क्षणभरमा भग्नावशेष बनेको सहर र सपना – कथालिका

क्षणभरमा भग्नावशेष बनेको सहर र सपना

उत्तरी सिरियामा भत्केको घरमा च्यापिएका दिदीभाइ, उनीहरूको ३६ घण्टापछि उद्धार गरिएको थियो। तस्बिर : एजेन्सी

झमझम झरी र हिमपात परिरहेको छ । ३० डिग्री फरेनहाइट भन्दा कम तापक्रम, लकलक ज्यान कमाउने जाडो । यही बेला महाविपत्ति लिएर आउँछ भुइँचालो । जसले क्षणभरमै भग्नावशेष बन्यो टर्कीको कारमनमरास सहर, हजारौको सपना र यहाँका गगनचुम्बी महलहरु । अकालमै मृत्यु अँगाल्न बिबश बने हजारौ मानिसहरु । हेर्दा हेर्दै पुरिए कंक्रिटले । गुहार मागिरहे उद्धारका लागि तर, आफ्नै ज्यान जोगाउन मानिसहरुलाई चिन्ता र हतारो थियो । टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको महाभुकम्पको कथा यस्तै र यो भन्दा अझ कहाली लाग्दो छ ।

१०४ घण्टापछि जीवितै उद्धार

टर्कीको दक्षिणी हाटे प्रान्तको समन्दगमा यागिज नामका १० दिने बालकलाई एक भग्नावशेष भवनबाट जीवितै निकालिएको छ। त्यस्तै, किरिखानमा, जर्मन उद्धारकर्ताहरूले ४० वर्षीया जेनेप कहरामनलाई १०४ घण्टाभन्दा बढी समय पछि भग्नावशेषबाट जीवित उद्धार गरेका छन्।

‘मैले पनि अब चमत्कारमा विश्वास गर्न थालेको छु’, अन्तर्राष्ट्रिय खोज र उद्धार टोलीको नेतृत्व गरिरहेका स्टिभन बेयरले भने, ‘मानिसहरू एकअर्कालाई अँगालो हालेर रोइरहेको देख्न सक्नुहुन्छ। त्यस्तो अवस्थामा पनि यी महिला यति धेरै फिटबाट बाहिर आउन सफल हुनु निकै ठूलो राहतको कुरा हो। यो पक्कै पनि एउटा चमत्कार हो।’

हाटे प्रान्तको समन्दग जिल्लामा ९० घन्टाभन्दा बढी समयसम्म फँसेका एक १० वर्षीय बालक र आमासमेत रातभर लगाएर उद्धार गरिएको छ। त्यस्तै, पूर्वको दियारबाकिरमा ३२ वर्षीय सेबाहत वर्ली र उनका छोरा सेरहातलाई पहिलो भूकम्प गएको १०० घण्टापछि जीवितै निकालिएको छ।

मानिसहरू जीवित भेटिने आशाहरू धूमिल हुँदै जाँदा बाँचेकाहरुको उद्धार सफल भएको हो। विज्ञहरूका अनुसार पाँच दिनभित्र पनि उद्धार नभएका भूकम्प पीडितमध्ये ६ प्रतिशत मात्रै जीवित भेटिने गरेका छन् भने २४ घण्टापछि उद्धार गरिए ७४ प्रतिशत बाँचेको तथ्यांक छ। चिसो अवस्थाका कारण पनि जीवित मानिसहरुको संख्या उल्लेखनीय रूपमा घट्ने सम्भावना रहेको उनीहरुको भनाइ छ।

आमाको शवसँग नाभी जोडिएकै अवस्थामा नवजात शिशुको त्यो उद्धार

उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो।

भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए।उद्धारकर्ताहरूले ती नवजात बालिकालाई अस्पताल लगेका छन्।विनाशकारी भूकम्पपछि भत्किएको एउटा भवनको भग्नावशेषमुनि जन्मिएकी एक बालिकालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्न हजारौँ मानिस अघि सरेका छन्।

जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई फेला पार्दा ती नवजात शिशुको नाभी उनको आमाको शरीरमा गाँसिएकै अवस्थामा थियो। उनका आमा, बुबा र चार दाजुहरूको मृत्यु भयो।ती बालिकाको नाम अयाु राखिएको छ। त्यसको अर्थ अरबी भाषामा ुचमत्कारु हुन्छ। जन्मिनेबित्तिकै ठूलो वियोग खप्न बाध्य ती शिशु अहिले अस्पतालमा छिन्।

कंक्रिटमा च्यापिएर कुरान जप्दै, अल्लाह भाक्दै
भुकम्प प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । जसको केही भिडियो विश्वव्यापी बनिरहेको छ । कोहीलाई ३०,४० घण्टा, कोहीलाई ५० घण्टापछि पनि जीवितै उद्धार गरिएको घटना र भिडियोले धेरैको ध्यान तानेको छ । ह्वाइट हेल्मेटले ट्वीटरमार्फत एक भिडियो सार्वजनिक गर्दै लेखेको छ, ‘चमत्कार बारम्बार भइरहेको छ ।’ यो भिडियोमा सिरियाको इदलिबमा भूकम्पमा परी फसिरहेका करम नाम गरेका बालकलाई उद्धार गरेको दृश्य देखिएको छ । भग्नावशेषबाट निकाल्दै गर्दा हँसिलो चेहरा बनाएका उनलाई अँगालो मार्दै उद्धारकर्ताहरूले अल्लाह–हु–अकबरको नारा लगाइरहेको देखिन्छ ।’

उत्तरी सिरियामा कंक्रिटमा चेपिएर बसेका यिनै दिदीभाइको तस्बिर÷भिडियो अहिले भाइरल बनिरहेको छ । उद्धारका लागि आग्रह गरिरहेको दृश्यले धेरैको आँखा रसाएका छन् । उत्तरी सिरियामा भूकम्पले भग्नावशेष बनेको घरमा च्यापिएका दिदीभाइ, जसको ३६ घण्टापछि उद्धार गरिएको छ । एउटा हातले सँगै च्यापिइरहेका भाइ इलाफको टाउकामाथि हात राखेर उनले घण्टौ सुरक्षा दिइरहेको दृश्यले भावुक तुल्यायो ।

कंक्रिटले च्यापिएको अवस्थामा उद्धारका लागि अनुनय विनय गर्दै बालिका मारियम भन्छन्, ‘यहाँबाट बाहिर निकाल्नुस्, बरु म तपाईंका लागि जे पनि गर्न तयार छु । म तपाईंको नोकर हुनसमेत तयार छु ।’ उद्धारकर्ताले खिचेको भिडियोले उनीहरूले गरेको आग्रह हृदयविदारक त छ नै, यसले त्यहाँको दर्दनाक अवस्थालाई पनि चित्रण गरेको छ ।

‘सन्तानका साथ सुतिरहेका बेला भुकम्प आए पछि माथिबाट सिमेन्टका कंक्रिट टाउकामाथि बज्रिन थाल्योे । हामी सबै त्यहीँ थिचियौं र दुई दिनसम्म कंक्रिटमा च्यापिएर रह्यौं,’ बालिकाका बुबा मुस्ताफा जुहिर अल–सायेदले भने, ‘त्यो क्षण अहिले सम्झिँदा पनि शरीर सिरिङ्ग हुन्छ, अब बाँच्दैनौ भन्ने लागिरह्यो, हामी चिच्याइरह्यौै, कुरान जप्यौ, अल्लाह भाक्यौ ।’

टर्कीको एक सहर अन्तक्यामा उद्धार गरिरहेको आपत्कालीन उद्धार टोलीले अचानक एक बालिकाको आवाज सुन्यो । केही समयको प्रयासपछि उनलाई उद्धार गर्न सफल भएको दुई घण्टापछि उनका बुबालाई पनि उद्धार ग¥यो । आफ्नो परिवारलाई सकुशल देखेपछि अर्धचेत अवस्थामा रहेका उनी एकाएक निकै खुसी मुद्रामा देखिएकी थिइन् ।

२१ हजार बढीको मृत्यु
शक्तिशाली भूकम्पमा परेर २१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कैयौं घाइते र बेपत्ता छन् । गत सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा गएको ७.८ र त्यही दिनको अर्को ७.५ म्याग्निच्युडको भूकम्पले टर्किस र सिरियाली नागरिक यतिबेला शोक र संकटमा छन् । अस्पतालहरु घाइतेले भरिएका छन् । भूकम्पमा अहिलेसम्म ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । डब्लूएचओका अनुसार करिब १४ लाख बालबालिका प्रभावित छन् ।

