करण सिंहः देउवाका आजीवन प्रत्यासी – कथालिका

करण सिंहः देउवाका आजीवन प्रत्यासी

सुदुर पश्चिमको डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारणले जति चर्चित छ, उत्तिकै चर्चित बन्यो स्वतन्त्र उम्मेदवार सागर ढकालका कारण । २०७४ सालमा बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री रहेका देउवालाई ढकालले प्रश्न सोध्दा देउवा क्रोधित बनेर ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै जवाफ दिए । जसका कारण उनको चौतर्फी आलोचना भएको थियो । गुल्मीमा जन्मिएर पेशाले इञ्जिनियर रहेका ढकाल उनै देउवाको प्रत्यासी बन्न डडेल्धुरा पुगेका छन् । अहिले यस क्षेत्र राजनीतिक दलका उम्मेदवारले नभई स्वतन्त्र उम्मेदवार सागर ढकाल, यअसघिका निर्वाचनमा देउवालाई नै जिताउन हिँडेका कांग्रेस नेता कर्ण मल्ल लगायतका उम्मेदवारकै कारण बढी तरंगित बनेको छ ।

२३ वर्षदेखि देउवाका प्रत्यासी बनेका ‘मम्याल बाजे’
डडेल्धुरामा देउवा पात्र र प्रवृत्ति विरुद्धको लडाइँ अहिले ढकाल लड्न पुगे पनि यहाँ एक पात्र यस्ता छन्, जो २३ वर्षदेखि निरन्तर देउवाका विरुद्ध चुनावी प्रतिस्पर्धी बनेर उभिइरहेका छन् । उनी उमेरका हिसाबले पनि देउवा भन्दा अझ जेठा छन् । ‘मम्याल बाजे’ नामले यस क्षेत्रमा चिनिने डडेल्धुराको अमरगढी नगरपालिका निवासी ८१ वर्षिय कर्णसिंह रावल २०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक देउवाको प्रत्यासी बनेर चुनावमा उठेका थिए । तिनै ‘मम्याल बाजे’ प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अहिलेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार छन् ।

डडेल्धुराको यसपटकको निर्वाचन सागर ढकाल चर्चामा छन् । उनलाई युवा र सामाजिक सञ्जालबाट व्यापक समर्थन मिलिरहेको छ । आर्थिकदेखि मतदानका दिन एजेण्ट, बुथ सुरक्षामा बस्ने युवाहरु सम्म स्वयंसेवी साथ दिइरहेका छन् । देउवालाई स-सम्मान आराम गर्न भन्दै देउवा विरुद्ध चुनावमा उत्रिएका ढकालसँगको भेट र चिनजानबारेको प्रश्नमा रावल भन्छन्, ‘स्वतन्त्र उम्मेदवारको हिसाबले चिन्छु । तर, यो मान्छे पनि फटाहा खालको लाग्यो । जसका विरुद्ध हामी लडिरहेका छौ, उइलाई फूलको माला लगाउँछ ।’

मत धेरै लिन्नन तर, लडिरहन्छन्
‘मम्याल बाजे’ नवदुर्गा गाउँपालिका र आसपासमा चिर परिचित नाम हो । उनको पुख्यौली गाउँ ‘मम्या’ भन्ने स्थानमा भएकाले सबैले ‘मम्याल बाजे’ भनेर बोलाउन थालेको उनी बताउँछन् । २०५६ सालमा पहिलोपटक देउवाविरुद्ध चुनाव लडेका उनले १ सय ९८ मत पाएका थिए । पछिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा २ सय ८० मत पाएका थिए । अहिले पनि निर्वाचनमा उम्मेदवारी दिएका रावल धेरै मत लिन नसक्ने तर किन पटक पटक देउवासँग लडिरहन्छन् त ? रावल भन्छन्, ‘उइले जिते पनि जनता हारिराख्न्या काम भो, त्यसको विरोधमा निर्विरोध हुन नदिने भन्ने हो ।’

पटक पटक प्रधानमन्त्री भए पनि राम्रो काम नगरेकाले बाँचुञ्जेल एक भोट आए पनि शेरबहादुर देउवासित चुनाव लड्ने संकल्प गरेको रावलको भनाई छ ।

सरुवा पीडाले जन्माएको प्रतिशोध
देउवा सत्ता र शक्तिमा सधैजसो रहने पात्र हुन् । उनी सँग चुनावी मैदानमा उत्रिएर प्रतिस्पर्धामा अब्बल हुनु सामान्य विषय होइन । यो एक किसिमको दुस्साहस नै हुन्छ । कर्णसिंहले यसरी यथेष्ट तयारी बिना किन देउवासँग चुनाव लडिरहन्छन् त ? यसको पछाडिको रहस्य र घटना के छ ? कथालिकाले खोतल्दै जाने क्रममा रावलले दुई दशक अघिको घटनाले यस्तो कदम चाल्न बाध्य बनाएको बताए । २०४८ सालतिर डडेल्धुराबाट पहिलो पटक चुनाव लड्दा आफु जिल्ला मालपोत कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेको र उनी गृहमन्त्री बने लगत्तै बैतडी सरुवा गरिदिएको रावलको आरोप छ । त्यसबखतको चुनावमा देउवालाई सघाएर जिताए पनि आफ्नो समस्या काठमाडौं पुगेर सुनाउँदा पनि बेवास्ता गरेकाले उनी प्रतिको रोष रावलसँग तिब्र रहेको अझै आभाष हुन्छ । यद्यपि, डडेल्धुराकै चिनजानको गृहसचिवले सरुवा स्थगित गरी जिल्लामै काम गर्ने पत्र बनाइदिएकाले बैतडी जान नपरेको रावल बताउँछन् । जिल्लामै ३० वर्ष मालपोत कार्यालयमा काम गरेपछि उनी २०५४ सालमा सेवानिवृत्त भएका थिए ।

चुनावी सपना
रावल उम्मेदवारी दर्ता गरेर अरु जस्तो चुनावी प्रचार, सभा गर्दैनन् । तर, चुनावी सपना देख्न र बाँड्न भने छोडेका छैनन् । उनको पनि आफ्नै खालको चुनावी सपना छ ।

पछिल्लो समय जो पनि निर्वाचनमा उम्मेदवार बन्ने होड छ । त्यही लहडमा रावल पनि छन् भन्न त नमिल्ला । किनकि, उनी दुई दशक बढी समयदेखि उम्मेदवार बनिरहेका छन् । उम्मेदवारका आफ्ना एजेण्डा देखिन्न, केबल उनीहरुसँग प्रतिस्पर्धीलाई सराप्ने गाली र अस्वभाविक आरोपका अस्त्र मात्र देखिन्छन् । रावल निर्वाचित भए सबै स्थानीय तहमा समान हिसाबले विकास गर्ने योजना सुनाउँछन् । डडेल्धुरावासीलाई विहान बेलुकी ढुक्क सँग खाने र जीविका चलाउन सक्ने नीति र देश बनाउने उनको सपना छ ।

 

२०७९, २९ कार्तिक मंगलवार १०:४६
कथालिका नयाँ कथा
कथालिका