मिछुर्लुङ्गमा कौराहको ‘करामत’ – कथालिका

मिछुर्लुङ्गमा कौराहको ‘करामत’

तस्वीरः प्रताप राना, मिछुर्लुङ्ग

  • आफ्नो संस्कार र सस्कृति सँगै भेषभेषा नभुलुन् भन्ने उद्देश्यले १६ वर्ष देखि २२ वर्ष सम्मका स्थानीय युवाहरुलाई आफ्नो भेषभुषामा अनिवार्य कौराह नृत्य सिक्नै पर्ने नियम समेत राखिएको छ ।

तनहुँ, घरबास र कौराह एक अर्काका पर्याय जस्तै बनिसकेका छन् । तनहुँका घरबास देशभर चर्चित छन् । चाहे त्यो बन्दिपुर होस् या मिछुर्लुङ्ग होस् या दगाम या अरु । घरबासका साथै त्यहाँ पुग्ने आन्तरिक र बाह्य पाहुनाहरुलाई देखाइने कौराह नाच पनि उत्तिकै प्रख्यात छ ।

मिछुर्लुङ्ग होम–स्टे पुगेका अधिकको मानसपटलमा कौराह नाँचको झझल्को पछि सम्म आउने गर्दछ । तनहुंको मिर्छूलुङमा मगर समुदायको अधिक बसोबास छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा कौराह नाचले धेरैको ध्यान खिच्ने गरेको छ ।

प्राकृतिक छटाले समेत भरिपूर्ण मिर्छलुङ्ग होम–स्टेमा पुग्ने पर्यटक, पाहुनाहरुले स्थानीय स्तरमा उत्पादित अर्गानिक खानेकुराको स्वाद त लिन पाउछन् नै । यसका साथै यहाँ गाइने र नाँचिने कौराह नृत्यले छुट्टै आनन्दको अनुभूति दिलाउँछ । टेलिभिजन, चलचित्र, विभिन्न सार्वजनिक समारोह लगायतमा देख्दै र सुन्दै आएको कौराह नृत्यको प्रत्यक्ष मजा मिछुर्लुङ्ग होम–स्टेले पुरा गर्ने गरेको छ ।

तनहुँको भिमाद नगरपालिका ५ मा रहेको मिछुर्लुुङ्ग होम–स्टेमा पुग्ने जो कोही पाहुना त्यहाँ नचाइने कौराह नृत्यमा नझुमी फर्कने हो भने त्यहाँको अर्गानिक संस्कृति ‘मिस’ हुनेछ । गाउँघरको मौलिक बाजा, भेषभुषा सहित गाइने गीतको लयले सबैलाइ मोहित बनाउँछ । बेलुकीपख जब यहाँको घरबासमा खैजडी बज्न थाल्छ । किशोर किशोरी, युवा युवती होस् या अधवैंशे जुनसुकै उमेर र वर्गका मानिसहरु ननाची बस्नै सक्दैनन् । खुट्टाको लय मिलाउदै खैंजडी र झर्राको तालमा नृत्य गर्दै गर्दा दुई घण्टा बितेको पत्तै नहुने आगन्तुक बताउँछन् ।

मगर भाषाको ‘कान राहा’ अप्रभंश पछि कौराह
मगर समुदायको मौलिक नृत्यको रुपमा लोकप्रिय कौराह गीत र नाच तनहुँको रिसिङबाटै सुरुवात भएको कौराह नाचका गुरु स्थानीय मनिलाल थापा मगर (५६) बताउँछन् । गाउँघरमा कुनै एक गाउँको युवाहरुलाई अर्को गाउँको युवतीहरुले नाचगान गर्न निम्तो दिने प्रचलन अुनसार युवाहरुले निम्तो स्वीकार गरी युवतीहरुको गाउँमा पुगेर नाचगान गर्ने उनको भनाई छ ।

यसरी जाने युवाहरुले हामी आयौं (कान राहा) भन्ने मगर भाषाबाट अप्रभंश भइ त्यसबखत नाचगान गरिने नृत्य र गीतलाइ कौराह नामाकरण गरिएको मनिलालको भनाई छ । यस नृत्यलाई ठाउँ अनुसार नामाकरण गर्ने गरेको पाइन्छ । जसले गर्दा कतै कौरा, चुड्का त कतै कौडा पनि भन्ने गरिन्छ । कौराह नृत्यमा युवाहरु समुहले खैजडी बजाउदै बसेर गाउने गर्दछन् भने युवतिहरु सामुहिक रुपमा एउटै लयमा नाच्ने गर्दछन् । यसरी कौराह नाच्ने युवतीहरुले खुट्टामा झर्रा र चांप समेत लगाउने प्रचलन रहेको छ ।

