दिवस भन्दा दैनिकीको पिर – कथालिका

दिवस भन्दा दैनिकीको पिर

  • नारी दिवसको दिन पनि धेरै श्रमिक महिला नियमित दैनिकी र कर्ममा भेटिइन् । उनीहरुको एउटै भाव सहित कथन छ–‘जीवनमा कसैको भरमा बाँच्नु नपरोस्, अरुकै आम्दानीमा भर पर्दा स्वाभिमान गुम्ने मात्र होइन, चरम उपेक्षा र अपमानित भएर बाँच्न बिबश हुनुपर्छ ।’

सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस

चिया आयो चिया । दिदीबहिनी, दाजुभाइहरु चिया पिउनुहुन्छ ? पिउनुस् है चिया । कथालिकाले कुरा गर्न खोज्दा उनी पोखराको लेकसाइडमा घुम्न र टहलिन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकोहोरो बिज्ञापन सहित आग्रह गरिरहेकी थिइन् । उनको बोलीसंगै चिया पिउने कहिले धेरै हुन्थे त कहिले थोरै । तर, उनी चिया आयो भन्दै कराउने क्रम रोकिएको थिएन ।

३३ वर्षीय मीना परियारको दैनिकी विहान करिब ३ बजेदेखी सुरु हुन्छ । ६ वर्षका छोरा छन् । उनलाई एक्लै छोडेर काममा निस्कनु उनको दैनिकी र बाध्यता हो । विहान ३ बजे उठेर घरको सरसफाई, छोराको लागि खाना लगायतका काम भ्याउँछिन् । चिया बनाउँछिन् र विहानको करिब ४ बजे ठूला–ठूला साइजको २ वटा थर्मसमा चिया हालेर लेकसाइडमा बेच्न जान्छिन् । बिहान मात्रै होइन, दिउँसो समेत उनी लेकसाइडमा चिया बेचिरहेको भेटिन्छिन् । उनको यो दैनिकी सुरु भएको करिब २ वर्ष भयो ।

बिरामी भएर खाटबाट उठ्न नसकेको खण्डमा बाहेक हरेक दिन विहान र बेलुका उनलाई लेकसाइडमा चियाको थर्मस सहित भेट्न सकिन्छ । श्रीमान् मलेसियामा छन्, उनी चिया बेच्छिन् । चिया बेचेरै उनले आफ्नो र छोराको खर्च टार्छिन् । यो भन्दा पहिले होटलमा काम गर्ने उनको तलब जम्मा ७ हजार थियो । पछि त्यहाँ काम छोडेर चिया बेच्न थालेकी हुन् । आत्मनिर्भर हुन पाउँदाको सन्तुष्टि अनुहारमा समेत झल्किन्थ्यो मीनाको । उनले दैनिक ८० देखि ९० कप सम्म चिया बेच्छिन् । बुधबार नारी दिवस देशभर मनाइरहँदा उनी यो विषयमा भने बेखबर थिइन् ।

चिया बेचेरै भएको आम्दानीबाट उनको घर खर्च टर्छ । ‘काम गरेर खाने हामीलाई केको नारी दिवस भनेर विशेष दिन हुनु ? यहाँ चिया लिएर बेच्न आए केही भए पनि आम्दानी हुन्छ, नत्र दैनिकी चलाउनै सकस हुन्छ,’ उनले भनिन्, ‘श्रम र संघर्ष गरेर जीवन चलाउन मलाई उचित लाग्छ ।’ बुधबार अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा समेत महत्वका साथ विविध कार्यक्रम सहित मनाइदै गर्दा यी र यस्ता श्रमिक महिलाहरु सँग कार्यक्रम, सचेतनाको पहुँच पुग्दैन । सुविधा सम्पन्न होटल र सार्वजनिक स्थानहरुमा सीमित र विशिष्ट व्यक्तिको सहभागितामा श्रमिक महिलाका विषयमा चर्का कुरा गरिन्छ । जसको आवाज सुन्नुपर्ने हो, उनीहरु दिवसकै बारेमा बेखबर भइरहन्छन् ।

