने उनलाई याद छैन । ‘बुबा कस्तो हुनुहुन्थ्यो भन्ने विषयमा उहाँको अलिअलि झल्को मात्रै आउँछ, अरु याद छैन ।’ राधिकाको बुबासहित चार दाजुभाइ र तीन दिदीबहिनी छन् । सानैमा उनको बुबाको निधन भए पनि उनलाई काकाकाकीले मनग्य माया र संस्कार दिए । राधिकाको बुबाको निधन हुँदा उनकी आमाको उमेर २३/२४ वर्षको थियो । कालिकोटमा अहिलेसम्म त विभेद जारी छ भने राधिकाको बालापनको समयमा त झनै व्याप्त थियो । बुबाको निधन पछि समाजमा एकल महिलाको रुपमा आमाले आफूले आफैंलाई कसरी सम्हालिन् होला, त्यो सोच्दा उनको शरीर अहिले पनि झसंग हुन्छ ।

जबरजस्त पढाई, छाउगोठको बसाइँ

उनी जुन स्थानमा जन्मिइन्, त्यहाँ अहिलेसम्म पनि विभिन्न खाले बिभेद विद्यमान छ । उनी जन्मिएको गाउँमा छोरा जन्मिँदा भव्य तरिकाले न्वारान गरिन्छ तर, छोरी जन्मिँदा न्वारन नै गरिदैन । छोराको चिना बनाइन्छ भने छोरीको बनाइदैन । उनलाई लाग्छ, छोरा र छोरी बिच जन्मदेखि नै बिभेद सुरु हुन्छ । ‘यो प्रथा अहिलेसम्म जारी छ, परिर्वतन भएको छैन ।’ राधिका भन्छिन्, ‘छोरीलाई अर्काको घर जाने भन्दै पढ्न पठाइँदैन ।’ उनलाई पनि खासमा विद्यालय पठाइएको थिएन । नजिकैको विद्यालयमा भाइको साथी बनाएर विद्यालय पठाइएको थियो । पछि भाइको भन्दा राम्रो राधिकाको पढाई भइदियो । त्यसैले उनलाई विद्यालयले कक्षा उक्लाइदियो । उनी विद्यालय गएको देखेर उनको गाउँका ४ जना अरु बालिका विद्यालय भर्ना भएका थिए ।
राधिकाका साइला बाबा त्यसबेला वडाध्यक्ष थिए भने कान्छा बाबा विद्यालयका प्रधानाध्यापक । विद्यालय जान त्यति समस्या नभएको योगी सुनाउँछिन् । आमाले यो विषयमा खासै प्रतिक्रिया जनाउँदैनथिन् । ‘छोराछोरीले पढुन्, पछि दुःख नपाउन् भन्ने नै उहाँको सोच थियो सायद,’ राधिकाले भन्छिन्, ‘हाम्रो लागि उहाँले गर्नुभएको हरेक संघर्षले नै आज हामी यहाँसम्म आएका हौं ।’ विभेदले जरा गाडेको स्थानमा एउटा छोरी मान्छेले पढ्नु विद्रोह थियो । पढाई जारी रहँदा उनको घरमा विवाह गर्न दबाब दिइन्थ्यो । घरका सदस्य उनको विवाहलाई लिएर २ भागमा विभाजित बनिसकेका थिए । परिवारमा कोही पढाई राम्रो छ, पढाउनुपर्छ भन्थे, कोही अर्काको घर जाने छोरीले धेरै पढ्न हुन्न, विवाह गरिदिनुपर्छ भन्थे । आखिर उनले पढाई मात्र होेइन, पढाइका लागि समेत विद्रोह गरिन् । पढाई राम्रो भएकाले पढ्नुपर्छ भन्ने विषयमा त्यो समयमा राधिकाका शिक्षकले साथ दिएका थिए । त्यसपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिन पाइन् ।

