सन्निकट चुनावः उही पात्र, उस्तै प्रवृत्ति – कथालिका

सन्निकट चुनावः उही पात्र, उस्तै प्रवृत्ति

चुनावको सम्मुखमा चर्चा र चासो छ कि अब चुनाव पछिको प्रधानमन्त्री को ? कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड या एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ? यसबारे पर्वतकी संगिता केसी लेख्छिन्, ‘यिनीहरु कुनै पनि अबको प्रधानमन्त्री भएको देख्न मन छैन तर दुर्भाग्य, अब हुने भनेको यिनीहरु नै हुन् ।’ यो नेपालको वर्षाैदेखिको नियति हो । अहिलेको निर्वाचनमा पनि पुरानै अनुहार हावी छ । पुरानो पात्र मात्र होइन, चुनावी परिदृश्य हेर्दा पात्र सँगै र अबको पाँच वर्ष पनि जिल्लादेखि केन्द्र सम्म पुरानै प्रवृत्ति दोहोरिने खतरा बढ्दो छ ।

चौतर्फी प्रश्न र चुनौतिको घेरामा पुराना नेता
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवार यतिबेला चुनावी प्रचार र घरदैलोमा व्यस्त छन् । तर, चुनावमा पटक पटक जित हासिल गर्दै आएका ती अनुभवी पुराना नेताहरुले यसपटक जनताका गम्भिर प्रश्न र आक्रोशको जबरजस्त सामना गरिरहेका मात्र छैनन्, गठबन्धन गर्दा समेत चुनावमा असुरक्षित महुशुस गर्न बाध्य भइरहेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरामा चुनावी मैदानमा छन् । उनलाई लामो समय साथ दिदै आएका कांग्रेसकै नेता कर्ण मल्लले अहिलेको चुनावमा चुनौति दिइरहेका छन् । उनी मात्र होइन, गुल्मीका सागर ढकाल समेत स्वतन्त्र उम्मेदवार बनेर देउवालाई अब आराम गर्ने सन्देश प्रवाह गरिरहेका छन् । ढकाल तिनै पात्र हुन्, जसले प्रधानमन्त्री रहेका बेला केही वर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई कडा प्रश्न सोधे पछि तपाइँ बढ्ता बोल्दै हुनुहुन्छ भन्ने आक्रोशित जवाफ भाइरल भएको थियो ।
प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । कांग्रेसका अर्का नेता रामचन्द्र पौडेललाई पनि तनहुँ–१ मा कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीको चुनौति सामना गरिरहेका छन् । पार्टीभित्रको आन्तरिक किचलो नमिलाए मोरङबाट नेता शेखर कोइरालालाई पनि सहज छैन । पौडेल र कोइराला अघिल्लो निर्वाचनमा पनि पराजित भएका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका मुख्य नेतालाई पनि उस्तै चुनौती छ । झापा–५ बाट निर्वाचित हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो पटक सत्ता गठबन्धनका कारण चुनाव जित्न सजिलो छैन । अघिल्लो निर्वाचनमा राप्रपाको समेत साथ पाएका ओलीलाई यस पटक राप्रपासँगै स्वतन्त्र उम्मेदवार चुनौति हुने देखिन्छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका युवा नेता प्रदिप पौडेल चुनौतिको रुपमा आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि जित हासिल गरेको क्षेत्र चितवन छोडेर गोरखा पुगे । यसरी आफ्नो निर्वाचित चुनावी क्षेत्र छोडेर अन्यत्र जानुका पछाडि असुरक्षित आभाष नै भएको कुरा छिपेको छैन । गोरखामा पनि उनलाई गठबन्धन दलका नेता, कार्यकर्ता र समर्थकको भर छ । यही क्रममा तत्कालीन नयाँ शक्ति पार्टी हाल गठबन्धन दल समाजवादी पार्टीकै नेता रहेका गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्य प्रचण्ड विरुद्ध भोट मागे पछि बर्खास्तीमा परेका छन् । यस क्षेत्रमा एमालेका युवा उम्मेदवारको रुपमा अब्दुस सलाम मिया चुनावी मैदानमा छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनावी प्रतिस्पर्धामा छन् । वर्षौ महासचिव भएर चलाएको पार्टी एमाले बिभाजन गरेर नयाा पार्टी बनाए पछिको पहिलो चुनाव उनलाई लागि ठुलो अग्नी परीक्षाको विषय बनेको छ । भलै उनलाई गठबन्धनको आड भरोसा छ । नेपालसँग एमाले जसपा गठबन्धनबाट अजयकुमार गुप्त प्रतिस्पर्धामा छन् ।

यी त प्रतिनिधि पात्र भए । अहिले थुप्रै पुराना नेताहरु नयाँ पुस्ताको प्रश्न, आक्रोशको निशाना मात्र होइन, विकल्प सहित मैदान उत्रिएका छन् । यसमा पुराना शीर्ष केन्द्रीय नेता मात्र होइनन्, एउटै क्षेत्रबाट पटक पटक बिजयी भएर उल्लेख्य काम नगरेका प्रदेश र जिल्लाका नेताहरु पनि छन् । जो अहिले जनताको बिचमा सकसलाग्दा प्रश्न, आक्रोश, आलोचना बेहोरिरहेका छन् ।

