उम्मेदवार ‘गायब’, भोट माग्दै पार्टी – कथालिका

उम्मेदवार ‘गायब’, भोट माग्दै पार्टी

लमजुङका जसपा उम्मेदवार नरेन्द्र गुरुङले उम्मेदवारी निष्क्रिय बनाएको घोषणा पश्चात पार्टीका नेता, कार्यकर्ता उनकै पक्षमा भोट माग्ने क्रममा ।
तस्वीर साभारः खेमजंग गुरुङको फेसबुकबाट

जहाँ चुनावी मैदानमा उम्मेदवार छैनन् तर, पार्टीले भने उनकै लागि भोट माग्दै हिँडिरहेको उदेक लाग्दो दृश्यले नेपाली राजनीतिको लुकेको बिकृत पाटोबारे धेरै कुरा बताइरहेछ ।

साम, दाम, दण्ड जे जसरी भए पनि सत्ता र संसदीय यात्राको पाँच वर्षको ‘लाइसेन्स’ प्राप्त गर्न राजनीतिक दल र उम्मेदवार सक्रिय छन् । यसका लागि उनीहरु जे बोल्न पनि, जे गर्न पनि तयार छन् । भलै उनीहरुले विगतमा जे बोले त्यो गरेनन्, जे बोलेनन् त्यो गरेको विगत छ । र त चुनावको मिति नजिकिँदै जाँदा यसपटकको चुनाव पनि अनेक अस्वभाविक र रोचक परिदृश्य देखिने क्रम जारी छ ।

लमजुङमा यस्तै रोचक परिदृश्य देखिएको छ । जहाँ चुनावी मैदानमा उम्मेदवार छैनन् तर, पार्टीले भने उनकै लागि भोट माग्दै हिँडिरहेको उदेक लाग्दो दृश्यले नेपाली राजनीतिको लुकेको बिकृत पाटोबारे धेरै कुरा बताइरहेछ ।

जनता समाजवादी पार्टीबाट लमजुङमा नरेन्द्रबहादुर गुरुङले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए । यस जिल्लामा एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।
नरेन्द्रले पार्टीका तर्फबाट उम्मेदवारी दर्ता त गरे तर, गत कात्तिक १३ गते एकाएक आफ्नो उम्मेदवारी निष्क्रय पारेको घोषणा गरे । र माओवादी महासचिवसमेत रहेका नेता देव गुरुङलाई विज्ञप्ती प्रकाशित गरी समर्थन जनाएका थिए ।

पार्टी नरेन्द्रलाई, नरेन्द्र गठबन्धनलाई भोट माग्दै
जसपा उम्मेदवार गुरुङका लागि पार्टीले मत माग्दै घरदैलो अभियान चलाइरहेको छ । उनी स्वयंम् भने गठबन्धनका नेतालाई मत माग्दै हिँडिरहेका छन् ।

जसपाको नेता कार्यकर्ता नरेन्द्रको तस्वीर सहितको ब्यानर प्रचार सामग्री सहित चुनावी प्रचारमा छन् । पार्टीको आधिकारिक उम्मेदवार भएकाले उम्मेदवारले दायाबाया गरे पनि घरदैलो गरेर मत माग्न बाध्य भएको स्थानीय समेत रहेका जसपा पोलिटब्युरो सदस्य खेमजङ्ग गुरुङले बताए । खेमजङ्ग समानुपातिक तर्फका उम्मेदवार समेत हुन् । ‘सत्ता र शक्तिको चलखेलमा आफ्नो पार्टीका उम्मेदवार प्रभावमा पर्ने पार्ने काम भयो, गठबन्धनका दलले अनावश्यक खेल खेले, उनको आधिकारिक उम्मेदवारी कायमै भएकाले पार्टीको तर्फबाट जनतालाई मत मागिरहेका छौ, माग्छौ,’ उनी भन्छन् ।

अब उम्मेदवार नै नरहे पछि जनताले भोट देलान् त ? कथालिकाको प्रश्नमा जसपा नेता खेमजङ्ग गुरुङ भन्छन्, ‘पार्टीको छोडेको छैन भन्छन्, जनताले यो सत्ता शक्तिको चलखेल, षड्यन्त्र, दबाब सबै बुझ्छन् भन्ने विश्वास छ, फेरि उहाँले पार्टी छोडेको छैन भन्नुभएको छ ।’ भिन्न भिन्न दबाब प्रभाबका कारणले उम्मेदवारी निष्क्रिय बनाएको बताए पनि पार्टी भने नछोडेको उनी दाबी गर्छन् । ‘हेर्नुस् राजनीतिमा अनेक कुरा हुँदा रहेछ, उहाँले अझै पनि पार्टी छोड्नु भएको छैन, हामीले बेला बेला बोलाउँदा आउने गर्नुभएको छ, अत्यधिक दबाबले तनाबमा हुनुहुन्छ,’ उनले भने ।