नेपालका कयौं जिल्लामा छाउपडी प्रथा अहिलेसम्म ब्याप्त छ । कालिकोटमा जन्मिएकाले राधिका यो प्रथाबाट अछुतो रहन सकिनन् । हरेक पटक महिनावारी हुँदा उनी छाउ गोठमा बस्नुपथ्र्यो । उनी काकाकाकी लगायतको संयुक्त परिवारमा बस्थिन् । कहिलेकाहीं त १/२ दिन बिगाएर घरका सबै महिला महिनावारी हुने । त्यतिबेला उनको हजुरबुबा खुब रिसाउँथे । महिनावारीको समयमा उनीहरुलाई दुध, दही, घ्युउ केही खान दिइदैनथ्यो । घरभन्दा पर छुट्टै छाउगोठ हुन्थ्यो, त्यही बस्नुपर्ने बाध्यता थियो । एउटै गोठमा कहिलेकाही. त ३/४ जना नै बस्नुपथ्र्यो । छाउगोठमा न जाडोमा ओढ्ने सिरक, न ओछ्याउने डसना, केही हुँदैनथ्यो । छाउगोठमा ४ रात सुत्नुपथ्र्यो । हरेक दिन हिउँ परेर कठ्यांग्रिने चिसो भए पनि नुहाउनै पर्ने बाध्यता थियो । ५ दिनमा बल्ल खरानीले कपडा धोएर, नुहाएको कपाल सुकिसकेपछि तोरीको तेल लगाएर मात्रै उनीहरुलाई घर बस्न दिइन्थ्यो ।

घरभित्र पसेको अवस्थामा समेत विभेद हुन्थ्यो । महिनावारी भएकी छोरीले छोएको पानी ९ दिनसम्म खाइदैनथ्यो भने बुहारीले छोएको पानी ६ दिनपछि खाइन्थ्यो । ‘बुहारी ६ दिनको दिन पानी लिन गए पनि हुने, तर छोरीले नहुने, के चलन हो त्यस्तो ?’ राधिका प्रश्न गर्छिन् । राधिकाका हजुरबुबा धामी थिए । घरमा भएका महिला अगाडि धामी हजुरबुबाले आज यता दुख्यो, शरीरको यो भाग दुख्यो, ज्वरो आयो, कतै महिनावारी भएका बेला छाइछुई पो भयो कि भन्दै सुनाइरहन्थे, विभिन्न विधि गरेर बारिरहन्थे । विद्यालयमा धेरै कुरा जानिसकेकी राधिकालाई यो सबै अन्धविश्वास हो, केही होइन भन्ने थाहा भइसकेको थियो । यो विषयमा उनलाई घुमाउरो हिसाबले जाँच गर्न मन लागिरहन्थ्यो । ‘महिनावारी हुँदा कसैलाई थाहा नदिएर हजुरबुबाको नजिक जाने, दुध, दही खाने गर्थें, महिनावारी नहुँदा पनि भएँ भन्दै परिवारलाई भन्थे,’ उनले भनिन्, ‘तर हजुरबुबा, परिवारलाई केही भएन, अनि यो अन्धविश्वास हो भन्ने बुझें ।’

यसरी सुरु भयो राजनीतिक जीवन
विद्यालय गइसकेपछि राधिकाले वास्तविकता र समाजमा रहेको जातीय विभेद, छोराछोरीबीच हुने विभिन्न भेदभाव, समाजले महिलालाई गरिने विभेद, छाउपडी प्रथा लगायतका विषयमा जान्ने मौका पाइन् । उनलाई लाग्थ्यो यस्ता विभेदको अन्त्य र परिर्वतन ल्याउनु छ भने आफैंबाट सुरु गर्नुपर्छ । यहींबाट सुरु हुन्छ राधिकाको राजनीतिक जीवन । २०४६÷४७ को जनआन्दोलनको समयमा राधिका कक्षा ७ मा अध्ययनरत थिइन् । राजनीतिक चेतना त्यति धेरै नभएको अवस्थामा समेत उनी एमालेको भातृ संगठन अनेरास्ववियु पाचौंको कालिकोट जिल्लाको संस्थापक कोषाध्यक्ष बनिन् । ‘त्यति धेरै राजनीतिक चेत नभए पनि आफैंले केही गर्नुपर्छ भन्ने समाजमा व्याप्त विभिन्न विभेदले मलाई सिकायो,’ राधिका भन्छिन् । यसपछि उनी नेकपा एमालेको जिल्ला कमिटीमा बसेर काम गरिन् । यसरी नै उनको राजनीति जीवन सुरु भएको थियो ।

