जहाँ ढुंगा-ढुंगामा देउताको बास छ… – कथालिका

जहाँ ढुंगा-ढुंगामा देउताको बास छ…

  • म्याग्दी बेनीबाट धार्मिक विधि पूर्वक विदाई गरिएको पत्थर (शिला) यात्रामा नेपालमै पनि श्रद्धाभाव नदेखिएको होइन तर, भारतको गोरखपुरदेखि अयोध्यासम्म पुग्दा त लाखौं मानिसको भिडले जल र अक्षता चढाएर देवशिला नमन गरेको दृश्यले त्रेतायुग स्मरण गराइरह्यो ।

जहाँ ढुंगा–ढुंगामा, देउताको बास छ ।
जहाँ थुम्का–थुम्कामा स्वर्गको आभास छ ।
यो देश मेरो हो, त्यो देश मेरो हो….

ओम गुरुङको शब्द, संगीत र स्वर रहेको यस गीतले यथार्थ कथा, मानव आस्था र अवस्था बोल्छ ।नेपालको पवित्र कालीगण्डकी नदीको ढुंगा (पत्थर) भारतको अयोध्या लगे सँगै यस गीत सम्झने र यथार्थबोध गर्ने धेरै छन् । यो सबै हेर्दा, देख्दा र सुन्दा यस्तो लाग्छ कि  गीतमा भनिए जस्तै यहाँका ढुंगा–ढुंगामा देउताको बास छ ।

कालीगण्डकी नदी र आसपासमा अजङ्गका ढुंगा (पत्थर) असरल्ल छन् । साना ढुंगाहरु त दोहन र डोजरको सिकार बनिरहेका छन् । तर, ठुला अजङ्गका पत्थर (शिला)हरु भने बाढी, पहिरो, हुरिहुण्डरीका बाबजुद पनि वर्षौदेखि यथावत छन् । कालीगण्डकी नदीलाई खासखास दिनहरुमा पवित्र नदीका रुपमा मान्ने धेरै छन् । यहाँको जलस्नान गरेर चोखो हुने अनगिन्ती छन् । यहाँका ढुंगा, पत्थरहरुमा देवशिला, शालिग्राम र देउताहरु पनि असंख्य छन् । यहाँ खोज्ने कसले ? यसको यथोचित पहिचान, प्रचार, उपयोग र संरक्षण गर्ने कसले ? यो निकै सोचनीय विषय छ ।

शिलाका लागि यसरी भएको थियो पहल
भारतको अयोध्यामा झन्डै पाँच सय वर्षदेखिको हिन्दु र मुसलमानको विवाद अदालतले अन्त्य गरिदिए सँगै राम मन्दिर निर्माण हुँदै छ ।
राममन्दिरमा रामको मुर्ति राख्ने निश्चित भए पछि यसका लागि आवश्यक शिला नेपालको पवित्र कालीगण्डकीबाट लैजाने निष्कर्ष निकालियो । र सोही अनुरुप भारत सरकारले नेपाल सरकारलाई पत्राचार गरेर पहल थाल्यो ।

जतिबेला नेपाल (म्याग्दी)बाट ढुंगा भगवानको मुर्ति बनाउन भारत अयोध्या लगियो । त्यसबेला देखि नै एक समूहले ढुंगा बेच्न लागिएको भन्दै बिरोध जनायो । बेनी नगरपालिका, मेयर सुरज केसी लगायतको आलोचना भयो ।जबकि यो कार्य भारत सरकारको प्रस्तावमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाइएको बेनी नगरपालिकाका मेयर सुरत केसी बताउँछन् ।

संघीय सरकारले गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिकालाई शिला उपलब्ध गराउन पत्राचार गरेको थियो । त्यस लगत्तै बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानदेखि तीन किलोमिटर उत्तर गलेश्वरसम्म करिब १० दिन लगाएर शिलाको अध्ययन र पहिचान गरिएको थियो ।

संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा रहँदा मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज, अध्ययन, नापजाँच लगायतको प्रक्रिया अघि बढाइएको थियो ।

मन्दिरमा नेपालको देवशिलामा कुँद्न लागिएको रामललाको मूर्तिले दुई देशका धार्मिक, सांस्कृतिक सम्बन्धका साथै नागरिक तहको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।जनकपुरधाम र अयोध्याबीचको सांस्कृतिक सम्बन्धलाई कालीगण्डकीसम्म विस्तार गर्ने सेतु शिला बनेको छ ।

शिलामा रामको बालस्वरुप, सीताको प्रतिमा
कालीगण्डकी नदी, यसमा पाइने ढुंगा, पत्थर, शिलाहरुको चर्चा यतिबेला चुलिएको छ । कारण भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीको ढुंगा रोजियो । जसमा दुई वटा शिला उत्खनन गरियो । एउटा १८ टन र अर्को १६ टनको छ । १६ टनको शिलामुनि चतुर्भुज शालिग्राम भेटिएको थियो ।

कालीगण्डकी नदी किनारबाट क्रेनमार्फत निकालिएको सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला ट्रकमा राखेर जनकपुरधाम स्थित जानकी मन्दिर पु¥याइएको थियो । त्यसपछि माघ १८ गते राति अयोध्या पु¥याइएको थियो ।

क्वार्जराइट र क्यालसाइट नामका दुई शिला पोखरा, चितवन, हेटौंडा, जनकपुरधाम, दरभङ्गा, मुजफ्फरपुर, गोरखपुर हुँदै अयोध्यासम्म पु¥याउन आठ दिन लागेको थियो । यो आठ दिनमा शिलाले करिब ११ सय किलोमिटरको दुरी पार गरेको थियो । यस शिलामध्ये एउटा शिलामा रामको बाल्यकालको अवस्था बालस्वरुप झल्किने प्रतिमा तथा अर्कोमा सीताको प्रतिमा निर्माण गरिने रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिव राजेन्द्रसिंह पङ्कजले बताए ।

हिन्दु धार्मिक मान्यताअनुसार भगवान् विष्णुका १० अवतारमध्ये छैटौं अवतारका रूपमा भगवान् रामको जन्म त्रेतायुगमा अयोध्यामा र विवाह जानकीसँग भएको थियो । त्यसैले जहाँ राम, त्यहाँ सीता जोडिनु स्वाभाविक हो । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालबिना राम अधुरा’ र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘सीता माताबिना अयोध्या अधुरा’ भन्दै आएका छन् ।

मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् ।

बाटोमा लैजाँदा लैजाँदै भगवान बनेको त्यो पत्थर
म्याग्दी र धौलागिरी आसपासका बासिन्दा त्यतिबेला दंग परे, जतिबेला म्याग्दी काली किनारबाट साइत जुराएर धार्मिक विधिअनुसार पूजाआजा र बाजा बजाएर बेनीबाट विदाई गरिएको पत्थर (देवशिला) अयोध्या पु¥याउँदा सम्म भगवान रामकै रुपमा श्रद्धा र सम्मान पाइरहेको थियो । उसो त नेपालमै पनि म्याग्दी हुँदा पत्थरको रुपमा प्रदान गरिएको चिज पोखरा हुँदै जनकपुरधाम पुगिसक्दा मानिसहरुले भगवानकै रुपमा सम्मान गर्ने क्रम तिब्र बनिसकेको थियो ।

