- राउटे समुदायलाई उनीहरुले पाउने भत्ताबाट केही निश्चित महिना ‘खाना शिविर’ चलाउनुपर्छ । त्यसबाट पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका बारेमा जानकारी हुनेछ । यसका लागि संघीय सरकारले ठोस नीति,कार्यक्रम तय गर्नुपर्छ । अन्यथा राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर नलाग्ने स्थानीय अगुवा बताउँछन् ।
कन्दमुल खाने राउते समुदाय आजकाल दाल, भात तरकारी खान्छन् । जंगलका भाँडाकुडा बनाउने राउते अचेल घुमिडुली, खानपानमा रमाएर दिन बिताउँछन् । एक फेरो जंगली लहराले बनेको कपडाले शरीर छोप्ने उनीहरु अरु गाउँ शहरलाई संसार ठानेर बसिरहेका मानिसहरुले जस्तै लुगा लाउँछन् । पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे अहिले सबैसँग अन्तरघुलनमा छन् । महिलालाई सँगै नहिंँडाउने अहिले महिला, युवती, किशोरीहरु खुलेरै हिँड्डुल गर्छन् । आफ्ना समस्या, मनका भावनाहरु समेत सबैका माझमा खुल्ला रुपमा राख्छन् । केही वर्ष अगाडि सम्म फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो तर, अहिले यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोक्ने गरेका छन् । यो त स्थानीय अगुवा र सरकारको पहलमा राउटे समुदायलाई गाउँले जीवनमा फर्काउन थाले पछि उनीहरुको जीवनमा पछिल्लो केही वर्षमा आएको सकारात्मक बदलाव हो । बिडम्बना ! परिवर्तन यतिमा मात्र सीमित छैन, जंगलबाट गाउँ फिरेसँगै उनीहरुको जीवनशैली, खानपान, संस्कार संस्कृति नजानिँदो हिसाबले खराब र भड्किलो बन्दै गएको छ । जसका कारण जीवन र भविष्य थप अव्यवस्थित, अन्यौलता तर्फ उन्मुख हुने खतरा छ ।
जब आफ्नो वनको संसार छोडेर गाउँ फिरे
दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जाति मध्ये एक हो राउटे समुदाय । जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने यो समुदायको छुट्टै संसार थियो । बाँदरको शिकार, कन्दमुल लगायत जंगलमै उत्पादन हुने फलफूल, जडिबुटी खाएर जीविकोपार्जन गर्थे । जंगलमै भएता पनि उनीहरु खुशी र बलिया थिए । लोभलालच, स्वार्थको संसारबाट दुर थिए । घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको समुदाय राउटे समुदायको अलग्गै पहिचान थियो । उनीहरु बस्ने र बाँच्ने दुनियाँमा आफ्नै मुखिया, आफ्नै नीति थियो ।
जंगलमा काठका भाडाकुडा उत्पादन गरेर नजिकका गाउँहरुमा अन्नसँग साट्दै उनीहरु आत्मनिर्भर थिए । आफ्नै चालचलन रितिथितीमा अडिक थिए । उनीहरु एक बोली अर्थात् अरुले भनेको र आफुले भनेको पनि पु¥याउँथे । आफुले भनेको कुरामा विश्वास घात नगर्ने उनीहरु अरुले केही दिन्छु भनेर विश्वास घात गरेको कुरामा अडिग र आफु बलियो भएर पनि लैजान्थे । त्यसैले पनि गाउँमा राउटे पुग्ना र देख्ना साथ सबैजना रमाइलो मान्दै हेर्थे, उनीहरुका कुरा पनि चासोका साथ सुन्थे ।
