मृत्यु पछिको ‘मानवता’ – कथालिका

मृत्यु पछिको ‘मानवता’

  • यस्ता खराब पात्र र प्रवृत्तिबाट कति आघात छन्, कति घाइते छन्, कति मरितुल्य छन्, त्यो समाज र देशमा बेहिसाब छ । खोजोस् पनि कसले ? खोज्दा खोज्दै आफ्नै जिन्दगी र नाफाघाटाको हिसाब बिग्रेला भन्ने डर सबैलाई छ ।

जीवन, मृत्यु र प्रशंसाबारेको नेपाली समाजमा एक कथन चर्चित छ–‘तिमी राम्रो मान्छै हौ, थियौ भनेर अधिक मान्छेको मुखबाट सुन्न त यहाँ तिमी स्वयंम् मर्नुपर्छ । बाँच्दा सम्म त जति नै राम्रो गरे पनि मानिसहरु आलोचना गरेर खेदिरहन्छन् ।’

उसो त उतिबेलै चर्चित कवि भूपी शेरचनले लेखिसकेका हुन्,
ओ, मरेर शहिद हुनेहरु हो
यहाँ जिएर त हेर, जिउन कति कठिन छ ।

हुन पनि अपवाद बाहेक आम रुपमा मानवीय प्रवृत्ति छताछुल्ल छ । यस्ता खराब पात्र र प्रवृत्तिबाट कति आघात छन्, कति घाइते छन्, कति मरितुल्य छन्, त्यो समाज र देशमा बेहिसाब छ । खोजोस् पनि कसले ? खोज्दा खोज्दै आफ्नै जिन्दगी र नाफाघाटाको हिसाब बिग्रेला भन्ने डर सबैलाई छ ।

र त प्रंशसा मात्र होइन, यहाँ मानवता, संवेदना कुनै मानिसहरुको मृत्यु पश्चात यसरी आउँछ कि जसले धेरैलाई सोचनीय बनाउँछ । यो समाज र देशमा किन मृत्यु पछि बल्ल मानवता जाग्छ ? मृत्यु पछि यघि बिघ्न मानवीय संवेदनाको उभार आउँछ ? बाँच्दा सम्म आफ्ना बाध्यता, बिबशता, कथा, व्यथा सुनाउँदा खोज्दा जबरजस्त किन कान थुन्छ ?

मान्छेहरुमा बाचुञ्जेल उसका दुःखहरुमा कसरी मौनता साँध्छ ? र मृत्यु पश्चात एकाएक मानवता, संवेदना कसरी जाग्दछ ? आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको एउटै घटनाबाट नेपाली समाजको बदलिँदो चरित्र प्रष्ट हुन्छ ।मृत्यु पश्चात प्रेमप्रसादले पाएको साथ, सहानुभूति बाँच्दाको बखतमै पाएको भए व्यवहारले थिचिएका उनी साहसका साथ उठेर जीवन जिउथे । प्रेमप्रसाद मात्रै होइन, यस्ता अरु कैयन मानिसहरु चरम निराशाले रोगी बनेर जीवन देखि सायदै हार्थे ।

बाँचेर समस्या भन्दा खिसिट्युरी, मृत्यु पछि मानवता
प्रेमप्रसादको आत्मदाह पश्चात अहिले सर्वत्र मानवता र संवेदना जागृत छ । व्यावसायिक यात्राका क्रममा अनेक हण्डर ठक्कर खाएको, लाखौ उधारो, राज्य संयन्त्र र बिचौलियाहरुबाट ठगिएर आजित बन्दा ६० लाख रुपैयाँ ऋण लागेकाले आत्मदाहको निर्णयमा पुगेको प्रेमप्रसादले बताएनन् मात्रै, संसद भवन अघिकै सडकमा जिउँदै जलेर आत्मदाह गरे । त्यस लगत्तै उनको श्रीमतिको सहयोग गर्नेको लहड देखियो । त्यो पनि सामाजिक सञ्जाल रंग्याएर सस्तो प्रचार सहित सहयोग गर्नेको भिड देखिएको थियो । यद्यपि, यो देशमा अरु नै काण्डहरु आइसकेकाले अहिले भने ओझेलमा परिसकेको आभाष भएको छ ।

