‘सुका’मा चिया बेचेर व्यवसायी बनेका मोती – कथालिका

‘सुका’मा चिया बेचेर व्यवसायी बनेका मोती

  • त्यसबेला सादा खाना (दाल,भात र तरकारी)को ३ देखि ४ रुपैयाँसम्म लिन्थे । ‘विदेशी पर्यटकले सादा खाना दाल–भात–तरकारीको पैसा रमाई–रमाई दिन्थे, ४ रुपैयाँ पाउँदा त हामी धेरै खुसी पो हुन्थ्यौं त,’ उनले हाँस्दै भने ।

अहिलेका युवायुवतीलाई आफ्ना दुःख मात्र भारी लाग्छ । पहिलेका मानिसहरुले जीविकाका लागि गरेको दुःख फर्किएर हेर्ने, बुझ्ने र बोध गर्ने हो भने अहिलेका दुःख फिका लाग्छ । पुरानो जमाना, विकास पूर्वाधार, शिक्षा, चेतना, प्रविधि हर हिसाबले कमजोर अवस्था । र पनि मानिसहरुले इमान र मेहेनतका साथ सत्कर्म, सेवा सहितको व्यवसाय गरेका सयौं प्रेरक कथाहरु समाजमा छन् । जुन अलखित छन्, अकथित छन् । जुन जरुर लेखिनु पर्ने थियो, खोजिनु पर्ने थियो र जरुर पढिनु पर्ने थियो ।त्यसमा कथालिकाले यी र यस्तै समाचार कथा खोज्ने सानो प्रयास निरन्तर गरिरहेको छ ।-सम्पादक

♦♦♦

बुढ्यौलीले छोएको शरीर, सेताम्य छ कपाल । सबै कुरा मिल्दा यो उनका लागि आराम गर्ने उमेर । छोरीछोरीले कमाई गरिरहँदा बसेर खाने दिन । तर, कास्कीका ७२ वर्षिय मोतीबहादुर गुरुङलाई बसेर खान पटक्कै मन लाग्दैन । केही न केही काम गरिरहनुपर्छ । उमेर र शरीरले आराम खोजिरहने बेला भए पनि उनको सक्रियता उस्तै लोभलाग्दो छ ।

गाउँको प्राकृतिक सुन्दरता, संस्कार र संस्कृति तथा भीर मौरीको मह काढेको हेर्न पुग्ने पर्यटकको स्वागत गर्नु उनको मुख्य काम हो । सुन्दर र गाउँले पाराले सजाइएको होटल तथा रेस्टुरेण्टका उनी सञ्चालक हुन् । जहाँ पुग्ने आन्तरिक र बाह्य पर्यटक उनको स्वागत गर्ने तरिका र हंसिलो अनुहार देखेर मख्ख पर्छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकका मोतीबहादुरलाई आफ्नो उमेर गए जस्तो भने पटक्कै लाग्दैन । विहान उठेबाट आफ्नै होटलको काममा व्यस्त हुन्छन् । लान्द्रुक पुगेका आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि उनी सधैं तयारी अवस्थामा हुन्छन् । लान्द्रुक एक पर्यटकीय गाउँ हो । उस्तै सुन्दर अनि त्यहाँका स्थानीयले पर्यटकलाई स्वागत गर्ने उस्तै पृथक संस्कार र शैली । यहाँबाट देखिने सुन्दर हिमालका दृश्य, संस्कार र संस्कृति लगायतका विषय यहाँका विषेशता हुन् । पोखराबाट नजिक, फरक चालचलन, प्राकृतिक रुपमा सुन्दर अनि संस्कृतिले धनी गाउँ लान्द्रुकका स्थानीयवासी हुन् मोतीबहादुर । उनले स्थानीय रुपमा होटल व्यवसाय गरेर उदाहरणीय आतिथ्यता, सेवा र व्यवसाय एकसाथ गरिरहेका छन् ।