यो समुदाय कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो । सुनसान, सुन्दर र स्वच्छ बातावरणमा हुर्किएको यो समुदाय त्यो संसार छोडेर फरक संसारमा आएको छ । जंगलको आफ्नो संसार छोडेर सरकारको पहलमा समाजको निकट बसिरहेका छन् । नजिकको समाजसँग साइनो लगाउदै नजिक फिर्दै गर्दा उनीहरुको जीवनमा सकारात्मक बदलाव मात्र आएको छैन, अस्वस्थ खानपान, खराब जीवनशैली, सिपको उपयोगहीन अवस्थाले राउटे समुदायको जीवन सकसपूर्ण बन्दै जान थालेको स्थानीय बताउँछन् ।
घट्दो क्रममा राउटे
समाजसँगको अन्तरघुलनका क्रममा आउँदै गर्दा राउटेको जनसंख्या क्रमशः घट्दो क्रममा पुगेको पाइएको छ । २०६८ को जनगणनामा नेपालमा राउटेको जनसंख्या ६१८ जना थियो । विसं. २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको संख्या १ सय ४३ मा खुम्चिएको छ ।
विगतमा स्वास्थ्यका हिसाबले बलिया र फुर्तिला देखिने राउटे पछिल्लो समय कमजोर र रोगी बन्दै गइरहेका छन् । जंगलबाट नजिकको समाज नजिकै बस्दा सकारात्मक कुरा सिक्ने ठाउँमा नकरात्मक कुरामा बढी जोड दिन थालेका छन् । जस्दे गर्दा उनीहरुको संख्या दिनहुँ घट्दो अवस्थामा पुगेको छ । उबेलाका हड्डाकठ्ठा बलिया राउटे पैसा र मदिराको लतले दिनहुँ कमजोर हुँदै गएका छन् । आधुनिकतामा होम्मिएसँगै उनीहरुको मृत्युदर बढ्दै गएको छ भने उनीहरुको पेशा नै संकटमा पर्न थालेको छ । पहिले राउटे गाउँमा पुग्दा सबैजना रमाइलो मान्थे । अहिले खिसिट्युरि गर्छन ।
दुई,तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यहाँको क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले उनीहरुको जीवनशैली पुरै फेरिएको छ । बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता संकटोन्मुख अवस्थामा छ । यो समुदाय केही दिन अघि मात्र बसाइ सरेर नारायण नगरपालिका ९ लोहोरेको खोला छेउमा बसेका छन् ।
भत्ता पाएपछि ‘परनिर्भर’ बन्दै राउटे
आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय जंगलको राजा हो । राउटे समुदायका नागरिकले गरेको दुःख देखेर उनीहरुको जीविकोपार्जनमा टेवा पुगोस भन्दै सरकारले २०६४/०६५ सालमा भत्ता उपलब्ध गराएको थियो । जंगल फडानी रोक्न र उननीहरुको जीविकोपार्जनमा सहयोग पुगोस् भन्नका लागि वितरण गरिएको भत्ता उनीहरुकै लागि अभिश्राप भएको छ । पहिले जंंगलमा घुमन्ते जीवन बिताउदै काठ बाट बनेका भाडाकुडा नजिजकको गाउँमा िलएर बेचेर गुजारा चलाउथ्य । जंगल फडानी रोक्न र उनीहरुको जीवन यापनि सहजताको लागि सुरुमा पाँचसय भत्ता दिइएको राउटेका महामुखिया महिन बहादुर शाही बताउँछन् । ‘सहरको सरकारले राम्रो गरेको छ । नराम्रो गर्याउ छैन । हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ भन्छन, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ । हामीलाई धेरै धेरै काम पनि गर्नुपर्दैन भन्या छ ।’ आफूहरु जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरुलाई खुसी लागेको उनी बताउँछन् ।
‘अर्थमन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्री बाँड्छ’
राउटे समुदायका नागरिकलाई सरकारले २०६४/०६५ सालदेखि एकजना बराबर मासिक ५ सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो । त्यसको एक वर्ष पछि ५ सयबाट वृद्धि भएर एकहजार भएको थियो । २०७५/७६ मा वृद्धि भएर दुइहजार पुगेको थियो भने २०७६ सालबाट ३ हजार र ७७ बाट वृद्धि भएर चार हजार भत्ता पुगेको राउटे समुदायमा जोडि शिक्षकका रुपमा २०७५ बाट सोसेकबाट खटिएका लालबहादुर खत्रीले बताए ।
