‘झाम्रे’ सिक्दै नयाँ पुस्ता – कथालिका

‘झाम्रे’ सिक्दै नयाँ पुस्ता

  • प्रविधिका अनेक माध्यममा आधुनिक तरिकाले गाइएका र बजारमा ल्याइएका गीतका भाका र नाचले स्थान पाउँदा ठेट भाषा र नाच बिर्सिने विन्दुमा छन् ।

विविधताको देश हो नेपाल । चाहे त्यो प्रकृतिमा होस् या संस्कृतिमा । चाहे त्यो रीतिरिवाज, चालचलनमा होस् या भेषभुषा । विविधताको गर्विलो इतिहास र वर्तमान हामीसँग सुरक्षित छ । यद्यपी, अब विस्तारै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रीतिरिवाज, धर्म संस्कार, संस्कृति लोप हुने अवस्थामा छन्, पुगेका छन् । प्रविधि तिव्र विकास र पाश्चात्य संस्कृतिको प्रभावले मौलिक संस्कृति र रीतिरिवाज लोप हराउँदो क्रममा छ । मोबाइल, युट्युब लगायतका प्रविधिले स्थान लिन थालेपछि अचेल गाउँ घरमा समेत रोधि बस्न, मादल र खैंजरीको ताल बज्न छोडेको छ ।

संस्कृतिमा धनी समुदाय मध्ये एक हो मगर समुदाय । यो समुदायमा कुनै समय गाउँका युवायुवती, बुढापाका एकै स्थानमा भेला भएर रमाइलो गर्दै मादल र खैंजडीको तालमा घन्किने झाम्रे, कौराह लगायतका धुन आजभोलि घन्किदैनन् । युवायुवती यस्ता भाकामा भुल्दैनन् । त्यसैले त यी भाका समुदायबाटै लोप हुने अवस्थामा पुगेका छन् । मगर बाहुल्यता भएको स्थानमा समेत सीमित मात्रामा यस्ता भाकाले स्थान पाउँदैछन् । प्रविधिका अनेक माध्यममा आधुनिक तरिकाले गाइएका र बजारमा ल्याइएका गीतका भाका र नाचले स्थान पाउँदा ठेट भाषा र नाच बिर्सिने विन्दुमा छन् ।

पुरानाको चिन्ता, नयाँको ‘बेवास्ता’
यही अवस्था बिद्यमान रहे भावी पुस्ताले आफ्नो संस्कार, संस्कृति, परम्परा भुल्ने र यस्तो पनि थियो र ? भन्ने बिडम्बनापूर्ण परिस्थिति आउन सक्ने खतरा छ । पुरानो पुस्ताले संरक्षण र चिन्ता गरे पनि नयाँ पुस्ताले बेवास्ता गर्दा अहिले लोपोन्मुख अवस्थामा पुग्ने खतरा रहेको छ । यी र यस्तै जोखिमका बिच कैयन गाँउ ठाउँमा पुराना मौलिक भाका, नाच, संस्कार संस्कृति संरक्षणका लागि अभियान थालिएको छ । तनहुँमा झाम्रे गीत गाउँदै नाच्ने मौलिक भाकालाई युवा पुस्तामा हस्तान्तरण गर्ने प्रयास सुरु भएको छ । यो नाच मगर समुदायको मौलिक नाच हो । पुराना पुस्ताका केही व्यक्तिलाई यो विषयमा जानकारी भए पनि नयाँ पुस्तालाई यस नाचको विषयमा त्यति धेरै जानकारी छैन । लोप हुने अवस्थामा पुगेपछि तनहुँको रिषिङ गाउँपालिकामा झाम्रे गीत र नाचको जर्गेनाका लागि पहल गरिएको छ । तनहुँ सहित स्याङ्जा, पाल्पा, नवलपुर, बागलुङ, गोरखा लगायतका मगर बाहुल्यता भएका जिल्लामा यो गीत र नाच प्रचलित छन् ।

