जहाँ बन्दैछ पहिलो ‘रंग भवन’ – कथालिका

जहाँ बन्दैछ पहिलो ‘रंग भवन’

पर्वतको कुश्मामा निर्माण परिकल्पना गरिएको रंग भवनको थ्रिडी डिजाइन ।
  • अहिले परिकल्पना गरिएको रंग भवन (थिएटर) बनेमा त्यो धौलागिरीकै पहिलो हुनेछ । अहिले गण्डकी प्रदेशभित्र पोखरामा मात्रै थिएटर छ । रंग भवनमा कलाको आवासीय कक्षा “आफ्टर स्कूल पाठशाला” समेत सञ्चालन गरेर सिंगो गण्डकी प्रदेशलाई नै चलायमान बनाउने योजना छ ।

सुन्दर, हराभरा प्रकृति, उस्तै अथाह संस्कृति । तर, संकट छ पुस्तान्तरणमा । एक से एक अद्भुत कला र प्रतिभा छन्, तर तिनलाई चिन्ने–चिनाउने र निखार्ने उपयुक्त प्लेटफर्म (अवसर) छैन । यसबारे तीन तहको सरकार, विषयगत मन्त्रालय, कला सम्बद्ध संघ–संस्था, निकाय, सामाजिक अगुवा लगायतको न यसमा यथेष्ट गम्भिरता र चासो छ, न सिर्जनशील हिसाबले सोच्ने फुर्सद र आइडिया नै । यहाँको कला, संस्कृति, पौरखी कलाकर्मीको अरु बाहिरबाट कसले आइदिएर उत्थान गरिदिओस् र ? केही वर्ष अघिसम्म आञ्चलिक पहिचान बोकेको सिंगो धौलागिरीले वर्षौदेखि यही नियति भोगिरहेको छ ।

कला मार्फत धौलागिरी चिन्ने, चिनाउने अभियान
लोक दोहोरी, लोक कथा–संस्कृतिमा धनी धौलागिरीले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा वर्षौदेखि प्रभाव जमाइरहेको छ । तर, नाटक लगायत कलाका केही विधामा भने प्रचुर सम्भावना भए पनि राज्यको बेवास्ता, स्थानीयको अग्रसरता देखिन्न । जसका कारण कैयन कलाकार कला चिन्न, चिनाउनबाट वञ्चितिमा छन् । मोफसलको यो अभिशप्त अवस्थाका बारेमा धौलागिरीका स्थानीय सरकार र गण्डकी प्रदेश सरकार बेखबर छ । यही अनुक्रममा एक कलाकर्मी, अभियन्ता यतिबेला धौलागिरीमा पहिलो रंग भवन (नाटक घर)को सपनालाई विपनामा अनुवाद गर्न प्रयासरत छन् ।

स्थापित फोटो पत्रकार, कवि, पर्यावरण एवम् संरक्षणकर्मी आरके अदिप्त गिरी तिनै पात्र हुन्, जसले पछिल्लो तीन वर्ष यता कालीगण्डकीको अवैध दोहन विरुद्ध निरन्तर ‘कालीगण्डकी बचाउँ अभियान’ चलाइरहेका छन् । उनले नदी मात्र होइन, पुराना मौलिक परिचय, पहिचान बोकेका घर, संस्कार, संस्कृति र कला सम्पदालाई पनि संरक्षण गर्ने अभियान थालेका छन् ।

पर्वतको कुश्मा बजारकै मुटुमा अवस्थित ३ सय वर्ष पुरानो घरलाई शताब्दी घर (साँस्कृतिक संग्राहलयको परिकल्पना गरेर केही समय यता उनी ’शताब्दी घर’ को मर्मत–सम्भारसहित संरक्षणमा लागिपरेका छन् । कुश्मा क्षेत्रमा विकासको नाममा कंक्रिटले छोपिँदै गर्दा मौलिकता जोगाइराख्ने, पुराना गीत–संगीत, लोक नाच, रुख–बिरुवा, चौतारी, ऐतिहासिक पुरातात्विक सम्पदाहरुको संरक्षणका खातिर कुश्मा आर्ट प्रोजेक्ट संस्था दर्ता गरेर बहुआयामिक हिसाबले काम थालेको आरके अदीप्त गिरी बताउँछन् ।