घरको घेरा भन्दा केही बाहिर आउँदै महिला
सानातिना काम गरेर छाक टार्नेका लागि नारी दिवस होस् या अन्य कुनै दिवस, काम गर्नु महत्वपूर्ण हुन्छ । कुनै समय यस्तो थियो, विशेष गरेर नेपाली नारी घर भित्रका काममा मात्रै सीमित हुन्थे । घरका सबै काम सक्काएर परिवारलाई खाना बनाउनु, घरको चुलोचौकोमा सीमित हुनु अधिकांश महिलाहरुको नियमित दैनिकी हुन्थ्यो । तर, अहिले केही हदसम्म दैनिकी, अवस्था र सोचमा बदलाव आएको छ । चुलोचौको र घरको काम मात्रै होइन, उनीहरु केही पेसा अपनाएर आत्मनिर्भर हुन थालेका छन् । आफ्नो र परिवारको खर्च टारेर आफूलाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनेर उभ्याउन सफल बनेका उदाहरण अहिले हाम्रो समाजमा प्रशस्तै देखिन थालेका छन् ।

दिल कुमारी थापामगरको दैनिकी बिहान ४ बजे सुरु हुन्छ । पोखरा फुलबारीमा मासु व्यवसाय तथा खाजा घर सञ्चालन गरेकी छिन् उनले । धेरै वर्ष अगाडिबाटै यो व्यवसाय सञ्चालन गरेकी थिइन् । पोखराकै नागढुंगामा खाजाघर सञ्चालन गरेकी उनले पछि फुलबारीमा बसाई सरेपछि भने मासु पसल समेत सञ्चालन गरेकी हुन् । बिहानै डिलरले ल्याइदिने मासुलाई सफा गरेर बेच्न ठीक्क पार्दा सम्म २÷३ घण्टा लाग्छ । अनि पसलमा आउने ग्राहकलाई मासुमा सन्तुष्ट बनाउने उनको मुख्य ध्येय हुन्छ । खाजाघरमा खाजा खान भने ग्राहक दिउँसो मात्रै बढी आउँछन् । त्यसैले बिहानमा मासु पसल सञ्चालन गर्न दिलकुमारीलाई कुनै कष्ट हुँदैन । साँझमा छोराछोरीले मासु विक्री गर्न र खाजाघरमा खाजा बनाउन सहयोग गर्छन् । साँझको समयमा मासुपसल र खाजाघर दुवैमा ग्राहक आउने भएकाले काम सक्काउन उनलाई हम्मेहम्मे पर्छ । त्यसैले पनि साँझ छोराछोरीले सहयोग गर्छन् उनलाई ।

नारी दिवस भन्दैमा दिलकुमारीले फुर्सद पाउँदिनन् । दिवसको विषयमा उनले केही वर्ष अगाडिबाट मात्रै जानकारी पाएकी रहेछिन् । ‘मासु विक्री गर्नै प¥यो, खाजा खान आएकालाई बनाइदिनै प¥यो,’ उनी भन्छिन्, ‘नारी दिवस भनेर पसल बन्द ग¥यो भने ग्राहक भड्किन सक्छन्, अनि व्यापार व्यवसाय चौपट हुन्छ कि भन्ने डर ।’ दिवसमा जाँदा व्यापार नभएर खर्च कसरी टार्ने भन्ने चिन्ताले सताउने उनले बताइन् । हुन त उनको श्रीमान पनि पोखरामै मासु पसल सञ्चालन गर्छन् । तर, उनलाई बसेर खानुभन्दा काम गर्नु उचित लाग्छ । त्यसैले श्रीमानको मात्रै भर नगरेर आफ्नै व्यवसाय सञ्चालन गर्छिन् । यही व्यवसाय गरेर उनले बालबच्चा र आफ्नोसहित परिवारको समेत खर्च टार्छिन् । आत्मनिर्भर छिन्, काम गर्न सक्छिन्, उनको लागि यो महत्वपूर्ण र ठूलो विषय हो ।

आत्मनिर्भर र कर्मशील बाटोमा महिला
काम सानो र ठूलो भन्ने हुँदैन । मेहनतका साथ गरेको खण्डमा जुनसुकै कामबाट सफलता प्राप्त गर्न सकिन्छ । पोखरामा अहिले सानातिना व्यापार÷व्यवसाय, चटपट व्यापारी लगायतमा नियाल्ने हो भने महिला देख्न सकिन्छ । कुनै समय चटपट व्यवसायको क्षेत्रलाई भारतीय नागरिकले ओगेटेको भेटिन्थ्यो पोखरामा । तर, अहिले समय परिर्वतन भएको छ । नेपाली महिलाले चटपट व्यापार गरेर मनग्य आम्दानी गरेको उदाहरण प्रशस्तै छन् यहाँ । कुरा यत्ति हो, कुनै पनि काम गरेर खान लाज मान्न र हिम्मत हार्नु हुँदैन । सानै व्यवसायबाट समेत आम्दानी गरेर आत्मनिर्भर हुन सकिन्छ, परनिर्भर भएर बाँच्नु पर्ने अवस्था आउँदैन । नारीले यस्तो काम गर्न हुँदैन, चुलोचौको र बालबच्चा सहित परिवार सम्हालेर बस्ने हो भन्ने सोँच राख्ने नेपाली समाज विस्तारै परिर्वतन हुन थालेको छ । नारी पनि पुरुष सरह काम गरेर उच्च स्थानमा पुगेका उदाहरण थुप्रै छन् ।

