- कथामा अथाह दुःख छ । दुःखको श्रृङ्खला कथाको अन्त्यसम्म आइपुग्दा पनि कम हुँदैन । पाठकको मन कटक्क कुँडिन्छ । भारी भएर आउँछ । यति धेरै दुःख कसरी पो लेख्न सकिन्छ हँ ?
मनसराले भनी ‘मेरा आँखाबाट आँसु खसिरहे । सिन्दुर लगाए । मङ्गलसुत्र बाँधे । लागिरहेथ्यो, कसैले मेरा हातखुट्टा जञ्जिरले बाँधिरहेछ र म आजीवन कैद भइरहेकी छु ।’
मोहपथको अन्तिम पृष्ठ बन्द गरिरहँदा अत्यन्त असह्य भयो । मनले भनिरह्यो ‘ भाग् मनसरा भाग् । सक्छेस् चक्रेको टाउको बोकेर भाग नसके शिरको सिन्दुर पुछेर भाग ।’
मोहपथ करिब एकवर्ष अगाडि हात परेथ्यो । शिक्षक सेवा आयोगका ठेलीका ठेली सामग्री अध्ययन गरिरहँदा मोहपथ दराजभित्र थुपुक्क बस्यो । सबै परीक्षा सकेर एक वर्षपछि मोहपथ हातमा लिएँ । संयोग नै सही मोहपथ हातमा लिए सँगै म एकसाथ मोहपथका दुई यात्रामा यात्रारत रहेँ । एउटा यात्रा मोहपथ भित्रको पात्रहरूसँगको र अर्को आफ्नै जीवनको मोहपथको ।
आफ्नै जीवनमा यति धेरै क्लाइमेक्सहरू सृजना भैरहँदा सम्झेँ ललित जीले लेख्न बाँकी केही कथा नियतिले मेरा लागि रचना गरिदिएछ । पछिल्लो एक महिनामा आश्वासन, निराशा, शोक, पीडा, विद्रोह , सफलता एकसाथ यी सबैसँग गुज्रनु पर्यो । उसो त मोहपथ भित्रका पात्रहरू झैँ रुमलिरहेकी छु अझै पनि । अझ कति हो कति हिड्न बाँकी नै छ ।
मोहपथका पृष्ठहरू मेरो पथसँगै सौराहको ल्यान्डमार्कमा, गौर स्थित शिक्षा समन्वय इकाईमा, मावि डुमरीया र दुर्गा माविमा फिँजिए । कहिले शोकबाट भाग्न कहिले मनको आक्रोश शान्त पार्न मोहपथले सघायो ।
मोहपथको पन्ना फर्काउँदा बित्तिकै कथाक्रममा हेरेथेँ र सोचेँथेँ शीर्ष कथादेखि नै आरम्भ गरूँ । कथाक्रम हेरेँ । दोहोराएर हेरेँ । अनुहारदेखि मनसरासम्मका १५ कथामा ‘मोहपथ’ शीर्षकको कथा कतै देखिनँ । एकछिन अलमलिएँ । होस् न त क्रमैसँग पढ्छु । पढन थालेपछि थाहा लाग्यो कि हरेक कथा मोहपथमा छ ।
कथामा कम लेखिएका विषयवस्तुको पृथक ढङ्गले उठान गरिएको छ । लेखनमा नविनता छ र भाषामा परिपक्वता तर, पात्रहरु विवश छन् । ‘अनुहार, रङ्गहीन स्मृति ,भुइँचालो, उठ् कुसुम उठ् !,मौन अशान्ति र लामो सुस्केरा’ पढिसक्दा खुईय्य गर्न मन लाग्छ । यस्तो नहुनु पर्थ्यो भन्दा भन्दै सकिएका यी कथाहरुमा पात्रको मनोदशाको सूक्ष्म विश्लेषण गरिएको छ । कथा पढदै जाँदा पाठकलाई भने बेचैन बनाइदिन्छन् । तर, बेचैनीमा पनि कथाले तानिरहनु भने लेखकको शक्ति हो ।
‘खुला पिँजडा’मा पुगेपछि राहत महसुस हुन्छ । ‘अनुहार’की बृन्दाको दुःखले दुखेको चोटमा पेनकिलरको काम गर्छे अबिसाले । मलाई अक्सर लाग्छ कथाहरूमा या वास्तविकतामा म भेटिरहूँ अबिसा जस्तै बलिया पात्रलाई ।
‘नैरामे ,लामो सुस्केरा र बेखबर मृत्यु ’ सशस्त्र द्वन्दका कथा हुन् । नैरामे कथाले एकातिर द्वन्दका बीचमा बालकको मनोविज्ञानमा परेको असरलाई उजागर गरेको छ भने अर्कोतिर द्वन्दको अवसानपछिको यथार्थ देखाएको छ । ‘क्या गर्न्या काजी ! यसै छ दुनियाँ अझ पन सर्वहाराका लागि लड्न्या मान्ठ शासक भइगया हामी पैला नैरामे थियौँ, बिच्चमा नयाँराम भयौँ । तिन्ले हामलाई छले मात्रै । फेरि हामी नैरामे भैगयाउँ ।’ यही कथांशले बोलेको छ सिङ्गो कथा । बेखबर मृत्युमा अवधेशको प्रेममा युद्धमा होमिएकी म पात्रको माध्यमबाट युद्धका अनेक पाटाहरूसँग साक्षात्कार हुन पाइन्छ । युद्धको विभत्स स्वरुप , योद्धाको मनोविज्ञान , क्रुरता , क्रान्तिकारी विचार बोक्नेहरू भित्रपनि रहेको दोगलापन यो कथामा छर्लङ्ग देखिन्छ । कथा पढ्दै गर्दा अब त सकियो भन्ने लागेपछि पनि कथा अगाडि बढ्छ । सत्ता र प्रतिपक्ष दुबैका कर्तुतलाई सन्तुलन देखाउन पो लम्बाइएको हो कि भन्ने अनुभूत भने भैरहन्छ ।
