क्रिकेटमा किचलो – कथालिका

क्रिकेटमा किचलो

आयोजकहरू सम्पर्कबाहिर भएपछि जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता मंगलबार दिनभर अन्यौल पैदा भयो । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा टी–२० लिग स्थगितको संघारमा पुग्यो ।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो । नेपाल क्रिकेट संघ ९क्यान० ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।

आयोजक बेखबर भएपछि क्यानका केही पदाधिकारीले सोमबार राति त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा घेराबन्दी हालेका थिए। सहभागी धेरै टोलीका नेपाली तथा विदेशी खेलाडी, प्रतियोगिताका निर्णायकहरूले अझै पारिश्रमिक नपाएपछि लिग नै नखेल्ने धम्की दिँदै आएका थिए ।यही विवादका कारण मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल केहीबेर रोकिएको समेत थियो ।

सेभेन थ्री स्पोर्टसबाट पाउने रकम क्यान आफैंले अझै पाएका छैनन् । नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स र फारवेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमध्ये विराटनगर, जनकपुर, काठमाडौं र फारवेस्टका खेलाडीले अझै कुनै पारिश्रमिक पाएका छैनन् ।

सम्झौताको ३० प्रतिशत रकम मात्र प्राप्त

नेपाली खेलाडीतर्फ समूह ‘ए’ मा रहेकाको १५ लाख, समूह ‘बी’ मा रहेकाको १० र समूह ‘सी’ मा रहेकाको ५ लाख पारिश्रमिक रकम तोकिएको छ । त्यस्तै विदेशी खेलाडीको हकमा समूह ‘ए’ मा रहेकाले ४० हजार डलर, समूह ‘बी’ ले २० हजार र ‘सी’ ले १२ हजार ५ सय डलर पारिश्रमिक पाउने प्रावधान थियो । प्रतियोगिता सुरु हुनु २४ घन्टाअगाडि बैंकमार्फत ५० प्रतिशत रकम खेलाडीको खातामा भुक्तानी हुनुपर्ने प्रावधान रहेकोमा प्रतियोगिता सम्पन्न नजिक पुग्दा पनि चार टोलीका खेलाडीहरूले कुनै रकम पाएका थिएनन् ।

सेभेन थ्री स्पोर्टसले क्यानलाई ८ वर्षको ३३ करोड रुपैयाँ दस्तुर तिर्नुपर्ने गरी सम्झौता गरेको थियो । क्यान र सेभेन थ्री स्पोर्टसले नेपाल टी–२० लिगको घोषणाको क्रममा जेठ ४ गते संयुक्त पत्रकार सम्मेलन गरेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पत्रकार सम्मेलनमा सम्झौता भएपछि १५ प्रतिशत रकम क्यानको खातामा सेभेन थ्री र्स्पोटसले दाखिला गरिसकेको, अर्को १५ प्रतिशत त्यसको ४५ दिनपछि र बाँकी ७० प्रतिशत प्रतियोगिता सुरु हुने अघिल्लो दिनसम्म दाखिला गर्नुपर्ने प्रावधान रहेको क्यानका कोषाध्यक्ष रोशन सिंह बताउँछन् । तर, हाल सम्म सम्झौताको ३० प्रतिशत रकम १ करोड २० लाख रुपैयाँमात्र खातामा आएको उनले जनाए । उनका अनुसार क्यानले सम्झौता अनुरुप पहिलो वर्ष सेभेन थ्री र्स्पोटसबाट कुल ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्नेछ ।

स्रोतका अनुसार तीन दिन अघिमात्र आयोजकले खेलाडीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । क्यान र सेभेन थ्री स्पोर्टसको सम्झौताअनुसार प्रतियोगिता सुरु हुने अघिल्लो दिन खेलाडीले ५० प्रतिशत रकम पाइसक्नुपर्नेछ । पोखरा एभेन्जर्सले ५० प्रतिशत पारिश्रमिक रकम खेलाडीलाई प्रदान गरिसकेको जनाएको छ । प्रतियोगिता सुरु भइसक्दा पनि खेलाडीहरू पारिश्रमिक नपाएपछि यसबारे नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल लगायतले केही दिनअघि क्यानलाई मेल मार्फत ध्यानाकर्षण गराएका थिए ।

‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ आशंका

नेपाल टी-२० को पछिल्लो प्रकरणमा ‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ भएको गम्भिर आशंका उब्जिएको छ। यसबारे उजुरी समेत परेको छ । जसमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

खेलमा देखिएको विवाद, पारिश्रमिक नदिई आयोजक भागेकोबारे खेलाडीले हडान लिन्दै खेल नदेलेपछि प्रतियोगिता थप विवादित र अन्यौलतामा परेको छ ।

मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका केही खेलाडीलाई म्याच फिक्सिङका लागि प्रस्ताव आएको बताएका छन् । उनले यसबारे आधिकारिक निकायमा रिपोर्टिङ गरिसकेको पनि बताए ।प्रतियोगितामा कमेन्टेटरका रूपमा काम गर्दै आएका सचिन तिमल्सेनाले पनि नेपाल टी-२० मा शंकास्पद गतिविधि देखिएको बताएका छन् । उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिका छाडेका छन् । उनले भनेका छन्, नेपाल टी-२० लाई कमेन्टेटरका रूपमा नजिक बाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन्। आजदेखि यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो ।

विवादमा अख्तियारको चासो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित बनेको टी-२० क्रिकेट लिगमा चासो देखाएको छ।

लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीहरूको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ। लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीहरूले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो।

नेपाल क्रिकेट संघले पुस ९ गतेबाट कीर्तिपुरस्थित अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन गर्दै आएको छ। त्यसो त खेलमा बेटिङ र म्याच फिक्सिङसमेत भएको आरोप लागेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिले अनुसन्धान गरिरहेको छ।

गृहमन्त्रालयको पनि प्रहरीलाई निर्देशन

गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो ।

‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यही पुस ९ गतेदेखि त्रिवि मैदानमा उक्त प्रतियोगिता जारी छ । प्राप्त निर्देशनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।

२०७९, २० पुष बुधबार ०७:१९
कथालिका नयाँ कथा
कथालिका