‘दाहसंस्कार’ भैसक्यो तर, जीवितै छन् फिन्जू भोटे – कथालिका

‘दाहसंस्कार’ भैसक्यो तर, जीवितै छन् फिन्जू भोटे

  • आफ्नो नाम, ठेगानाबारे फिन्जू अहिले पनि बेखबर जस्तै छिन् । नाम ठेगानाबारे मात्रै होइन, उनी आफ्नै मृत्यु, दाहसंस्कार, काजकिरिया भइसकेको बारे समेत बेखबर छिन् ।

यो शहरमा असफल, बेवारिसे र फकिर जीवन व्यतित गर्नेहरु सयौं छन् । चाहे त्यो कुनै घटना, परिघटनाका कारण होस् या अरु बिभिन्न बाध्यता, बिबशता र परिवन्दले । यस्तै बिबशतामा बाँचिरहेकी मनाङकी फिन्जू भोटेको जीवन मृत्युको कथा पनि कुनै चलचित्रको कथानक भन्दा कम छैन ।

एक्लो भएरै कैयन वर्ष बाँचिरहेकै थिइन् । फेरि एक्लो भएरै दुई वर्ष गुमनाम भइन् । गुमनाम हुँदा गाउँले र आफन्तले पुरानो परम्परा अनुसार उनको अन्तिम दाह संस्कार समेत गरिसकेका छन् । यद्यपि, उनी अझै जीवितै, त्यो पनि यही देशको संघीय राजधानी काठमाडौं शहरमा छिन् । सुन्दा सम्म पनि शरीरमा काँडा फुल्ने यस्तो आखिर कसरी भयो ? यसको फेहरिस्त लामो र दर्दनाक छ ।

नाम फिन्जू भोटे, उमेर ७०, घर नेस्यङ्ग गाउपालिका वडा न.९ मनाङ । यद्यपि, आफ्नो नाम, ठेगानाबारे फिन्जू अहिले पनि बेखबर जस्तै छिन् । नाम ठेगानाबारे मात्रै होइन, उनी आफ्नै मृत्यु, दाहसंस्कार, काजकिरिया भइसकेको बारे समेत बेखबर छिन् ।

बिक्षिप्त अवस्थामै घुम्दै फिर्दै काठमाडौं

मनाङबाट लमजुङ हुँदै केही वर्ष अघि काठमाडौं छिर्दा उनको न कुनै सपना थियो, न त कुनै गन्तव्य । मानसिक रुपमा बिक्षिप्त र कमजोर उनी सडकमा भेट्ने कसैले कहाँ जाने भनेर सोध्दा काठमाडौं भन्थिन् । फलतः कुनै सहयोगी मन भएकाहरुकै सहयोगमा काठमाण्डु आइन् पनि । तर, उनीसँग काठमाडौं बस्ने, खाने न केही थियो, न त साथ, सहारा दिने कोही थिए । कैयन समय काठमाण्डौं स्वयम्भु स्थित बौद्ध पार्क सेरोफेरोमा रात बिताए ।

उनलाई चिन्ने मनाङे र मानवताको मूल्यबोध गर्नेहरुको सहयोग, रेखदेखमा त्यही राखियो पनि । तर, डुल्दै घुम्दै हिँड्ने बानी परेकी फिन्जु कोरोना कालमा त्यहाँबाट हिँडे । उनलाई चिने जानेकाहरुले सर्वत्र खोज तलासको पहल प्रयास गरे, कतै फेला पार्न सकेनन् । सार्वजनिक रुपमा हराएको सूचना गरे, पनि उनको अवस्थाबारे कुनै पत्ता नलागे पछि स्थानीय र आफन्तले फिन्जूको बौद्ध परम्परा अनुसार अन्तिम दाह संस्कार समेत गरेको मनाङ नेस्यङ्ग गाउपालिका वडा न.९ का वडा अध्यक्ष छोल्पा गुरुङ बताउँछन् । तर, यसबारेमा अहिले सम्म फिन्जूलाई थाहा दिइएको छैन ।

नाजुक हालतमा अनामनगरबाद्ध उद्धार

फिन्जु भोटे काठमाडौं अनामनगरमा बेवारिसे नाजुक अवस्थामा थिइन् । सडकमा हिँडिरहेका कोहीले उद्धारका लागि मानव सेवा आश्रम गुहारे पछि आश्रमका अभियन्ता आएर २०७८ श्रावण २५ गते उनको उद्धार गरिएको थियो ।

