सती घाटुः जहाँ कन्या गीतले मुर्छित हुन्छन्,गीतले ब्युँतिन्छन् – कथालिका

सती घाटुः जहाँ कन्या गीतले मुर्छित हुन्छन्,गीतले ब्युँतिन्छन्

फोटोः राम थापा अविरल

गीत गाउँदै जाँदा जो जसलाई घाटु लाग्छ,उनीहरु मात्रै नाच्न पाउँछन् । घाटु गुरु भूजेल भन्छन्,‘घाटु नाँच भगवानको नाममा नाचिने भएकाले यसका लागि चोखो जिउ भएको कन्या चाहिन्छ । घाटुको नाच्ने भनेर हामीले छान्ने होइन भगवानले छान्ने हो । हामीले भगवानको गीत गाउँछौं, घाटु लाग्यो भने आफै आँखा बन्द हुन्छ ।’

कुनै बेला संस्कारको रुपमा स्थापित सती प्रथा नेपालमा एक सताब्दी अगाडि उन्मुलन भएर अहिले इतिहास बनिसकेको छ ।आफ्नो श्रीमानको मृत्यु भएपछि श्रीमती पनि श्रीमानको चितामा हाम फालेर आत्मदाह गर्ने प्रथा सती प्रथा हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्बत १९७७ साल असार २५ गते मुलुकी ऐन मार्फत यसको उन्मुलन गरेका हुन् । अहिलेको पुस्तालाई सती प्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै लाग्छ । तर यसको प्रतिकात्मक रुप बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानीमा अझै पनि देख्न पाईन्छ । गीतबाट मान्छे मुर्छित पार्ने र गीतबाटै मान्छे ब्युँताईन्छ भन्दा धेरैलाई लाग्न सक्छ, कुनै दन्त्यकथा सुनाईदैछ । अहिलेको युग विज्ञानको युग हो र विज्ञानले भौतिकवादलाई प्राथमिकता दिन्छ । यद्यपी हाम्रो कतिपय यस्ता संस्कार संस्कृतिहरु अझै पनि जीवित छन्-जसले अध्यात्म र भगवान छन् भन्ने कुरामा भरोसा दिलाउँछ । यसको एउटा उदाहरण हो-सती घाटु ।

सती घाटु पौराणिक धर्म ग्रन्थहरुमा आधारित रहेर गाइने गीत र त्यसैमा प्रस्तुत गर्ने नृत्य र हाउभाउ हो । अर्को शब्दमा भन्दा एक सताब्दी अगाडि नेपालमा चल्दै आएको सती प्रथाको अभिनय सहितको नृत्य हो—सती घाटु । नेपालको मगर र गुरुङ समुदायमा प्रचलित लोपोन्मुख घाटु नाँच अहिले पनि विभिन्न ठाउँमा देख्न पाईन्छ । तथापी सती घाटु करिब लोप हुने चरणमा पुगिसकेको छ । बागलुङको सिसाखानीको परिचय अहिले पनि सति घाटुले दिन्छ । छिमेकका ठाउँहरुमा पुग्यो भने—सिसाखानीमा ठूलो ओखरको रुख छ । त्यसको फेदमा घाटु नाँच्छन् । बैशाख पूर्णिमामा म पनि घाटु हेर्नका लागि त्यहाँ गएको छु भन्नेहरु धेरै भेटिन्छन् । सती घाटु करिब साढे दुई देखि तीन सय वर्षदेखि त्यहाँ चलेको विश्वास गरिन्छ । यसको ईतिहाँस खोज्दै जाँदा अहिले पाँचौं पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ । घाटु गुरु कुलबहादुर भुजेल भन्छन्,‘१९८७-८८ यताको त्यस्तै पाँच छ पुस्तासम्मको बारेमा जानकारी छ, त्यो भन्दा अगाडिको कुनै जानकारी छैन ।’

अहिले सिसाखानीमा नाँच्दै आएको घाटु जलजलाको झुलेडाँडाबाट आएको बताइन्छ । अहिले जलजलाको झुलेडाँडामा भने यो लोप भैसकेको छ । घाटु नाचमा ती सबै कुराहरु हुन्छन् जो धर्म ग्रन्थहरुमा उल्लेख गरिएका छन्, या त अहिले पनि दैनिक जीवनमा भैरहन्छन् । यो नाचको सुरुवात चैत्राष्टमी देखि शुरु हुन्छ र दशरा तिथिमा गएर समाप्त हुन्छ । यद्यपि, यो तिथि असार महिनामा पर्ने र त्यति बेलासम्म गाउँघरमा कामको माचो सुरु भैसक्ने भएकाले आजकाल जेठको २० मा घाटु नाँचको विधिवत समापन गरिन्छ । घाटु नाचको सुरु गर्दा र समापन गर्दा विधिवत रुपमा पूजा गर्नुपर्छ । चैत्राष्टमीमा शुरु भएको घाटु नाच विशेषगरी वैशाखे पूर्णिमामा धेरै नाचिन्छ । चैत देखि जेठसम्म तीन महिना मात्रै घाटु नाच नाच्ने प्रचलन रहेको घाटु गुरु भुजेल बताउँछन् । ‘चैत देशैंमा शुरु गर्छौं र जेठको २० मा पुगेर सक्छौं,’ उनले भने, ‘यसको बिचमा पर्ने सबै चाडबाडका तिथीहरुमा घाटु नाचिन्छ । त्यति गर्दा पनि गीत नसकिए अन्य समयमा पनि नाँचेर जेठमा सक्छौं । दशरा तिथी असारमा पर्ने भएका बर्खा लाग्छ काम शुरु हुन्छ ।’

