दुःखको पहाड चढेका एक ‘भुइँमान्छे’ – कथालिका

दुःखको पहाड चढेका एक ‘भुइँमान्छे’

  • दिनभर लखतरान हुने गरेर काम गर्नु र रातमा आएर काम गर्दाका दुःख र पीडालाई शब्दमा कोर्नु वर्षौंसम्म इन्द्रको दैनिकी थियो ।

विहान सवेरै घडीमा ५ बज्दा नबज्दै उठेर हतार हतारको नियमित दैनिकी, करिब ६ दशक पार गर्न लागेको उमेर, सधैंको दुःख, संघर्ष, हण्डर ठक्करका बाबजुद पनि गन्तव्य खोज्दै हिँड्न नछोडेका एक अथक यात्री ।

स्याङ्जा हरिनास गाउँपालिकाका क्याक्मीका इन्द्र राना ‘प्रतिक’को अनुहारको चमक र बोली सुन्दा लाग्छ, उनलाई जीवन प्रति कत्ति गुनासो छैन । पोखराको विन्दवासिनी मन्दिरमा बिहानको ठ्याक्कै ६ बजे पुग्नु उनको ड्युटी हो । जहाँ उनले केही महिना यता मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीले ल्याएको नरिवल फुटाल्ने काम गर्छन् । विन्दवासिनी मन्दिरमा दर्शनार्थीले लिएर आएका नरिवल फुटाउने र छोडेर गएका नरिवलको टुक्राटाक्रीलाई मन्दिरमा प्रसाद बनाउनमा नै उनको दैनिकी बित्छ ।

पोखराकै सिम्पानी भन्दा कही तल गाइघाट भन्ने स्थान छ । जहाँ एउटा सानो कोठालाई उनले आफ्नो बासस्थान बनाएका छन् । कोठामा एक्लै बस्छन्, र पनि उनलाई गुनासो छैन आफ्नो भविष्य र भाग्य प्रति ।

कवि उनको भिन्न परिचय । यद्यपि, ओझेलमा परिरहेका उनका कविता अनेकन अभावका बाबजुद पृथक र पारंगत जस्ता लाग्छन् । इन्द्रले कविता मात्रै होइन, फुटकर रुपमा कथा, समेत लेख्छन् । यति मात्रै होइन, उनले हिन्दी भाषामा समेत आफ्ना रचना भारतमै प्रकाशित गरेका छन् । जति मिठो इन्द्र लेख्न सक्छन् र अनुभूति गर्छन्, उनलाई लागेन उनको जीवन त्यस्तै मिठो छ भनेर । त्यसैले होला जीवनमा आइपरेका अनेक दुःख र चुनौतीका पहाड, जसलाई उनी एक्लै पार गर्ने प्रयासमा छन् अझै ।

भारतमा जन्म, नेपालमा संघर्ष

धेरै युवा नेपालमा जन्मिएर विदेशमा संघर्षरत छन् । तर, इन्द्रको जीवनको यात्रा ठिक उल्टो छ । उनी भारतमा जन्मिए, जीवन दैनिकीका लागि नेपालमा संघर्षरत छन् । भारतमा वाटर सप्लायरमा काम गर्ने भएकाले बाबाआमा उतै बस्थे । त्यही बेलामा उनको जन्म भारतकै मेघालयमा भयो । बुबाले त्यो समयमा भारतमा वाटर सप्लायरमा काम गर्थे ।

नेपाल आएपछि उनलाई दुःखले पछ्याउन छोडेन । पडाइ छोडेपछि भारतमा हुँदै उनले काम गर्न सुरु गरिसकेका थिए । यहाँ आएपछि परिवार पाल्न झन् उनले काम गर्नै पर्ने बाध्यता आइलाग्यो । पत्र मार्फत् भारतमा आफ्नो रचना पठाए पनि आर्थिक लाभ हुँदैनथ्यो । यहाँ आएर पनि पोखराका थुप्रै स्थानीय पत्रपत्रिकामा आफ्नो रचना प्रकाशित गरे । तर, अहिलेसम्म कुनै स्थानीय पत्रपत्रिकाबाट आफूले पारिश्रमिक नपाएको इन्द्रले बताए । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले भने आफूलाई केही हदसम्म पारिश्रमिक दिएको इन्द्र बताउँछन् । कुनै प्रतियोगिता आयोजना भएको अवस्थामा उनी भाग लिएर जितेका छन् । कहिलेकाही त्यसबाट थोरै आम्दानी हुन्थ्यो । नत्र उनलाई सधैं आर्थिक अभावले सताइरह्यो । कुनै प्रतियोगितामा हारेका पनि छन् । हारेपछि इन्द्रले बल्ल बुझ्थे, सर्वव्यापी भएर लेख्नुपर्ने रहेछ । अहिले इन्द्रले त्यस्ता प्रतियोगितामा भाग लिन छोडेका छन् । ‘उमेरले पनि साथ दिंदैन, पाको उमेर भयो, शरीरमा ताकत छैन प्रतियोगितामा भाग लिन ।’ इन्द्र भन्छन्, ‘जीवन धान्न काम गर्नै पर्ने, काम गर्दा प्रतियोगितामा गइरहन भ्याउँदिन आजभोलि ।’