आश्रममा ल्याए पनि शारीरिक र मानसिक समस्या दुवै भएकाले उनको भाषा बुझ्नै सकस भएको आश्रमकी अभियन्ता सुमिरा लामा बताउँछिन् । ‘आश्रममा ल्याएर नुहाइ धुवाई, सरसफाई, स्वास्थ्य चेकजाँच, उपचार गरायौ, तर गाउँ ठाउँ, परिवार आफन्त केही पत्ता लगाउन सकेका थिएनौ,’ लामाले भनिन्, ‘आश्रममा ल्याएको १ वर्ष ७ महिनामा आश्रममा एउटा फोन आयो । त्यो फोन कलमा आश्रममा उद्धार गरेर राखिएकी आमाको घर मनाङ भएको र परिवारमा कोही नभएको जानकारी भयो ।’

अनि जीवितै रहेको थाहा पायौं…

लामालाई आमाको बारेमा पहिलो पटक जानकारी दिँदै फोन गर्ने व्यक्ति थिए मनाङ नेस्यङ्ग गाउपालिका वडा न.९ का वडा अध्यक्ष छोल्पा गुरुङ ।

केही समय अगाडि आश्रममा बसिरहनु भएका आमाहरुको तस्विर फेसबुकमा राखिएको थियोे । त्यसदिन आश्रममा पुगेका थिए नेपथ्य व्याण्डका चर्चित गायक अमृत गुरुङ । मानवताका लागि संगीत अभियान चलिरहेका बेला मानव सेवा आश्रमको काठमाण्डौं रानीवन पुगेका गुरुङको फोटोले भन्दा मनाङ नेस्यङ्ग गाउपालिकाका स्थानीयलाई उनकै अघि देखिएको एक आमाको तस्बिरले ध्यान तान्यो । उनी थिए फिन्जु भोटे । जो एक्कासी लामो समय सम्पर्कविहीन भए पछि अन्तिम दाह संस्कार समेत गरिसकिएको थियो ।

तस्बिर देखे पछि मानव सेवा आश्रम पुगेका मनाङ नेस्यङ्ग गाउपालिका वडा न।९ का वडा अध्यक्ष छोल्पा गुरुङ लगायत ।

फेसवुकमा आमाको तस्बिर देखेर आफ्नै गाउँ ठाउँको भएको जानकारी र सहयोग गर्न मानव आश्रमको नम्बर खोजेर फोन गरेको वडा अध्यक्ष गुरुङले बताए । ‘तपाइँहरुले फेसवुकमा राखेको फोटोमा देखिएका एक आमाको नाम फिन्जु भोटे हो । उहाँ मनाङ जिल्लाको आमा हुनुहुन्छ मिस भन्नुभयो,’ आश्रमकी अभियन्ता लामा भन्छिन्, ‘त्यस पश्चात उहाहरुलाई आश्रम बोलायौ र १ वर्ष ७ महिना पश्चात् बल्ल आमाको नाम, ठेगाना बारेमा हामीहरुले पनि जान्ने अवसर प्राप्त भयो ।’

वडा अध्यक्षले गरे सहयोग, भत्ता पनि दिलाउने
फेसवुकमा तस्बिर देखेर आश्रममा सम्पर्क गरे पछि आश्रमका अभियन्ता पनि केही उत्साहित भए । अभियन्ता लामाले वडा अध्यक्षलाई आश्रममा निम्तो समेत दिइन् । केही सातामा मनाङ नेस्यङ्ग गाउपालिका वडा न.९ का वडा अध्यक्ष छोल्पा गुरुङ आश्रम आइपुगे । उनीहरुको बिचमा आफ्नै भाषामा कुराकानी समेत भयो । आमाले आफ्नै भाषामा आफुलाई धुप हाल्न नदिएको बताएको वडा अध्यक्ष छोल्पाले जानकारी दिए । ‘मलाई मनाङ जान मन छ, त्यहाँ पनि धुप हाल्न बोलाएका छन्, यहाँबाट जान दिदैनन्,’ फुन्जीको भनाई उदृत गर्दै अध्यक्षले भने । यसले उनको मानसिक समस्या अझै ठीक भइनसकेको देखिएको अध्यक्ष छोल्पाले बताए ।

