चुनावी चर्चाः जो सँग बाबु हारे, छोराले जिते – कथालिका

चुनावी चर्चाः जो सँग बाबु हारे, छोराले जिते

योगेशलाई अब चार दशक बढीको एक गौरवपूर्ण बिरासत बोकेका बाबुको छोरा भएर टिकट पाएको होइन भन्ने प्रमाणित गर्नुपर्नेछ । त्यसका साथै देशको नीति निर्माण, जिल्लाको विकास र समृद्धिलाई अघि बढाउन संसदमा प्रभावकारी उपस्थिति जनाएर पाँच वर्षमा जनताको मन जितेर थप विश्वास र भरोसा कायम गर्नुपर्ने चुनौती छ ।

हिमाल पारिको जिल्ला मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट २९ वर्षिय योगेश गौचन थकालीले पहिलो बिजयीको बिगुल फुकेका छन् ।

गत आइतवार भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा योगेश देशभरमै पहिलो संघीय सांसदको रुपमा निर्वाचित भए । उनी सम्भवतः देशकै सबै भन्दा कान्छा प्रतिनिधि सभा सदस्य बन्नेछन् ।

७ हजार दुई सय ५९ मत खसेको यस जिल्लामा योगेशले ३ हजार ९ सय ९२ मत पाए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन् । मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् ।उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् ।

जसले बाबुले पाएको टिकटमा सांसद भए

नेपाली कांग्रेसको पार्टी राजनीतिमा हक्की नेताका रुपमा चिनिन्छन् रोमी गौचन थकाली । उनै गौचनका छोरा हुन् अहिले मुस्ताबाट शानदार बिजयी हासिल गरेका योगेश । र रोमी तिनै पात्र हुन्, जसलाई छोरा योगेशले अहिलेको निर्वाचनमा पराजित गर्यो । निवर्तमान संघीय सांसद प्रेमप्रसाद तुलाचनसँगै झिनो मतान्तरले पराजित भएका थिए । २०५६ र २०७० सालमा चुनाव जितेर सांसद मात्र होइन, मन्त्री समेत बनेका रोमी २०६४ र २०७४ को चुनावमा भने पराजय बेहोरेका थिए । एकै ठाउँ (मुस्ताङ लेते) घर भएका दुई सोल्टीबीचको प्रतिस्पर्धामा रोमी गौचन झिनो मतले हारेका थिए । तुलाचनले ३ हजार ५४४ मत ल्याएर विजयी हुँदा रोमीले ३ हजार २८१ मत ल्याएका थिए ।

नेवि संघबाट राजनीति गरेका योगेश पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय थिए । रोमीले जनताले युवा पुस्तालाई राजनीतिमा देख्न चाहेको भन्दै आफूले पाएको टिकट छोरालाई सुम्पेको बताएका थिए ।

अघिल्लो चुनावमा पनि लड्दिन भन्दाभन्दै धर नपाएको बताउने रोमी जिल्लाका नेताहरुकै जोडबलमा योगेशलाई टिकट थमाएको बताउँछन् । ‘आफ्नो स्थानमा छोरालाई नै उम्मेदवार बनाउने सोचमा थिएन, निवर्तमान सांसद रहेका एमालेका उम्मेदवार सँग भिड्न कोही तयार नभए पछि म यस्तो निर्णयमा पुगेको थिए्,’ रोमी भन्छन्, ‘स्थानीय नेता, कार्यकर्ताले समेत योगेशलाई देखाएपछि उसैलाई चुनावी मैदानमा उतारेका हौ, यो मिसनमा हामी चुनौती मोलेका थियौ, सफल भयौ ।’

विद्यार्थी राजनीतिबाट उदाएका योगेशको संसदीय यात्रा

विद्यार्थी राजनीतिबाट आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् । अहिलेको बदलिँदो समय र आवश्यकताले कम उमेरमै महत्वपूर्ण अवसरका लागि चुनावी मैदानमा उत्रिन तयार भएको उनले बताए । बाबुले देखाएको बाटो र आशिर्वाद लिएर चुनावी मैदानमा होमिएर र जीत पनि निकाल्न सफल भएको उनी बताउँछन् ।
भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएर योगेश पछिल्लो समय राजनीति र ब्यापारमा सक्रिय छन् ।

पछिल्लो समय राजनीतिमा चौतर्फी बितृष्णा र आक्रोश उत्पन्न भइरहेकाले राजनीतिमा युवाहरुको हस्तक्षेपकारी आगमन अनिवार्य भएको उनको ठम्याई छ । योगेशलाई अब चार दशक बढीको एक गौरवपूर्ण बिरासत बोेकेका बाबुको छोरा भएर मात्र टिकट पाएको होइन भन्ने त प्रमाणित गर्नु छँदैछ, त्यसका साथै देशको नीति निर्माण, जिल्लाको विकास र समृद्धिलाई अघि बढाउने, संसदको प्रभावकारी उपस्थिति जनाएर पाँच वर्षमा जनताको मन जितेर थप विश्वास र भरोसा कायम गर्नुपर्ने चुनौती छ ।

२०७९, ५ मंसिर सोमबार १२:२७
कथालिका नयाँ कथा
कथालिका