पीडा बुझ्नेलाई भोट – कथालिका

पीडा बुझ्नेलाई भोट

जब चुनाव आउँछ, तब नेताहरु दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, केहीले त थोरै सहयोग गरे तर, नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई हाम्ले किन भोट दिने ?

चुनावी चटारो छ । उम्मेदवार जनता भेट्न मात्र होइन, भोटका लागि नमस्कार, अनुनय, विनय गर्न तयार मात्र होइनन्, व्यस्त छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मिति नजिकिएसँगै बागलुङका दुरदराजमा पनि चुनावी सरगर्मी बढ्दो छ । गाउँदेखि सहरसम्म जताततै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर, ढोरपाटनका बाढी पीडितलाई चुनावको कुनै चासो र गुञ्जायस छैन । बरु आफ्नै पीडा र व्यथा छ ।

एक साता यता घरमा उम्मेदवारहरु विभिन्न आश्वासन लिएर भोट माग्न आइरहेका छन् । यसपटक ढोरपाटनका बाढी पीडित सजिलै कुनै दल र उम्मेदवारलाई भोट दिने पक्षमा नरहेको बताउँछन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना सुनाउँछन् । बाढी पीडित कुलबहादुर विक भन्छन्–“नेताहरु चुनावका बेला मात्रै भोट माग्न आउछन्, अनेक प्रलोभन देखाउछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यसपटक जसले हाम्रो पीडा बुझ्छ, विश्वस्त तुल्याउँछ, उसैलाई भोट दिनेछौँ ।”

आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्या झेल्नु परेको भन्दै चुनावका बेला आउने नेताहरुले आशा मात्रै देखाउने तर काम भने नगरेको गुनासो उनको छ । बाढीले सिँगो भूजिखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउन नसकेको बताउँछन् । विक भन्छन्–“हामी अनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँ ठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ, तब नेता,कार्यकर्ताहरु दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई किन हाम्ले भोट दिने ?”

बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी बगाएको थियो । आफन्त र भएभरको सम्पत्ति गुमाएपछि विकले ऋण धन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋण तिर्न अहिले हम्मेहम्मे भएको बताउछन् । विकले विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ राहत पाए पनि घर बनाएको अझै चार लाख रुपैयाँ ऋण थपिएको छ । “सुरुमा केही सहयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ त पाईयो, प्रदेश सरकारले दिने भनेको ५० हजार रुपैयाँ आएन, घर बनाउँदा छ लाख ऋण लाग्यो, चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ,” उनी निराश मुद्रामा आफ्नो व्यथा सुनाउँछन् ।

अर्का बाढी पीडित लिलमाया विकले पनि यसपाली भोट नहाल्ने सोचमा रहेको बताउछिन् । उनले भोट हाल्नै परे बाढी पीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताइन् । आफूहरुलाई नेताहरुले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेकाले अब भ्रममा नपर्ने उनको भनाई छ । “अहिलेसम्म मैले धेरै पटक भोट हाले, भोट हालेर मैले केही पाएन, गाउँले केही पाउन सकेन, नेता मात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यही भयो, अहिले भोट हाल्नै परे बाढी पीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।

बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उनले पनि अहिलेसम्म पाउनु पर्ने राहत पुरै पाउन नसकेको गुनासो गर्छिन् । केही नेताले बाढी आएको बेला राहत दिलाई दिने आश्वासन दिए पनि अहिलेसम्म दिलाउन नसकेको बताए । “सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरु त झन् हामीलाई कसले दिन्छ र ? बाढी आएको बेला केही नेता आएर हामी राहत दिलाई दिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरुले दिलाउन सकेनन्” विकले भने ।

बाढीमा जीवन संगिनीसहित तीन सन्तान गुमाएका निमप्रकाश विकले पनि आफूहरुका माग पूरा गर्ने नेतालाई मात्र भोट दिने बताउँछन् । बाढीले भएको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बिति सक्दा पनि कुनै नेताले सहयोग नगरेको दुखेसो गर्छन् । अहिले दिनदिनै नेताहरु भोट माग्न आएको भन्दै उनीहरुलाई भोट नदिने भनेर फर्काइ दिएको उनको भनाई छ ।
“आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्ने उछार दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरुले बुझ्ने होइन, हाम्रो भोट उनीहरु नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही,” विक भन्छन्, “मैले त घरमा आउने सबैलाई भोट दिन्न भनेर फकाई दिन्छु, केहीले त घर बनाइ दिन्छौँ, सहयोग गर्छौँ पनि भन्छन्, चुनाव जितेपछि उस्तै अवस्था त होला ।”

बाढीले विकको श्रीमती, तीन छोरा भए भरको जायजेथा सबै बगाएको थियो । २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परि ३८ बढीले ज्यान गएको थयो । २३ जनाको शव फेला परे पनि १५ जना अहिलेसम्म वेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो ।

२०७९, १४ कार्तिक सोमबार ०६:१५
कथालिका नयाँ कथा
कथालिका