पुस्तौं–पुस्तादेखिको मौलिक परम्परा, विभिन्न रीतिरिवाज लोप हुन थालेपछि युवापुस्तालाई आफ्नो संस्कार र संस्कृति हस्तान्तरण गर्ने परिपाटीको विकास गर्नुपर्छ भन्ने ध्येयले अहिले काम गरिरहेको तनहुँका संस्कृतिविद् दानबहादुर आले बताउँछन् । ‘केही अग्रज र हाम्रो मौलिक संस्कृतिको विषयमा जानकारी भएकालाई एकसाथ लिएर हामीले संरक्षणको जमर्को गरिरहेका छौं,’ सांस्कृतिक टिमका संयोजक समेत रहेका दानबहादुरले भने, ‘गाउँका आमा समूह, क्लब, नयाँ पुस्ताका भाइबहिनी लगायत सबैलाई एकजुट बनाएर ठाउँ–ठाउँमा यो गीत र नाच गाउने र नाच देखाउन थालेका छौं, महिनामा १,२ पटक झाम्रे नाचको विषयमा नयाँ पुस्ताका युवायुवतीलाई बताउँछौं ।’ झाम्रे नचाउने कार्यक्रम गएको १५ पुसमा तनहुँको रिषिङ गाउँपालिकाको मैदानस्वारामा आयोजना गरिएको संयोजक दानबहादुरले बताए । यो कार्यक्रम गाउँका अग्रजसंगको सल्लाहमा रोधी राखेर आयोजना गरिएको उनको भनाई छ । पछिल्लो समय झाम्रे नाचको विषयमा युवापुस्ताले समेत चासो देखाइरहेको उनी बताउँछन् । ‘अहिले पुरानो झाम्रे फेरी सुरु हुन लाग्यो भन्ने सोचले होला, उत्साह बढ्दै गएको मैले देखेको छु,’ उनी भन्छन्, ‘झाम्रे नचाउने हो है भनेपछि नयाँ पुस्ता आएर चासोका साथ बस्न, गाउन र नाच्न थालेका छन्, आफूहरुको चलन अचम्म–अचम्मको हुने रहेछ भन्छन् ।’

दसैं अष्टमीदेखि माघ सम्म निरन्तर ‘झाम्रे’
पश्चिमा संस्कृतिको प्रभाव, युवा पुस्ताको बेवास्ता, प्रविधिको विकास, रोजगारी तथा पढाइ, युवापुस्ता विदेशिनु लगायतका कारण झाम्रे नाच लोपोन्मुख अवस्थामा पुगेको थियो । नेपालमै भएका युवापुस्ताले समेत झाम्रेसहितका मौलिक र परम्परागत अन्य संस्कृतिका विषयमा बेवास्ता गरिरहका थिए । राज्यबाट समेत यस्ता मौलिक संस्कार तथा परम्पराको संरक्षणका लागि पहल हुनुपर्ने भए पनि त्यो हुन सकिरहेको छैन । झाम्रे नाच मगर संस्कार र संस्कृति मात्रै होइन, पहिचानसंग समेत जोडिएको छ । तर, यो नाच विभिन्न कारणले ओझेलमा परेको स्थानीय बताउँछन् । झाम्रे नाच ओझेलमा मात्रै होइन, लोप नै हुने अवस्था सिर्जना भएपछि स्थानीय संरक्षणका लागि अग्रसर भएका हुन् । डम्फु, झर्रा र मादलको तालमा युवायुवती एकै स्थानमा जम्मा भएर गीत गाउँदै झाम्रे नाच नाच्ने चलन मगर समुदायमा छ । यो नाच मगर समुदायमा लामो समयसम्म नाच्ने नाचका रुपमा परिचित छ । दसैंको अष्टमीबाट सुरु हुने नाच माघसम्म नचाउने चलन रहिआएको छ । यो परम्पराले समुदायमा भाइचारा वृद्धि गर्ने संस्कृतिविद आले बताउँछन् ।

