मौरी झै मिहिनेती मनबहादुर – कथालिका

मौरी झै मिहिनेती मनबहादुर

  • रहरबाट मनबहादुरले सुरु गरेको मौरीपालनले अहिले व्यवसायिक रुप लिएको छ । वार्षिक रुपमा करिब १ हजार किलोसम्म मह उत्पादन गर्ने व्यवसायमा विदेशको महत्वकांक्षी सपना नभएका छोरा सोमबहादुरको दरिलो साथ छ । उनीहरुले वार्षिक १५ लाख हाराहारीमा आम्दानी गर्छन् ।

घना जंगल, छैन मानिसका बस्ती । तर, छ जंगलकै बिच एक घर । जहाँ चितुवाको बिगबिगी छ । त्यही बस्छन् शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतका ६५ वर्षिय मनबहादुर पुलामी र उनका ३७ वर्षिय छोरा सोम बहादुर पुलामी मगर । जंगलको बिचमा उनीहरुको एक्लो घर मात्र होइन, त्यहाँ पुलामी बाबुछोराको मौरी पालनव्यवसाय छ ।

यसरी घना जंगलको बिचमा बस्दा डर लाग्दैन ? कथालिकाको सुरुवाती प्रश्नमा पुलामीको जवाफ थियो, ‘पहिले पहिले मनमा केही भय भाव आउथ्यो, अहिले त बस्दा बस्दा बनी भइसक्यो । कहिलेकाहीं रातमा केही तल सडकमा गाडी र मोटरसाइकल कुद्छ, त्यसैले केही हुन्न जस्तो लाग्छ ।’

बाबुछोराले जंगलको बिचमा व्यवसाय गरेर परिवारको जीविका चलाइरहेका छन् । बाबुले चलाएको व्यवसायलाई अहिले छोराले अँगालेका छन् । बाबुछोरा मिलेर मौरीपालनलाई आम्दानी गर्ने गतिलो माध्यम बनाएका छन् । उक्त घरमा पुग्दा बाबु छोरा नै मौरीको स्याहारमा खटिएको देखिन्छन् । उनीहरुको दिनचर्या नै मौरीबाट सुरु भएर मौरीकै सेवा, रेखदेखमा अन्त्य हुन्छ ।

मौरीपालनको कथा
घर शुक्लागण्डकीकै एक्लेखेतमा हो । उनीहरुले मौरीपालन भने घर भन्दा केही माथि जंगलमा गरिरहेका छन् । २०५५/५६ सालतिरको कुरा हो, मनबहादुरले आफूलाई रहर लागेर मौरीको घार घरमा ल्याएका थिए । त्यो बेला रहर लागेर ल्याएको भए पनि मौरी धेरै समय बसेन, भागिहाल्यो । मनबहादुर यसैमा आफ्नो चित्त दुखाएर भने बसेनन् । मौरी आफ्नो घार छोडेर जति पटक भाग्यो, त्यति पटक उनले फेरी ल्याउँथे । यो क्रम केही वर्षसम्म जारी रह्यो । मौरी ल्याउने र भाग्ने क्रम लामो समयसम्म जारी रहे पनि पछि–पछि भने भाग्न छोडेको मनबहादुर सम्झन्छन् । मौरीको गोलासहितको घार ल्याएर घरमा राखे पछि विस्तारै आम्दानी हुन थालेको उनी बताउँछन् । रहरले राखिएको मौरीको घारबाट केही आम्दानी हुन थालेपछि मनबहादुर हौसिएर मौरीपालनलाई २०६५ सालदेखि व्यवसायका रुपमा अगाडि बढाउन थालेको उनको भनाई छ ।