आमालाई उद्धार गरेर राम्रोसँग व्यवस्थित हिसाबले राखेको पाए पछि वडाको तर्फबाट ५० हजार, आफ्नो व्यक्तिगत तर्फबाट ७ हजार, अरु साथिहरु समेतबाट ५ हजार गरेर ६२ हजार आश्रमलाई स–प्रेम अर्पण गरेका थिए । आफ्नो वार्डका ज्येष्ठ नागरिक आश्रममा रहेको जानकारी पाए लगत्तै आएका अध्यक्षमा असली जनप्रतिनिधिको दायित्व र परोपकारी भावना पनि उत्तिकै पाएको मानव सेवा आश्रमकी अभियन्ता लामा बताउँछिन् । अध्यक्ष छोल्माले अब आमाको ज्येष्ठ नागरिक भत्ताको कार्ड समेत बनाएर नियमित भत्ता पाउने व्यवस्था समेत गरिदिने बताए । ‘मैले ज्येष्ठ नागरिक परिचय पत्र बनाइदिसकेको छु । अब बैंकमा खाता खोलेर मानव आश्रम सेवाको जिम्मा लेखाइदिन्छु,’ अध्यक्ष गुरुङले भने, ‘मासिक ४ हजार रुपैयाँले धेरै नभए पनि आमा स्वयंम्को स्वास्थ्य उपचारमा भए पनि सहयोग पुग्नेछ ।’

‘परिवार विहीन फून्जीको अब आश्रम नै परिवार’
मनाङ देखि आमा कसरी यो शहरमा आउनु भयो त ? वडा अध्यक्ष छोल्पा गुरुङ परिवारमा एक्लै रहेको र पहिलदेखि नै केही मानसिक समस्या भएकाले भौतारिँदै काठमाडौंसम्म आएको बताउँछन् । उनका अनुसार परिवारका सबै जनाको मृत्यु भइसकेको छ । ‘उहाँका एक अविवाहित दाजु थिए, केही वर्ष अघि मृत्यु भयो । फिन्जु आमा पनि अविवाहित हुनुहुन्छ । गाउँमा रहँदा पनि प्रायशः बन जंगलमा डुल्ने गर्नुहुन्थ्यो । घर गाउँ तिर त महिना दिन जसोमा मात्रै आउनुहुन्थ्यो,’ उनले भने, ‘पैदल यात्रा गरेर धेरै ठाउँ पुग्नुहुन्थ्यो, पछि बिभिन्न व्यक्तिको सहयोगमा काठमाडौं पुग्नुभएको रैछ, त्यहाँ पनि चिनेजानेकाले सहयोग गरेका थिए, पछि सम्पर्कविहिन भएर दुई वर्षदेखि हराए पछि दाह संस्कार गरिएको हो ।’

परिवारमा कोही नभएकाले अब आश्रमले नै आमाको हेरचाह, खानपानदेखि स्वास्थ्य उपचार सबै गर्ने लामा बताउँछिन् । फिन्जुको आँखामा गम्भिर समस्या भएकाले आँखाको ३० हजार रुपैयाँ खर्च गरेर अप्रेशन समेत गरिएको छ ।

‘आँखाकै दुखाईका कारण हो कि पहिले त रिसाउने, झर्किने गर्नुहुन्थ्यो, अहिले अप्रेशन सफल भए पछि उहाँको स्वास्थ्यमा पनि धेरै सुधार भएको छ,’ आश्रमकी अभियन्ता सुमिराले भनिन्, ‘छुट्टै भाषा बोल्ने भएकाले हामीले बुझ्न सक्दैनौ तर स्वास्थ्यमा पहिलेको तुलनामा धेरै सुधार आएको छ, अब आश्रम नै उहाँको परिवार भएको छ ।’

आश्रमबाट फर्किनै लाग्दा अभियन्ता लामाले कथालिकासँग घत लाग्दो कुरा भनिन्, ‘जसको केही छैन, जसको कोही छैन, त्यसको लागि त मानव सेवा आश्रम छ, हामी स्वयंसेवी छौ नि ।’

२०७९, २९ फाल्गुन सोमबार ०९:२०
कथालिका नयाँ कथा
कथालिका