त्यतिबेला कालिकोटमा क्याम्पस थिएन । एसएलसी पास भएपछि उच्च शिक्षाका लागि सुर्खेत आउनुपथ्र्यो । राधिका एसएलसी पास गरेपछि सुर्खेत झरिन् उच्च शिक्षा हासिल गर्न । ‘कालिकोटबाट ७ दिन लगाएर क्याम्पस पढ्न सुर्खेत आएको थिए ।’ पढाईका लागि आफूले गरेको संघर्षका विषयमा राधिकाले भनिन् । सुर्खेतमा इन्टर पढ्न आउँदा राधिकाले दुर्गम क्षेत्रबाट आएको र पढाई पनि राम्रो भएकाले छात्रवृत्तिमा पढ्ने मौका पाइन् । सुर्खेत पुग्दा राधिका नेकपा एमाले कालिकोटको जिल्ला कमिटी सदस्य थिइन् । शिक्षा क्याम्पस सुर्खेतमा त्यो बेला स्ववियुको निर्वाचन भयो । उक्त निर्वाचनमा समेत उनी कोषाध्यक्षका रुपमा निर्वाचित भइन् । २०५२ सालमा शिक्षक सेवा आयोगबाट नाम निकालेर शिक्षक भइन् । यो उनको अस्थायी जागिर थियो । अस्थायी जागिर गरिरहँदा उनले राजनीतिक क्षेत्रमा क्रियाशीलता बढाइरहिन् ।

अन्तरजातीय विवाहले बदलिएको बाटो
उनले समाज परिर्वतनका लागि पढाई र राजनीतिमा मात्रै होइन, अन्तरजातीय विवाह गरेर समाजलाई चुनौती दिइन् । उनले एउटै जिल्लामा जन्मिएका गोविन्दनाथ योगीसंग अन्तरजातीय विवाह गरेकी छिन् । गोविन्दनाथलाई राधिकाले पहिलेदेखि चिनेको भए पनि राम्ररी चिन्ने मौका त्यतिबेला पाइन्, जतिबेला राधिकाको गाउँमा रहेको स्वास्थ्य चौकीमा अहेबका रुपमा गए । देखभेट पछिको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नु राधिकाका लागि सहज भएन । गोविन्दनाथको परिवारमा राधिकालाई सजिलै स्वीकार गरियो । तर, राधिकाको माइती पक्षले उनीहरुको सम्बन्धलाई सजिलै स्वीकार गरेन । ‘माइतीलाई लाग्यो, घरको पहिलो सन्तान, समाजले नकारात्मक टिकाटिप्पणी गरे पनि पढाइयो, तर अन्तरजातीय विवाह गरेर गइन् ।’ राधिका भन्छिन्, ‘अहिले सबै पक्षसंग हाम्रो सम्बन्ध राम्रो छ, मेरो निर्णयलाई स्वीकार गर्नुभयो ।’

त्यसपछि भने नेपालमा द्वन्द्वकाल सुरु भयो । द्वन्द्वकालको मारबाट राधिका पनि अछुतो रहन सकिनन् । उनी त झन् राजनीतिमा सक्रिय थिइन् त्यो समयमा । राधिकालाई लाग्छ उक्त समयमा राज्य र र माओवादी दुवै पक्षबाट नेकपा एमालेका कार्यकर्ता मारका परेका थिए । ‘एउटा कम्युनिष्टको हिसाबले माओवादीलाई हाम्रो आँखाले टाढा देखेन, राज्यलाई पनि समर्थन गर्नुपर्छ भन्ने थियो ।’ उनी भन्छिन्, ‘त्यसैले म जस्ता एमालेका धेरै कार्यकर्ता विस्थापित हुनुप¥यो, हामीहरु त्यो समयमा दोहोरो मारमा परेका थियौं ।’ द्वन्द्वकालको समयमा उनी बाध्यता र परिस्थितिले विस्थापित हुनुप¥यो । २०५९ सालमा स्थायी शिक्षकका रुपमा उनले नाम निकालेकी थिइन् । तर, द्वन्द्वकालको समयमा राज्य र माओवादीको दोहोरो मारमा पर्दा उनले स्थायी जागिर खान पाइनन् ।