बाबुको रहरलाग्दो श्रम देखेर छोरा पनि मौरी पालनमा
बाबुले मौरीपालन गरेको देखेर छोरा सोमलाई समेत मौरीपालनको रस बस्न थाल्यो । बाबुले मौरीलाई स्याहार गरेको देखेर सुरुवातमा मौरीको सेवामा लागेका उनी अहिले व्यवसायको रुपमा अघि बढाउन सक्रिय छन् । बाबुले मौरीपालन गरेको भए पनि सुरुमा कुनै इच्छा, चाहना नभए पनि अहिले काम गर्दै जाँदा सोच बदलिएको उनी बताउँछन् । ‘बुबाको कर्म, मौरीको मह रहर लाग्दो थियो, कसरी कसरी अन्जानमै मौरीसँग माया बस्यो हौ मेरो त,’ हाँँस्दै सोम भन्छन् । घरबाट सामान्य रुपमा सुरु गरेको मौरीपालनलाई अहिले ठूलो व्यवसायको रुपमा परिणत गरेका छन् यी बाबुछोराले । उनीहरुले जंगलको बिचमा रहेको आफ्नै १० रोपनी जग्गामा मौरीपालन गरेका छन् । यो जमिन बाबु मनबहादुरले किनेका थिए । सुरुसुरुमा यहाँ धान उब्जनी हुने गरेको मनबहादुरले सुनाए । ‘केही माथि एउटा नहर थियो, त्यही नहरबाट पानी ल्याएर धान रोप्थें,’ जंगलभन्दा केही माथि देखाउँदै मनबहादुर भन्दै थिए, ‘अहिले त त्यो नहरको नामोनिसान केही छैन । धान रोप्न पनि छोडियो ।’

छोरा विदेश नगए पनि खेत बाझो भए पछि
अहिले गाउँघरमा प्रायः खेतबारी बाँझो छन् । बसाईं सराई र भविष्य निर्माण गर्ने भन्दै कोही सहर त कोही विदेशिए पछि खेतबारीमा काम गर्ने व्यक्ति हुन छाडे । त्यसैले खेतबारी आजभोली बाँझो भएका छन्, झार उम्रिएका छन् । यो समस्याबाट यी दुई बाबुछोरा अछुतो रहन सकेनन् । अवस्था उनीहरुको समेत एउटै थियो, सोम विदेशै नगए पनि काम गर्न छोडिएको थियो, जमिन बाँझै थियो । धान रोप्न बन्द भएपछि उक्त जमिन खाली थियो । पछि मौरीलाई फूलको रस प्राप्त गर्न सहज हुने र व्यवसायलाई बढाउन सकिने भए पछि उनीहरुले जमिन मौरीपालन गर्न रोजेका थिए । ‘जमिन बाँझो बनाउनु भन्दा यही मौरीपालन गर्ने मनशाय भयो, अनि जमिनलाई उपयोग गरेका हौं व्यवसायका लागि,’ सोमबहादुरले भने, ‘भिरालो जमिन, मौरीको चरनका लागि समेत उचित हुने रहेछ ।’ हुन त एक्लेखेतमा पनि उनीहरुको घर छ । तर व्यवसाय गर्न सहज होस् भन्ने हेतुले उनीहरुले जंगलकै बिचमा घर बनाएका छन् ।

राम्रो रेखदेख नभए भाग्छ मौरी पनि
मौरीपालन गरिरहेको जमिन केही भिरालो भएकाले उनीहरुलाई यो व्यवसाय गर्न सहज भएको छ । अहिले उनीहरुसंग १ सय २० वटा मौरीको घार छ । अबको ३ महिनामा यसलाई बढाएर २ सय वटा पु¥याउने बाबु छोराले लक्ष्य लिएका छन् । यो व्यवसायमा अरुमा जस्तै चुनौती नभएको पनि होइन । मौरीलाई विशेष ध्यान नदिए भाग्ने जोखिम बढी हुने उनी बताउँछन् । मौरीलाई सबैभन्दा बढी खतरा मलसाप्रो भन्ने जनावरबाट हुने उनको अनुभव छ । यो जनावरले मौरीलाई आक्रमण ग¥यो भने मौरी सखाप हुन्छ । ‘मलसाप्रोबाट जोगाउनु सबैभन्दा ठूलो चुनौती मौरी व्यवसायीलाई हुन्छ,’ सोमले भने । यो बाहेक मौरी घार छाडेर भाग्ने अर्को समस्या हो । बुबा मनबहादुरका अनुसार मौरीको घार फोहोर भयो र खानाको कमी भयो भने पनि मौरी भाग्ने खतरा हुन्छ । त्यसैले मौरीका लागि सबैभन्दा महत्वपूर्ण कुरा चरन हो । ‘अर्को विषय भनेको उसको घार बारम्बार सफा गरिराख्नुपर्छ, होइन भने भाग्छ,’ उनी भन्छन् ।