५४ वर्षीय कुमारी नेपाली लेकसाइडमा झिरको व्यवसाय गर्छिन् । दिउँसो करिब २÷३ बजेबाट उनको दैनिकी सुरु हुन्छ । बंगुर, राँगो, कुखुराको मासुको झिर पोलेर बिक्री गर्छिन् । उमेरले अब आराम गर्नुपर्छ, बसेर खानुपर्छ भन्छ, उनको भने मन मान्दैन । हरेक दिन लेकसाइडमा आउँछिन्, झिर बनाउने भाँडामा मासु पोल्दै बेच्दै गर्छिन् । यो उमेरमा पनि उनलाई बसेर खान पटक्कै मन मान्दैन । त्यसैले, तालको छेउमा पर्यटक आउने बाटो हेर्दै बिक्री झिर पोलेर बिक्री गर्न उनी तम्तयार भइरहेकी हुन्छिन् । उनको यो व्यवसायमा कमाई ठ्याक्कै यत्ति हुन्छ भन्ने हुँदैन । तर, घर चलाउन त्यति दुःख छैन । छोराले अन्य काम गरेपनि बुहारीले भने चटपट बेच्छिन् । कथालिकाले कुमारीसंग कुरा गरिरहँदा उनी छेउँमा बसेर सासुको कुरा सुनिरहेकी थिइन् । तर, बोल्न भने अफ्ठ्यारो मानिन् । कुमारीले यसरी मासुको झिर बनाएर बेच्न सुरु गरेको ७ वर्ष पुग्यो । यो भन्दा पहिले अर्कै स्थानमा व्यापार गर्थिन् । त्यहाँ अर्कै व्यवसायीले सोही व्यवसाय सुरु गरेपछि मात्रै फेवातालको छेउमा सरेकी हुन् । कुमारी झिर बेचेर आम्दानी राम्रो नभएपनि छ्या भन्ने अवस्था नभएको बताउछिन् । कुमारीलाई उनलाई पानी भने नपर्दियोस् भन्ने लाग्दो रहेछ । किनकि पानी परे आम्दानी नहुने रहेछ ।

‘अरुकै आम्दानीमा भर पर्दा महिलाहरु उपेक्षा र अपमानित’
नारी दिवसको दिन पनि धेरै श्रमिक महिला नियमित दैनिकी र कर्ममा भेटिइन् । उनीहरुको एउटै भाव सहित कथन छ–‘जीवनमा कसैको भरमा बाँच्नु नपरोस्, अरुकै आम्दानीमा भर पर्दा स्वाभिमान गुम्ने मात्र होइन, चरम उपेक्षा र अपमानित भएर बाँच्न बिबश हुनुपर्छ ।’

नारी दिवस भनेर सित्तैमा खान कसैले नदिने, बरु काम गरे केही आम्दानी हुने उनको बुझाई छ । ‘नारी दिवस भनेर के गर्नु ? काम गरे केही आम्दानी हुन्छ, घर खर्च चलाउन सहज हुन्छ,’ उनले भनिन्, ‘जे दिवस आए पनि हामीलाई केही हुँदैन, काम नगरी खान पुग्दैन, दिवस भन्दा मेरो लागि काम नै ठूलो हुन्छ ।’ नारी दिवसका अवसरमा फरक–फरक कार्यक्रम, ¥याली आयोजना भए पनि काम गरेर आफू र परिवारको छाक टार्ने महिलाका लागि यो दिवसको खासै अर्थ र महत्व नराख्ने उनको कथन छ ।