द्धन्द्धमा अपहरित समेत भएकी थिइन् राधिका
२०५७ सालमा राधिका माओवादी पक्षबाट अपहरणमा परिन् । त्यो बेला उनकी छोरी जन्मिएको १७ दिन भएको थियो । किन र केका लागि अपहरण गरियो भन्ने विषयमा जानकारी नगराइ उनलाई त्यो समय शारीरिक र मानसिक यातना दिइएको थियो । अपहरणको समयमा आफूले गर्दै नगरेको गल्ती स्वीकार गर्नुपर्ने भन्दै राधिकालाई यातना दिइयो । तर, उनले गल्ती नगरेको भन्दै स्वीकार गर्न तयार भइनन् । ‘बरु मलाई मार्नुपर्छ भने मार्नुस्, म कसैलाई गलत कुरामा फसाउँदिन भन्ने अड्डी लिएर बसें ।’ उनले भनिन्, ‘मलाई आफू एमालेको मान्छे भएर गणेशमान अभियानको पैसा लिएर माओवादीलाई स्वीकार्नु हुँदैन, उनीहरुलाई न्युनीकरण गर्नुपर्छ भन्दै लाग्यो भन्ने थियो, यातना पछि बल्ल थाहा पाइयो ।’ आफू अपहरित हुँदा अन्य ६÷७ जना व्यक्तिलाई उक्त स्थान राखिएको आफूले देखेको राधिकाले बताइन् । राधिकाका अनुसार अपहरित व्यक्तिमध्ये केही उनकै विद्यार्थी थिए । त्यो बेला उनलाई अपरान्ह ४ बजेतिर लगेर भोलिपल्ट बिहान ९ बजे छोडिदिएका थिए । त्यसपछि उनलाई उपचारका लागि पोखरा ल्याइएको थियो ।

अनि पोखरा कर्मथलो बन्यो
पोखरामा उपचार जारी रहँदा श्रीमानले उनलाई अब यतै केही गरौं, त्यता नजाऔं भनिसकेपछि राधिकालाई समेत हो जस्तो लाग्यो । र कालिकोट, सुर्खेत हुँदै उनको राजनीति पोखरासम्म आइपुग्यो । पोखरा आएको केही समय पछि उनलाई कालिकोट नै फर्किन्छु जस्तो लागिसकेको थियो । तर, २ जना छोरी र १ जना छोराको स्याहार–सुसार, हुर्काइ, घरव्यवहारले फर्किन सजिलो भएन । अनि पोखराबाट सुरु भयो उनको राजनीतिक जीवन । उनलाई लाग्छ, अपहरण नभएको भए आफू पोखरा आएर एउटा वडाको नेतृत्व गर्न सक्ने अवस्थामा पुगिन्नथ्यो होला । ‘या फेरी भाग्यले अन्य स्थान नै पो बनाएको थियो कि मेरो लागि ?’ उनी भन्छिन्, ‘अपहरणको घटनाले मेरो जीवनमा एउटा पाठ सिकायो र यादगार क्षण पनि भयो ।’
विभिन्न चुनौतीका चरण पार गर्दै राधिका आजको स्थानसम्म आइपुगेको बताउँछिन् । पोखरा महानगरपालिका वडा नम्बर १७ र ३३ वटा वडामध्ये एक्लो महिला वडाध्यक्षका रुपमा उनले महिलाका लागि राजनीतिक क्षेत्र अझै चुनौतीपूर्ण देख्छिन् । कार्यालय समयमा काम गर्न उनलाई खासै समस्या छैन । किनकि यो भन्दा अगाडिको कार्यकाल उनले सोही वडामा वडा सदस्य भएर पुरा गरेकी थिइन् । अझै पनि राजनीति होस् या अन्य क्षेत्र महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको उनको बुझाई छ । राधिकाका अनुसार महिला बाहिर हिंडेको घरपरिवार र समाजले समेत रुचाउँदैनन् । यसमा उनलाई लाग्छ महिला आफ्नैको गल्ती छ । ‘प्रायः महिला आर्थिक हिसाबमा अरुमा आश्रित छन्, आर्थिक रुपमा आफैं बलियो नभएसम्म उनीहरु स्थापित हुन सक्दैनन् ।’ उनी भन्छिन्, ‘आर्थिक रुपमा सवल, आफ्नो लागि आफैं निर्णय गर्ने, आत्मनिर्भर भए महिलालाई खासै समस्या हुन्न, हाम्रो समाजमा हेर्ने हो भने, अधिकांश महिलाले कही जान ५० रुपैयाँ आवश्यक परे पनि अरुसंग माग्नुपर्छ ।’