घाटु गीतका मुख्य पात्र राजा पर्शुराम हुन् । उनले दैनिक जीवन गरेका र उनका रानीहरुको क्रियाकलापलाई पनि गीतमा उतारिन्छ । पर्शुरामको शिकार खेल्ने बानीको प्रस्तुति पूरै दिनभरी हुन्छ, जसलाई ऐरा खेल्ने पनि भनिन्छ । रानीहरुले विहान उठेर पँधेरामा नुहाउन गएको देखि राजाको मृत्यु पश्चात रानीहरु सती गएको कुरालाई पनि गीतैबाट प्रस्तुत गरिने भएकाले यसलाई सती घाटु भनिएको कथन छ । रानीहरु सती गएको गीत गाउँदा घाटु मुर्छित पर्छिन्, पछि गीतबाटै उनलाई ब्यूँताईन्छ ।

यसरी नाचिन्छ घाटु

घाटु कन्याले नाच्ने नाच हो । विधिवत पूजासंगै घाटु लाग्ने गीत गाउन शुरु हुन्छ । घाटु नाच्न चाहाने कन्याहरुलाई परम्परागत पोशाकमा सजाएर लस्करै बीचमा राखेर गीतको सुरुवात गरिन्छ । घाटु नाच कसैले म नाच्छु भनेर नाच्न पाउने विषय होइन । यसका लागि घाटु लाग्नुपर्छ । घाटु गुरुहरुले विभिन्न देवी देवताका पुकारा गर्दै गीत गाउँदै जाँदा घाटुको आँखा आफै बन्द हुन्छ जसलाई घाटु लाग्ने भनिन्छ । गीत गाउँदै जाँदा जो जसलाई घाटु लाग्छ,उनीहरु मात्रै नाच्न पाउँछन् । घाटु गुरु भूजेल भन्छन्,‘घाटु नाँच भगवानको नाममा नाचिने भएकाले यसका लागि चोखो जिउ भएको कन्या चाहिन्छ । घाटुको नाच्ने भनेर हामीले छान्ने होइन भगवानले छान्ने हो । हामीले भगवानको गीत गाउँछौं, घाटु लाग्यो भने आफै आँखा बन्द हुन्छ ।’

गाँवै केरे सिमे भूमे शिरै चलि आउ
हो… रे तिम्रै र बाली कन्या शिरै चलि आउ

यसरी नै विभिन्न भगवानको नाम जपेर गीत गाउँदै जाँदा घाटुको आखा बन्द हुन्छ । घाटुको लागिसकेपछि वीरकोट बाँध्ने काम सुरु हुन्छ । घाटुको निधारमा बाँधिने रातो रिबनलाई वीरकोट भनिन्छ । त्यो पनि गीतसंगै बाँध्नुपर्छ ।

खरुवाले कोरी कोरी बाँध्यो वीरकोट
शिरैमाको उपरैमा बाँध्यो वीरकोट
वीरकोटैको उपरैमा फूलै लावेला 

गीतहरु यसरी अगाडि बढ्दै गर्दा शिरमा रिबन बाँध्ने र त्यसमा फूल लगाउने सम्मको काम हुन्छ । त्यसपछि अर्को प्रक्रिया शुरु हुन्छ । घाटुको सुरक्षा । विधिवत रुपमा पूजा गरेर सुरुवात हुने भएकाले तन्त्र मन्त्र जानेकाहरुले बिचमा घाटुलाई अप्ठ्यारो पार्न सक्ने भएकाले घाटुको सुरक्षाको गीत पूरा नभई नाच्न नमिल्ने घाटु गुरुहरुको भनाई छ । ‘मान्छेहरु कोही कस्ता हुन्छन् कोही कस्ता हुन्छन्, घाटुलाई कुनै अप्ठ्यारो नपरोस् भनेर गीत गाउँछौं,’ भुजेलले भने । विधिवत प्रक्रिया पूरा भएपछि घाटुको नृत्य सुरु हुन्छ । घाटुमा महिला नाँच्ने भएकाले महिलाकै गीत पहिले आउँछ र अन्त्य पनि महिलाकै गीतबाट हुन्छ ।

सत्य साँचो गुरु होउला उठी नाँचैला
उठ नाँच सुन रानीरानी नाँचैला ….

