बिना भाषण विजयी बनेका सांसद – कथालिका

बिना भाषण विजयी बनेका सांसद

अहिले यसरी जित हासिल गर्दा भाषण नै गर्नुपर्छ भन्ने जरुरी नभएको जनताले पुष्टि गरिदिएको उनको कथन छ । चुनाव अवधिभर बोहोरा विहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी भने भए ।

नेता र भाषण नेपाली समाजमा एक अर्काका पर्याय बनिसकेको छ । त्यो पनि तथ्य, तथ्यांकका आधारमा भन्दा सतही, आक्रोश, प्रतिशोध र उत्तेजनामा भाषण गर्नेहरुको जमात ठुलो छ । निर्वाचनका बेलामा त पत्याइ नसक्नुका आश्वासन र अनेक सपनाको चाङ लगाइयो । तर, नेपाल देशकै एक भुगोलको निर्वाचन भने यसबाट पृथक रह्यो ।

न निर्वाचनमा भाषण, न त छ उम्मेदवारको चुनावी सभामा चर्का स्वरमा प्रत्यासी माथि प्रहार । उनी निर्वाचन प्रचार प्रसार अवधिभर केबल मौन रहे । भेटघाट र अभियानमा भने सरिक भइरहे । रुपन्देही क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका दीपक बोहोराले यही शैली अपनाएनन् मात्रै, ३६ हजार ७ सय १७ मत सहित निर्वाचन पनि जित्न सफल रहे ।

भाषण नगर्दाको सकस: कागजमा लेखेर दोभासेमामा संवाद
उम्मेदवार बोहोरा मंसिर ४ मा हुने निर्वाचनको मनोयनन केही समय अघिबाट बिरामी थिए । चेकजाँचका क्रममा उनलाई पोस्ट कोभिड भएको पुष्टि भयो । बोहोरा कोरोना महामारीको दोस्रो लहर चलेका बेला २०७७ जेठमा संक्रमित भएका थिए । तर, खासै समस्या देखिएको थिएन । यसपटक भने स्वास्थ्य प्रतिकुलताका कारण भ्वाइस रेस्टमा रहन चिकित्सकले सुझाव दिए । राप्रपाले नेता बोहोरालाई चुनाव लड्न उम्मेदवारको टिकट दिइसक्यो । प्रचार घरदैलो गर्न पनि बोल्नुपर्ने बाध्यता सन्निकट थियो । निकै अप्ठ्यारो संकटका बाबजुद बोहोरा उम्मेदवारीबाट पछि हटेनन् । बरु चुनावी सभामा भाषण नै गरेनन् । घरदैलोमा पनि खासै बोलेनन् । अहिले पनि चिकित्सकको सल्लाह अनुसार नै उनले ‘स्पिच थेरापि’ गरिरहेका छ ।

एक नेता, त्यो पनि चुनावका बेलामा भाषण नगर्दा सकस त स्वभाविक हुन्छ होला । त्यसमा अझ बिपक्षीले बोल्न नसक्ने उम्मेदवार भनेर चर्को भाषण र संगीन आरोप लगाउँदा मौन बस्ने अवस्था कति सकसपूर्ण हुन्छ होला ? यसबारे दीपक बोहोरा भन्छन्, ‘निश्चय नै हो कि चुनावका बेला नेता, उम्मेदवारले भाषण नै नगर्नु सुरुवातमा निकै अप्ठ्यारो असहज विषय थियो, कार्यकर्ता जनताका तर्फबाट पनि अपेक्षा अनुसार भएन कि भन्ने लागेको थियो । तर, अभियानमा हिँड्दा हिँड्दै मेरा कुरा नेता साथिहरुले राखिदिनु भो, जनतासँग अपरिहार्य विषयमा साक्षात्कार गरे ।’ अहिले यसरी जित हासिल गर्दा भाषण नै गर्नुपर्छ भन्ने जरुरी नभएको जनताले पुष्टि गरिदिएको उनको कथन छ । चुनाव अवधिभर बोहोरा बिहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी भने भए । चुनावी अभियानका क्रममा पूर्वगृहमन्त्री निरञ्जन थापा, राप्रपाका लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले प्रचार सभा/भेलामा सम्बोधन गरेर साथ दिए ।

जनतालाई पार्टी र उम्मेदवारका कुरा सुनाउनै पर्ने थियो, बुझाउनै पर्ने जरुरी थियो । यसका लागि उम्मेदवार बोहोरा चुनावी अभियानमा हिँडिरहे । मतदाताका घरघरमा पुगेर भेटघाट, अभिवादन गर्ने, जनताका समस्या अपेक्षा बुझ्ने काम गरेका थिए । चुनावी प्रचारको सुरुवातमा आफ्ना कुरा कागजमा लेख्न लगाएर दोभासे मार्फत संवाद साक्षात्कार गर्ने गराउने कोशिस पनि भयो । पछि त्यो झन्झट भएपछि पार्टीका नेताहरूले नै सम्बोधनमार्फत बोहोराका प्रतिबद्धता राख्ने गरेका थिए ।

