कति चल्ला ? गठजोडको सरकार – कथालिका

कति चल्ला ? गठजोडको सरकार

  • अहिलेको विकसित राजनीतिक घटनाक्रमले धेरैलाई अचम्मित तुल्याएको छ । यस्तो चमत्कार देशले स्थिरता, विकास र समृद्धिमा अनुभुत गर्ने सन्दर्भमा नभए पनि सरकार गठन र विघटनका बेला भने देख्न पाइरहेका छन्। 

निःसन्देह राजनीति केका लागि ? सत्ताकै लागि हो । सत्ता मार्फत सुशासन, समृद्धि र विकासका लागि हो । राजनीतिमा लागे पछि सत्ता पुग्ने कोशिस स्वभाविक हो । तर, सत्तामा पुग्नैका लागि गरिने अस्वभाविक, नैतिकताहीन हर्कत र पुगे पछि अपनाइने स्वेच्छाचारी कार्यशैली र प्रवृत्तिले देश अपेक्षित स्थिरता, विकास, समृद्धिको दिशामा अघि बढ्न सकेन । पुरानो संसदीय व्यवस्थामा त देश अस्थिरता र बेथितिको सिकार बनिरह्यो नै, अहिलेको उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पनि उस्तै पात्र र प्रवृत्तिको बोलवाला रहिरह्यो । फलस्वरुप सत्ताको कुरुप खेल आज पनि निरन्तर जारी रहेको देखिएको छ ।

ताजा खराब विगत

अघिल्लो निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धन बन्यो । एमाले, माओवादी, राजमो लगायतका दलहरुले चुनावी गठबन्धन गरे । कांग्रेसलाई एक्लाएर यथास्थितिवादीदेखि अनेकन आरोप र लाञ्छना लगाए । करिब दुई तिहाई बहुमतको नतिजा पनि हासिल भयो । तर दुर्भाग्य, त्यो साढे दुई वर्ष पुरा नहुँदै गुम्यो । सत्ताका विषयमा चुलिएको आन्तरिक विवादले यही बिचमा एक भएको नेकपा बिभाजनदेखि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरे । जुन कदमका बिरुद्ध प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग मिलेर माओवादी, एमालेबाट बिभाजित एकीकृत समाजवादी लगायतले प्रतिगमन करार गरेर सर्वोच्च अदालतको परमादेश मार्फत सरकार बनाए । हालै सम्पन्न निर्वाचन सम्म गठबन्धन गरेर चुनाव लडे । यसपटकको चुनावले सत्ता गठबन्धनलाई अपेक्षित नतिजा दिएन । र पनि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन अझै केही वर्ष निरन्तर रहने उद्घोष गरिरहे । यो नयाँ सरकार गठनका लागि दिएको समय सीमाको अन्तिम क्षण सम्म आउँदा गठबन्धन टुट्यो । प्रचण्ड उही पहिले प्रतिगमन करार गरेको एमालेकै मुख्य समर्थनमा प्रधानमन्त्री बनेका छन् । यही पाँच वर्षको घटना, परिघटना हेर्ने हो भने मात्र पनि नेपालमा सत्ताको कुरुप खेल कुन हद सम्म हुन्छ ? बुझ्न काफी छ ।

चामत्कारिक पल्टिएको ‘सत्ताको पासा’

नेकपा विवाद, त्यसपछिको पार्टी बिभाजन, संसद विघटन पश्चात सरकारको बागडोर सम्हालेका केपी ओलीलाई बालकोट बार्दलीमा पुर्याउँदा प्रचण्डमा छुट्टै बिजयी भाव, हुँकार र गौरवबोध थियो । त्यसयताका साढे दुई वर्ष पनि उस्तै कटुटतापूर्ण सम्बन्ध, भाषणमै बिते । तर, अहिले चामत्कारिक रुपमा पहिले ओलीलाई पुर्याएको बालकोट बार्दलीबाट नै प्रचण्डले प्रधानमन्त्री बन्नुपूर्व सगोलमै नेता, कार्यकर्ताष्लाई अभिभावदन गरे ।जुन निकै चामत्कारिक र अस्वभाविक घटना थियो । कपिल काफ्लेले नयाँ समिकरण बने लगत्तै ट्वीटरमा लेखे–‘प्रचण्ड, ओली लगायतका नेताहरुले गएको दुई वर्षमा बोलेका सार्वजनिक बोलीहरु सामाजिक सन्जालबाट हटाइहालौं, नत्र मान्छे हाँसेरै मर्ने भए । यी र यस्ता भाव आशयका अनगिन्ती पोस्ट सामाजिक सञ्जाल र सार्वजनिक रुपमा अभिव्यक्त भए । यद्यपि, यहाँका राजनीतिक दल र नेताहरु यसलाई केबल संसदीय खेलका स्वभाविक घटनाका रुपमा मात्र लिन्छन् ।