उनीहरु आफ्नो दुःख कष्टलाई भुल्दै केही काम गरेर आत्मनिर्भर हुँदै अगाडि बढिरहेका छन् । उनीहरुको एउटै ध्येय छ–सके सम्म कसैको भर पर्नु नपरोस्, आफ्नो सहित परिवारको खर्च जोहो गर्न सकियोस् । त्यसैले होला नारी दिवस भन्दै विभिन्न पाँच तारे होटलमा विभिन्न कार्यक्रम आयोजना गरेर नारीको हकअधिकारका विषयमा जोडतोडले बहस चलिरहँदा उनीहरुलाई आफ्नै ध्याउन्न हुन्छ, काम गर्ने र परिवारको समस्या समाधान गर्ने । यसैमा उनीहरुको खुसी निहित हुन्छ । हरेक वर्ष आउने यो दिवसमा सानातिना काम गर्ने महिलाको कुनै कार्यक्रममा सहभागिता हुँदैन । काममा व्यस्त हुने कतिपय महिलालाई त यो दिवसका विषयमा जानकारी समेत हुँदैन । जानकारी भए पनि महत्व दिँदैनन्, दिन पाउँदैनन् । उनीहरुका लागि नारी दिवसभन्दा परिवार र उनीहरुको दुःख र दैनिकी महत्वपूर्ण हुन्छ । त्यसैले कामलाई निरन्तरता दिन्छन् ।

उमेर बल्ल २४ वर्ष पुगिन् सीता पौडेल । तर, उनको जीवनमा दुःखका पहाड छन् । कास्कीकै अन्नपूर्ण गाउँपालिका अन्तरगत पाउँदुरकी उनले १ वर्ष भयो लेकसाइडमा कुल्फी र आइसक्रिम व्यापार गर्न थालेको । घर पाउँदुर भएपनि पोखराको नारेश्वर चोकमा बस्छिन् सीता । ५ वर्षको छोरा छन् उनको । आफ्नी आमा पनि साथमै बस्छिन् । आफूसहित छोरा र आमाको खर्च सबै उनले हेर्नुपर्ने हुन्छ । उनको कमाई भने कमिसन र जति व्यापार गर्न सक्यो त्यसैमा भर पर्ने रहेछ । उनको हिसाबमा हरेक दिन करिब १ हजार जति उनको कमाई हुन्छ । यति मात्रै होइन, विहानमा उनले चिया समेत बेच्छिन् । त्यसैले उनलाई घरखर्च टार्न सहज भएको छ । विहानमा चिया र दिउँसोमा लेकसाइडको सुन्दरतामा हराउन आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आइसक्रिम र कुल्फी बेच्नु उनको दैनिकी हो । छोराको जिम्मा उनको आमाको हुन्छ । यही कामबाट उनको घरखर्च मज्जाले टर्छ । १९ वर्षको उमेरमा विवाह गरेकी उनको अहिले भने डिभोर्सको प्रक्रिया चलिरहेको रहेछ । त्यसैले उनले चिया सहित आइसक्रिम र कुल्फी बेच्न थालेकी हुन् ।

श्रीमानबाट उनीसहित उनको छोराको लागि कुनै सहयोग छैन । सधैं अरुको भरमा बाँच्नु भन्दा सानो भए पनि आफैं केही गर्छु भन्ने सोचले उनले यो काम सुरु गरेकी थिइन् । ‘घर खर्च मज्जाले चल्छ, मेरो, छोरा र आमाको खर्च धानिरहेको छु,’ उनले खुसीको भावसहित भनिन्, ‘श्रीमान् सँग सम्बन्ध राम्रो भएन के गर्नु ? अब रोएर मात्र त बस्नु भएन । त्यसैले आफैं काम गरेर अगाडि बढ्ने कोसिसमा छु ।’ नारी कमजोर हुँदैनन् भन्ने उनको बुझाई छ । आँसुलाई शक्तिमा बद्लेर अगाडि बढ्नुपर्छ भन्ने सीता सोच्छिन् । आफू पनि सोही सोँच राखेर अगाडि बढिरहेकी छिन्, आत्मनिर्भर भएकी छिन् । ‘दुःख, पीडा भन्ने जीवनमा आउँछन्, जान्छन्, तर जीवनका पाइला रोकिनु हुँदैन ।’ उनी भन्छिन्, ‘महिला कुनै हालतमा कमजोर हुँदैनन्, आत्मनिर्भर बन्ने बाटो धेरै हुन्छन्, कुन बाटोलाई रोज्ने भन्ने आफूमा निर्भर हुन्छ ।’ नारी दिवसको अवसरमा उनको यत्ति भनाई छ, ‘नारी आफैंमा शक्तिशाली छिन्, आफ्नो लागि आफैं गर्नुस्, सधैं अरुको भर गरेर कुनै पनि महिला नबस्नुस् । त्यसले उपेक्षित र अपमानित हुनुपर्छ । सानो, ठुलो काम गर्न लाज मान्नु हुँदैन ।’

२०७९, २४ फाल्गुन बुधबार ०६:४०
कथालिका नयाँ कथा
कथालिका