यदि प्रेमप्रसादले आत्मदाहसँगै राखेको समस्या पहिले नै राखेको भए आम रुपमा मानिसहरुको प्रतिक्रिया के कस्तो हुन्थ्यो होला ? यसमा जवाफ प्रष्ट छ कि कतिले तथानाम गाली गर्थे त कतिले ट्रोल बनाउँदै लेखिरहेका र भनिरहेका हुन्थे–“यस्तो लेख्दैमा पैसा पाइने भए हामी पनि लेखिन्थ्यो ।’’

जब आत्मदाह गरेर स्वर्गीय भैसके, तब अचानक मान्छेहरुको ’मानवता’ जागेर आयो, पैसा पठाउन थाले खातामा । पैसा पठाए सम्म त ठीकै थियोे, तर ’मैले पैसा पठाएँ’ भनेर भौचरको फोटो सामाजिक सन्जालमा देखाउने होड नै चल्यो । कतै जिउँदो हुँदा ५ हजार सापटी नदिनेहरु समेत दातामा त दर्ज भएनन् ?

जिउँदै रहँदा प्रेम आचार्यले जीविकाका क्रममा खाएका अनेकन हण्डर ठक्करबारे राज्यका निकाय सहित उनका परिवार, आफन्त, साथीसंगी अपिल गरेको उनले आत्मदाह अघिको पत्रमा उल्लेख गरेका छन् । जीवनको अन्तिम घडि सम्म धाइरहे पनि राज्य, समाज र आफन्त सबैले बेवास्ता गरिदिएकाले अप्रिय कदम चाल्न बाध्य भएको उनको जिकिर छ ।धरानका प्रकाशकुमार पराजुली भन्छन्, ‘यो देशमा जायज आवाजको सुनवाइ, छानबिन र ध्यानाकर्षण मान्छे मरेपछि मात्र हुने रहेछ । संवेदनाको यो जति हरिबिजोग अरू के होला ? प्रेम आचार्यले उठाएका सवालप्रति यिनका चासो कुरूप नाटक मात्र हो । केही दिनमै यिनले तिनलाई डस्टबिनमा सेलाइदिनेछन् । हेर्दै जानुस् ।’

बेथितिले श्रमजीविमा बढ्दो फ्रस्टेशन
गरीब देशमा ठूला ठूला सपना बाँड्ने तर केही गर्ने मौका नदिँदा मानिसभित्र समस्या, व्यथाहरु चुलिँदै जान्छन् । घिउ बेच्न मात्रै हैन, यहाँ साग बेच्न, मासु बेच्न, पुस्तक बेच्न, दुध, दही, जुत्ता, लुगा केही बेच्न सहज छैन । उत्पादन वा लगानी गर्नेले उधारो दिनुपर्छ, विचौलियाहरूले हाताहाती भुक्तानी लिन्छन् । यो एउटा वा दुइटा सरकारको मात्रै कुरो हैन, कुनै सरकारले समाधान गर्न नसकेको रीति हो । उधारो माल बेच्नेहरूको नगद फिर्ता हुने मिति कहिलेसम्म हो ? फिर्ता नगर्ने क्रेतालाई सजायँ के हो ?

