- कलाको स्तर र कलाकारको चेतना अदालत र पुलिसले हेर्न थाल्यो भने यहाँ हरेक दिन दर्जनौँ लेखक, कलाकार, पत्रकार जेल जान्थे होला । फेरि त्यसको डरले कसैले चुनौति मोलेर फरक मत वा विषय उठान गर्ने छैन । यसैको आडमा परिवर्तनको कुरा गर्नेहरू पनि फस्छन् ।
फिटिक्कै निद्रा परेको छैन । एक किसिमको डर र चिन्ता जस्तो छ मनमा । बाहिर देख्दा शान्त छ समाज । तर, भित्र ? यत्रो विभेद, हिंसा छ गहिरो । धार्मिक र जातीय अन्धविश्वास छ ।
के यसैलाई भन्छन् मूर्दा शान्ति ?
मूर्दा शान्तिले पनि यो त्रासदपूर्ण समयको ठ्याक्कै चित्रण गर्दैन । अर्कै बलियो शब्द चाहिन्छ ।
एउटा कमेडियनले गरेको कमेडीको विषय, त्यो पनि गल्ती स्वीकार गर्दै सार्वजनिक रुपमा माफी मागेर, युट्युवबाट समेत भिडियो मेटाउँदा समेत ऊ थुनामा जानू पर्ने ? कलाको स्तर र चेतनाको बारेमा आलोचना गर्ने धेरै तरिका र उपाय छन् । अपूर्वले गरेको उक्त स्ट्याण्डप कमेडी मेरो लागि पनि झुर नै छ । नेपाली कलाकारहरूले हामी बाँचिरहेको समयको सामाजिक र राजनीतिक स्थिति बुझ्न वा समृद्ध साँस्कृतिक चेतना बनाउन सक्ने स्थिति छैन । त्यस किसिमको पढाई र सिकाई गर्ने अभ्यास नै भएन । अधिकांश हाम्रा सिर्जनामा यस्ता समस्या छन् । एउटा मुद्दामा प्रगतशील भनिएका अभिब्यक्ति र सिर्जनाले अरू ५ वटा मुद्दा र विषयलाई अपमान गरिरहेको हुन्छ ।
तर, कलाको स्तर र कलाकारको चेतना अदालत र पुलिसले हेर्न थाल्यो भने यहाँ हरेक दिन दर्जनौँ लेखक, कलाकार, पत्रकार जेल जान्थे होला । फेरि त्यसको डरले कसैले चुनौति मोलेर फरक मत वा विषय उठान गर्ने छैन । यसैको आडमा परिवर्तनको कुरा गर्नेहरू पनि फस्छन् । परिवर्तनको कुरा त धेरैलाई मन पर्दैन । मन नपर्नेले जुनै विषय र अवस्थामा पनि जेल हाल्न पाउने भो ।
कला साहित्य भित्र विभेद र हिंसाको प्रस्रयको कुरा छन् भने त्यसबारे बहस छलफल र विरोध हुनु पर्छ, भएको पनि छ । कमेडियन अपुर्वमाथि मुद्दा पर्नुअघि नै सोसल मिडियामा सार्वजनिक उनको स्ट्याण्डप कमेडी भिडियो माथि प्रशस्त आलोचना आइसकेको छ । कडा कडा आलोचना । जुन समुदायलाई ब्यङ्ग्य गरेको हो, त्यस समुदायका मानिस बाहेकका समुदायका मानिसहरूबाट झन् धेरै आलोचना भएको छ त्यस भिडियोको । तर, निश्चित समूहको दबाबमा जब अपूर्वलाई थुनियो, यसले असहिष्णु र निरंकुश समाजमा हामी छौँ भन्ने देखायो । राणाकाल र पश्चायत छिचोलेर हामी यहाँसम्म आएको भनेको त हैन रहेछ । हामी त नाम मात्र बदलिएको उही पुरानै ब्यवस्थामा रहेछौँ । नत्र अपुर्व जस्ता कलाकारलाई जेल हाल्ने देश लोकतान्त्रिक हुन्छ ?