जाडोमा आगो ताप्दै रोधि घरमा घन्किन्थ्यो झाम्रे
रिषिङकै डुकुडाडाँका सिद्ध आलेमगर झाम्रे नाच परापूर्वकालमा जाडो मौसममा आगो बालेर ताप्दै नाचिने यस नाचको विशेष सम्झना गर्छन् । ‘जाडोको समयमा विभिन्न रोधीघरमा गएर आगो ताप्दै समय अनुकुलका विषय समेट्दै नाच्ने गरिन्थ्यो ।’ पछिल्लो केही समय यता मगर समुदायको मौलिक परम्परा र संस्कृति विभिन्न कारणले लोप हुने अवस्थामा पुगेकोमा उनी चिन्ता व्यक्त गर्छन् । आफ्नो मौलिक परम्परा, संस्कार र संस्कृतिको जर्गेना गर्न आफूहरुले झाम्रे नचाउने कार्यक्रमको आयोजना गरेको सिद्ध बताउँछन् । ‘पछिल्लो केही वर्षदेखि हाम्रो संस्कृति लोप हुँदै जान थालेको आभाष भइरहेको थियो । हाम्रै समुदायले यसको जर्गेना गर्नुपर्छ, जीवित राख्नुपर्छ्, यसलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यका साथ झाम्रे संरक्षणमा लागेका हौं,’ उनी भन्छन्, ‘यसमा युवापुस्ताको सक्रियता र सहभागिता देख्दा थप उत्साहित छु ।’

झाम्रे सिक्दा उत्साहित नयाँ पुस्ता
कतिपय युवापुस्तालाई यो नाचको विषयमा जानकारी समेत थिएन । लोप हुने अवस्थामा पुगेपछि इतिहासमा मात्रै यो संस्कार रहन्छ कि भन्ने चिन्ताले स्थानीय अगुवा सताउने गथ्र्यो । कुनै समय रोधीमा बसेर युवायुवतीले गीत गाउँदै नाच्दै गर्ने झाम्रे नाचको विषयमा राम्रोसंग गत वर्षबाट मात्रै आफूले जानकारी पाएको झाम्रे सिकिरहेकी मैदानस्वाराकी तिलु मगरले बताइन् । पुरानो चलनलाई ब्युँताउने क्रममा आफू सहभागी हुन पाउँदा निकै खुसी र रमाइलो लागेको उनको भनाई छ । ‘झाम्रे नाचको विषयमा कही कतै सुनेको भए पनि राम्रोसंग जानकारी थिएन, तर पछिल्लो वर्षबाट केही जानकारी पाएपछि भने निकै खुसी लाग्यो ।’ उनी भन्छिन्, ‘अहिले त मैदानस्वाराभन्दा बाहिर गएका छैनौं, तर यसको संरक्षणका लागि अब सोच्नुपर्ने बेला आएको छ ।’

सञ्जु आलेमगर त्यस्तै अर्की नयाँ पुस्ताको प्रतिनिधि पात्र हुन्, जसले स्थानीय स्तरमै झाम्रे नाच सिकिरहेकी छिन् । उनले यो नाचको विषयमा बाजे–बज्यै र आमाबाबाबाट सुनिरहेकी थिइन् । सुनिरहेको नाच पछिल्लो केही समयमा भने लोप हुन लागिरहेको देखेपछि उनले सिकेकी हुन् । आफ्नो संस्कार र परम्परालाई जोगाउन भूमिका खेल्न पाउँदा उत्साहित भएको उनले बताइन् । यो नाचको संरक्षणका लागि आफूले निरन्तरता दिइरहने उनको प्रतिवद्धता समेत छ । ‘हाम्रो पुर्खाले परापूर्वकालदेखि नै हाम्रो लागि छोडेर जानुभएको यो नाचको परम्पराको विषयमा मैले बाजे–बज्यै र आमाबाबा सुन्दै आएको थिएँ ।’ सञ्जु भन्छिन्, ‘अब यो नाचको संरक्षणको लागि हुने कार्यक्रमलाई निरन्तरता दिएर सहभागी हुनेछु ।’

