मुक्तिनाथमा मूर्ति – कथालिका

मुक्तिनाथमा मूर्ति

मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति राखिएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ ।

तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्‍घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै नयाँ बन्ने विष्णु भगवानको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए ।

मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको भनाइ छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिब ८ सय वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरू पनि छन् ।

परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बर्दन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गुरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति निर्माण गर्न लागिएको हो ।

मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरु योजनाको एक अंशका रुपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो ।

पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको लामाले बताए । मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताए । पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् ।

“पाहुनालाई बुद्ध मूर्ति आराधनाका लागि मात्र होइन ध्यान योग दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूत गर्ने गरी यो संरचना तयार गरेका हौ,” लामाले भने । सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिब ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको बताए । मुक्तिनाथ मन्दिर नजिकको रानी पौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिब ३ हजार सात सय मिटरको उचाइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

२०७९, १५ कार्तिक मंगलवार ०४:२२
कथालिका नयाँ कथा
कथालिका