फैलियो व्यापार ‘दुबोसरी’ – कथालिका

फैलियो व्यापार ‘दुबोसरी’

  • आफन्त र साथीभाइबाट दुबो तथा पुष्प व्यवसायका लागि ऋण सापटी सहयोग पाएन । ‘अन्तिम अवस्थामा घरबेटी आमालाई आग्रह गरे पछि ५ हजार दिनु भो’ उनले भने, ‘त्यही पनि जग्गाका लागि धरौटी स्वरुप मागे पछि धेरै दुःखले सुरु गरेको व्यवसाय अहिले दुबोसरी नै फैलिएकोमा निकै खुसी छु ।’

फैलियो माया दुबो सरी, कहिल्यै घटेन
कहाँ राखु तिम्रो याद, दिलमा अटेन
फैलियो माया दुबो सरी…..
त्रिविक्रम पाण्डेले धेरै वर्ष अघि दुबोलाई ‘बिम्ब’ बनाएर लेखेको शब्द, शिलाबहादुर मोक्तानले संगीत भरेर राजेशपायल राइको आवाजमा सजिएको यो गीत निकै चर्चित छ । असीम प्रेमको अभिव्यक्तिका लागि प्रयोग गरिएको ‘बिम्ब’ को अर्थ र महत्व माया प्रेममा समर्पित हुनेहरुले के कति बुझे ? थाहा छैन । तर, झापाबाट पोखरा आएका झरेश राजबंशीले दुबोको महत्व राम्ररी बुझेनन् मात्रै, पोखरामा पहिलो पटक दुबोको व्यावसायिक खेती गरेर मनग्गे आम्दानी गर्न सफल रहे ।

आफ्नै देशमा केही गर्ने व्यक्तिगत सपना, परिवारलाई सुख साथ राख्ने चाहना । विदेश नै जानुपर्छ भन्ने परिवार र समाजको जोड । यद्यपी, झरेशलाई विदेश जाने हुटहुटी जागेन । नेपालमै केही गरेर आफ्नै परिवारसंग सुख दुःख जीवन बिताउनुपर्छ भन्ने दृढता र सोचले उद्यममा आकर्षित भएको उनी बताउँछन् । यसका लागि एक आफन्तले गरेको आग्रहलाई स्वीकार गर्दै झापाबाट पोखरासम्म काम सघाउने शर्त सहित उनी २०५८ सालमा पोखरा आइपुगेका हुन् ।

अहिले खरेशले पोखरामा दुबो खेती र फूलको व्यापार गरेर मनग्ये आम्दानी गरेका छन् । यही व्यवसाय मार्फत परिवारको जीविका, व्यवस्थापनका साथै सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्न सफल छन् खरेश । उनी भन्छन्, ‘विदेश गएको भए यस्तो आत्मसन्तुष्टी कहाँ पाउथे र ? धैर्यता, सहनशील, अथक मेहेनतले सम्भव गराइदियो ।’ यो सफलता उनले सहज हासिल गरेका भने होइनन् । ‘मेहनत, धैर्यता र आफै प्रति केही गर्न सक्छु भन्ने विश्वास भयो भने सफलता हासिल गर्न सकिन्छ,’ उनी थप्छन् । समाजले के भन्ला, आफ्ना दौंतरी सबै विदेश गएर टन्न सम्पति कमाए भनेर पछुताउनु भन्दा आफै केही उद्यम, व्यवसायमा ध्यान लगाउने हो भने मनग्य आम्दानी गर्न सकिने उनी बताउछन् ।

नर्सरीमा काम गर्न आएका खरेश
पोखरा आउनु अगाडि मनमा अनेकन चाहना, रहर र बाध्यता बाहेक झापामा उनको कुनै काम थिएन, घरमै बसिरहन्थे । एक किसिमको फकिर बेरोजगार । खरेशका एकजना आफन्तले पोखरामा फूलको नर्सरी स्थापना गरेर व्यवसाय सञ्चालन गर्थे । उनलाई घरमा नै बसिरहेको देखेर काम गर्ने इच्छा भए आफूसंग पोखरा गएर नर्सरीमा काम गर्न अनुरोध गरेका थिए । उनीसंग गाडी भाडा पनि थिएन । त्यो समयमा उही आफन्तले खरेशलाई गाडी भाडा तिरेर ल्याएका थिए । ‘उहाँले २ सय ५० रुपैयाँ गाडी भाडा समेत आफैंले तिरेर आफ्नो नर्सरीका काम गर्न मलाई पोखरा ल्याउनुभएको हो’ उनले भने । पोखरा ल्याएका नर्सरी सञ्चालकको नर्सरीमा उनले करिब १ वर्ष काम गरे । त्यही नर्सरीमा काम गरेदेखि आम्दानी गर्न सकिने रहेछ भन्ने सोचसहित खरेश यो पेसामा आकर्षित भएका हुन् । ‘काम गर्दा गर्दै मलाई यो व्यवसाय त मैले सुरु गर्नुपर्छ भन्ने लागेको थियो,’ उनी भन्छन् ।