तत्कालीन समयमा भत्ताका रुपमा मासिक भत्ता बुझ्न थालेपछि उनीहरुले अर्थमन्त्रीलाई ‘पैसा मन्त्री’का रुपमा बुझ्न थालेका थिए । त्यो बेला देखि नै उनीहरुले बुझिसकेका थिए हामीले केही नगरे पनि हुन्छ अब हामीसँग पैसा छाप्ने अर्थमन्त्री भेटिसक्यौँ भनेर उनीहरुलाई लाग्थ्यो, ‘पैसा मन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्री बाँड्छ ।’
मासिक भत्ता पाउन थालेपछि जंगलबाट उनीहरु २०६६ सालमा पहिलो पटक बालुवाटार छिरेका थिए । तत्कालीन समयमा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालीन राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री बाबुराम भट्टराई लगायतलाई भेटेर हातले बनाएको काठको सामाग्री उपहार दिएका थिए । पहिले पहिले नयाँ मान्छेलाई आफनो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन । कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरु अचेल हिड्दा हिड्दै पैसा माग्ने अवस्थामा पुगेका छन् ।
राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सी लगायत कुलतबारे थाहै नपाएको तर, पछिल्लो समय समाजको नजिक बस्दा र सहरका मान्छे जान थालेपछि राउटे समुदायमा मदिराको लतले सिंगो समुदाय नै विग्रदै गएको महामुखिया शाही बताउँछन् । हाम्रो समुदायका मान्छेले यसरी खादैनथियौँ,’ उनले भने, ‘पहिले हामी जहाँ बस्यौँ त्यहीको समाजले र जनताले सिकायो ।खत्तम हुन्छ भनेनन् । सहर र गाउँले पहिले खान सिकायो ।’ ‘खान सिकियापछि त खाइयो । अहिले छोड्न मुस्किल भएको छ । पैसा नहुँदा छट्पटी हुन्छ पैसो आयो भने खान मन लागिहाल्छ । त्यस्ले गर्दा पनि हाम्रँे समुदायमा ठुलो असर गरेको छ ।’
जंगलबाट गाउँबस्तिको नजिक भएपछि पहिले भन्दा परिर्वतन भएको अर्का मुखिया सुर्यनारायण शाहीले बताउनुभयो । समाजको नजिक सर्दा हामीले रक्सि खान मा सिकेनौँ,’उनले भने, ‘पहिले जुत्ता लगाउँदैनथियाँ । अहिले लाउन सिक्याँ । सबै सहरले सिकायो त ।’
पहिले आफुहरु जंगलमा रहेर पनि आत्मनिर्भर रहेको तर, सरकारले मासिक भत्ता दिन थालेपछि आफुहरु परनिर्भर हुनुका साथै अल्छि भएको मुखिया शाहीले स्वीकार्य । तपाई अल्छि हुनु भयो ? मदिरा पनि उत्तिकै पिउनुहुन्छ ? अब सरकारले तपाईहरुलाई मासिक भत्ता नदिने निर्ण गरेपछि के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मुखिया सुर्यनारायण शाहीले भने, ‘अब के गर्नु मासिक भत्ता हटाए उही पुरानै काठका भाडा बनाएर गाउँमा बेचेर परिवार पाल्छौँ ।’
खाए मरिन्छ भन्ने रक्सीको लतमा
रक्सी भनेको पहिले राउटेलाई थाहा नभएको र खाएपछि मरिन्छ भन्ने लागेकै बेला ‘सहरका मान्छे’ले खान सिकाएको शाहीले खुलाए । ‘कोही मान्छ पापी रैछ । यो लिच्ची (रक्सी) सेवन गरेपछि केही हुँदैन भनेर खान सिकायो । अहिले त हामीले बोइलर पनि खान थाल्यौं,’ उनले भने, ‘सबै सिक्दैछौं । एक दिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे ?’