सामान्यतयाः मौरीको आयु २ देखि ३ महिनाको हुने सोमले बताए । चरनका लागि हरेक मौसम उपयुक्त हुन्छ भन्ने हुँदैन । उनीहरुले खाना कस्तो पाउँछन्, चरन कस्तो छ, त्यही अनुसार नै मह उत्पादन गर्ने उनको भनाई छ । त्यसैले खानामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । चरनका लागि उपयुक्त मौसम छैन भने मह उत्पादनका लागि मौरीलाई खानाको रुपमा चिनी दिनुपर्छ, चिनी दिएका छौं भन्दै स्याहार गर्न छोड्नु भने नहुने उनी बताउँछन् । ‘चिनी दिएका छौं भन्दैमा स्याहार गर्न छोड्नु हुँदैन, नत्र मर्न सक्छ, भाग्न पनि सक्छन्,’ सोमले भने । मौरीलाई कस्तो स्याहार गरिएको छ, त्यही अनुसार उत्पादन हुने उनी बताउँछन् । छोराले मौरीको विषयमा यसरी जानकारी दिइरहँदा बाबु मनबहादुर भने उनलाई हेर्दै मुस्कुराइरहन्थे । सायद आफ्नो रहरलाई छोराले आम्दानीको स्रोतका रुपमा प्रयोग गरिरहेकोमा हर्षविभोर भएका पो थिए कि ?

फर्निचरबाट घार सहित गोला पनि बिक्री
सोमबहादुरले फर्निचर व्यवसाय समेत सञ्चालन गर्छन् । जहाँबाट मौरीको घारसहित गोला बिक्री गर्छन् । सुरुमा सोमले मौरीको गोलासहितको घारलाई ४ हजार रुपैयाँ सम्ममा बिक्री गर्थे । अहिले मौरीको गोलासहितको घारलाई ९ हजार रुपैयाँसम्म बिक्री गर्छन् । मह बेचेर मात्रै उनले वार्षिक रुपमा अन्दाजी १५ लाख बराबरको आम्दानी गर्छन् । गोला सहितको मौरीको घारको हिसाब त छुट्टै हुन्छ यी दुई बाबुछोराको । उनीहरुले मह वार्षिक रुपमा करिब १ हजार किलोसम्म उत्पादन गर्छन् । जसले मह काढ्छ, उसले हात चाट्छ भन्ने उखानलाई चरितार्थ गरेका छन्, यी दुई बाबुछोराले । रहरबाट बाबुले सुरु गरेको मौरीपालनले अहिले व्यवसायिक रुप लिएको छ । वर्षमा लाखौं कमाउने पुलामी बाबुछोरा अहिले व्यवसायबाट सन्तुष्ट देखिन्छन् ।

घर व्यवहार चलाएकै छन्, जीविकोपार्जन सहज रुपमा भइरहेको छ । हरेक दिन नयाँपन भेट्छन् । उनीहरुले मौरीको स्याहार गरिरहेको हेर्दा लाग्छ, दुई जना मौरीकै लागि बाँचिरहेका छन् । सोमले मौरीको गोलासहितको घार बिक्री गर्दा धेरै अनुभव बटुलेका छन् । केहीले व्यवसायिक रुपमा व्यवसाय बढाउन लिएर जाँदा रहेछन् भने केहीले रहर पुरा गर्न मात्रै । रहर पुरा गर्न गोलासहितको मौरी लिएर जानेले मौरी भाग्यो भन्ने गरेको सोमले सुनाए । सोमले यसो भनिरहँदा बाबु मनबहादुरले फ्याट्टै भनिहाले, ‘रहरले मात्रै मौरी लगेर हुन्छ ? उनीहरुले राम्रोसंग स्याहार गर्दैनन्, फोहोरमा राख्छन्, अनि भागिहाल्छन् मौरी ।’ बाबु मनबहादुर यो कुरा गरिरहँदा छोरा सोमबहादुर भने मुस्कुराइरहेका थिए । रहर र व्यवसाय दुवै प्रायोजनका लागि मौरी लैजाने व्यक्तिले उनीहरुको स्याहार गर्नुपर्ने विषयमा भने दुवै जनाले एकै धारणा व्यक्त गरे । ‘मह खानु छ भने उनीहरुको राम्रोसंग स्याहार पनि गर्नुप¥यो नि, ?’ उनीहरुले भने ।