राज्यले आफू अलोकतान्त्रिक छु है भनेर देखाई रहने स्वभाव छ यहाँ । काठमाडौंका रैथाने वा नेवार समुदायले वर्षौँदेखि भोगेको दमन हेरौँ । खोकना समस्या, सडक विस्तारको मारमा परेका रैथाने, गुठी संस्कृति माथिको प्रहार विरूद्धमा त हामी पनि बोलिरहेका छौँ । यही समुदायका बीचमा एउटा कलाकार जेल पठाइनु भएन भन्ने मलाई लाग्छ । एउटा कलाकारको प्रस्तुतिले कुनै समुदायलाई अपमान गर्यो भनेर उसलाई पुलिस भ्यानमा हाली रहँदा त्यस कलाकारलाई पनि जातीय, रंग, संस्कृति वा शक्तिका कारणले हिंसामा पार्नु भएन । अपुर्वलाई थुनाउने भीडबाट आएका शब्दहरू अपुर्वको प्रस्तुतिभन्दा धेरै गुणा आपत्ति जनक छन् ।
सयौँ नागरिकहरू सहिद भएर, हजारौँ, लाखौँ नागरिकहरू क्रान्तिमा होम्मिएर आएको यो समय । पचासौँ वर्षको संघर्षपछिको यो ूलोकतान्रिक गणतन्त्रू भनिएको ब्यवस्थाको ठूलो उपहास हो अपुर्व गिरफ्तारी घटना । के अब कला र साहित्यलाई राणा र पश्चायत शासनमा झैँ सेन्सरको चंगुलमा हाल्ने ? हामी कस्तो समाज बनाउन खोज्दैछौँ खासमा ? कथित उच्च जातकी केटीसँग प्रेम गरेको नाममा कथित तल्लो जातको केटामाथि शक्ति दुरूपयोग गरेर जेल कोचिन्छ । जेलभित्रै पुलिसले कुटेर उसको हत्या गर्छन् । यता समुदाय र शक्तिको दबावमा एउटा कलाकार जेल जान्छ ? अनाहकमा एउटा जीवन ध्वस्त हुन्छ ।
समाज एकदमै पश्चगामी देख्छु म । तर बुझेका भनाउँदाहरू, यस विभेदपूर्ण र मश्चगामी समाज बदल्नु पर्छ भनेर हिँडेकाहरू पनि मौन छन् । किन ?
उनीहरूको बोलि बन्द हुनुको पछाडि ठूलो डर लुकेको छ । किनभने साँच्चै हाम्रो समाजमा फरक मत, विरोध वा खबरदारीका निम्ति रत्तिभर पनि स्पेस छैन ।
यहाँ बहस र छलफल गर्ने ठाउँ कम छ । ४ जनाले भनेको भन्दा फरक मत भएको १ जना बोल्न डराउँछ । किनभने ४ जनाबाट त्यो एक जनालाई डरैडर छ । फिजिकल डर कम होला । तर, बहिस्करण, निरूत्साहन, अपमान, मानसिक तनाबको डरैडर छ । त्यही भएर पनि यो घटनासँग असन्तुष्ट मानिसहरू पनि बोलिरहेका छैनन् । त्यस बाहेक कतिलाई आफ्नो भोटको राजनीति गर्नु छ । कतिलाई किताब बेच्नु छ । कतिलाई फिल्म चलाउनु छ । सबैको हुनु छ । पिपलपाते हुनु छ ।
तर, के हामीले बाँच्न चाहेको समाज यस्तै हो त ? सामान्य अभिब्यक्ति स्वतन्त्रता पनि नभएको समाज ?
समाजमा दैनिक रूपमा भैरहेको हिंसा र विभेद पीडितले न्याय पाउने स्थिति बनेको छैन । अपराधीहरू खुलेआम छन् । कलाकारहरू भने जेल जाने ? बोलौँ न हामीले चाहेको समाज कस्तो हो ?
के रूपा सुनार मुद्दामा तत्कालिन मन्त्री कृष्णगोपाल श्रेष्ठले सरस्वती प्रधानलाई आफ्नो झण्डावाला गाडीमा राखेर पुलिसबाट घर फिर्ता ल्याए झैँ अपुर्वलाई कसैले फिर्ता ल्याउने कल्पनासम्म पनि गर्न सकिन्छ ? निद्रा अझै परेको छैन ।