पहिले आफलैले जाड राखेर खाने परम्परा थियो त्यो पनि चाडपर्वमा मात्र खान्थे । अघिपछि जंगलमै काठका भाडाकुडा बनाउन व्यस्त रहनथ्य । तर, पछिल्लो समय उनीहरु काठको भाडा पनि बनाउन जागर लगाउदैनन् । फुर्सदिला भएका कारण पनि राउटेमा रक्सिमोह बढेको जोडी शिक्षक खत्री बताउँछन् । पहिले कमै पिउने उनीहरुले मासिक एकहजार भत्ता आउन थाले देखि रक्सी खान सुरु गरेका थिए,’ उनले भने, ‘अहिले नखाउ भने पनि मान्दैनन् । उल्टै रक्सि उत्पादन गर्ने कम्पनी बन्द गर त्यसपछि खान छोड्छौँ भन्छन् ।’
सरकारको लगानी, बालुवामा पानी
कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रवाहिकरण कार्यक्रम (राहत तथा पुर्नस्थापना क्षतिपुर्ति शीर्षकमा प्रत्येक वर्ष लाखौ रकम छुट्याउछ । सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष राउटेहरुकी भाञ्जीका रुपमा परिचित सत्यदेवी खड्का बताउछिन् ।
‘पहिले वनजङ्गलमा रमाउने, खोला किनारमा नाङ्गै बस्ने, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नून छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे,’ उनले भनिन्, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, शहरिया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।’
कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रवाहिकरण कार्यक्रम शीर्षकमा प्रत्येक वर्ष बजेट छुट्याए पनि बालुवामा पानी जस्तै भएको छ । राउटेको मुल प्रवाहिकरण भनेर बजेट छुट्याए पनि राउटे संकटमा पर्दै गएता पनि तीनै तहका सरकारले चासो देखाएको पाइदैन ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको तथ्यांक अनुसार राउटेको मुल प्रवाहिकरणका लागि भनेर प्रदेश सरकारले २०७५/७६ देखि हालसम्म एक करोड रुपैया छुट्याएको छ । २०७५/७६ मा २० बजेट छुट्याएकोमा ४ लाख खर्च भएको थियो, ०७६/७७ मा ५० लाख छुट्याइएको दुइलाख मात्र खर्च भएको । २०७७/७८ मा २० लाख छुट्याइएकोमा ढाइ लाख खर्च भएको थियो । २०७८/७९ मा नौ लाख मा चार लाख खर्च भएको । गरी करिब एक करोड रुपैया छुट्याएको सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृति अनिता ज्ञवालीको भनाई छ । आर्थिक वर्ष २०७९/८० मा राउटेका लागि भनेर छुट्टै बजेट नछुट्याइएको ज्ञवालीले जानकारी दिइन् ।
परम्परागत सिप संकटमा
राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्र अनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ ।
आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छन् । राउटे बस्ती पुग्ने जो कोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन् । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेशा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ ।
कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैली छोडेर आधुनिकता तर्फ उन्मुख हुँदै गर्दा परनिर्भरता बढ्दो छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ ।कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदाय सिपको यथेष्ट उपयोग र संरक्षण गर्नमा चासो दिन छोडेका छन् । यसले सिप पुस्तान्तरणमा पनि समस्या हुने देखिएको छ ।
बजारमा आधुनिक प्रविधि भित्रिएसँगै जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले सरकार र संघसस्थाबाट पैसा सहयोग पाउन थालेपछि उनीहरुले भाडाकुडा बनाउन छोडेका छन् । सरकारबाट आउने सहयोग बढेपछि उनीहरुको सिप र स्वास्थ्य नै धरापमा रहेको छ । सरकारले मासिक चार हजार भत्ता दिने गरेको छ । त्यही पैसाले उनीहरुले उच्च रुपमा मदिरा पिउदै मदिरा पिउने गरेका छन् ।। पहिले आफै काम गर्दै आत्मनिर्भर राउटे अहिले सरकारी तथा गैरसरकारी संस्थाबाट पैसा पाउदा उनीहरु मदिरा पिउदै दिन बिताउने गरेका छन् ।
अहिले यो समुदायले पहिले झै काम गर्दैनन् । कोही मदिरा पिउनकै लागि बजार पुग्छन् । बजारबाट मदिरा बोकेर ल्याउछन् । बजार, बस्तीमै खुल्ला रुपमा पिउँछन् । राउटे मदिराको कुलतमा दिनहुँ फस्दै जानुको मुख्य कारण सरकार रहेको सोसेक नेपालबाट खटिएका जोडी शिक्षक लाल बहादुर खत्री बताउँछन् । पहिले सरकारले दुई हजार बापत भत्ता दिन्थ्यो, उनीहरु कम मात्रामा र सीमित पिउने हुन्थ्यो,’ उनले भने, ‘जब उनीहरुको भत्ता वृद्धि हुँदै जान थाल्यो, त्यसपछि उनीहरुको मदिराको लत, भड्किलो जीवन शैली पनि बढ्दै आइरहेको छ । अहिले त यिनीहरु मदिराको लतमा फस्दै गएका छन् ।’