कुशुमपुर रंग भवनको स्वप्नसोच
अधिक मानिसहरु आफू, आफ्नो परिवार, सीमित समूहको स्वार्थ र भविष्यका लागि समर्पित छन् । यस्तो प्रवृत्ति वैदेशिक रोजगारीमा जानेको संख्या हेर्दा मात्रै पनि बढ्दो क्रममा देखिन्छ । तर, लामो समय कर्मक्षेत्र राजधानी र केही समय विदेशको अध्ययन, अनुभव बटुलेका गिरी गृहजिल्ला र क्षेत्रमा केही गर्ने हुटहुटी बोकेर कोरोनाकालमा जिल्ला फर्किएका हुन् । उनले हाललाई शताब्दी घरकै अघिल्तिर ललितकलाका सम्पूर्ण विधाहरूलाई एकै थलोमा समेट्ने गरी कुशुमपुर रंग भवन (नाटक घर) बनाउने योजनालाई मूर्त रुप दिन खोजिरहेका छन् । उनको भोलिको सोच भने कुश्मामा ’पर्वत स्कूल अफ फाइन एण्ड पफम आर्ट’ ललितकला एकेडेमीको स्थापना गर्नु पनि रहेको छ ।

कला, संस्कृति र नदी सभ्यता जोगाउन लागिपरेका गिरीले परिकल्पना गरेको नाटक घर (थिएटर) बनेमा त्यो धौलागिरीकै पहिलो हुनेछ । अहिले गण्डकी प्रदेशभित्र पोखरामा मात्रै थिएटर छ । ‘कला–संस्कृति र सभ्यता हाम्रा जननी हुन्, असली पहिचान हुन् । यी नरहे हामी, हाम्रो समाज र देशको कुनै पहिचान रहँदैन,’ गिरी भन्छन्, ‘पछिल्लो पुस्ताले बिर्सिंदै गएको थिएटर कल्चरलाई संरक्षण र पुस्तान्तरण गर्नु समेत रंग भवनको उद्देश्य छ ।

नाटक घर निर्माण भएपछि सिंगो धौलागिरी र छिमेकी जिल्लाहरूका कवि, कलाकारहरुले समेत नियमित रुपमा आफ्नो प्रतिभा तिखार्न र निखार्न पाउनेछन् । सबै किसिमका नाटक र नाट्य महोत्सव, कार्यशालाजस्ता कार्यक्रमहरू एउटै थलो र थिएटरमा केन्द्रित हुने हुँदा पनि आफूले रंग भवनको सपना देखेको गिरी बताउँछन् ।

करोड लागत, कसरी जुट्छ स्रोत ?
रंगमञ्चले लामो समय फड्को मारे पनि व्यवसायी बन्न नसकिरहेको अवस्था र नाटक र रंगमञ्च भन्ने बित्तिकै काठमाडौं मात्र सम्झिनु पर्ने अवस्थाबीच अहिले मोफसलमा विभिन्न नाटकघर स्थापनाको लहर चलेको छ । रंगमञ्चको दायरा, बुझाइ र संस्कार पनि बढ्दो छ । तर, सबैतिर अर्थनीतिको अभाव देखिन्छ । साहित्य कलाका विधाहरूको विकास र विस्तारमा पनि राज्य अनुदार छ रंगकर्मीहरू आर्थिक अभावमै बाँच्नु परेको छ ।

यस्तो परिप्रेक्ष्यमा थिएटरको परम्परा नै संस्थागत नभएको धौलागिरीमा साउथ एसियाकै रंगकर्म र अभ्यासको झल्को दिने गरी कुश्माबजारमा कुशुमपुर रंग भवनको परिकल्पना गरेका छन् कुश्मा कला परियोजनाका अध्यक्ष तथा निर्देशक गिरीले । रंगभवनको लागत एक करोड भन्दा बढी लाग्ने उनको अनुमान छ ।