बोल्न नसक्ने उम्मेदवार भनेर प्रचार गरेपछि…
चुनावको सम्मुखमा अस्वस्थ हुनु, आफैले टिकट पाउँदा समेत खुलेर भाषण, भिजन र प्रतिवद्धता जनता माझ राख्न नपाउनुको दुःख र पीडा त थियो नै, त्यसमा चुनावी अभियानकै क्रममा प्रतिस्पर्धी उम्मेदवार, दल र तिनका नेता, कार्यकर्ताले बोल्न नसक्ने उम्मेदवारको रूपमा प्रचार गरिएको सुने पछिको पीडा अझ अचाक्ली थियो । यद्यपि, यसबाट आफु कत्ति पनि बिचलित नभएको उनी बताउँछन् ।

‘मान्छे हो, बेला बेलामा जो कोही पनि अस्वस्थ बन्न सक्छ, म पनि बिरामी परे, बोल्न नसक्ने अवस्था या बोल्न रेस्ट गर्नै पर्ने अवस्था आयो’, उनले थपे, ‘यसमा प्रतिस्पर्धी नेपाली कांग्रेस लगायतका दल र नेताहरुमा मानवीय संवेदनशीलता देखिएन । भोलि कुनै दिन म पनि अस्वस्थ हुन सक्छु भन्ने सोच र सचेतता देखिएन, यो दुःख लाग्दो कुरा हो ।’

सत्ताका शक्तिशाली गृहमन्त्रीसँगको स्पर्धा

चुनाव आफैमा निर्मम हुन्छ । सत्ताको बागडोर सम्हालिरहेका दलका नेता, सरकारका शक्तिशाली गृहमन्त्रीसँगको प्रतिस्पर्धा स्वभाविक कठिन हुन्छ । त्यसमा अझ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका बहालवाला गृहमन्त्री बालकृष्ण खाणसँग प्रतिस्पर्धामा उत्रिएका थिए दीपक बोहोरा । यसबेला खाणलाई जित्नु एक किसिमको दुस्साहस नै थियो ।
पोस्ट कोभिड समस्याका कारण भ्वाइस रेस्टमा रहेका बोहोरा जनताका बीचमा सम्बोधन नै नगरी निर्वाचनमा होमिनु पर्ने बाध्यताले उनको सम्भावना थप कमजोर बनाइदिएको थियो । तर, बोहोरा र उनको टीमले हिम्मत हारेनन्, बरु मसिनो सँग जनताको बिचमा पुग्ने अभियान बनाए । जसले बोहोरालाई चामत्कारिक जित दिलाको छ । उनले खाँणलाई ६ सय ८१ मत अन्तरले पराजित गरे । बोहोराले ३६ हजार ७ सय १७ मत ल्याए भने गृहमन्त्री खाँणले ३४ हजार ३६ मत ल्याएका छन् ।

अघिल्लोमा सहयात्री, अहिले प्रतिस्पर्धी
गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाँण र राप्रपाका नेता दीपक बोहोरा अहिले प्रतिस्पर्धी बने । तर, यसअघिको निर्वाचनमा पनि सहयात्री थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो । जसमा राप्रपाका बोहोरा कांग्रेसको समर्थनमा चुनाव लडेका थिए । त्यसबेला बोहोरालाई जिताउन गृहमन्त्री खाँण हलो चिह्नमा मत माग्दै हिँडेका थिए । त्यस बेला तत्कालीन एमाले नेता घनश्याम भुसाल बोहोरालाई फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहोराले २७ हजार ४२२ मत प्राप्त गरेका थिए । बोहोरा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए ।

२०७४ मा आफू समानुपातिकमा बसेका खाँण यसपटक प्रत्यक्ष निर्वाचन लडेका थिए । जसमा उनले हार व्यहोर्नुप¥यो । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गरेका थिए ।
नेपालको राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहोराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको हो । रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

राजनीतिशास्त्रमा स्नातक गरेका राप्रपा नेता बोहोरा २०३८ र ०४० मा पर्यटन राज्यमन्त्री बनेका थिए । बैंक अफ काठमाडौंको अध्यक्षसमेत बनिसकेका बोहोरा २०६७ मा वन तथा भूसंरक्षणमन्त्री तथा २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनेका थिए । त्यसपछि उनी २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए ।

 

२०७९, ११ मंसिर आईतवार १२:२१
कथालिका नयाँ कथा
कथालिका