पालिका अध्यक्ष ‘लागुऔषध कारोबारी’ – कथालिका

पालिका अध्यक्ष ‘लागुऔषध कारोबारी’

वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमाथी लागेको लागुऔषध कारोबारी आरोप कसुर ठहर भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्ती माथी लागेको लागुऔषध (गाँजा चरेस) सम्बन्धी आरोप जिल्ला अदालतले आइतवार कसुर ठहर गरेको हो । यस अभियोगमा वडा अध्यक्ष हुँदा पुर्पक्षका लागि थुनामा पठाए पनि केही महिना पश्चात धरौटीमा रिहा भएका थिए ।

सजाय निर्धारणका लागि १८ गते पेशी
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको एकल इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए । अध्यक्ष घर्तीलाई अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । सजायका लागि आगामी पुस १८ गते अर्को पेसी तोकिएको अदालतले जनाएको छ । पेसीमा दुवै पक्षका वकिलहरुले बहस गर्नेछन् ।

अध्यक्ष घर्तीलाई कसुर अभियोगमा २ देखी १० वर्ष सम्म जेल सजाय र २० हजारदेखि १ लाख सम्म जरिवाना माग दाबी गरिएको छ ।यही सजाय माग दाबी र वकिलहरुको थप बहस पश्चात सजाय र जरिवानाको फैसला हुनेछ ।

अध्यक्ष घर्तीलाई पेसी पछि पुनरावेदनको अवसर
१९ गतेको पेसीमा सजाय निर्धारण भएपछि घर्तीले फैसला चित्त नबुझे पुनरावेदन गर्न सक्नेछन्। अवैध लागुऔषध मुद्धामा दोषि ठहर भएका अध्यक्ष घर्ती अझै पनि आफूलाई फसाइएको जिकिर गर्छन् । अदालतबाट दोषी करार भइसक्दा समेत उनी यो मान्न तयार छैनन् । जिल्ला अदालतको यस निर्णय विरुद्ध अब पुनरावेदन अदालत जाने उनी बताउँछन् । ‘म माथि वडा अध्यक्ष हुँदाको बखतदेखि नै नियोजित रुपमा षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रकै बाबजुद मलाई गाउँपालिकाबासीले पालिका अध्यक्षमा भारी मतले बिजयी बनाएका छन्, यसमा जिल्ला अदालतबाट न्याय मिल्नेमा पूर्ण रुपमा विश्वस्त थिए तर ठिक विपरित आदेश आएको छ,’ अध्यक्ष घर्तीले भने ।

१० वर्ष भन्दा कम सजाय तोकिएको खण्डमा धरौटी राखेर घरमै बसी पुनरावेदनको मुद्दा लड्ने कानुनी व्यवस्था छ। जिल्लाको फैसला चित्त नबुझे उच्च र सर्वोच्च जाने व्यवस्था छ र लागूऔषधको मुद्दामा १० वर्ष भन्दा कम कैद सजाय भए दैनिक तीन सय रुपैयाँ बराबर धरौटी राखेर घरमै बसीबसी पुनरावेदन गर्न पाउने छन् ।

यसरी अवैध कारोबारमा पक्राउ परेका थिए घर्ती
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा घर्तीको सम्म पुगेको प्रहरीले अवैध लागु औषध सहित पक्राउ गरेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि गत भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध (गाँजा,चरेस) नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्धा दर्ता भएको थियो । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

अब के हुन्छ अध्यक्ष पद ?
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धनको समर्थनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित घर्ती विरुद्धको कसुर ठहर भएपछि अब उनको पद के हुन्छ भन्ने प्रश्न र चासो सर्वत्र देखिएको छ । अदालतबाट कसुर नै ठहर भइसकेकाले पद मुक्त हुनुको विकल्प छैन । नैतिक पतनका हिसाबले समेत अब पदमा रहने विषय नरहे पनि न्यायिक हिसाबले घर्तीलाई पुनरावेदन जाने विकल्प भने बाँकी रहनेछ । यस विषयमा पालिकाका अन्य जनप्रतिनिधि र कर्मचारी पनि अन्यौलमा छन् । गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीले आफुले पनि विहान मात्रै सूचना पाएको र अब के हुन्छ भन्ने विषय बुझ्न बाँकी रहेको बताए ।

कसुरदार देखिएमा स्वतः पदमुक्त हुने भए पनि अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए।  ‘कसुरदार देखिएमा पद जाने भन्ने कुरा त हो, त्यो कानुनी प्रावधानहरुको बारेमा पनि हेरौंला,’ उनले भने,‘सजाय निर्धारण नभईसकेकोले यसै भन्न सकिने अवस्था त भएन। हामी पनि बुझ्ने चरणमै छौ।’

निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आए लगत्तै कामु प्रमुख प्रशासकीय अधिकृतबाटै काम चलाउदै आएका छन् । उनले संघीय मन्त्रालयबाट दुई नयाँ दुई हाकिमलाई सरुवा गरेर पठाए पनि हाजिर गर्न नदिएर सिधै फिर्ता पठाइदिएका थिए ।

२०७९, ५ पुष मंगलवार ०८:५६
कथालिका नयाँ कथा
कथालिका