नेपाली समाज संस्कृतिका हिसाबले कति विविधतापूर्ण छ ? यसको उदाहरण यहाँ दैनिकजसो मनाइने बिभिन्न जातजाति, धर्म, संस्कार, संस्कृति अनुसारको चाड हेरे मात्रै पनि पुग्छ ।बागलुङको एक मगर गाउँ जहाँ बारीमा भुस पोलेर पर्व मनाइन्छ । यस पर्वको छुट्टै विशेषता मात्रै होइन, पर्व प्रतिको अभूतपूर्व विश्वास र अपनत्व उस्तै रहरलाग्दो छ ।
जिल्लाको ताराखोला गाउँपालिका देशभरमै स्रोत साधनमा धनी मानिन्छ । यस पालिका स्थानीय स्रोत साधनले मात्र होइन, संस्कृतिले पनि धनी छ । यहाँ अरु गाउँमा भएका ऐतिहासिक परम्परागत कला संस्कृति भन्दा भिन्न, पृथक र अनौठा लाग्ने संस्कृति अहिले पनि प्रचलनमा छन् । जसमध्येको एक हो भुस पोल्ने पर्व ।
ताराखोला गाउँपालिकाको वडा नम्बर २ अर्गलमा मनाइने परम्परागत चाड हो यो। यो हरेक वर्षको कात्तिक अन्तिम साता यहाँका मगर समुदायले मनाउने गरेका छन् । पाल्पाको अर्गलीबाट बसाई सरी आएका मगरले खोरिया फाँडेर झारपात पोली अन्नबालीको खेती सुरु गरेको सम्झनामा यो पर्व मनाउने गरिन्छ । अर्गली मगरले पितृकार्य स्वरुप हरेक वर्ष कात्तिकको २४ देखि २६ गते सम्म यो पर्व मनाउने गर्छन् । २४ गते भुस पोलेपछि २५ गते पितृ चढाउने र २६ गते छापे खन्ने वा अर्गासी खन्ने चलन छ । मंसिरमा मृत्यु भए पनि आउने कात्तिकमा मात्र चोखिने परम्परा रहेको अर्गली मगरले कात्तिक २३ गतेसम्म मृत्यु भएका परिवारका सदस्यको श्राद्ध गरेर २६ गते चोखिन पाउने प्रचलन छ ।
‘पर्व मनाए दुःख फुक्छ, किटाणु मर्छ’
अर्गली मगरहरुले घामको झुल्कोसँगै विधिवत रुपमा पूजाअर्चना गरी भुस पोल्न सुरु गर्दछन् । उनीहरुले यो पर्वको अवसरमा वर्षभरि मृत्यु भएका पितृहरुको सम्झानामा पितृ पूजा समेत गरेर वर्ष दिनको दुःख समेत फुकाउने गर्दछन् ।
कहिलेदेखि भुस पोल्न थालिएको हो भन्ने बारेमा एकिन जानकारी नभएपनि पूर्खाको प्रचलनअनुसार आफूहरुले पनि निरन्तरता दिएको शिक्षक सूर्य घर्तीले जानकारी दिए । यो समयमा भुस पोलेर छापे खनेपछि वर्षभरीका लागि दुःख फुकेको मानिने प्रचलन छ ।
भुस पोल्ने पर्वलाई अर्गलीहरुले दसैंतिहार जस्तै महत्त्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन् । हिउँदे खेती थाल्नुअघि बारीमा भुस स्याउला पोल्दा माटोमा भएका किटाणु पनि मर्ने भएकोले यो वैज्ञानिक समेत भएको स्थानीय घर्ती बताउछन् । यो पर्व मनाउने बेलामा विशेषगरी अविवाहित युवायुवती गाउँ आउँछन् । अर्गलको शंखुबारीमा बुढापाकाले शंखुबारीमा जौं छरेपछि युवायुवतीले सामूहिक रुपमा खन्छन् । यो पर्वकै रुपमा लिइने भएकोले सैयौं मानिस छापो हालेको र बारी खनेको हेर्न आउँछन् । यसरी खन्न आएका युवायुवतीले राम्रो बरबधु पाउने विश्वास छ ।
खोरिया फाँडेर बसेको दिनको सम्झना
बुढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउने विश्वास छ । ‘खोरिया फाँडेर बसेको दिनको पनि यो सम्झना हो, त्यसैले खनीखोर्सी गरेर बीउ छर्दा भकारीमा सहकाल आउँछ भन्ने विश्वास छ, ’ भुस पोल्ने पर्वका बारेमा पुस्तक समेत लेखेका स्थानीय बिर्खलाल घर्ती भन्छन्, ‘सहकालका देवता प्रकृति पूजा गरेर हामीले खेती भित्राउने गरिएको छ ।’ हिउँदे खेतीमा यहाँ गहुँ, जौं, तोरी लगायत छरिन्छ ।
छापो हाल्ने पर्वको पहिलो दिन देखि नै गुरुबाउले चोखिएर पूजा गर्ने चलन छ । भीमबहादुर अर्गली मगरको गुरुबाउ हुन् । पहिला पहिला मुखियालाई गुरुबाउ मान्ने चलन थियो । अहिले मुखिया प्रथा छैन । त्यसैले जेठोबाठो र केही बुझेकालाई गुरुबाउ मान्ने चलन छ । पितृ कार्य गर्नको लागि बिहानै उठेर नुहाइधुवाइ गरेपछि घर चोख्याउने गरिन्छ । घरभित्रको पूजा सकेपछि शंखुबारीमा पूजा गर्ने चलन छ । यो अर्गलीहरुको साझा बारी हो ।
शंखुबारीमा पितृहरुको स्मरणमा ‘होलादास’ गर्ने चलन छ । १८ माना चामल, सुकुटी र पशुको छाला चेलीबेटीले ल्याएपछि चढाउने र आशोच बारेका घरले चेलीबेटीलाई त्यस्तै प्रकारको दान दिने चलनलाई होलादास भनिने घर्तीले बताए । पन्ध्रौं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएपछि मगरहरुले यहाँ खोरिया फाँडेर बसेको इतिहास छ । सोही समयको स्मरणमा हरेक वर्ष हिउँदे खेती लगाउनु अघि भुस पोलेर पर्व मनाउने गरिएको हो ।
गाउँपालिकाले दिन्छ सार्वजनिक विदा
विशेषगरी अर्गलमा भुस पोलिए पनि ताराखोला क्षेत्रभरमै एकै समयमा गरिन्छ । अर्गल ताराखोला गाउँपालिकाको केन्द्र समेत हो । सुरुमा अर्गलमा भुस पोलेर धुवा देखिए पछि सोही समयमा पारि हिलमा भुस पोल्ने र हिलमा भुस पोलेको देखिएपछि ताराखोलामा भुस पोल्ने गर्दछन् । यो मेला अनौठो मानेर हेर्न जाने क्रम वर्षेनी बढ्दो क्रममा रहेको स्थानीय बताउँछन्। भुस पोल्ने पर्वको अवसरमा स्थानीय अर्गल खेलकुद विकास मञ्चले विशेष मेलाको समेत आयोजना गर्दै आएको छ । पर्वकै अवसरमा ताराखोला गाउँपालिकाले भुस पोल्ने पर्वमा गाउँपालिकामा सार्वजनिक बिदा समेत दिने गरेको छ।