थिएटर हाउस निर्माणको सुरुवाती योजनादेखि दीर्घकालसम्म चल्ने–चलाउने योजनाका लागि हाल गिरीलाई लोकप्रिय रंगकर्मी चे–शंकरले सघाइरहेका छन् । चे शताब्दी घरमै केही सातायता आवासीय रुपमै बसेर गिरीलाई थिएटर निर्माणदेखि सञ्चालन सम्मको सोध–खोज, कोर्स प्लानिङ र आइडिया दिइरहेका छन् ।

‘काठमाडौं बाहिर मुख्य चुनौती भनेकै नाटकघर, नाटक, दर्शक र रंगकर्मीहरूको अभाव हो । मोफसलको हकमा रंगमञ्च स्थापनाकाअनेक दुःख छन् । ती दुःख र भ्रमलाई चिर्ने गरी हामीले काम गरिरहेका छौँ,’ चे–शंकरले भने, ’नेपाली रंग मञ्चको अहिलेको प्रमुख समस्या भनेको सैद्धान्तिक बहसको हो । यस विधाको पहिचानका लागि हामीले गर्नुपर्ने कामहरू धेरै छन् । त्यही अभावलाई चिर्ने गरी हामीले अहिले नेपाली रंगमञ्चको पूर्व–इतिहास खोजबिन, आगतको यात्रा, देश–विदेशमा भएका नाटकका नवीन सोच र प्रयोग लगायत आर्काइभिङमा काम गरिरहेका छौँ ।’

विभिन्न जिल्लामा सञ्चालनमा रहेका नाटक घर भन्दा यो रंगमन्च केही फरक हुने संयोजक गिरीको भनाइ छ । जसको आकार पहाडे वास्तुकलाले सजिएको हुनेछ । रंगभवन निर्माणका लागि स्रोत व्यवस्थापनदेखि सञ्चालनसम्मको कामका लागि आफूहरू व्यवस्थित योजना बनाएको र अब सबैतिर सहयोगका लागि अपिल गर्ने उनले बताए ।

रंग भवन राज्यको सम्पत्ति र सम्पदाको रुपमा रहने भएकाले यसको निर्माणमा तीन तहको सरकारबाट अपेक्षित सहयोग हुने कुश्मा कला परियोजनाको आशा छ । यसबाहेक सामाजिक अभियान, विभिन्न कार्यक्रमबाट फण्ड संकलन गर्ने योजना संस्थाले बनाइएको छ ।

‘पर्वते संस्कृतिमा धेरै अनमोल कुरा छन् । हामी स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, श्रमदान, कलाकारहरूलाई आवासीय सुविधा दिएर भए पनि नाटकघर निर्माण गरिछाड्छौं,’ गिरी भन्छन् । सुन्दर र असल समाज निर्माणका लागि कलाको देन अमूल्य छ । त्यसैले रैथाने निर्माण सामग्रीकै प्रयोग गरेर मौलिक पहाडे वास्तुको नमुना नाटकघर निर्माणमा आफू लागेको उनको भनाइ छ ।

नाटकघर चलाउन कति सजिलो, कति अप्ठ्यारो ?
यो सत्य हो कि मोफसलमा थिएटर नियमित चल्न/चलाउन कठिन छ । संघीय राजधानीकै स्थापित थिएटरहरुका उतारचढावपूर्ण विगतछ । यस्तो समयमा पर्वतमा थिएटर चल्ला त ? चौतर्फी उठिरहेको संशयका बारेमा आरकेसँग प्रष्ट जवाफ र योजना छ । थिएटरसँगै जोडिने शताब्दी घरको आँगनलाई खुल्ला कला डबलीका रुपमा विकास गर्ने उनको योजना छ ।

नेपाली पठन संस्कृतिलाई बढावा दिन शताब्दी घरमै पुस्तकालय पनि राख्ने तयारी छ । यसका साथै कला साधना, अनुसन्धान, खोज आदि गर्न खोज्नेहरूका लागि अतिथि आवास गृह पनि बन्दैछ । साथै रंग भवनलाई बहुप्रयोजनका लागि संचालनमा ल्याइने छ । जहाँ कलाका सबै गतिविधिहरू संचालन हुनेछ । गिरीका अनुसार नाटक घरमा कलाको आवासीय कक्षा “आफ्टर स्कूल पाठशाला” समेत सञ्चालन गरेर कलाका हिसाबले कुश्मा, धौलागिरी र सिंगो गण्डकी प्रदेशलाई नै चलायमान बनाउने सोच छ ।