यति मात्रै हैन, सैयौं बुँदाहरू छन् नीति बनाएर कडाइ गर्नुपर्ने तर, राज्य र यसका निकाय, नेताहरु तिनै श्रमजीविहरुलाई ठगिरहेका ठुला घराना, बिचौलियाहरुकै पहुँच र सन्निकट छन् । यस्तो देशमा आत्मदाहले सत्याग्रहको रूप नलिएर के गरोस् त ? गान्धीशैलीको विरोधले त यो देशमा कुनै काम नगर्ने अच्युत घिमिरे बताउँछन् । नेपालमै केही गरौं भन्ने आदर्श र सोचमा रहेकाहरु चरम बेथितिका कारण फ्रस्टेटेड भइरहेको उनको कथन छ । ‘यहाँ केही गर्छु भन्ने तर पावरको नजिक नभएका हजारौं प्रेम आचार्यहरू आफ्नो आवेगलाई शान्त गर्ने उपाय खोजिरहेछन् । ती सबैभित्र प्रेम आचार्यले भोगेका समस्याको कुनै न कुनै अंश समाहित छ,’ उनले भने, ‘प्रेम आचार्यको सुसाइड नोटले सबलाई नाङ्गेझार पारेको छ, अलिकति मात्रै इमान हुनेहरूलाई लज्जित पारिदिएको छ । यो लाज पचाएर निर्लज्ज बाँचेकाहरूको बस्ती बनेको छ । अहिले आचार्यले आफूलाई उधारो र सास्ती दिएकाहरुको नाम समेत दिएर गएका छन्, तिनलाई कठघरामा लैजाने कि खुल्ला छोड्ने ? प्रश्न टड्कारो बनेर उभिएको छ । कामना गरौं – अरू प्रेम आचार्यहरूले आहुति नदिऊन् ।’

‘अंकमा होइन, गुणस्तरका आधारमा जीवनको मापन’
समाजशास्त्री डा.गुमानसिहं खत्री देशमै केही गर्ने हुटहुटी भएका एक व्यवसायी, उद्यमी मात्रको असफलता नभएर सिंगो राज्य संयन्त्रकै असफलता भएको जिकिर गर्छन् । बजारमुखी अर्थराजनीति, पुँजीमा आधारित सामाजिक संरचना र सम्बन्ध त्यसको बदलिँदो रुपको प्रतिबिम्ब अहिलेको घटनामा देखिएको खत्री बताउँछन् । यसको नियन्त्रणको पाटोमा राज्य र यसका निकायको भूमिका अत्यन्त कमजोर देखिनु पनि कारक रहेको उनको भनाई छ ।

‘अप्रिय निर्णयमा पुग्नुपर्ने अवस्था आउनुमा एक व्यक्तिका रुपमा प्रेमप्रसादको महत्वंकाक्षा कति कारक हो ? जे भए पनि उनले उठाएका मुद्धा ठीक छन्, अपनाएको तरिका गलत भयो’, डा.खत्रीले भने, ‘जीवन गुणस्तरका आधारमा मापन हुनुपर्ने हो, हामीकहाँ अंकमा मापन गर्ने प्रवृत्ति बढ्दैछ । कुनै व्यक्तिले कति पैसा कमायो, कति सम्पति जोड्यो जस्ता कुराबाट व्यक्तिको सफलता असफलता निर्धारण गर्ने प्रचलन बढेको छ । घर, परिवार, समाजमा पनि समभाव, सद्भाव, सहयोगको भावना हराउँदै गएको छ । मान्छे मरे पछि देखावटी सहानुभूति जनाउने तर बाँच्दा सम्म बेवास्ता र उपेक्षा गर्ने प्रवृत्तिमा पनि सुधार ल्याउनु अपरिहार्य छ । मुख्यतः राज्य प्रणाली बेथितिग्रस्त र राज्य संयन्त्रको लाचारिपन हो, मुलतः राज्यले नीति, नियम, प्रणालीलाई चुस्त बनाउन नसक्दाकै परिणति हो ।’

अर्थशास्त्री स्वर्णियम वाग्ले प्रेमप्रसादले मृत्युअघि लेखेको सुधार गर्नै पर्ने बुँदाहरुको मेनोफेस्टो तयार गरेर सुधारका लागि पहल गर्नुपर्ने बताउँछन् । ‘केही सवाल भावनात्मक छन्, केहीमा थप बहस, छलफल आवश्यक देखिन्छ, तर, प्रेमप्रसादले उठाएका ८० प्रतिशत सुझाव र सवाल अब आउने बजेट, नीति कार्यक्रममा आगामी जेष्ठ १५ मै सम्बोधन गर्न सकिन्छ, गर्नुपर्छ,’ वाग्लेलेले भने ।

२०७९, १५ माघ आईतवार ०७:२८
कथालिका नयाँ कथा
कथालिका