यसकारण खेलिन्छ देउसी भैलो – कथालिका

यसकारण खेलिन्छ देउसी भैलो

तस्वीर: हरिहर भेटाल

जसले दिन्छ मानु, उसको सुनको छानु
हे…औँशीबार गाईतिहार भैलो

तिहारका पाँच दिन, हरेक दिनको छुट्टै विविधता र महत्व जुन छ । तिहारमा अर्को महत्वपूर्ण पाटो हो देउसी भैलो ।

देउसी भैलो किन खेलिन्छ त ? इतिहास तिर फर्किएर हेर्दा नेपाली समाजमा केही मानक स्थापित छ । संस्कृतिविद् डा.देवमणी भट्टराईका अनुसार देउसीभैलो तत्कालीन समयमा रमाइलोका लागि नभएर कुनै विशेष कामका लागि खेलिएको थियो । बलिराजाले संसारकै ठूलो यज्ञ आयोजना गर्न लागेका थिए । त्यही महायज्ञका लागि आवश्यक धनराशी लगायत सामाग्रीहरु जुटाउनलाई बामन भगवान विभिन्न ठाउँमा माग्दै हिँडे । उनीसँगै त्यस ठाउँका अन्य व्यक्ति पनि समूह बनाएर माग्न हिँडे । यसरी माग्ने क्रममा उनीहरुले भनेको ‘देउ श्री’ अर्थात् ‘पैसा देउ’ पदावली अपभं्रष भएर पछिल्लो समय ‘देउसीरे’ बनेको हो । घरका सबै पुरुष सदस्य माग्नलाई महिनौं, वर्षौं अन्य ठाउँमा पुगेका बेला घरमा बस्ने महिलाहरुले पनि आफ्नो मन बहलाउनका निमित्त ‘भैलो’ खेले । ‘त्यहीँदेखि देउसीभैलोको परम्परा शुरु भएको हो,’ डा.देवमणी भन्छन् ।

यस्तो छ देउसीको कथा
बलिराजाले ठूलो तपस्या गरी देवताहरुलाई युद्धमा जितेर तीन लोक चौध भुवनमा राज्य गरेका थिए । देवताहरुलाई हराएर राज्य चलाए पनि अन्य दैत्यसरह उनले कुकृत्य भने गरेनन् । उनी धर्मकर्ममा निपूर्ण थिए । उता, देवताहरु भगवान् विष्णुकोमा गई राक्षसहरुले हराएको कुरा पहिले नै बताएका थिए । तर, राजा बलीका भक्तिका कारण भगवान् विष्णुले देवताहरुको भनाइलाई त्यति चासो नदिएर म भक्तको अधीनमा रहेको र बलीको पुण्य सकिएपछि राज्य दिलाउने बताए ।

उता, बलीले ठूलो यज्ञ गरी गरिब, निमुखा र ब्राह्मणलाई आवश्यक परेको कुरा दान दिन लागे । राजा बलीको दानरुपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो । उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुप¥यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रुप धारण गरी अवतरित हुनुभयो ।
केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रुप धारण गरी राक्षस राजा बलीको यज्ञस्थलमा भिक्षाम् देही भन्दै जाने काम गर्नुभयो । दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे–
हे कुमार, तिमीलाई के चाहिन्छ माग ।
कुमाररुपी वामन भगवानले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो । तर, वामनलाई चित्त बुझेन र भन्न थाले–
अलि माग, त्यति जाबो के मागेको ?
भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो । वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो ।
यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन । उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् । वामनले यतिमात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरू शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन् । तर, राक्षसका गुरू शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् ।

तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य संकल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् । वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले मत्र्यमण्डल ढाकिन्छ । अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन । सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् । भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । भनिएको छ, अतिरपेण वै सति अति गर्वेण रावण, अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् ।

बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपूर्ण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् । त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ छ । यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झना स्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ ।

अहिलेको देउसी भैलो

पछिल्लो समय भने देउसी भैलोको कथा एकादेशको कथा जस्ता बनिसकेको छ । समय बदलिँदै जाँदा देउसी भैलोमा उल्लेख्य परिवर्तन आएको छ । परम्परागत देउसी भैलोमा बलिराजाको कथा छिटफुट रुपमा सुन्न पाइन्छ । तर, अधिकांश देउसी भैलोमा आधुनिकता छ । अहिलेका मानिसहरुले के बढी मन पराउँछन् ? या के गर्दा घरबेटीले बढी पैसा दिन्छन् ? त्यसतर्फ नै देउसी भैलो समूहको ध्यान केन्द्रित हुने गरेको छ ।

यद्यपी, देउसी भैलो खेल्ने उद्धेश्यमा पनि व्यापकता आएको छ । सामाजिक सेवा, विकास, परोपकार, विद्यालयमा अक्ष्य कोष लगायतका पवित्र उद्धेश्य राखेर देउसी भैलो खेलिने गरिन्छ । कतिपय स्थानमा त देउसी भैलो खेलेरै सामुदायिक विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकहरुलाई तलब खुवाउने गरिएको छ । यस्तो देउसी भैलोमा सोरठी, सालैजो सहित नयाँ पुस्ताले रुचाउने गीत नाँच समावेश छन् । नेपालमा सिस्नुपानी नेपालले खेल्ने देउसी भैलो भने पृथक छ । मुलुकको बेथिति र विकृत पात्र र प्रवृत्तिलाई हाँस्य व्यंग्य गरेर सुधार र सजग हुन प्रेरित गर्ने अभिप्रायले शीर्ष, नेता, प्रतिष्ठित व्यक्तिहरुको आगमनमा हरेक वर्ष देउसी भैलो प्रस्तुत गर्ने गर्दछ ।

२०७९, ८ कार्तिक मंगलवार ०६:३९
कथालिका नयाँ कथा
कथालिका