मृत्युदर बढ्दो, जन्मदर घट्दो
२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाडौंसम्म पु¥याएर उपचार गरिएको थियो । तर, आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए । नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए । अघिल्लो साताको मंगलबार मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर बिरामी छन । कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौ लगिएको उनको शरीरको ३० प्रतिशत भाग जलेको छ ।
मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन् शिवराज शाही । बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए । पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना बयस्क उमेरका छन् । त्यसमध्ये धेरैजसो बयस्क उमेरका राउटेमा मदिरा सेवनको असर देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।
मदिराले मृत्युदर मात्र होइन, जन्मदरमा पनि असर गरिरहेको स्थानीय शिक्षक खत्रीको दाबी छ । ‘म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर मदिराकै कारण तपाईँहरुको जनसंख्या घटेको हो, कतिको बच्चा नजन्मेको भनेर मदिरा नपिउन आग्रह गर्छु,’ उनले भने, ‘केही समय मान्छन्, सरकारले चार महिनाको भत्ता एकैपटक दिए पछि फेरि मदिरा पिउन थाल्छन् ।’
राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन् । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन् । त्यसयता समुदायमा शिशु जन्मिएका छैनन् । जाँडरक्सी र चुरोटको उच्च सेवनले महिलाको गर्भ नरहने र भइहाले पनि खेर जाने प्रसुती तथा स्त्री तथा विषेशज्ञ डा.सजिप्ता पन्तको भनाई छ ।
पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशु मध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् । यसले राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशत भन्दा बढी देखाउँछ । परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताए । ‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन् । मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ ।’ राउटेमा चेतनाको कमी हुँदा व्यापारीले राउटेको सोझोपनको फाइदा उठाइरहेकाले राज्यले नै यसमा सिप र सचेतनामुलक कार्यक्रम अघि बढाउनु पर्नेमा डा.पन्तको जोड छ ।
‘सरकार भत्ता दिएर दायित्वबाट उम्किन पाउँदैन’
राउटेलाई मुल प्रवाहीकरणमा ल्याउने चर्चा पनि बेलाबखत चलिरहन्छ । राउटे नेपालको पहिचान भएकाले पनि राउटेलाई उनीहरुकै परम्परा अनुसार चल्न दिने या आधुनिक समाजमा सही र स्वस्थ जीवनयापन जिउनका लागि थप सचेत र जागरुक बनाउने भन्नेमा अहिले बहस छ ।
तत्कालीन सशस्त्र द्वन्द्वपछि जंगल छाडेर अन्य समुदायको बस्ती नजिक आएर राउटे समुदाय बस्न थाले । आधुनिकता तर्फ उन्मुख समाजसँगको अन्तरघुलनका क्रममा स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको खानपान र आनीबानीले गर्दा उनीहरूको अस्तित्व जोखिममा देखिन्छ ।
सरकारको दायित्व राउटेलाई भत्ता दिएर वाहवाही कमाउनेमा मात्र सीमित हुन नहुने स्थानीय अगुवा बताउँछन् । पहिलो कुरा राउटेमा मदिराको लत हटाउनको लागि तीन तहको सरकारले ठोस कार्यक्रम र योजना ल्याउनु पर्ने अधिकारकर्मी हिरासिंह थापा बताउँछन् । सामाजिक चेतनासँगै कुलतको असर, स्वास्थ्यमा पु¥याउने हानीको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भने, ‘उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्छ ।’
राउटे नागरिकलाई जथाभावी मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा थापाको जोड छ । राउटे बस्तीसँगै जोडिएको गाउँका स्थानीय बासिन्दालाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ ।
संघीय सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सरकारले दिने यो सामाजिक सुरक्षा भत्ता नगद दिन पनि तत्काल बन्द गर्नुपर्ने थापाको भनाई छ । ‘भत्ताको साटो मासिक रूपमा परिवार संख्या हेरेर कति मात्रामा चाहिन्छ खाद्यान्न, लत्ताकपडा लगायत अत्यावश्यक सामाग्री दिन सकिन्छ,’ उनले भने, ‘उनीहरूले पाउने भत्ताबाट केही निश्चित महिनाका लागि ‘खाना शिविर’ चलाउनुपर्छ । त्यसले उनीहरूमा पोषणयुक्त खाना खाने बानीको विकास हुन्छ । यसका लागि संघीय सरकारले ठोस नीति निर्माण गर्नुपर्छ । त्यसो हुन नसके राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर लाग्दैन ।’