देवशिला यात्रा गोरखपुरदेखि अयोध्यासम्म पुग्दा त लाखौं मानिस हात जोडेर सडकमा उभिरहेका थिए । प्रचार र सार्वजनिक आह्वान विना सडकमा देखिएका युवा, वृद्ध, बालबालिका, महिलाको भिडले जल र अक्षता चढाएर देवशिला नमन गरेको दृश्यले त्रेतायुग स्मरण गराइरह्यो । दर्शनका लागि लामबद्ध भिडमा न जातीय, न वर्गीय सीमा थियो । उनीहरु सबै कुरा भुलेर केबल ‘राम सीया राम’ जप्न व्यस्त थिए । १३४ किलोमिटरको गोरखपुर–अयोध्याको दुरी तय गर्न सामान्यतः सवा तीन घण्टा लाग्नेमा नेपालबाट लगिएको शिला अयोध्या पु¥याउन करिब १२ घण्टा लाग्यो । यसको मुल कारण यहाँबाट लगिएको शिला, धार्मिक आस्था र श्रद्धा हो । ट्रकमा लोड गरिएको नेपालको पत्थर (देवशिला) नेपालदेखि भारत सम्म पुग्दा धार्मिक आस्थाको अनुपम र अद्भुत अनुभूति गराएको प्रत्यक्षदर्शी बताउँछन् ।

केबल ढुंगाको रुपमा पठाएको केही दिनमै भगवानकै रुपमा मानिसहरुको विश्वास, भक्तिभाव देखेर अनौठो लागेको म्याग्दीका स्थानीय सुरेन्द्र बानियाँ बताउँछन् । ‘ढुंगाबाट मुर्ति बनाउँछन्, पछि भगवानको रुपमा पुज्छन् भन्ने त थाहा भएकै कुरा हो,’ उनले भने, ‘हामीकहाँ प्रशस्त भएर पनि वास्ता गरिरहेका छैनौ, उपेक्षा गरिरहेका रहेछौ, अहिले यहाँबाट लगिएको ढुंगा अयोध्या नपु¥याउँदै नेपालकै धेरै ठाउँमा त्यस प्रति देखाएको धार्मिक श्रद्धाभावले हामी सबैलाई आफ्ना अमुल्य सम्पदा, सम्पतिका बारेमा सोचनीय अवश्य बनाएको छ । यसमा मुख्यतः स्थानीय सरकार र सरोकारवालाले विशेष ध्यान दिन जरुरी छ ।’

शिला: विश्वमा चिनाउन ‘धर्मदुत’को काम

धार्मिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ कालीगण्डकीको शिला । शालिग्राम पाइने कृष्णागण्डकीको किनारमा रहेकाले देवशिला समेत भन्छि ।

राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताउँछन् । ‘कालीगण्डकीबाट भगवान् राम सीताको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो हुन्छ’, उनले भने । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन शालिग्रामले धर्मदूतको काम गर्ने पङ्कजको धारणा थियो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले शिलाले नेपाल–भारतबीच त्रेतायुगदेखिको सांस्कृतिक सम्बन्धलाई नवीकरण गरिदिएको बताए । नेपालबाट त्रेतायुगमा सीता पठाइएको र कलियुगमा रामको प्रतिमा पठाएको उनको कथन थियो । देवशिला मिथिला र अबधबीचको सांस्कृतिक सम्बन्धको सेतु मात्र नभई नेपाल–भारत दुई देशबीचको समेत सेतु हो र दुई देशबीचको सांस्कृतिक सम्बन्ध अनन्तकालसम्म रहने उनले बताए ।

कालीगण्डकीको शिला अयोध्यामा पु¥याउँदा यहाँको धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने गण्डकी नदीका अध्येता कुलराज चालिसे बताउँछन् । कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने अध्येता चालिसेको भनाई छ । कालीगण्डकी नदीको एक सय आठ स्थानमा रहेका शिलाको अध्ययनपश्चात् दुई शिला छनोट गरिएको उनले बताए । श्रीराम मन्दिर एक हजार वर्षसम्म रहने र अहिले छनोट गरिएका शिला हजारौं वर्षसम्म रहनेसक्ने देखिएपछि रामको बालस्वरूप मूर्ति बनाउन ती दुई शिलालाई सिफारिस गरेको शिलाविज्ञ चालिसेको भनाई छ ।