दुबो व्यवसायबाट सुरुवात
खरेशले सुरुमा पुष्प व्यवसाय भन्दा अघि दुबो खेतीबाट आफ्नो व्यवसाय सुरु गरेका थिए । उनका अनुसार पोखरामा त्यो समयमा दुबो विराटनगरबाट आयात हुने गरेको थियो । पर्यटकीय सहर पोखरामा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट व्यवसाय गर्नेको संख्या बढ्दै थियो । तर, व्यवसायीले होटल र रेष्टुरेण्ट सञ्चालन गरेर सजावट गर्न आवश्यक पर्ने दुबो भने बाहिरी जिल्लाबाट आयात गर्नुुपर्ने बाध्यता थियो । त्यही बाध्यताका कारण यही दुबो खेती गर्नुपर्छ भन्ने सोच र आँट आएको उनको भनाई छ । दुबो व्यवसाय सुरु गर्ने भन्ने त भयो । तर, लगानी गर्न उनीसंग रकम भएन । परिवारको आर्थिक अवस्था उति राम्रो थिएन । त्यसैले उनले आफन्त साथीभाई लगायतसंग सहयोगको लागि हात फैल्याए । रकम दिन कोही तयार भएनन् । ‘विदेश जान लाखौं रकम ऋण दिनेले नेपालमै बसेर व्यवसाय गर्छु भन्यो भने पैसाको सहयोग गर्दैनन्, यो मलाई राम्रो सँग अनुभूति भयो, यो समस्या पहिले अहिले पनि बिद्यमान छ,’ खरेश भन्छन्, ‘यही सोच र प्रवृत्तिका कारण देशमै केही गर्ने सोच र सामथ्र्य भएकाहरु पनि विदेश पलायन हुन बाध्य भइरहेका छन् ।’

खरेशले २० रोपनी जग्गामा दुबो लगाएका छन् । नर्सरीमा तयार हुने दुबो काठमाडौं, विराटनगर लगायतका सहरमा बिक्रीका लागि पठाउँछन् । ठूलो चौरमा लगाउनु पर्ने दुबो ३ महिनामा बेच्नका लागि तयार हुने उनको भनाई छ ।

घरबेटीले दिएको पाँच हजारले सुरु गरेको व्यवसाय
सहयोग गर्न कोही अगाडि नआएपछि उनले केही समय हरेश खाए । अब सकिदैन भन्ने खरेशको मनमा आइसकेको थियो । कुनै उपाए नभए पछि अन्तिम पटक कोसिस गर्छु सहयोगका लागि भन्ने सोचले उनले पछि सकेको अवस्थामा फिर्ता गर्ने शर्त सहित आफ्नै घरबेटी आमासँंग सहयोगका लागि आग्रह गरे । ‘आफन्त र साथीभाइले सहयोग नगरेको अवस्थामा घरबेटी आमाले मलाई ५ हजार दिनु भो’ उनले भने, ‘यो मेरो लागि ठूलो उपकार थियो, आज जुन सफलता हासिल गरेको छु, त्यही पाँच हजारका कारण पाएको हुँ ।’ घरबेटीबाट त्यति भए पनि रकम सहयोग स्वरुप प्राप्त गरेपछि उनले आफ्नो व्यवसाय त्यही रकमबाट सुरु गरेका हुन् । उनले त्यसपछि ५ रोपनी जग्गा भाडामा लिए । त्यही रकम पनि उनले व्यवसाय गर्न भनेको जग्गा धनीले धरौटी मागेपछि दिएका थिए ।

दुबो खेती र पुष्प व्यवसायको सुरुआत गरे पनि उनले अन्य व्यक्तिको नर्सरीमा काम गर्न भने छोडेनन् । आफ्नै व्यवसाय भए पनि लगातार ४,५ वर्ष अन्य सञ्चालकको नर्सरीमा काम गरिरहे । दिनभर अरुको नर्सरीमा र राति खरेशले आफ्नो नर्सरीमा फूल र दुबो रोपेको अनुभव सुनाउँछन् । ‘अन्य कामदार राख्न मसंग त्यो समयमा पैसाको अभाव थियो,’ उनी भन्छन्, ‘दिनभरी अरुको नर्सरीमा काम गरेर राति १२,१ बजेसम्म आफ्नो नर्सरीमा काम गर्थें ।’ यो समयमा आर्थिक अवस्था केही सहज हुँदै गयो । पछि भने उनले केही कामदार राखे । तर, अरुको नर्सरीमा काम गर्ने उनको दिनचर्या जारी थियो । अरुको नर्सरीमा काम गरेर पाएको तलब त्यो समयमा खरेशले आफ्नो नर्सरीमा काम गर्नेलाई तलब स्वरुप प्रदान गर्थे ।

