जनमतबाट अस्वीकृत तर, अझै बहाल छन् छ मन्त्री – कथालिका

जनमतबाट अस्वीकृत तर, अझै बहाल छन् छ मन्त्री

नेपाली राजनीति किन यति बिघ्न बदनाम र घृणित छ ? प्रष्ट जवाफ एक पछि अर्को राजनीतिक घटनाक्रम र परिदृश्य काफी छ ।

गत मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेका मन्त्रीहरु जनमतबाट अस्वीकृत भइसकेका छन् । तर, बहालवाला पदबाट राजीनामा दिन सकिरहेका छैनन् । यसले उनीहरुको पद प्रतिको आशक्तिलाई उजागर गरेको छ नै, असल राजनीतिक संस्कारका लागि नैतिकताको चरम खडेरी भएको पनि प्रष्ट देखिएको छ ।

बालकृष्ण खाँण
गृहमन्त्री
चुनाव क्षेत्रः रुपन्देही-३
गृहमन्त्री बालकृष्ण खाँण पाँच दलीय सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका छन् । बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाँणले ३४ हजार ३६ मत पाएका छन् । खाँण पार्टी भित्रैबाट पनि आफ्ना परिवार र आफन्तको व्यवस्थापनमा मात्र ध्यान दिएको भन्दै आलोचित थिए । आफै गृहमन्त्री रहेका खाण निर्वाचन पश्चात मतगणना हुने क्रममै धाँधली भएको प्रतिक्रिया दिए पछि चौतर्फी आलोचित भएका थिए ।

पम्फा भुसाल
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री
चुनाव क्षेत्रः ललितपुर-३

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल ललितपुर–३ मा पाँच दलीय गठबन्धनका तर्फबाट चुनाव लडेकी थिइन् । तर, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले सबै प्रतिस्पर्धीलाई उछिने । कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ ल्याएर दोस्रो र माओवादीकी भुसालले ८ हजार ७ सय ६९ मत मात्रै पाइन् ।
२०६४ मा माओवादी र २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट ललितपुर–३ बाटै निर्वाचित भएकी थिइन् । कांग्रेससहित पाँच दलको गठबन्धनबाट तेस्रो प्रयासमा भने उनी असफल भइन् । महिला नेतृमा अब्बल भुसाल पार्टी संगठन कमजोर अवस्थामा पुगेको, स्वतन्त्रको लहड र गठबन्धन दलका बिचमा पनि भोट सही तबरबाट प्रवाह नहुँदा पराजय बेहोर्न पुगेकी छिन् ।

जीवनराम श्रेष्ठ
पर्यटनमन्त्री
चुनाव क्षेत्र: काठमाडौं-८

एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीबाट काठमाडौं क्षेत्र नम्बर–८ मा उम्मेदवार बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठ पराजित भए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठ जितमा त विफल भए नै, प्रतिस्पर्धामा तेस्रो स्थानमा पुगे । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत ल्याएर बिजयी हासिल गरे । उनको प्रत्यासी हाम्रो नेपाली पार्टीका सुमन सायमी ५ हजार ८ सय ८९ मत र एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने ४ हजार ८ सय ७७ मत पाए । एमालेबाट बिभाजित भएर एकीकृत समाजवादी बनाउँदा पनि ठुलो कार्यकर्ता पंक्ति एमालेमै रहेको, पार्टी संगठन कमजोर, स्वतन्त्रको लहर र गठबन्धन दलका बिचमा पनि भोट सही तबरबाट प्रवाह नहुँदा मन्त्री श्रेष्ठ पराजय बेहोर्न पुगेका हुन् ।

उमाकान्त चौधरी
खानेपानी तथा सरसफाइमन्त्री
चुनाव क्षेत्रः बारा-१
नेपाली कांग्रेसका नेता तथा मन्त्री चौधरी बारा–१ बाट पराजित भएका छन् । चौधरी नेकपा एमालेका अच्युतप्रसाद मैनालीसँग ९ हजार १ सय ३९ को फराकिलो मतान्तरले पराजय बेहोरेका छन् । मैनालीले ३९ हजार १ सय ९५ मत ल्याउँदा चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् । चौधरी नेपाली कांग्रेस भित्र पनि नेता कृष्णप्रसाद सिटौलाको कोटाबाट मन्त्री भएका पात्र हुन् । उनको पराजयमा मुख्यतः गठबन्धन दलका बिचमा यथोचित समन्वय र विश्वासको अभाव खड्कियो भने अर्को तर्फ कांग्रेस भित्रैको संस्थापन र अन्य गुटको असर पनि देखिएको छ ।

महेश्वरजंग गहतराज
खेलकुदमन्त्री
चुनाव क्षेत्रः बाँके–१
माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने युवा तथा खेलकुदमन्त्री गहतराज बाँके–१ मा पराजित भए । २०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर बिजयी हासिल गरेका उनी यसपटक नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालसँग पराजित भएका छन् । उनले १९ हजार ६ सय ३२ मत ल्याउँदा एमालेका ढकालले २५ हजार २६ मत ल्याएर विजयी भए । बाम लोकतान्त्रिक गठबन्धनका बेलामा पनि गहतराजको पराजय हुनुमा पार्टी संगठन कमजोर, स्वतन्त्रको लहड र गठबन्धन दलका बिचमा पनि भोट सही तबरबाट आदान प्रदान नहुनु हो ।

उमेश श्रेष्ठ
राज्यमन्त्री
चुनाव क्षेत्रः चितवन २
नेपाली कांग्रेसका तर्फबाट मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री रहेका उमेश श्रेष्ठ पराजित बने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ठुलो मतान्तरले पराजित भएका हुन् । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याए । श्रेष्ठ २०७४ मा समानुपातिकबाट सांसद बनेर मन्त्री भएका थिए । मन्त्रिपरिषद् कार्यालय सरुवा हुनुअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए । कोरोना कालमा स्वास्थ्य राज्यमन्त्री रहँदा पनि उनी केही आलोचित थिए । अहिले चितवन कांग्रेस भित्र तिव्र असन्तुष्टि, गठबन्धन दलका बिचमा यथेष्ट समन्वयको अभाव र स्वतन्त्रको लहरले निर्वाचनमा मन्त्री श्रेष्ठ पराजय बेहोर्न पुगेका छन् ।

जनताको निर्देशन उल्लंघन गर्दै, पार्टी निर्देशन कुर्दै
बहालवाला मन्त्रीहरु सबैको निर्वाचनमा पराजय पछिको प्रतिक्रिया र जवाफमा एकै स्वर छ । उनीहरु भनिरहेका छन्, प्रधानमन्त्रीले अहिले नै राजीनामा नदिन भनेका छन् । अब धेरै समय पनि छैन । अर्को पार्टी र नेतृत्व पंक्तिले पनि यसबारे अहिले नै कुनै निर्देशन सुझाव दिइसकेको छैन । तर, प्रधानमन्त्री, पार्टी अध्यक्ष या पार्टीले दिने निर्देशन भन्दा जनताको अभिमत र निर्देशन सबै भन्दा ठुलो भन्ने कुरा वर्षौदेखि राजनीति गरिरहेका नेताहरुले कहिले बुझ्लान्, कहिले बुझाउलान् ?

२०७९, १२ मंसिर सोमबार १०:१७
कथालिका नयाँ कथा
कथालिका