नपढेको सदैव खसखस

भारतमै हुँदा इन्द्रले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । उनी जहाँ जन्मिए, त्यहाँ कक्षा ५ सम्म मात्रै अध्ययन गरे । त्यसबेलामा पढाइलाई निरन्तरता दिन नसके पछि कापीका पानामा कथा, कविता लगायतका रचना उतार्थे । तर, लेख्ने आदत एक दिन उनको जीवन जिउने साहारा बन्ने छ भन्ने उनले कहिले सोचेका थिएनन् । एक समय भारतमा नेपालीलाई बस्न नदिने अभियान चलेको थियो । सोही समयमा उनको परिवार नेपाल आयो । ‘हामी लखेटिएर आएका त होइनौं, तर बाध्यता र परिस्थिति त्यस्तै बनिदियो, अनि नेपाल आयौं,’ इन्द्रले भने । नेपालमा आएपछि पढ्न पाइन्छ कि भन्ने इन्द्रको आशा थियो, त्यसो हुन सकेन । नेपाल आइसकेपछि विद्यालय भर्ना भएका पनि हुन् इन्द्र । बिडम्बना, पढ्न सकेनन् । अहिले पनि इन्द्रलाई त्यो बेलामा पढ्ने कोसिस अmभै गर्नुपर्ने रहेछ भन्ने पछुतो र खसखस लागिरहन्छ, सम्भवतः त्यो जीवनभर लागिरहनेछ ।

भारतमा पढ्दा उनको एक जना साथी थिए वीरेन्द्र तुम्बाफे ‘प्रतिक’ । इन्द्रसंगै उनी एउटै कक्षामा पढ्थे । पछि केही कारणवस वीरेन्द्रले विद्यालय परिवर्तन गरे । विद्यालय परिर्वतन गरेपछि वीरेन्द्र लेखक भएर उदाएछन् त्यो समयमा । हुन त इन्द्रले कथा, कविता, उपन्यास लगायत हिन्दीमा पढिरहन्थे । किताब पढ्दा कहिलेकाही इन्द्रले आफ्नो मनमा लागेका भावनालाई कविताका रुपमा कोर्थे । इन्द्रका अनुसार सो कविता एकदिन सोही साथी वीरेन्द्रले देखेछन् र भनेछन्, ‘खोइ त यस्तो राम्रो छ, यसलाई पत्रपत्रिकामा प्रकाशित गर्नुपर्छ, छापिन योग्य छन् म लगेर छापिदिन्छु ।’ अर्को महिना दिलबहादुर नेवार भन्ने व्यक्तिको पत्रिकामा पहिलो पटक उनको कविता छापियो । ‘अहिले मलाई त्यो पत्रिकाको नाम याद छैन ।’ इन्द्रले भने, ‘पत्रिकामा आफ्नो नाम आएपछि सुरुमा त म छक्क परेको थिएँ ।’ त्यसपछि भने वीरेन्द्रले इन्द्रलाई पत्रिकामा आफ्नो लेख रचना पठाउने तरिका समेत सिकाएछन् । पछि उनले सोही पत्रिकामा हिन्दी भाषामा नियमित रुपमा लेख रचना पठाउन थाले । अहिले उनले नेपाली र हिन्दीमा लेखिरहन्छन् । इन्द्रका केही रचना भने प्रकाशित हुँदैनथ्यो । ‘प्रकाशित गर्न योग्य नभएर होला, कुनै–कुनै रचना प्रकाशित भएनन्,’ इन्द्र भन्छन् ।

नेपाल आइसकेपछि पनि इन्द्रले दार्जलिङ, आसाम लगायतका स्थानबाट प्रकाशित हुने पत्रपत्रिकाका लागि रचना पठाउँथे, जसमा थोरै मात्र प्रकाशित हुन्थ्यो । यहाँ आइसकेपछि उनलाई नेपालको विषयमा धेरै कुरा जान्ने इच्छा थियो । महंगो पुस्तक किनेर पढ्न इन्द्रसंग पैसा हुँदैनथ्यो । एकदिन पुस्तक पसलको वरपर आफ्नो नजर घुमाइरहेका थिए, त्यहाँ इन्द्रको नजर गायिका हरीदेवी कोइरालाको कविताको पुस्तकमा प¥यो । ‘त्यो पुस्तक मलाई निकै आकर्षक लाग्यो, यसले मलाई धेरै ज्ञान दिन्छ कि भन्ने महसुस भयो,’ उनी सम्झिन्छन्, ‘त्यो पुस्तक किनेर पढें, त्यसपछि मात्रै मैले साहित्यमा त विचारको लडाईं पो हुने रहेछ भन्ने राम्रोसंग बुझेँ ।’ त्यसपछि मात्रै आफूले वैचारिक रचना लेख्न सुरु गरेको इन्द्र बताउँछन् । अहिले उनी समाज, देश लगायतका विषयमा चिन्तन गरेर लेख्ने गर्छन् ।