पर्यटक जब गाई–भैंसी बाँध्ने गोठमा सुतेको देखे
वि.सं २०३१/३२ सालतिर हुनुपर्छ, लान्द्रुकको बाटोलाई आन्तरिक तथा बाह्य पर्यटकले पदमार्गका रुपमा प्रयोग गर्थे । जहाँबाट विभिन्न हिमालको सुन्दर दृष्य समेत नजिकबाट नियाल्न सकिन्थ्यो । त्यो समयमा आन्तरिक भन्दा विदेशी पर्यटक लान्द्रुक पुग्थे । नेपालमा त्यति विकास भइसकेको थिएन । सडक सुविधा त टाढाको विषय थियो । स्थानीयले आफ्नो गुजारा गर्ने दैनिक उपभोग्य सामान जुटाउन समेत हम्मे–हम्मे हुन्थ्यो । उनीहरु लामो र अप्ठ्यारो गोरेटो हिँडेर त्यस्ता सामान जुटाउने गर्थे । झन् होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्नु सामान्य विषय समेत थिएन नेपालीका लागि । नेपालको सुन्दरता नियाल्न आएका विदेशी पर्यटकका लागि खान र उचित बासस्थानको अभाव हुन्थ्यो । पदमार्गका रुपमा परिचित लान्द्रुकमा विदेशी पर्यटकका लागि केही सुविधा थिएन । उनीहरु बाटैमा कहिले पराल तथा कहिले गाई–भैंसी बाँध्ने गोठमा सुतेको मोतीबहादुरले देख्थे ।

त्यो समयमा लान्द्रुक निकै विकट थियो । शौचालय थिएन, बाटैभरी सिस्नो झारी हुन्थे, निकै फोहोर पनि । गाउँमा अन्य सुविधा समेत पुगेको थिएन । त्यो बेल लाहुरे हुने लहर थियो । उनी पनि गुरुङको छोरा, लाहुरे हुने हुटहुटीले केही समयदेखि पछ्यारहेको थियो । घरमा आफ्ना बाबाले नजानु भन्दा भन्दै भारतीय सेनामा भर्ती हुन गोरखपुर पुगे मोतीबहादुर । पछि उनले सुने भुटानमा समेत भारतीय सेनामा जस्तै भर्ती खुलेको रहेछ । भारतीय सेनामा भर्ती हुन गएका मोतीबहादुर उनलाई लिन आउने व्यक्तिको पछि लागेर भुटान पुगे । त्यहाँ उनको बसाईं ३ वर्षको रह्यो । भुटानमा मोतीबहादुरले आर्मीकै रुपमा काम गरेका थिए । ‘यो आर्मीकै काम हो, त्यसलाई ग्रिप कम्पनी भन्छ, एक किसिमको इन्डियन आर्मी जस्तै हो,’ उनले भने । ३ वर्ष पछि मोतीबहादुर घर फर्किए । घर आएपछि भने उनलाई फेरी हाजिरीमा जाने मन भएन । हाजिरी गर्न गएनन् । तर, उनलाई थाहा थिएन, उनले अब कुन बाटो समात्ने र जीवनमा के गर्ने ?