पोखरामा पहिलो पटक पटक दुबो खेती
पोखराको काजीपोखरीबाट केही भित्र उनको नर्सरी तथा दुबो खेती छ । उनले आफ्नो व्यवसायलाई ‘पोखरा दुबो तथा फूल नर्सरी’ नाम दिएका छन् । खरेशले २० रोपनी जग्गामा दुबो लगाएका छन् । नर्सरीमा तयार हुने दुबो काठमाडौं, विराटनगर लगायतका सहरमा बिक्रीका लागि पठाउँछन् । खरेशका अनुसार ठूलो चौरमा दुबो खेती गर्नुपर्छ । दुबो ३ महिनामा बेच्नका लागि तयार हुने उनको भनाई छ । खरेशका अनुसार पोखरामा दुबो खेती गर्ने उनी पहिलो व्यक्ति हुन् । दुबो र पुष्प व्यवसाय गर्दा उनलाई चुनौती र समस्या नआएका होइनन् । ‘कृषि गर्ने भने पछि पैसा दिएर सहयोग गर्नै खोज्दैनन् । एक लाख मात्रै दिनुस्, म ब्याजसहित फिर्ता गर्छु भन्दा समेत सहयोग गर्दैनन्’ उनी भन्छन् । खरेशका अनुसार जीवन र चुनौती एकअर्काको परिपुरक हुन् । हरेक पाइलामा चुनौती आइरहन्छन् । ‘चुनौती त आइरहन्छन्, त्यसो भन्दैमा डराएर बसेर हुँदैन,’ उनले भने, ‘समस्या र चुनौतीलाई चिर्दै अगाडि बढ्ने हो ।’

खरेशलाई पुष्प व्यवसायीको सबैभन्दा ठूलो समस्या भनेको आफ्नै जग्गा नहुनु हो जस्तो लाग्छ । भाडामा अरु व्यक्तिको जग्गा लिएर काम गर्नुपर्छ, त्यो पनि जग्गा धनीले ५ वर्षको लागि मात्रै जग्गा उपलब्ध गराउँछन्, त्यसपछि छोड्नुपर्छ । ‘हरेक ५,५ वर्षमा जग्गा खोज्दा धौ हुन्छ,’ उनले भने । त्यही समस्याका कारण उनले आफ्नो व्यवसायलाई पोखराका विभिन्न स्थानमा स्थान्तरण गरेका छन् । उनका अनुसार अन्य पुष्प व्यवसायीको समेत समस्या यही नै हो । ‘कुनै सरकारी जग्गा हामी जस्ता व्यवसायीलाई केही लामो समयका लागि भाडामा दिएको अवस्थामा भने लगानी गरेर अझै राम्रोसंग काम गर्न सहज हुन्थ्यो,’ खरेश भन्छन् । यो समस्याको समाधान भएको अवस्थामा अन्य समस्या त्यसै समाधान गर्न सकिने खरेशको अनुभव छ ।

  •  ‘व्यवसाय हो, सधैं फाइदा मात्रै हुँदैन, तर घाटा भयो भन्दैमा विदेश जाने सोंच कहिले आएन,’ प्रफुल्लित हुँदै उनले भने, ‘अझै धेरै युवालाई रोजगारी उपलब्ध गराउने मेरो उद्देश्य छ ।’ 

काम खोज्दै आएका खरेशको फार्ममा १० जना कामदार
यही व्यवसायले उनले परिवारलाई सुखको जीवन दिएका छन्, ४ जना बालबच्चा सहित श्रीमती र परिवारको जीवन सहज बनाएका छन् । समस्या र चुनौतीले घेरिएर एक्लै हुँदा समेत खरेशले हार खाएनन् । सधैं चुनौती र समस्याको समाधान गर्दै आफ्नो व्यवसायलाई कसरी अगाडि लैजाने र धेरै युवालाई रोजगारी कसरी प्रदान गर्ने भन्ने उनको मनमा आइरह्यो । व्यवसाय चलेन, अब विदेश जानुपर्छ भन्ने सोच उनको मनमा कहिले आएन । अहिले उनको नर्सरी र दुबो खेतीमा सहयोग गर्न १० जना कामदार राखेका छन् । ‘व्यवसाय हो, सधैं फाइदा मात्रै हुँदैन, तर घाटा भयो भन्दैमा विदेश जाने सोंच कहिले आएन,’ प्रफुल्लित हुँदै उनले भने, ‘अझै धेरै युवालाई रोजगारी उपलब्ध गराउने मेरो उद्देश्य छ ।’ नेपालमा सम्भावना छैन भनेर विदेशिने धेरै छन्, खरेशलाई लाग्छ मेहनत गरेर धैर्यता राख्न सके यहाँ आम्दानी मनग्ये रुपमा गर्न सकिन्छ । ‘काम गर्नुप¥यो, हिम्मत हार्नु भएन, सफलता नेपालमै प्राप्त गर्न सकिन्छ,’ खरेश भन्छन् ।