जीवन चलाउन दैनिक ८० रुपैयाँमा ज्याला मजदुरी
लेखेर, आफ्नो रचना पत्रपत्रिकामा प्रकाशित गरेर मात्रै उनलाई दैनिकी चलाउन सहज थिएन । दैनिकी चलाउनै धौधौ भइरहेको अवस्थामा व्यावसायिक बन्न समयले इन्द्रलाई साथ दिएन । पैसा नहँदा कुनै बेला कोठाको भाडा तिर्न नसक्ने अवस्था आयो । त्यसैले उनले ज्याला मजदुरीको काम सुरु गरेका थिए । ज्याला मजदुरीको काम गर्नु पक्कै सहज होइन, इन्द्रका लागि यो काम सहज थिएन । तर, जीवन धान्नै पर्ने र परिवारको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले उनले यही पेसालाई अपनाए । वर्षौंसम्म इन्द्रले बन्दै गरेको घरमा मिस्त्रीको रुपमा, रङ लगाउने, गारो लगाउने, गिट्टी र ढुंगा फोर्ने लगायत सबै काम गरेका छन् । उनले ज्याला मजदुरी सुरु गर्दा दैनिकी काम गरे बापत् आम्दानी दैनिक ८० रुपैयाँ थियो । इन्द्रका अनुसार उनले मनिपाल हस्पिटलको भवन बन्दै गर्दा त्यहाँ काम गरेका थिए । यही पेसाबाटै उनले आफ्नो सन्तानलाई शिक्षा प्रदान गरेका छन् । उनको ४ जना सन्तान छन् । दुःखको अवस्थामा समेत उनलाई विदेश गएर धन कमाउनु पर्छ भन्ने कहिले लागेन । दुःखजिलो गरेरै भए पनि उनलाई पोखरामै बस्नु थियो । आर्थिक अभावले थलिएको अवस्थामा समेत हार खाएनन्, नेपालमै बसे, लेख्न र अध्ययन गर्न छोडेनन् । यस्तै दुःख र पीडाले नै लेख्न झन् उत्प्रेरित गरेको इन्द्र बताउँछन् ।

दिनभरी लखतरान हुने गरेर काम गर्नु र रातमा आएर काम गर्दाका दुःख र पीडालाई शब्दमा कोर्नु वर्षौंसम्म इन्द्रको दैनिकी थियो । कामबाट थकित भएर आउँदा पनि थकानले उनका कलम र भावनालाई रोक्न सकेनन् । ‘लेख्न ठ्याक्कै यही समय भन्ने हुँदैन, जस्तै थाके पनि लेख्न मनमा भावना आउँथ्यो, त्यही भावना शब्दमा रुपान्तरित हुन्थ्यो,’ उनी भन्छन्, ‘जस्तै दुःख र पीडा भए पनि रचना गर्न छोड्न सकिएन ।’ उनलाई लाग्छ, केही लेख्न खोज्ने हो भने पढ्नुपर्छ । त्यसैले त दिनभरी मजदुरी गरेर आउँदा पनि उनले पढ्न छोडेनन् । निरन्तरको दुःख र पीडामा पनि उनले नेपालीमा उल्था गरिएको विभिन्न देशका साहित्यिक किताब पढेका छन् । आखिर उनलाई परिवारको रेखदेख गर्नु नै थियो । ‘काम गर्नै प¥यो, लेखेर परिवार पाल्छु भन्नु सहज छैन, कि व्यापारी बन्नुप¥यो, कि व्यवसायिक लेखक नै बन्नुप¥यो ।’ उनले भने, ‘त्यसरी लेख्न हामी जस्ताले सकिदैन,’ उनले भने । यद्यपि, अहिले उनको कविताको पुस्तक बजारमा आउने क्रममा छ ।