अनि पर्यटकका लागि होटल खोले
मात्र नजिकबाट नियालिरहेका थिए गाउँको बाटोलाई विदेशी पर्यटकले पदमार्गका रुपमा प्रयोग गरिरहेको । गाउँमा आए पनि विदेशी पर्यटकले सुत्ने स्थान र खाना पाउँदैनथे त्यसबेला । अंग्रेजी भाषा गाउँका स्थानीयले बुझ्ने कुरै भएन । पर्यटकले हातको इशाराले बुझाउने कोसिस गर्थे प्रायः स्थानीयलाई । अहिले मोतीबहादुरलाई कामचलाउ अंग्रेजी बोल्न आउँछ र बुझ्छन् पनि । विदेशी पर्यटक कोही घरको पिँढीमा सुत्थे, कोही भैसी बाँध्ने गोठमा त कोही पराल ओछ्याएर समेत सुत्ने गर्थे । त्यसपछि सानो होटल सञ्चालन गर्ने मनसाय बनाएको उनी बताउँछन् । मनसाय मात्रै बनाएनन्, त्यो समयको परिस्थिति र उपलब्ध हुने सामान सहित सानो होटल रेस्टुरेण्ट सञ्चालनमा ल्याए । खाना र बासस्थानको अभावमा दुःख पाएका विदेशी पर्यटकका लागि उनले सञ्चालनमा ल्याएको होटल रेष्टुरेण्टले ठुलो काम ग¥यो । अहिले जस्तो त्यो समयमा फरक–फरक ओढ्ने र ओच्छ्याउने हुँदैनथ्यो । त्यसपछि मोतीबहादुरले आफ्नो दिमाग लगाए । पोखरामा रेस्टुरेण्टका लागि सामान लिन आउँदा ठुलो साइजको जुटको बोरा लिएर जान्थे, र त्यही बोरामा पराल हालेर ओढ्ने र ओच्छ्याउने बनाइदिन्थे । ‘कुनै बेला सुत्ने र खाने कुरा नपाउने पर्यटक बोरामा पराल हालेर सुत्ने स्थान बनाइदिँदा त निकै खुसी हुन्थे, गज्जबले सुत्थे,’ मोतीबहादुर सम्झन्छन् ।

लान्द्रुकमा होटल खुलाउने पहिलो मोती
लान्द्रुकमा विदेशी पर्यटकका लागि खान र बस्नको व्यवस्था स्वरुप होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्ने पहिले व्यक्ति मोतीबहादुर नै हुन् । पोखरासम्म आफ्नो रेष्टुरेण्टका लागि सामान लिएर गाउँसम्म पुग्नु मोतीबहादुरका लागि सहज थिएन ।

गाउँबाट हिँडेर पोखरासम्म आइपुग्थे । भीरपाखाको बाटो प्रयोग गरेरै उनले कयौं पटक आफ्नो रेष्टुरेण्टका लागि उपभोग्य सामान ओसारपोसार गर्दै पर्यटकलाई सहज बनाइदिएका थिए । तर, उनलाई यसमा गुनासो भन्ने कहिले पनि लागेन । कारण, उनले आफ्नो व्यवसायलाई केवल व्यवसाय मात्रै होइन, सेवा पनि सोचे । फलतः त्यो समयमा लान्द्रुक पुग्ने पर्यटकलाई धेरै लाभान्वित मात्र भएनन्, उनीहरुले त्यसगाउँ र मोतीबहादुरसँग आत्मिय अपनत्वबोध समेत गरे ।

दुर गाउँमा त्यसबेला होटल रेष्टुरेण्ट गर्नुका अनगिन्ती दुःख थिए । केही समयका लागि पुग्ने खाद्यान्न लगायत उपभोग्य वस्तु डोकोमा बोकेर लैजानुपथ्र्यो । ती दिन सम्झँदा मोतीबहादुरलाई रोमाञ्चक लाग्छ । ‘ती दिनमा दुःख थिए, दुःखसंग रमाइला सम्झना र अनुभव पनि त थियो,’ उनी भन्छन्, ‘त्यसलाई म दुःख भन्दिन, हाम्रो संघर्षको एउटा पाटो थियो ।’

तीन रुपैयाँमा सादा खाना, चार रुपैयाँको खुसी
पहिले लान्द्रुक हुँदै विदेशी पर्यटक अन्नपूर्ण बेसक्याम्प जाने गर्थे । अन्नपूर्ण बेसक्याम्प पुग्न त्यो बेलामा लान्द्रुक हुँदै घान्द्रुक पुग्नुपथ्र्यो । उनले सञ्चालन गर्नु भन्दा पहिले यहाँ विदेशी पर्यटकका लागि त्यस्तो व्यवस्था थिएन, सुविधा थिएन । माछामासु भन्ने चलनै थिएन, खाना खान पाउनु त्यो बेलाको समयमा पर्यटकका लागि ठुलो कुरा थियो ।