‘एजेण्डा मिलेकाले उम्मेदवारी निष्क्रिय’
संविधानको रक्षा, राष्ट्र र राष्ट्रियताका लागि गठबन्धनसँग एजेण्डा मिलेकाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको नरेन्द्रले बिज्ञप्ती मार्फत जनाए । यद्यपि, अहिले प्रत्यक्ष र फोन मार्फत अनेकन खाले दबाब आउन थाले पछि उनी थप तनाबग्रस्त अवस्थामा पुगेका छन् । जसपाका नेता कार्यकर्तासँग भेट हुँदा दबाबमा यस्तो निर्णय लिन पुगेको बताइरहेका छन् भने गठबन्धनसँग केही कुरा मिलेकाले समर्थन जनाएको बताइरहेका छन् ।

‘मैले पार्टीका तर्फबाट जे उद्धेश्य राखेर उम्मेदवारी दिएको थिए, त्यो उद्धेश्य गठबन्धनसँग मिल्यो, उहाँहरु सँग बिभिन्न चरणको छलफल पछि मैले उम्मेदवारी निष्क्रिय पार्ने निर्णयमा पुगेको हुँ,’ उनले भने, ‘यो कुनै दबाब या लहडमा नभई स्वविवेकले निर्णय गरेको हो, यसमा मेरो कुनै लेनदेन स्वार्थ छैन, अब पार्टीमा रहने नरहने बारे पनि छिट्टै निर्णय गर्नेछु ।’

कांग्रेस (बीपी) को उम्मेदवार पनि उस्तै
नेपाली कांग्रेस (बीपी) का केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेल पनि अन्तिम समयमा उम्मेदवारीबाट पछि हटिन् । उम्मेदवारी दर्ताको दिन कांग्रेस (बीपी) ले लमजुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा लक्ष्मीकान्त पौडेल, प्रदेशसभा (क) मा अस्मिता गुरुङ र प्रदेशसभा (ख) मा नवराज बसौलाको उम्मेदवारी अनुसार निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराइएको थियो ।
प्रदेशसभा उम्मेदवार गुरुङ उम्मेदवारी फिर्ताको समय २६ असोजमै पछि हटेकी थिइन् । प्रतिनिधिसभा उम्मेदवार पौडेलले गत १३ कात्तिकमा आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उद्घोष गरिन् । र सत्तारुढ गठबन्धनलाई समर्थन जनाए । पार्टीको केन्द्रीय सदस्यबाटै राजीनामा दिएको घोषणा गरिन् । अहिले कांग्रेस बीपीका प्रदेशसभा (ख) का उम्मेदवार बसौला मात्र प्रचारमा एक्लै हिँडेका छन् । ‘पार्टीका तर्फबाट उम्मेदवारी दिएका दुवै जना कुनै लाभको आश्वासनमा गठबन्धन तर्फ लाग्नु भो,’ बसौला भन्छिन्, ‘म कुनै स्वार्थ, लाभ, फण्डाका लागि उम्मेदवारी दिएको होइन, राजनीति भनेको विचार, सिद्धान्त हो । यसमा म दृढ छु । एक्लै भए पनि जनताको बिचमा पुगेर मत मागिरहेको छु, निरन्तर माग्छु ।’

हेभिवेट उम्मेदवारका बिचमा तानातान
लमजुङ प्रतिनिधि सभा निर्वाचन दुई हेभिवेट उम्मेदवारका कारण चर्चामा छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन् । यसपटकको निर्वाचनमा कसको पल्लाभारी हुन्छ ? त्यो अबको केही दिनमा फैसला हुनेछ । देव गुरुङलाई गठबन्धनको भरोसा छ भने पृथ्वीसुब्बालाई पार्टी संगठन र मुख्यमन्त्री हुँदा संघीयता र स्थानीय विकासमा गरेको काम प्रति जनताको साथ मिल्ने विश्वास छ ।

एक लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको यस क्षेत्रमा दुई हेभिवेट उम्मेदवारका साथ राप्रपाका बालचन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, राप्रपा नेपालका टकबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, आमुल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजंग गुरुङ, स्वतन्त्र उम्मेदवार चन्दन बस्याल, नरेन्द्र गुरुङ र लक्ष्मीकान्त पौडेलको उम्मेदवारी छ ।

 

२०७९, २७ कार्तिक आईतवार ०९:०१
कथालिका नयाँ कथा
कथालिका