कुनै नाता, उमेर र वर्गको भेदभाव विना एकै थलोमा सहज र सरल तरिकाले नाचिने कौराह नृत्य निकै आकर्षक तरिकाले नाचिने गरिन्छ ।

चाडपर्व, विहेवर्तनदेखि पाहुनाको स्वागत, सत्कार सम्म कौराह
कौराह नृत्य मगर समुदायको संस्कार संस्कृतिसँग जोडिएको हुनाले मगर समुदायको बाहुल्यता रहेको अधिकांश पहाडी क्षेत्रमा चाडपर्व र विवाह व्रतबन्ध लगाएतको विशेष समयमा कौराह नाच नचाइने गरिन्छ ।

मिछुर्लुङ्ग होमस्टेमा मगर समुदायको बाहुल्यता रहेकाले विगत देखि नै कौराह नृत्य नचाइदै आएको थियो । कौराह नृत्य स्थानीय नृत्य भएका कारण मगर समुदायको संस्कार सस्कृति सँगै भेषभुषा समेत जगेर्ना गर्ने उद्देश्यले होमस्टेमा बास बस्न आउने पाहुनाको स्वागत, सत्कार र मनोरञ्जनका लागी कौराह नृत्य नचाइने गरेको होम–स्टे व्यवस्थापक प्रताप राना मगर बताउँछन् ।

प्रविधिको दु्रत विकास भइरहेको वर्तमान युगमा हरेक उमेरका मानिसले विभिन्न विकसित प्रविधि मार्फत सहजै मनोरञ्जन प्राप्त गरिरहेका छन् । विशेषगरी युवा पुस्तामा प्रविधिको सहज पहुचले पाश्चात्य संस्कृतिको ठुलो प्रभाव देखिन्छ । फलस्वरुप गाउँघरमा लुकेर रहेको संस्कार सस्कृति ओझेलमा पर्दै गइरहेको छ । यही लुकेर रहेको मगर समुदायको मौलिक कौराह नृत्यलाई मिछुर्लुङ्ग होम–स्टेले प्रचार प्रसारमा भूमिका खेलेको छ ।

तस्वीरः प्रताप राना, मिछुर्लुङ्ग

बेलुकीपख कौराह नृत्यमा बजाइने खैंजडीको ताल र एकरुपता झल्कने साँस्कृतिक भेषभुषाले सजिएको नृत्यङ्गानाले खुट्टामा लगाउने चांप र झर्राको मिठो आवाजले पुरै मिछुर्लुङ्ग तरंगित बनाउँछ भने त्यँहां पुग्ने हरेक उमेर समूह र समुदायका मानिसहरु एकपट कौराहमा नझुमी फर्कदैनन् ।

कौराह नृत्य निकै सहज र सरल तरिकाले समुहमा नाचिने भएकाले कहिल्यै नृत्य नगरेका मानिसहरु समेत सहजै नाच्न सिक्ने गर्दछन् । कहिल्यै नृत्य नगरेका र कौराह नृत्यको बारेमा जानकारी समेत नभएका त्यहाँ पुग्ने सबै पुस्ताका पाहुनाहरु खैजडीको तालमा लय मिलाउदै बडो उत्साहका साथ अर्गानिक कौराह नृत्यको आनन्द लिइरहेको भेटिन्छन् ।

त्यहाँ रहेको साँस्कृतिक समुहले बेलुकीपख दुई घण्टा मात्रै पाहुनाहरुको लागी कौराह नृत्य नचाउने समय निर्धारण गरेको भए पनि पाहुनाहरुको उल्लासमय सहभागिताका कारण समय थपिदै जान्छ, रात छिप्पिदै जान्छ तर नृत्य गर्ने पाहुनाहरुको रहर मेटिदैन ।

कौराह नाचले गाउँको प्रचार र संरक्षण सँगसँगै
कौराह नाचमा उमेरको कुनै सिमा हुँदैन नाताको कुनै छेकबार हुँदैन । सबैलाई स्वीकार्य हुने कौराह नृत्य एकैथलोमा बसेर सरल र सहज तरिकाले नृत्य गर्न सकिन्छ । यसरी नेपालका विभिन्न स्थानबाट मिछुर्लुङ्ग पुग्ने पाहुनाहरुको कौराह प्रतिको आकर्षण र सहभागिताले मगर समुदायको मौलिक नृत्यको रुपमा सूचिकृत कौराह नाच प्रचार प्रसारमा मिछुर्लुङ्ग होम–स्टेको योगदान महत्वपूर्ण रहेको छ ।