न सिद्धान्त, न विचारः केबल जित्ने एक अभिप्राय

कम्युनिष्ट नेता घनाश्याम भुसालले तीन वर्ष अघि भनेका थिए, ‘राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन् । सिद्धान्त, संगठन र कार्यशैलीगत । यसमा सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ । त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति ल्याँउछ ।’ अहिले नेपाली समाज र राजनीति ठिक यही समस्या र बेथितिबाट आक्रान्त बनिरहेको छ । कुनै यस्तो दल छैन, जसलाई आफ्नो विचार, सिद्धान्त, चुस्त संगठन र कार्यशैलीका आधारमा चलेको होस् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो जस्ता दल चुनाव जित्नैका लागि एउटा गठबन्धन बनाइरहेका छन् भने नेकपा एमाले, राप्रपा, जनता समाजवादी पार्टी अर्को गठबन्धन बनाएर चुनावी मैदानमा छन् । यदि यी दलका शीर्ष नेताहरुको अघिल्लो निर्वाचनको भाषण या केही समय अघि सम्मको भाषण आर्काइभ हेर्ने र सुन्ने हो भने पनि अहिलेको मिलन निकै अस्वभाविक र आश्चर्यजनक लाग्छ ।

पुरानो बेथितिग्रस्त भनेर राजतन्त्रात्मक शासन व्यवस्था बदले पनि राजनीतिक दल र नेताहरुले राजाभन्दा सक्षम भएको पुष्टि गर्न नसक्दा आज राजतन्त्रको आवाज पुनः मुखरित भएर आउन थालेको छ । अहिलेको चुनावमा पनि पुराना नेताहरुको प्रवृत्ति सुधारिएको छैन । उही पुरानै शैलीमा, उही पुराना बाचा र आश्वासन लिएर जनता माझ गएका छन् । जनताको धैर्यता, सोझोपन, भावनात्मक आवेग माथि दोहन गरेर नेताहरूले राजाकै ठाँउमा आफूलाई राखेकोमा जनता आक्रोशित छन् । न सिद्धान्त, न विचारमा ध्यान र गठजोड छ । साम, दाम, दण्डभेद जे जसरी भए पनि केवल चुनाव जित्नु मात्र नेताहरुको लक्ष्य छ ।

नेताको निद्रा खासेको ‘नो, नट अगेन’ 
आसन्न चुनावमा एक अभियानले नेपाली राजनीति तरंगित छ । त्यो हो नो नट अगेन अर्थान् पुरानै नेतालाई फेरि जिताएर अब समय र अवसर बर्बादी नगरौं भन्ने जागरण । यसले विशेषतः संघीय राजधानी काठमाडौं सहित मुख्य शहरहरुमा गम्भिर बहस र तरंग पैदा गरिरहेको छ । नो नट अगेन राजनीति दल र केन्द्रीय नेताहरुलाई टाउँको दुखाइको विषय बन्न पुगेको छ । जसबाट नेता र उम्मेदवारहरु पनि त्रसित मात्र होइन, धेरै हद सम्म सचेत बन्न थालेका छन् । कतिपय नेताले यही अभियानका कारण यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको घोषणा सहितको भाषण पनि गरिरहेका छन् ।

‘नो, नट अगेन’ अभियानका अभियन्ता नाम नबताउने शर्तमा भन्छन्, ‘हाम्रो अभियान कुनै वाद वा व्यक्तिलाई राजनीतिमा स्थापित गर्न वा स्थापित गर्ने मनसायबाट अभिप्रेरित छैन । हामीलाई व्यवस्था विरोधी भनिएको पनि यदाकदा सुनिन्छ । तर हामी यो व्यवस्थाको विकल्प खोज्न होइन, यही व्यवस्थालाई अझ सुदृढ र जनमुखी बनेको हेर्न चाहन्छौं ।’ आजसम्म भएका व्यवस्था परिवर्तनका लडाईं र आन्दोलनका उपलब्धिलाई सम्मान गर्दै फरक ‘सामाजिक जागरण’का साथ आएको अभियान, ‘नो, नट अगेन’ अभियान हो ।

२०६२–६३ को जनआन्दोलनपछि पनि आम मानिसका समस्या सम्बोधन भएको छैन । सामान्य मानिसको जीवन दुरुह, अझ दुरुह बन्दै गइरहेको छ । अर्थतन्त्र तहसनहस छ । महँगीले आकाश चुमेको छ । आयातको ग्राफ उकालो लागेको लागेकै छ । बजारबाट नोट गायब छन्, बैंकमै पैसाको अभाव छ ।

भूराजनीतिक र जलवायु परिवर्तनको बढ्दो चुनौतीले त्रास सिर्जना गरिरहेको छ । दैनिक हजारौं युवा काम खोज्न विदेश उडिरहेका छन् । त्रिभुवन विमानस्थलमा विदेशिने युवाहरूको मात्र भीड नभई, विदेशबाट आएको लासको बाकस बुझ्न पर्खेका आफन्तको पनि भीड देख्न सकिन्छ । देशको यो दुर्दशाको जिम्मेवारी जसले लिनुपर्ने हो, उनीहरू भने यी सब चिजबाट बेखबर बस्न खोज्छन् र प्रश्न आएपछि पन्छिन्छन् । ‘नो, नट अगेन’ ले भनेको यत्ति हो–‘तपाईंहरूले जति गर्न सक्नुहुन्थ्यो, गरिसक्नुभयो । अब आराम गर्नुस् ।’ अनि शब्दका माध्यमबाटै खबरदारी स्वरुप भनिरहेछन्–‘हामी पटक–पटक मूर्ख भयौं होला, तर सधैंभरी मूर्ख बन्न कदापी तयार छैनौं । सोच बदलौं, भोट बदलौं ।’

२०७९, २४ कार्तिक बिहीबार ०८:१२
कथालिका नयाँ कथा
कथालिका