यसपटकको निर्वाचनबाट संसदीय राजनीतिमा तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कतिपयले अस्थिर त कतिपय गतिशील नेताका रुपमा लिन्छन् । उनी सत्ता गठबन्धनलाई निरन्तरता दिने सवालमा आफुलाई अब्बल र सफल नेताका रुपमा उभ्याउँदै आएका पनि थिए । तर, अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट पहिलो कार्यकाल प्रधानमन्त्री बन्न नदिने र प्रचण्ड गलाउने कांग्रेस रणनीति ‘सुपुर फ्लप’ बनेको छ । र यसमा प्रचण्ड र एमाले अध्यक्ष केपी ओली अन्तिम समयमा ‘हिरो’ को रुपमा उदाएका छन् । सत्तागठबन्धनमा सहमति नजुटे पछि प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्ने मिसनमा उत्रिए । यसका लागि पाँच वर्ष प्रतिपक्षी बन्नुपर्ने बिबशतामा पुगेको नेकपा एमाले, जो सत्ता गठबन्धनको बेमेल र असहमति कै प्रतिक्षामा थियो र सोही भयो ।

अन्ततः सत्ताका लागि प्रचण्डलाई राष्ट्रिय समस्या भनेका केपी ओली उनैलाई प्रधानमन्त्री प्रस्ताव गर्ने मात्र होइन, बहुमत संख्या पु¥याउन अरु दललाई समेत संवाद र सहमतिमा ल्याउन प्रयत्नशील रहे भने ओलीलाई प्रतिगमन करार गर्दै बेइमानीको संज्ञा दिने प्रचण्ड उनके काख र साथमा पुगे । यसले नेपाली राजनीति तरंगित बनिरहेको छ ।

तेस्रो दल, तेस्रो पटक प्रधानमन्त्री
नेपाल गणतान्त्रिक मुलुक बनेपछि पहिलो प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । २०६४ सालको निर्वाचनबाट सबै भन्दा ठुलो दल सहित त्यसको नेता र प्रधानमन्त्री बनेका प्रचण्ड प्रधानसेनापति प्रकरणका कारण छोटो अवधिमै राजीनामा दिएका थिए । कांग्रेस र एमालेसँगको सहकार्य तोड्दै अघि बढ्न खोजेपछि त्यस बेलाको सरकार दुर्घटनामा प¥यो ।

त्यसको ८ वर्षपछि उनी २०७३ साउन १९ गते भने दोस्रो पटक सरकारको नेतृत्वमा पुगे । त्यसपछि उनी सरकारको नेतृत्व गर्नेभन्दा ‘अरूलाई प्रधानमन्त्री बनाउने’ भूमिकामा सीमित हुँदै आएका थिए । यसपटक चुनावबाट आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि अहिले भने तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

साढे दुई वर्षमा एमालेको ‘कम ब्याक’
प्रचण्डसँगै करिब दुईतिहाइ बहुमतको सरकार गुमाएको एमालेले साढे दुई वर्षमा सत्ताकेन्द्रमा ‘कम ब्याक’ गरेको छ । तत्कालीन नेकपाभित्रको एउटा हिस्सा माओवादीलाई शनिबार सरकारको नेतृत्व दिँदै अध्यक्ष केपी ओलीले एमालेलाई सत्ताको केन्द्रमा फर्काएका छन् ।

आमनिर्वाचनबाट पहिलो दल बनेको कांग्रेस प्रतिपक्षी भूमिकामा सीमित भएको छ । यसलाई कतिपयले तत्कालीन एमाले–माओवादीबीचको चार वर्षअघिको ‘एकता सरप्राइज’को राजनीतिक घटनाक्रमको अर्को रुपमा समेत हेरेका छन् । पछिल्लो सरकार समिकरणको घटना प्रति एमाले र माओवादीका नेता, कायकर्तामा केही खुशी र उत्साह त देखिन्छ, तर त्यो भन्दा बढी एक अर्का प्रति विगतको कुटटता मिश्रित हाँस्य व्यंग्य देखिएको छ ।

कांग्रेस र समाजवादी भित्र धक्का
नेपाली कांग्रेस यसपटकको निर्वाचनबाट पहिलो दल बनेको थियो । पहिलो दल बनेकाले केन्द्र सरकारदेखि प्रदेश सरकार सम्म अधिकांशमा कांग्रेस नेतृत्वकै सरकार बन्ने निश्चित प्रायः थियो । तर, नेपाली राजनीति नयाँ सरकार गठनको अन्तिम संघारमा एकाएक बाटो मोडिएको छ । जसमा मुखैमा आएको गास छोड्न बिबश बनेको छ नेपाली कांग्रेस र कांग्रेससँगै पछिल्लो निर्णयले ठुलो धक्का बेहोरेको छ एकीकृत समाजवादी पार्टीले । कांग्रेस नेता गुरु घिमिरेले त पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्ने बताइसकेका छन् । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो ? र आज किन जोगाउन सकिएन ?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाइने उनी बताउँछन् ।