‘मधुरो सम्बन्ध’मा सम्बन्धको गाढापन छ । आफ्नै जीवनको समीक्षा गरिरहेकी चन्द्रमायाले गरेको प्रेम देख्दा आहारिस लागेर आउँछ । यसरी प्रेम गर्नु पो प्रेम ! आकाश भागेको चन्द्रमायको प्रेमको गहिराइमा चुर्लुम्म डुबेर भन्न मन लाग्छ जीवनमा कि कोही भैदिओस् चन्द्रमाया जस्तो कि आफै बन्न सकूँ चन्द्रमाया जस्तो ! तर चन्द्रमायाको प्रेम मात्र होइन मधुरो सम्बन्धको कथा , यहाँ आकाशपनि छ । पाठकले सोच्ने भन्दा भिन्न मोडमा कुदेको छ कथानक ।
‘शिकार’ बाख्रीको कथा हो । बाख्रीको विम्बमा उनिएको निमुखाहरूको कथा हो । ईश्वरको अगाडि आत्मा बनेर उभिएकी बाख्रीलाई ईश्वरले सोध्छन् ‘अब भन शिकारी बन्छौ कि शिकार बन्छौ ? ’
बाख्री भन्छे मलाई शिकारीको पीडा थाहा छैन तर शिकार हुनुको पीडा छ । शिकारले काटिनु पर्छ, रेटिनु पर्छ । आफ्नै अघि सन्तानको हत्या देख्नुपर्छ । म कसैको शिकार गर्न चाहन्नँ । कसैलाई कैदी बनाउन चाहदिनँ । त्यो पाप कमाउने रहर छैन । म कसैको हत्या गर्नचाहन्नँ । मलाई शिकारी होइन, शिकार नै बनाइदिनुस् !’ बाख्रीको यो चेतनाले मन गदगद बन्छ र लज्जित पनि ।
‘ब्याक डोर’मा उदेश छ र निस्था छे । कथा छिटो छिटो बग्छ । लाग्छ कथाकारलाई पनि फुत्त भाग्नु छ ब्याक डोरबाट । अन्त्यमा निस्थाको नशाले निर्माण गरिदिएको उदेशको अवस्था भने इन्डियन टेलिफिल्म ‘सिआइडी र सावधान इन्डिया’को कुनै एपिसोड हेरेजस्तै लाग्छ ।
‘पुरानो तस्बिर ’ ६० को दशकसम्म पनि जीवितै रहेको नेपाली ग्रामीण समाजको जमिनदारको प्रतिनिधित्व गर्ने कथा हो उसो त अवशेष अझ पनि बाँकी होलान् । पुरानो तस्बिरमा तस्बिरमा लुकेको अर्को कथा पनि छ, हजुरआमाको कथा । यस कथामा धेरै उतारचढाव छ । दुई दशक बोकेको कथा अन्त्यतिर अलिक नाटकीय जस्तो लाग्न पनि सक्छ ।
मोहपथका यी पन्ध्र कथाहरू नेपाली समाजको जगमा उभिएका संवृत र यथार्थवादी कथा हुन् । पात्रको मनोविज्ञानलाई बडो मसिनो ढङ्गले केलाइएका कथाहरु शैली र शिल्पले उन्नत छन् । कैयन कथाका कथावस्तु सामान्य तर कथानक विशिष्ट लाग्छ । कथाले अन्त्यमा पाठकको मनमा अर्कै कथा उब्जाउन पनि मदत गर्छन् ।
सुदूर हुँदै काठमान्डौसम्मको परिवेशका कथावस्तु टपक्क टिपेर बडो चित्ताकर्षक ढंगले उनिएका अधिकांश कथाहरुमा सिमित पात्र छन् । भाषमा रहेको आन्चलिकताले कथालाई सरस बनाएको छ । प्राय कथाहरु प्रथम पुरुष दृष्टिविन्दुमा अभिव्यक्त भएकाले होला म पात्रको नाम भेट्न भने दिमागलाई कसरत गराइरहनु पर्छ ।
कथामा अथाह दुःख छ । दुःखको श्रृङ्खला कथाको अन्त्यसम्म आइपुग्दा पनि कम हुँदैन । पाठकको मन कटक्क कुँडिन्छ । भारी भएर आउँछ । यति धेरै दुःख कसरी पो लेख्न सकिन्छ हँ ?
कथात्मक संरचना र भाषिक कलाको संयोजनको सौन्दर्यका हिसाबले चिरिच्याट्ट परेका छन् यी कथाहरु । कथामा नयाँ स्वाद छ । समाजको विविधताको चित्र छ ।
फिनिक्स बुक्सद्धारा बजारमा ल्याइएको मोहपथ लामा कथाहरुको संगालो हो । मोहपथ भित्र अलग अलग तर उस्तै मार्गमा यात्रारत पात्र भेटिए । अनौठो भ्रममा यात्रारत पात्रको बहुलट्ठीपनले बर्बादीको ढोकामा उभ्याउँछ । पात्रहरु आफै सकिने र सकाउने कर्ममा छन् । कोही आफैले मृत्यु वरण गरेका छन् । कोही मृत्युका कारक बनेका छन् । मृत्युका यी किस्साहरु पढिसकेपछि भने मनमा लागिरहेको छ यो मोहपथ कि मृत्युपथ ?
-लेखक, समिक्षक जि.सी.को यसै साता मात्रै सनेस कथा संग्रह प्रकाशित छ ।