नेपालले चिन्न नसकेको ‘हिरा’
शिला उपहार पछि नेपालमा एउटा बहस उठिरहेको छ । यस्ता अमुल्य शिला उपहार दिएर खुशी मात्रै मनाउने कि यसको यथोचित उपयोग, प्रचार र संरक्षण गर्ने ? यो विषय नेपालका लागि सोचनीय छ ।

अहिले कालीगण्डकीको महत्वपूर्ण शिला उपहार दिएको विषयमा एक समूहले सामाजिक सञ्जाल लगायत मार्फत विरोध जनाइरहेका छन् । यस्तो विरोधको अन्तर्य शिला उपहार दिनै हुँदैनथ्यो भन्नेमा मात्र केन्द्रित छैन, यस्ता अमुल्य वस्तुको खोज, पहिचान, प्रचार र संरक्षणमा राज्य स्तरबाट गरिएको बेवास्ता र लापरवाहीमा लक्षित छ ।

उता भारत र भारतीय मिडियामा भने नेपालबाट पठाइएको शिलाले राम्रै चर्चा र स्थान पायो । भारतका सबैजसो मिडियामा भारतीय नागरिकले जस्तै कालीगण्डकीको पत्थरलाई भगवान् (देवशिला) बनाएको समाचार प्राथमिकता साथ प्रसारण प्रकाशन भयो ।

कालीगण्डकीको शिला अर्थात् पत्थरको महत्व कति छ भने कुरा देवशिला यात्रामा सहभागी हुँदा थाहा भएको भारतका देवशिलाका सूत्रधार मध्येका एक रवितकुमार राजपुत बताउँछन् । नेपालको पत्थर भारतीय सीमा प्रवेश गर्दा अद्भुत भगवानको स्वरूपमा पुजिन थालेको उनको अनुभव छ । ‘नेपालमा पनि शिला नपुजिएको भने होइन । तर, भारतमा व्यापक श्रद्धाभाव देखेर आश्चर्यचकित भएँ,’ उनले भने, ‘नेपालमा केहीले कालीगण्डकीको पत्थरलाई ढुंगाका रूपमा मात्रै बुझे । तर, भारतवासीले त्यो पत्थरमा देवशिला (भगवान्) देखे । त्यहीअनुसार पुजाअर्चना, कामना गरे ।’

केही वर्ष यता कालीगण्डकी बचाउँ अभियान चलाइरहेका अभियन्ता आरके अदिप्त गिरी यहाँको अमुल्य, अद्भुत सम्पदा चिन्न चिनाउन यसले भूमिका खेलेको बताउँछन् । ‘नदीहरु मध्ये पनि कालीगण्डकी नदी आमा नदी हो । यस पवित्र नदीमा दुर्लभ शालिग्राम शिला पाइने हिसाबले मात्र होइन, अरु प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक हिसाबले पनि यो महत्वपूर्ण छ,’ अभियन्ता गिरीले थपे, ‘काली र यसमा पाइने महत्वपूर्ण शिला, शालिग्रामको संरक्षणमा अहिले शिला भारत लैजाने क्रममा देखिएको अथाह श्रद्धा र आस्थाले झस्काएको छ । तर, यस्ता अमूल्य सम्पदा माथि ठेकेदार, तस्करहरुको खुलेआम डोजर चलिरहेको छ, यसमा सरकार र सरोकारवालाको मौनता डरलाग्दो छ । यसमा सबैको गम्भिरता, पहल, सहकार्य र खबरदारी आवश्यक छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी कालीगण्डकी नदीको पवित्र शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि शिला पठाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँछन् । नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्व कालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने उनले विश्वास व्यक्त गरे ।

राम मार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । कालीगण्डकी नदी, यसमा पाइने महत्वपूर्ण शिला, शालिग्रामको संरक्षणका लागि समेत आवश्यक पहलकदमी लिने प्रतिवद्धता जनाए ।

२०७९, २९ माघ आईतवार १०:४८
कथालिका नयाँ कथा
कथालिका