उनले सादा खाना (दाल,भात र तरकारी)को ३ देखि ४ रुपैयाँसम्म लिन्थे । ‘विदेशी पर्यटकले सादा खाना दाल–भात–तरकारीको पैसा रमाई–रमाई दिन्थे, ४ रुपैयाँ पाउँदा त हामी धेरै खुसी पो हुन्थ्यौं त,’ उनले हाँस्दै भने, ‘मासुको कुरै थिएन, पर्यटकले यहाँ मासु खान्थेनन् ।’ उनको जमानामा चिया प्रति गिलास एक सुकामा बिक्री गरेको मोतीबहादुरलाई अझै याद छ । विदेशी पर्यटक आउँदा केही समय त स्थानीयले समेत खिसी गर्थे खाना र घरमा पस्न दिएकोमा । गाउँमा आएका विदेशीलाई बुढापाकाले उनीहरुले गाईको मासु खाने भएकाले घरभित्र पस्न नदिनु भन्दै उनलाई सुझाव दिन्थे । त्यो बेलामा उनलाई त्यति धेरै अंग्रेजी भाषा आउँदैनथ्यो । अहिले भने अंग्रेजी बोल्न र बुझ्न सक्छन्, जसले गर्दा पर्यटकसंग बोल्न र उनीहरुको कुरा बुझ्न मोतीबहादुरलाई सहज भएको छ ।

उनको मामा पर्ने भारतीय सेनाका कप्तान जयबहादुर गुरुङले उनकै सिको गरेर लान्द्रुकमा अर्को लालीगुँरास होटल सञ्चालनमा ल्याएका थिए, त्यो होटल अहिले पनि सञ्चालनमा छ । मोतीबहादुरले होटल सञ्चालन गरेको ३÷४ वर्षपछि उनका मामाले लालीगुँरास होटल खुलाएका थिए । धेरै पर्यटक क्याम्पिङका लागि आउँथे । मोतीबहादुरको मामाको होटलमा क्याम्पिङको सुविधा उपलब्ध थियो । उनका मामा भारतीय सेनामा कप्तान थिए । पछि उनको मामाले लालीगुरास होटल मोतीबहादुरलाई नै चलाउन भने । मामाले त्यतिबेला पोखरामा घर बनाउने योजना भएकाले होटल सञ्चालन गर्न उनलाई सुम्पिएका थिए । ‘जतिबेला मलाई त्यति धेरै बोल्न आउँदैनथ्यो,’ उनले भने, ‘तर, समय र भगवानले साथ दिएपछि सबै कुरा राम्रो हुने रहेछ ।’ सबै विषयको निर्णय आफूले मात्रै गरेर भएन । मामाले होटलको जिम्मेवारी लिन भनिसके पछि मोतीबहादुरले आमासंग सल्लाह गरे । ‘आमाले होटल चलाउन नसकेर घाटा होला, ऋण लाग्यो भने कसरी तिर्नु भनिरहनुभएको थियो ।’ उनी भन्छन्, ‘तर, मैले आँट गरेरै त्यो होटल चलाउन थालेँ ।’

शुन्यबाट सुरु गरेको व्यवसाय जब गुल्जार भयो
उनी आफैंले सञ्चालन गरेको रेष्टुरेण्ट बाहेक मामाको होटल पनि मोतीबहादुर आफैंले सञ्चालन गर्न थाले । होटल र रेष्टुरेण्ट दुवै सञ्चालनमा आए पछि आन्तरिक तथा बाह्य पर्यटक लान्द्रुक पुग्न थाले । उक्त होटलमा त्यो जमानामा १० जना पर्यटक बस्न मिल्ने सुविधा थियो । कोही रमाइलो गर्दै क्याम्पिङ बस्थे त कोही नाचगान गर्दै बस्थे । त्यसपछि भने मोतीबहादुरले पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न थाले । यहाँबाट आएको आम्दानी मामाले राख्थेनन्, सबै मोतीबहादुरकै हातमा हुन्थ्यो । त्यो बेलामा उनले मामालाई अन्य आम्दानी बुझाउन नपरे पनि होटल सञ्चालन गरे बापत् मासिक ४ सय रुपैयाँ बुझाउनुपथ्र्यो । होटल सञ्चालन गर्न सुरु गरेकै दिन पर्यटक यति धेरै ओइरिए कि मोतीबहादुरले एक रातमा नै ३५ सय कमाई गरेका थिए । आजभन्दा ४०/५० वर्ष अगाडि एकैदिन त्यति धेरै कमाई गर्नु चानेचुने कुरा थिए । एकै रातमा त्यति धेरै कमाई गरेपछि मोतीबहादुरको खुसीको सीमा रहेन । त्यही रात नै उनले होटलको भाडा स्वरुप ४ सय रुपैयाँ छुट्याएर राखेका थिए । उनको होटल तथा रेष्टुरेण्टमा पर्यटक आएको देखेर गाउँका स्थानीय समेत दंग पर्थे ।