विदेशको महत्वकांक्षी सपनाले नछोएका सोमबहादुर
बाबुले रहर गरेर सुरु गरेको मौरी पाल्ने विषयलाई व्यवसायको रुपमा अगाडि बढाउन पाउँदा सोम निकै खुसी छन् । यही व्यवसायबाट खान, लाउन पुगिरहेकै छ, त्यसैले विदेश गएर अरुले जस्तै टन्नै कमाउला र बजारमा भव्य महल निर्माण गरौंला भन्ने उनलाई कहिले लागेन । बाबु मनबहादुरले छोरालाई विदेश जानुपर्छ, कहिले भनेनन् । ‘मेरै काखमा बसेर हुर्काएको अहिले सँगै काम गरेको छ, कमाएको छ, परिवार पालेको छ, अनि किन जानु विदेश ?’ मनबहादुर गर्वका साथ भन्छन्, ‘मेहनत गर्न सक्यो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ । आफ्नो परिवारसंग बसेको जस्तो विदेश जाँदैमा सन्तुष्टी पाइन्छ र ?’ सोमलाई पनि घर छोडेर जाने इच्छा भएन । त्यसैले त अष्ट्रेलिया जाने अफर आउँदा समेत उनी गएनन् । मौरीसंगै माया बस्यो, अहिले मौरीको स्याहारमा उनको दिन बित्छ । उनको खुसी अहिले परिवार र मौरीमा अड्किएको छ । सोमकी श्रीमती र ७ वर्षीय छोरी छिन् । आम्दानी भएन भन्ने दिन आएको छैन । मेहेनत गरे अनुसार उनले फल प्राप्त गरेका छन् । दिनभरी काम गरे पनि राति परिवारसंग समय व्यतित गर्छन् सोम र उनका बाबु । सोमकी आमाको भने २०६४ मा निधन भइसकेको छ ।

कोरोना पछि अझ फस्टाउदै व्यवसाय
उनले अहिले चाकासहितको महलाई किलोको १५ सय र चाका निकालिएको महलाई किलोको १३ सय रुपैयाँ सम्ममा विक्री गर्छन् । कोरोनाको महामारी पछि धेरैको व्यापार तथा व्यवसाय धर्मराएको छ । कोही व्यवसाय छोडेर पलायन भएका छन् भने कोहीले आफ्नो व्यवसायलाई उकास्ने प्रयास जारी राखेका छन् । यी २ बाबुछोराका लागि भने कोरोना महामारी पछि समय झन् फलिफाप भएको छ । कोरोना पछि पहिलेको तुलनामा स्वास्थ्यको बारेमा ख्याल राख्नेहरु बढेको पाएको सोमबहादुर बताउँछन् । त्यसैले होला यो समयपछि उनले उत्पादन गरेको महको बिक्री हुने क्रम अझ बढेको छ । ‘स्वास्थ्यको विषयमा ख्याल गर्ने पहिले भन्दा बढेको जस्तो लाग्छ,’ सोम भन्छन्, ‘अरुले कोरोना पछि व्यापार व्यवसाय घट्यो भन्छन्, हाम्रो त्यस यता झन् महको माग बजारमा बढ्दो छ, माग धान्न मुस्किल भइरहेको छ ।’ घरको बाँझो जमिनलाई उपयोग गरेका छन्, त्यसबाट राम्रो आम्दानी गरेका छन् । ‘यो पेसालाई छोडेर विदेश जाने वा अन्य व्यवसाय अँगाल्ने कुरा भएन,’ सोम भन्छन्, ‘अब मेरो वर्तमान र भविष्य यही मौरी हो, बरु यो व्यवसायलाई विस्तार गर्ने योजना छ ।’

२०७९, ३ पुष आईतवार ०५:५६
कथालिका नयाँ कथा
कथालिका