कोरोना महामारीको समयमा अन्य व्यवसायीलाई जस्तै उनलाई पनि केही समस्या भयो, यद्यपी हार भने खाएनन् । आफू, परिवारसहित कामदारलाई समेत हेनुपर्ने अवस्था आयो खरेशलाई । त्यो समयमा उनले खेती गरेको दुबोको व्यापार शुन्य भयो, फूलहरु केही मात्रामा बिक्री हुन्थ्यो । त्यही फूलको बिक्रीबाट उनले परिवार र कामदारको आर्थिक अवस्था धानेका थिए । अहिले पनि फूल र दुबो दुवैको व्यापार त्यति राम्रो नभएको उनले बताए । ‘कोरोना महामारी भन्दा अगाडि फूल र दुबोको व्यापार एकदम राम्रो थियो ।’ उनी भन्छन्, ‘अहिले पनि नराम्रो त होइन, तर सोचे जस्तो व्यापार छैन ।’

भनिन्छ, हरेक सफल पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ । उनको पनि सफलताको पछाडि आफ्नोे श्रीमतीको हात रहेको सहर्ष स्वीकार गर्छन् । अहिले उनले आफ्नो पुरै समय दुबो खेती र फूलको व्यवसायलाई दिएका छन् । श्रीमतीले उनको व्यवसायलाई भरपूर साथ दिएकी छिन् । खरेशलाई लाग्छ, घरपरिवार र सन्तानको जिम्मेवारी सही तरिकाले श्रीमतीले नलिइदिएको भए उनले यो व्यवसायमा सफलता पाउन सक्दैनथे । ‘श्रीमतीले घर, सन्तान र परिवार हेरिदिएकी छिन् र त मैले आफ्नो व्यवसायलाई पूरै समय दिन पाएको छु ।’ खुसी हुँदै उनले भने, ‘मेरो सफलतामा उनको ठूलो हात छ ।’

वार्षिक २० लाख बचत, व्यवसाय विस्तारको योजना
भर्खर–भर्खर व्यवसाय सुरु गर्दा उनले साइकल चलाउँथे । दुबो खेती र पुष्प व्यवसायबाटै उनले साइकलबाट मोटरसाइकल चढे, मोटरसाइकलबाट अहिले गाडी समेत किन्न सफल छन् । यति मात्र होइन, यही व्यवसायबाट उनले केही जग्गा जोडेका छन् । उनलाई लाग्छ मेहनत गरेको खण्डमा सफलता पाउन सकिन्छ । अहिले खरेशले वर्षमा ५० देखि ६० लाखसम्मको दुबो र फूलको कारोबार गर्छन् । व्यवसायलाई आवश्यक पर्ने सामान, घरपरिवारको खर्च, कामदारलाई हरेक महिनाको तलब लगायत गरेर वर्षमा २० लाख बचत गर्छन् ।

नेपालमै बसेर आम्दानी सहित बचत गर्ने भइसकेपछि उनी सन्तुष्ट छन् । उनको अबको इच्छा र चाहना भने आफ्नो व्यवसायलाई विस्तार गर्नु र धेरैभन्दा धेरै व्यक्तिलाई रोजगार दिनु हो । ‘धैर्यताका साथ मेहनत गर्नुस्, एकदिन सफलता अवश्य मिल्छ, यही बसेर सजिलै जीवन धान्ने उपाए दुबो खेती र पुष्प व्यवसाय मात्रै होइन, अन्य पनि छन् ।’ उनले भने, ‘मैले यही बसेर मनग्य आम्दानी गरेको छु, यसमै खुसी छु, अबको मेरो उद्देश्य आफ्नै व्यवसायलाई विस्तार गरेर अरु धेरै व्यक्तिलाई रोजगार दिनु र देशमै केही न केही उद्यम गरे सफलता हासिल गर्न सकिन्छ भन्ने बनाउनु हो ।’

२०७९, २० कार्तिक आईतवार ०७:३६
कथालिका नयाँ कथा
कथालिका