यो परियोजना सम्पन्न भइसकेपछि समाजका लागि उपयोगी कला, सीप र सिर्जनात्मक गतिविधि संचालन गरिने छन् । समग्रमा यसलाई कलाको अथवा भनौं ज्ञानको मन्दिरका रुपमा विकास गरिनेछ । समाजमा चेतना र जागरण छर्न उल्लेख्य भूमिका खेल्ने कला जब सरकारबाटै उपेक्षित हुन्छ, तब समाज पछाडि पर्छ । यही भएर कलाको महत्वबोध गर्ने, गराउने अभिप्रायले रंग भवन निर्माणमा लागेको संस्थाका अर्का सारथी रुपेश सापकोटा बताउँछन् ।

’पर्वत जिल्लाको सदरमुकाम कुश्मा धौलागिरिकै प्रवेशद्वार हो । पहाडी वास्तुशैली अनुरुप विकास÷निर्माण गर्न खोजिएको कुशुमपुर रंग भवन समाजको आवश्यकता हो,’ कुश्मा कला परियोजनाका उपाध्यक्ष किशोर भण्डारी भन्छन्, ‘रंग भवन तयार भए पछि गीत–संगीत, कला र साहित्यका विभिन्न विधाको तालिम र प्रशिक्षण सञ्चालन गर्न सकिन्छ ।’

शिक्षा, स्वास्थ्य, रंगशाला र अरु भौतिक पूर्वाधार जस्तै रंग भवन पनि कुश्माको समाज विकासका लागि अपरिहार्य रहेको उनले प्रष्ट्याए । भवन बनाउन आवश्यक बजेट जुटाउन आफूहरू लागिपर्ने भण्डारीले बताए । कुश्मा कला परियोजनाले सदरमुकाम कुश्माबाटगीत–संगीत, कला, संरक्षण र समाजको सिर्जनशील विकासमा काम गर्दै आएको छ ।

रंग भवन देश विदेशमा रहेका कला साधकहरुको कला, संगीत र शिल्प साटासाट गर्ने बहुआयामिक थलो बनाउने कुश्मा आर्ट प्रोजेक्टको लक्ष्य छ । ‘समाजका विभिन्न जात समुदायका कला, संस्कृति, संगीत, जात्रा र मेलाहरु एकै थलोमा हेर्न र सामाजिक चिन्तन गर्ने यस्ता घर, स्थलको आवश्यकता स्थानीय तह, प्रदेशका शासकहरूमा देखिदैन । आफूले समाजका लागि जे जति सेवा गर्न सकिन्छ र गर्दै जाने हो,’ उनको कलामन बोल्छ ।

अध्यक्ष गिरी भन्छन्, ’कुश्मा आफैँमा मौलिक विकास खोजिरहेछ । कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरका नलेखिएका कथा र गाथा अब हामी लेख्नेछौँ । समाजका लागि साझा मञ्च उपलब्ध गराउने छौँ । जनजीवनसँग जोडिएका हरेक साँस्कृतिक सम्पदाको हामी खोजीनीति गर्दैछौं र सिङ्गो कुश्मा नगरलाई साहित्य, कलाको अध्ययन, अवलोकनका लागि नयाँ गन्तव्य स्थलको रूपमा विकास गर्नेछौँ ।’

रंग भवन निर्माणमा पनि स्थानीय स्रोत–साधन र श्रमको अधिकतम परिचालन गर्ने उनको चाहना छ । अब यस्ता काममा समाज अलिकति भए पनि विवेकी, सचेत, सजग र सहयोगी भैदेओस् भन्ने उनको अपेक्षा । र, यस महाअभियानमा सबैबाट सक्दो सहयोग गर्न गिरी आव्हान गर्छन् ।

२०७९, ८ फाल्गुन सोमबार ०७:१३
कथालिका नयाँ कथा
कथालिका