भाइ तिहारमा सप्तरङ्गी टीका र सयपत्री मालाको कथा – कथालिका

भाइ तिहारमा सप्तरङ्गी टीका र सयपत्री मालाको कथा

तिहारक पाँच दिन मध्ये सबै भन्दा महत्वपूर्ण दिनको रुपमा लिइन्छ भाइ तिहार अर्थात भाइटीका । जुन विशेष उत्साह र हर्षोल्लासका साथ आज (बिहीबार) मनाइदैछ ।

पहिलो दिन कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हः पूजा एवं तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सहित तिहार सम्पन्न हुन्छ ।

तिहारलाई मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यी पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको माहात्म्य छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समय अगावै नडाकून् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ  ।दाजुभाइ र दिदीबहिनीबीचको आदरभाव र स्नेहभावको अनुपम पर्व पनि हो तिहार । दुवैले आपसमा श्रद्धा, भक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर आपसमा आयु, आरोग्य, दीर्घायु होस्, रोगव्याधीले दुःख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ ।

यस्तो छ टीका र सयपत्री मालाको इतिहास र अर्थ
भाइतिहार भाइ टीका पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान९दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान(सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ ।

दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । हिन्दू धर्ममा टीकाको धेरै महत्त्व छ, पूजापाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषतस् रातो वा पहेलो रङ्गका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो। सात रङ्गका यी टीकालाई सप्तरङ्गी भनिन्छ। सतरङ्गी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रङ्ग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रङ्गको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रङ्ग चामल पिनेर र कालो रङ्ग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ।

२०७९, १० कार्तिक बिहीबार ०४:२६
कथालिका नयाँ कथा
कथालिका