राष्ट्रपति, सभामुख, एक मुख्यमन्त्री र केही मन्त्री पाउने सपनामा रमाइरहेको समाजवादीलाई पनि अन्तिम गासमा ढुंगा लागेको छ । विगतमा नेकपा हुँदा र त्यसपछिको बिभाजनदेखि हाल सम्म सँगै साथै रहेको माओवादीले एमालेकै साथ रोजे पछि अब सोही गठबन्धनमा जाने र केही अवसर भए पनि लिने कि प्रतिपक्ष बनेर कांग्रेससँगै बस्ने कठिनाईमा छ । जसलाई समाजवादीले पर्ख र हेरको अवस्थामा रहेको जिकिर गर्छन् ।

प्रतिशोध, क्षति पछिको पुर्नमिलन

तत्कालीन नेकपा विभाजनसँगै दुई नदी किनारजस्तै बनेका एमाले र माओवादी दुवै उपलब्धि र क्षतिसहितको उतारचढाव राजनीतिक यात्रामा सम्मिलित भए । २८ असार ०७७ मा सर्वोच्च अदालतको फैसलाबाट कांग्रेस सभापति शेरबहादुर देउवाको नियुक्तिसँगै प्रधानमन्त्रीबाट बाहिरिएका एमालेले बढी र माओवादीले आंशिक क्षति व्यहो¥यो । केन्द्रसहित सात प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमाले प्रतिपक्षी दल बन्यो, माओवादीले कांग्रेससँगको सहकार्यमा राज्यशक्तिमा सहभागिता जोगायो । बढ्दो तिक्ततासँगै ओली–प्रचण्ड आरोप–प्रत्यारोप र संवादहीनताको अवस्थामा पुगे ।

०७४ को निर्वाचनमा ८० प्रत्यक्ष र ४१ समानुपातिकसहित एक सय २१ सिट जितेको एमाले पछिल्लो निर्वाचनमा ४४ प्रत्यक्ष र ३२ समानुपातिकसहित ७८ र प्रत्यक्ष ३६ र समानुपातिक १७ सहित ५३ सिट जितेको माओवादी १८ प्रत्यक्ष र १४ समानुपातिकसहित ३२ सिटमा सीमित बने ।

फेरि कति लामो रहँला सहकार्य ?
अहिलेको विकसित राजनीतिक घटनाक्रमले धेरैलार्क अचम्मित तुल्याएको छ । यस्तो चमत्कार देशले स्थिरता, विकास र समृद्धिमा अनुभुत गर्न नपाए पनि सरकार गठन र विघटनका बेला भने देख्न पाइरहेका छन् ।

नेपाली राजनीतिमा राजनीतिक दलहरुको एकताको आयु मात्र होइन, सरकारको आयु पनि उति लामो नभएको बिर्सनलायक विगत छ । अहिले सार्वजनिक समाचार अनुसार पहिलो साढे २ वर्ष माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । सहमति कार्यान्वयन भए त्यसको बाँकी साढे २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

वरिष्ठ पत्रकार नारायण वाग्ले पछिल्लो राजनीतिक घटनाक्रमबारे सटिक रुपमा लेख्छन्, ‘गठजोड हो, गठबन्धन होइन। न हिजो, न आज । ’

अघिल्लो निर्वाचनमा पनि यस्तै सहमतिबाट प्रधानमन्त्री बनेका ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिएनन् । त्यही प्रतिशोध र रोषबाट विवाद बल्झिदै पार्टी बिभाजन र संसद विघटनको दुर्नियतपूर्ण अवस्था देख्न भोग्न नागरिक अभिसप्त बने । अब पनि नयाँ सरकार र सत्ता गठबन्धनको सहकार्य कति लामो समय जाला ? राजनीतिक बिश्लेषकहरुले पनि यसै भन्न नसकिने बताइरहेका छन् । तर, तत्कालका लागि एकले अर्को प्रतिको राजनीतिक र व्यक्तिगत प्रतिशोध साँध्ने भने नेताहरु सफल भए । यो देशका लागि सफल र कामयावी बन्ला ? त्यसका लागि भने अहिले भन्ने हतारो हुनेछ ।

२०७९, ११ पुष सोमबार ०८:१२
कथालिका नयाँ कथा
कथालिका