शंकराजको सपना, वीरेन्द्रको ‘बोल्ड’ आदेश – कथालिका

शंकराजको सपना, वीरेन्द्रको ‘बोल्ड’ आदेश

गण्डकी प्रदेशको राजधानी पोखरा, जसलाई नेपालकै पर्यटकीय राजधानी घोषित गर्न निरन्तर पहल भइरहेकै छ । यही सुन्दर शहर पोखरामा यसका लागि प्रयाप्त आधार र संरचनाहरु बन्ने बनाउने क्रम तिब्र छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यसको एक उदाहरण हो ।

५० वर्षदेखिको पोखरेलीको सपना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतवार उद्घाटन गरिएको छ । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको विमानस्थल चीन सरकारको सहयोगमा बनेको हो । करिब पाँच दशक अघि पोखरालाई कसरी पर्यटकमैत्री शहर बनाउन सकिन्छ भन्ने सवालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको थियो । जुन पोखरावासीको ५० वर्षदेखिको सपनाकै रुपमा रहिरह्यो । जसले अहिले बल्ल साकार रुप लिएको छ । चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको विमानस्थलमा चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्किएको छ । विमानस्थल निर्माण र शुभारम्भको खुशियालीमा पोखरा महानगरपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ ।

जसले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरे
५० वर्ष अघि अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने पात्र हुन् शंकरराज पाठक । जसलाई विमानस्थल उद्घाटनका अवसरमा पोखरेलीले नागरिक अभिनन्दन समेत गरेका छन् । पाठक तिनै पात्र हुन्, जसलाई राजा वीरेन्द्र पोखरा आउँदा टाउन प्लानिङ कमिटीको अध्यक्ष बनाइदिएका थिए । पोखराको टाउन प्लानिङ भएपछि र पोखराको न्युरोड खोलेपछि वीरेन्द्रसँगको कुराकानीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने शंकरराजले बताएका थिए । फेवा किनार रत्न मन्दिर परिसरको भेटमा राजा वीरेन्द्र शाहले पोखरामा अधिक पर्यटक कसरी भित्राउने योजना बनाउन आग्रह गरे पछि पाठकले तत्काल अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका थिए । त्यही प्रस्ताव र परिकल्पनाले बल्ल अहिले ५० वर्ष पछि साकार रुप लिएको देख्दा निकै खुसीको अनुभूति भएको शंकरराज बताउँछन् । २०१६ सालमा सरस्वती क्याम्पस स्थापना गरेर प्राज्ञिक क्षेत्रमा लागिरहेका शंकरराजलाई २०२९ सालमा राजा वीरेन्द्रले तत्कालीन गण्डकी अञ्चलको अञ्चलाधीश बनाएर पोखरा पठाएका थिए ।

अनि सपनाले मुर्तरुप लिन थाल्यो
तत्कालीन राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव केबल मन मात्र पारेनन्, तत्काल यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन पहल, समन्वय र निर्देशन समेत दिए । त्यतिबेला यातायात मन्त्री रहेका प्रयागराज सुवालसँग कुरा गर्न सुझाव दिए । पाठकले सुवालसँग यसबारे छलफल गरे । त्यसलगत्तै मन्त्री सुवाल, भवन विभागका इन्जिनियर गौरीनाथ रिमाल र प्राविधिकहरु जग्गा हेर्न पोखरा आएका थिए ।

प्राविधिक टोलीले सबैभन्दा उपयुक्त मझेरीपाटनमै भएको निश्कर्ष निकाल्यो । जग्गा अधिग्रहण गर्न एसियाली विकास बैंकको ऋण सहयोगमा राजा वीरेन्द्रले एक करोड रुपैयाँ पठाइदिए । पाठक स्थानीयलाई अधिग्रहणका लागि जग्गा दिन राजी बनाउन खटिए । अन्ततः पोखरामा विमानस्थल निर्माणका लागि ३ महिनामा ३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरियो । जग्गा अधिग्रहण गर्न सफल भए पनि त्यहीबेलामा पृथ्वी राजमार्ग खुलेकाले जहाजबाट पोखरा आउने पर्यटकको संख्या घट्दै थियो । जसका कारण एसियाली विकास बैंक (एडीबी) विमानस्थलमा लगानी गर्न हिच्किचायो । यद्यपि, यी र यस्ता अनेकन उतारचढावका बाबजुद अहिले विमानस्थल निर्माण भएको छ ।

राजा वीरेन्द्रको पोखरा प्रेम
राजा वीरेन्द्रलाई नेपालीले फरक श्रद्धा र सम्मानका साथ स्मरण गर्छन् । उसो त वीरेन्द्र विकासप्रेमी थिए भन्ने एक उदाहरण अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पाठकको प्रस्ताव आए यता उनले निर्माणका लागि देखाएको दृढता, समर्पण हो । उनी पोखरालाई अझ बढी प्रेम गर्थे अर्थात् पोखराको सुन्दरतासँग उनको विशेष आकर्षण थियो ।

वीरेन्द्र पोखरा हरेक सालजस्तो आइरहन्थे । महेन्द्रले रानी रत्नको नाममा बनाएको रत्न मन्दिरमा आएर गीत, कवितामा लेख्दै प्रकृतिसँग हराउथे । वीरेन्द्रले त्यसबेला सुन्दर शहर पोखरालाई अझ विकास र सुविधाले अझै सुन्दर बनाइदिन गरेको निर्देशनमा आफूलाई इमान्दार भूमिका निर्वाह गरेको शंकरराज अहिले पनि बताउँछन्् ।

प्रा.डा.पाठकको परिकल्पना र तत्कालीन राजा विरेन्द्रको विकास प्रतिको दृढताकै कारण पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सँगै अब पोखरामात्रै होइन, समग्र गण्डकी प्रदेशकै विकास र जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

२०७९, १७ पुष आईतवार १०:१६
कथालिका नयाँ कथा
कथालिका