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको छ । पराकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनमा नबस्न आग्रह गरिएको छ । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ । भूकम्पपछि आवास, खानेपानी, इन्धन र बिजुलीको अभावमा अझै धेरै भूकम्पपीडितको मृत्यु हुन सक्ने डब्लूएचओको बिश्लेषण छ ।

भूकम्प: टर्कीमा नेपाली, त्रास र चिन्ता
महाभुकम्पले तहसनहस बनेको टर्कीमा कति नेपाली छन् ? सरकारसँग तथ्यांक छैन । तेस्रो बाटो र विकल्प प्रयोग गरेर विश्वका धेरै देशमा नेपाली पुगेका छन् । टर्कीमा अध्ययनका लागि पुगेका विद्यार्थीहरु धेरै छन् । टर्कीस्थित गाजीयान्टेपमा रहेका नेपालीहरूले आफूहरू सुरक्षित रहे पनि फेरि भूकम्प आउन सक्ने त्रासमा रहेको बताएका छन्।

भूकम्पपछि आफूहरू एउटा सुरक्षित होटेलमा आश्रय लिइरहेको केही वर्षयता त्यहाँ कार्यरत गुड्डु राईले बताइन्।उनले आफू रहेको स्थानमा खासै धेरै नेपालीहरू नरहेको बताएकी छन्। सात दशमलव आठ म्याग्निट्यूडको शक्तिशाली भूकम्पमा हालसम्म कोही पनि नेपाली परेको खबर आफूहरूले नपाएको उनले बताएका छन्।

अर्को प्रकोपको खतरा
टर्कीमा हालसम्म १७,१३४ जनाको मृत्यु भएको र सिरियामा कम्तीमा ३,१६२ जनाको मृत्यु भएको अधिकारीहरूले विहीवार जानकारी दिएका छन् ।

टर्की र सिरियाका दशौँ हजार मानिस भूकम्पका कारण घरविहीन भएपछि अत्यधिक चिसोमा अस्थायी आश्रयस्थलहरूमा चौथो रात बिताइरहेका छन् ।धेरै मानिस भग्नावशेषमुनि फसेका छन् र अन्य केही मानिसको हाइपोथर्मियाका कारण मृत्यु भएको छ । यदि यो क्रम जारी रह्यो भने यहाँ गम्भीर स्वास्थ्य समस्याहरू देखिन सक्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि यदि जीवितहरूले “तत्काल“ आश्रय, खाना, पानी र औषधि नपाएको खण्डमा दोस्रो मानवीय प्रकोपले प्रहार गर्न सक्ने चेतावनी दिएको छ ।डब्ल्यूएचओको युरोपका लागि क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुगेले टर्कीको गाजियान्टेपमा “निरन्तर गइरहेको सयौँ परकम्पहरूका कारण” सङ्गठनका कर्मचारीहरूलाई कारमा सुत्नु परेको बीबीसीलाई बताए ।

डा. क्लुगेलेका अनुसार सिरियाका पीडितहरू पनि पहिलो पटक पु¥याइएको पिउने पानीको भण्डारणमा निर्भर छन् । त्यहाँ भूकम्प अघि देखिएको हैजाको जोखिम कम गर्न ती भण्डारणमा पानी प्रतिस्थापन गर्न आवश्यक रहेको उनले बताए ।

उद्धारमा प्रशंसा र आलोचना
कठ्यांग्रिने जाडोमा पनि उद्धारकर्ताको खटाइलाई विश्वले प्रशंसा गरिरहेको छ भने उद्धारमा ढिलाइ भएको भन्दै आलोचना पनि उत्तिकै छ ।

टर्कीको विपत् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपतकालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ। सिरिया र टर्कीका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय सहायता निकायले पठाएको राहत सामग्री टर्कीको सिमाना पार गरेर सिरिया पुगेको छ । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो ।

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवं परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

२०७९, २७ माघ शुक्रबार ०७:४५
कथालिका नयाँ कथा
कथालिका