१० वर्षसम्म चलाएपछि उनले मामाको लालीगुरासँ होटल छोडिदिए । पोखरा जाने स्थानीयको घरजग्गा किनेर अहिलेको होटल सञ्चालन गरेका हुन् । आफ्नै होटल पनि उनले सुरुमा काठ, ढुंगा र माटोको निर्माण गरेका थिए । २०७२ को भुकम्पले घरमा समस्या आएपछि अहिलेको रेष्टुरेण्टलाई फेरी बनाएका हुन् । लान्द्रुकमा उनले होटल सञ्चालनमा ल्याउँदा मुखिया प्रचलन कायमै थियो । अन्य स्थानीय आर्थिक समस्याबाट गुज्रिरहेका हुन्थे । सामान्य व्यक्तिले गाउँमा नै बसेर होटल तथा रेस्टुरेण्ट सञ्चालन गरेर राम्रो आम्दानी गरेको देखेपछि मुखिया समेत दंग परेका थिए तर, केही भनेनन् ।

लान्द्रुकमा होटल व्यवसाय सञ्चालनमा ल्याएपछि उनलाई पोखरा आउन मन लाग्यो । गाउँमा राम्रै चलिरहेको व्यवसाय भाडामा दिएर उनले लेकसाइडमा होटल सञ्चालनमा ल्याएका थिए । लेकसाइडमा मोतीबहादुरले २ वर्ष होटल चलाए । ‘गाउँमा प्रशस्तै जग्गा छन्, भाडामा चलाउने व्यक्तिले होटल राम्रोसंग चलाउन सकेनन्,’ उनी व्यावसायिक उतार चढावका दिन सम्झिदै भन्छन्, ‘अनि लेकसाइडको होटल विक्री गरेर गाउँ फर्किएँ ।’ आजभोलि उनलाई पोखरा भन्दा गाउँमै व्यवसाय गर्न सञ्चालन गर्न सहज र रमाइलो लाग्छ । सिजनमा आन्तरिक तथा बाह्य पर्यटक लान्द्रुकमा पुग्ने गर्छन् । पर्यटकको आवागमन त्यति कम भएको जस्तो मोतीबहादुरलाई लाग्दैन । होटल तथा रेस्टुरेण्ट व्यवसायी बढी भए जस्तो उनलाई लाग्छ । ‘काम र कमाई त यस्तै हो, अहिले होटल रेष्टुरेण्ट धेरै छन्, पर्यटक त आउँछन्,’ उनले भने । उनका अन्य २ जना दाजुभाइ छन् । तर, होटल व्यवसाय गर्ने मोतीबहादुर मात्रै हुन् । अन्य २ जनाले खेती किसानी गर्छन् । जेठा दाइको छोराले भने अहिले प्रितम देउराली भन्ने स्थानमा होटल सञ्चालन गरेका छन् । अबको बाँकी समय पनि शरीरले सक्दा सम्म यही व्यवसायमै रम्ने रमाउने उनी बताउँछन् ।

२०७९, ११ फाल्गुन बिहीबार ०५:४६
कथालिका नयाँ कथा
कथालिका