विभिन्न जातजातिको संस्कार र सस्कृति पछिल्लो पुस्तामा हस्तारण हुन नसक्दा विस्तारै लोप हुँदै छ । यही वर्तमान परिवेशमा तनहुको मिछुर्लुङ्ग होम–स्टेले आफनो परम्परा, भेषभुषा र सँस्कृतिलाइ जगेर्ना गर्दै आएको छ ।

मगर समुदायको मौलिक चिनारी घुमाउने घरको अवलोकन सँगै मिछर्लुङ्ग होम–स्टेमा पुग्ने पर्यटक, पाहुनाहरुकोे इच्छा अनुसार मगर समुदायको पहिचान झल्कने भेषभुषा समेत उपलव्ध गराइने गरिन्छ । आफ्नो संस्कार र सस्कृति सँगै भेषभेषा नभुलुन् भन्ने उद्देश्यले १६ वर्ष देखि २२ वर्ष सम्मका स्थानीय युवाहरुलाई आफ्नो भेषभुषामा अनिवार्य कौराह नृत्य सिक्नै पर्ने नियम समेत राखिएको स्थानीय अगुवा युवा प्रताप राना बताउँछन् । जसले गर्दा पछिल्लो पुस्तामा समेत कौराह नृत्य सगै आफनो भेषभुषा समेत हस्तान्तरण हँुदै लोप हुनबाट जोगिने अवस्थामा रहेको उनको भनाई छ ।

अर्गानिक खाना, मौलिक नाचले मिछर्लुङ्ग यात्रा र बसाइँ अविस्मरणीय
मनै लोभ्याउने उत्तरी भेगमा देखिने सेता हिमाल, तल फाटमा देखिने भीमाद बजारको आकर्षक दृश्य सगै शान्त मनोरम हरिायाली डाँडाकाँडा त छँदैछ । विशेष गरी त्यहाँ नचाइने कौराह नृत्य हेर्नकै लागी मिर्छुलुङ होम–स्टेमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । जसले गर्दा होमस्टे सञ्चालन गर्ने व्यवस्थापकलाई आर्थिक लाभ त भएको छ नै विशेष गरी कौराह नृत्य सञ्चालन गर्ने साँस्कृतिक समुहको समेत अर्थिक स्तरमा टेवा पुगेको छ ।

बेलुका दुई घण्टा कौराह नचाए बापत साँस्कृतिक समुहलाई दैनिक तीन हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ भने नाचमा सहभागी हुने पर्यटक पाहुनाले नृत्य गर्ने क्रममा दिने पैसा थप कमाइ हुने गरेको छ । यसरी प्राप्त गरेको पैसा साँस्कृतिक समुहमा आवश्यक भेषभुषा, बाजागाजा सँगै सहभागि सम्पूर्ण सदस्यहरुलाई धेरथोर खर्च दिइने गरिन्छ भने बाँकी पैसा जगेडाको रुपमा कोषमा जम्मा गर्ने प्रचलन छ । जसले गर्दा कौराह नृत्यका कारण होमस्टेमा पाहुनाको आकर्षण बढ्दा साँस्कृतिक समुहमा अर्थिक पक्ष सबल हुदै गइरहेको छ भने होमस्टे सञ्चालकलाई समेत आर्थिक लाभ मिलेको छ ।

मिछुर्लुङ्ग होम–स्टेले एकातिर पर्यापर्यटनलाई टेवा पु¥याएको छ भने अर्कोतिर लोप हँुदै गइरहेको संस्कृतिको पनि जगेर्ना गरिरहेको कौराह नाचका गुरु मनिलाल थापा बताउँछन् । देशको विभिन्न कुनाबाट आउने भिन्न संस्कार र संस्कृतिका पाहुनाहरु समक्ष स्थानीय स्तरको अर्गानिक खानेकुरा सँगै कौराह नाचको स्वागत सत्कारले यहाँको यात्रा र बसाइँ अविस्मरणीय बनाउने कोसिसमा स्थानीय रहेको थापाको भनाई छ ।

२०७९, २७ मंसिर मंगलवार ०४:०२
कथालिका नयाँ कथा
कथालिका