संस्कार र संस्कृतिले धनी नेपालमा हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कार र संस्कृति छन्, जसका कारण हामीले गर्वका साथ आफूलाई नेपाली हौ भन्छौं । यही फरक चालचलन र संस्कारका कारण नै नेपाल पृथक परिचय र पहिचानका साथ विश्व समुदायमा चिनिन्छ । तर, राज्य स्तरबाट यस्ता संस्कृतिको संरक्षणका लागि खास पहल हुन सकेको छैन ।

संस्कृति संरक्षणमा सम्बन्धित समुदायकै अग्रसरता अपरिहार्य
मगर समुदायको झाम्रे, कौराह लगायतका मौलिक संस्कार जोगाउन आफूहरुले पहल गरे पनि अपेक्षित सफलता हासिल गर्न नसकेको रिषिङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष भक्तबहादुर आलेले बताए । ‘हालको लागि दानबहादुर आलेको संयोजकत्वमा समिति गठन गरेर कौराह, झाम्रे लगायत मौलिक संस्कारको संरक्षणको पहल गरिरहेका छौं,’ उनले भने, ‘अहिले रिषिङ ६ बाट सुरु गरेका हौं, अब विस्तारै झाम्रे नाचलाई जोगाउन अन्य कार्यक्रम ल्याउने छौं ।’ पन्ध्र पुसमा मैदानस्वारामा आयोजना भएको कार्यक्रममा युवापुस्ताको सहभगिता आशा लाग्दो देखिएको उनले बताए । यसमा युवापुस्ताले समेत चासो दिएर संरक्षणमा लागिरहेको आफूले देखेको वडाध्यक्ष भक्तबहादुर बताउँछन् । ‘हाम्रो टिम गएर मैदानस्वारामा हे¥यौं, युवापुस्ताको सहभागिता राम्रो थियो,’ उनले भने, ‘आफ्नो मौलिक संस्कृतिलाई जोगाउनुपर्छ भन्ने भावना प्रस्टै देखियो ।’

समुदायस्तरबाटै मौलिक संस्कार संस्कृति जोगाउन पहल गर्नु उदाहरणीय कार्य हो । यसले गर्दा युवायपुस्ताले आफ्नै मौलिक संस्कार, संस्कृति र परम्पराका विषयमा जानकारी पाउने मात्र होइन, आगामी पुस्ता समेत संस्कृतिको निरन्तरताका लागि तयार भएको संकेत देखिएको छ । तनहुँमा मगर समुदाय झाम्रे नाचको संरक्षणका लागि देखाएको पहल र अग्रसरता सह्रानीय भएको संस्कृतिविद आले बताउँछन् । यदि अब यसो नगर्ने हो भने हाम्रा धेरै मौलिक चाडपर्व, रीतिरिवाज, संस्कार संस्कृति इतिहास बन्ने निश्चित रहेको उनको भनाई छ ।

अहिले पनि कतिपय समुदायमा भएको मौलिक संस्कार, परम्परा, चालचलन तथा रीतिरिवाज केही लोप भइसकेका छन् भने केही लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । यस्ता परम्पराको जर्गेना गर्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्ने हो लोप हुने निश्चित प्रायः छ । अतः यसमा तीन तहको सरकार, सरोकारवाला र सम्बन्धित जाति, समुदाय, क्षेत्रका बासिन्दा स्वयंम् अग्रसर हुनुपर्नेमा संस्कृतिविद आलेको जोड छ ।

२०७९, २४ माघ मंगलवार ०६:३६
कथालिका नयाँ कथा
कथालिका