चोट माथि चोट
४ जना सन्तान भए पनि उनीहरुको आ–आफ्नै बाटोमा अगाडि बढिरहेका छन् । सिम्पानीको गाइघाट भन्ने स्थानमा इन्द्र एक्लै बस्छन् । इन्द्रलाई यसमा गुनासो छैन । ठूलो छोराले चित्र कोर्छन्, १ जना छोरीको विवाह भइसकेको छ भने एउटा छोरा र छोरीले पढ्दैछिन् । विवाह गरे पनि उनलाई सुख भएन । २ वटा विवाह गरे पनि उनलाई दुवै श्रीमतीले बिचमै छोडेर संसार त्यागे । ‘भाग्यको लेखा भन्दै चित्त बुझाउनुको अर्को विकल्प छैन ।’ नियास्रो हुँदै इन्द्रले भने, ‘अहिले म एक्लै बस्छु, कहिलेकाही कोठामा जुठो भाँडा बाटाभरी थुप्रिएको देख्दा आफैं तर्सिन्छु ।’ कहिलेकाहीं उनलाई एक्लो हुनुको पीडाले निकै सताउँदो रहेछ । कोठा र त्यहाँ भएका केही सामानले पनि आफैं जिस्क्याए जस्तो लाग्छ । हो, त्यही समयमा उनको मनमा शब्द खेल्छन् । अनि त्यही शब्द कवितामा परिर्वतन बनिदिन्छन् । मनको बह पोख्ने माध्यम अहिले इन्द्रका लागि शब्द बनेका छन् । अहिले ज्याला मजदुरीको कामबाट फुर्सद पाएका छन्, विन्दवासिनी मन्दिरमा नरिवल फुटाउने र प्रसाद बनाउने उनको दैनिकी हो । मन्दिरमा काम गर्न थालेको जम्मा तीन महिना मात्रै भएको छ ।

भादगाउँलेसँगको भेटले दिलाएको अवसर र खुसी

पत्रकार अमृत भादगाउँलेले आफ्नो बारेमा कसरी जानकारी पाए ? इन्द्रलाई ठ्याक्कै थाहा छैन । जे हुन्छ, राम्रोको लागि हुन्छ भने जस्तै भादगाउँले सँगको इन्द्रको भेट एक महत्वपूर्ण अवसर र खुसीको भएको उनी बताउँछन् । ‘खै कुनै दाइभाइसंग सोधखोज गर्नुभयो कि ?’ आश्चर्य मान्दै उनले भने । तिनै भादगाउँलेको सम्पर्कमा आए पछि उनको कविता अब पुस्तकको रुपमा प्रकाशित हुने भएको छ । केही वर्ष अगाडि कविता प्रकाशित हुने भन्ने भए पनि केही समस्याले गर्दा समय लागेको इन्द्रले बताए । उनको कविताको पुस्तक काठमाडौंमा विमोचन हुने इन्द्रले बताए । साथै, अबको केही समयमा आफ्नो एकल कविता वाचन कार्यक्रम आयोजना हुने उनले खुसी मुद्रामा खबर सुनाए ।

‘पुस्तक विमोचन र एकल कविता वाचन कार्यक्रम कहिले हुन्छ, मिति तय भएको छैन ।’ उनले भने, ‘अब छिट्टै हुनेमा आशावादी छु ।’ कहिलेकाही छोटो कथा समेत लेख्न रुचाउने उनले मौका जुरेछ भने कथा प्रकाशित गर्ने रहर भएको बताउँछन् । ‘समय र परिस्थितिले कहिलेसम्म साथ दिन्छ खै ?’ उनले भने, ‘किशोरसंग सम्बन्धित कथा लेखिरहेको छु, प्रकाशित गर्ने इच्छा छ ।’

घर बनाउने काम गर्दा धेरै पटक घाइते भए, ठूलै चोटपटक पनि लागेको छ । जब चोटपटक लागेर घाइते भए पछि केही समयमा सञ्चो हुन्छ, अनि उनलाई लाग्छ, मर्ने समय अझै आएको रहेनछ । हरेक पाइला–पाइलामा लड्दै, उठ्दै आधा जीवन त बाँचिसकेको जस्तो लाग्छ इन्द्रलाई । उनको एउटै इच्छा छ, जीवन रहुन्जेल लेख्न र पढ्न पाइयोस् । अध्ययनले मान्छेलाई स्थिर हुन र जीवन जिउन सिकाउने उनको अनुभव छ । लेखेर इन्द्र आर्थिक रुपमा सम्पन्न हुन सकेनन्, आफूले जे पाए, इन्द्र त्यसैमा रमाउन सकेकोमा खसी छन् । अब कविताको पुस्तक प्रकाशित भएपछि केही हुन्छ कि भन्ने उनको आशा छ । जुन अवसरमा उनी पहिलो पटक काठमाडौं जानेछन् । ‘अहिलेसम्म जे जति भोगे, जीवनमा जे भयो, त्यो सोचेर बस्ने फुर्सद छैन र सोच्दिन पनि ।’ उनी भन्छन्, ‘जति बाचिन्छ, त्यो समयप्रंति आशावादी छु, लेख्न र पढ्न त छोड्न सकिन्न ।’

२०७९, १२ चैत्र आईतवार ०७:०५
कथालिका नयाँ कथा
कथालिका