मिर्गौला प्रत्यारोपणः झिके पछि भनियो ‘नो म्याच’ – कथालिका

मिर्गौला प्रत्यारोपणः झिके पछि भनियो ‘नो म्याच’

रोग एउटा, उपचार अप्रेशन अर्कै भएको घटनाहरु त बेला बेलामा सुनिएकै हो । यस्तै प्रकृतिको उपचारको एक घटनाले यतिबेला सिंगो स्वास्थ्य क्षेत्र तरंगित छ ।

राजधानी काठमाडौं स्थित बिर अस्पतालमा मिर्गौला उपचारमा गम्भिर त्रुटी भएको पाइएको छ । धादिङ गल्छी गाउँपालिका–२ की ३५ वर्षीया मिर्गौला पीडित महिलामा प्रत्यारोपण गर्न उनकी सासू आमाको मिर्र्गाैला झिके पश्चात चिकित्सकले अन्तिम समयमा नमिल्ने भने पछि बिरामी र उनका आफन्त थप प्रताडित बनेका छन् ।

गत मंगलबार दिन मिल्ने बताए पछि ५३ वर्षीया सासूआमाको मिर्गौला झिकिएको तर पछि डाक्टरले म्याच नहुने बताए पछि आफुहरु आश्चर्यचकित भएको बिरामीका आफन्त बताउँछन् । पहिले मिर्गौला परीक्षण गर्दा मिर्गौला ठीक भएको र दिन मिल्ने रिपोर्ट आएर निकालिसके पछि नमिल्ने बताएर अस्पतालले बिरामीको जीवनमा गम्भिर खेलवाड गरेको दिलबहादुर रम्तेलले बताए । ‘यदि पहिले चेकजाँच गराउँदा नै मिल्दैन भनेको भए हामीले अरु विकल्प खोज्थ्यौ’, उनी भन्छन्, ‘ मिर्गौला निकालेर म्याच हुन्न भन्नु अस्पतालको चरम लापरवाही हो ।’ यस घटना पश्चात पीडित परिवार र आफन्त आक्रोशित बनेका छन् । उनीहरुले उपचारमा सम्लग्न डाक्टर माथि कारवाहीको माग गरेका छन् भने बिरामी र मिर्गौला दान गर्ने सासूआमाको ज्यान जोखिममा परे त्यसको जिम्मा अस्पतालले लिनुपर्ने चेतावनी दिएका छन् । कारवाहीकिा लागि मेडिकल काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी दिने तयारीमा छन् ।

मिर्गौला प्रत्यारोपण गर्न डा. पारसमणि श्रेष्ठ र डा. अनिल श्रेष्ठको टिम खटिएको थियो । अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले घटनाबारे कमजोरी भएको स्वीकार गरे ।
मिर्गौला निकालिसकेपछि अर्को व्यक्तिमा मिर्गौला राख्न नमिल्ने देखिएकाले प्रत्यारोपणका लागि अप्रेसनमा कक्षमा लगे पनि फिर्ता गर्नुपरेको बताए । गम्भिर घटनामा बिरामीका आफन्त आक्रोशित बन्न थाले पछि बिर अस्पताल प्रशासनले घटनालाई थामथुम पार्न प्रयास गरेको पाइएको छ । बिरामी (मिर्गौला लिने र दिने) दुवैलाई उपचारमा कुनै समस्या भए आजीवन उपचार गरी दिने, अनुसन्धान समिति गठन गर्ने र चिकित्सक दोषी ठहर भए कारवाही गर्ने भन्ने सहमति भएको पीडितका आफन्त समेत बताउँछन् ।

अस्पतालका निमित्त निर्देशक डा.बस्नेतले पनि नहुनु पर्ने कमजोरी भएकाले अस्पतालले उपचार खर्च मिनाहा गर्ने, आगामी दिनको उपचार पनि निःशुल्क गर्ने सहमति भएको जानकारी दिए ।

डाक्टर, बिरामीका आफन्त र अस्पताल प्रशासनबीच बिहीबार भएको छलफलबाट घटनाको छानविन गर्न सर्जरी विभागका डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा डा. सरोज शर्मा, डा. अशेष ढुंगाना, डा. दिनेश चापागाईं, डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का सदस्य छन् ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले यस्ता घटना प्रत्यारोपणका क्रममा बिरलै हुने गरेको बताउँछन् । ‘ प्रत्यारोपण अगावै पर्याप्त मात्रामा परीक्षण गरिनुपर्छ, हामीले गर्छौ पनि । यसरी परीक्षण गरे पश्चात मिर्गौला दिन मिल्न नमिल्ने हेर्छौ’, डा. काफ्ले भन्छन्, ‘दुर्भाग्य भन्नुपर्छ, कतिपय अवस्थामा प्रत्यारोपण गर्न निकालिएको मिर्गौला कहिलेकाहीँ नमिल्न पनि सक्छ, एकदमै बिरलै हुने घटना हो ।’ यद्यपि, यसमा कहिलेकाही डाक्टरको कमजोरी पनि हुन सक्ने उनले बताए ।

२०७९, ४ कार्तिक शुक्रबार ०६:४०
कथालिका नयाँ कथा
कथालिका