‘महिला कमजोर भन्ने सोच अन्त्य गर्नुपर्छ’
नेतृत्वदायी भुमिका प्रदान गरेको खण्डमा परिवार, समाज वा राज्य सबैलाई महिलाले गर्न सक्दैनन् कि भन्ने कहीं न कहीं शंका रहेको राधिकाको बुझाई छ । राधिका महानगरका वडाध्यक्षसंग विभिन्न बैठक तथा कार्यक्रममा सहभागी भइरहेकी हुन्छिन् । एक्लो महिला वडाध्यक्षका रुपमा पुरुष वडाध्यक्षले उनलाई विभेद गरेको उनलाई थाहा छैन । तर, आफैंलाई भने केही महिला पनि भइदिएको भए भन्ने लाग्छ ।

राधिकाको नजरमा महिलालाई हेर्ने दृष्टिकोण पहिलेभन्दा अहिले धेरै परिर्वतन भएको छ । उनका अनुसार नेपालमा महिलाले अधिकार नै पाइएन भन्न मिल्दैन, मात्र त्यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने चुनौती मात्रै हो । हरेक क्षेत्रमा महिलालाई सक्षम बनाउनु आवश्यक छ । महिलाले समेत आफूले प्राप्त गरेको जिम्मेवारी अनुशासित भएर क्रियाशीलताका साथ निभाउनुपर्नेमा राधिका जोड दिन्छिन् । महिलाले आफ्नो लागि बनेका नीतिगत कुरा कार्यान्वयनमा नआएको भए प्रश्न उठाउन सक्नुपर्ने उनले बताइन् । ‘कतिपय कुरा राखिदेउ है, म हस्ताक्षर गरौंला भन्ने होइन, त्यहाँ हाम्रो अधिकार छ, कार्यान्वयन किन भएन भनेर प्रश्न उठाउने हो ।’ राधिकाले भनिन्, ‘महिलाले प्राप्त गरेका अधिकारलाई संरक्षण गरेर अगाडि बढ्नुपर्छ ।’

जनताकै सेवामा खुसी र सन्तुष्टि
उनलाई राजनीतिक जीवनमा घरपरिवारबाट पूर्ण साथ छ । जनप्रतिनिधि भइसकेपछि उनले घरमा समय दिन भ्याउँदिनन् । बिहानै घरबाट हिंडेपछि साँझ मात्रै घर पुग्छिन् । वडा कार्यालयमा सेवाग्राहीको भीड हुँदा उनले खाना र खाजा खान समेत भुल्छिन् र कहिलेकाहीं भ्याउँदिनन् । यस्तो बेलामा पनि उनलाई आफ्नो कामबाट फुर्सदमा बस्न मन लाग्दैन । ‘मलाई आम नागरिकले उहाँहरुको सेवाका लागि नै भोट दिएर जिताउनु भएको हो, उहाँहरुको गुन तिर्नुपर्छ मैले,’ राधिका भन्छिन् । वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दागर्दै उनको व्यक्तिगत जीवन हुँदैन । तर पनि उनका श्रीमान र छोराछोरीले हामीलाई समय दिएन भन्ने गुनासो कहिले गर्दैनन् । ‘कार्यालयको र आम नागरिकको काममा ढिलो गर्नु हुन्न भन्दै छोरीले सम्झाइरहेका हुन्छन्, श्रीमानले घरको काम हामी हेरौंला, तिमी जाउ, चिन्ता नमान भन्नुहुन्छ ।’ खुसी हुँदै उनले भनिन्, ‘हरेक क्षेत्रमा महिलालाई श्रीमान र परिवारका सदस्यले साथ दिए अगाडि बढ्न सहज हुन्छ ।’

२०७९, ३१ आश्विन सोमबार ०५:३४
कथालिका नयाँ कथा
कथालिका