घाटु गीतमा ८४ रानीको नाम लिनुपर्छ । हरेक रानीको नाम लिँदै गीत गाउँदै गएर ८४ पु¥याउनुपर्छ । त्यसपछि रानीको झारिया (आम्खोरा) नचाउने नाँचको पालो आउँछ । घाटुको नजिकमा झारिया राखिएको हुन्छ । सत्य दिनको झारियालाई मारैला भन्दै गीत गाउन थालेपछि घाटु झारिया खोज्न थाल्छिन् । गीत मार्फत त्यसलाई हातमा लिने शिरमा राख्ने अनि पुनः हातमा लिने काम हुन्छ । पछि त्यही झारिया लिएर चौरासी धारामा पानी लिन जान्छन्, नुहाउँछन् फर्किन्छन् । रानीहरुको दैनिकी यसरी नै चलिरहँदा राजा पर्शुरामको बारीमा हरिण आउँछ । त्यसपछि सुरु हुन्छ अईरा (शिकार) खेल्ने पालो । घाटुहरुलाई प्रतिकात्मक धनुषवाण दिईन्छ । एक जना पुरुष मान्छे मृगको रुप लिन्छ । एक जना पर्शुराम, अर्का लक्ष्मण र अन्य थप सिकारी हुन्छन् । साथमा कुकुर पनि हुन्छ ।

रामको बारी जौ बारी खायो हरिण 
राम-मार्नै परो लक्ष्मण हरिण
अघि अघिर राम लक्ष्मण र पछि कुकुर 
लक्ष्मण-स्याउले बथान आयो दाजै हान हरिण
१६ सय सिकारीले घेरै हालैला 

यसरी नै क्रमैसंग गीतबाट सिकारका चरणहरु पूरा हुँदै जान्छन् । मृगको रुप लिएको व्यक्ति अघि अघि मान्छेको भीडभाडमा भाग्दै जान्छ । राम लक्ष्मण कुकुर र अन्य सिकारीहरु पछ्याउँदै जान्छन् । कुकुरको घाँटीमा घण्टी बाँधिएको हुन्छ । मृग भाग्दै गर्दा र शिकारीले पछ्याउँदै गदा धूलो उडेको दृश्य देखाउन प्रतिकात्मक रुपमा खरानी र भुसको धूलो उडाईन्छ । अन्तमा राम लक्ष्मणले मृग मार्छन् । सारा गाउँलेमा सिकार वितरण गर्छन् । एवम् रितले अगाडि बढिरहँदा एक दिन पर्शुरामको अचानक मृत्यु हुन्छ । त्यसपछि सबै रानीहरु सति जान्छन् । अनि सुरु हुन्छ सति घाटु ।

गाई हेर्ने ग्वालाले जोरै मुरली 
गंगाजीको निर तिर बज्यो मुरली
सुनैले बाँधेको रुपैले बाँधेको हाँसी मुरली
मुरलीको धुन सुन्दा खाए मुर्छायसरी गीत गाउँदै जाँदा घाटु आफै बेहोस् हुन्छिन् । अचानक ढल्दा चोट नलागोस् भनेर अरुले अड्याएर सहयोग गर्छन् । घाटु सती गएको बेला उनीहरुको धड्कन मात्र चल्छ । उनीहरु भने अर्धचेत अवस्थामा हुन्छन् । घाटु गुरु भुजेल थप्छन्,‘सती ढाल्दा विशेष ध्यान दिनुपर्छ गीत कही कतै तलमाथि भयो भने मुर्छित अवस्थामा रहेको घाटु सधैंका लागि मर्न सक्ने पनि खतरा हुन्छ ।’ घाटु नाँचमा सति गएको बेला आफुले केही पनि थापा नपाउने पूर्व घाटु चन्द्रा राना बताउँछिन् । ‘ढलेपछि के भयो भन्ने हामीलाई केही थाहा हुँदैन,’ उनी भन्छिन्,‘ढल्ने बेला कतै ठोकिएको भए पनि ब्युँतिएपछि दुःखेको महशुस हुन्छ । आँखा चिम्लीएको बेला दिन र रातको अवस्था मात्र छुट्याउने सकिन्छ । सती जाँदा केही पनि थाहा हुँदैन ।’ सती गएको घाटुलाई ब्युँताउने गीत छुट्टै हुन्छ ।

काली चमर सेती चमर हरैला
गरुडैको प्वाँखैले हरैला
गंगाजीको जलैले छल्केला
बेटैको लौरीले ठोकी ठोकी पावै चलैला 

यसरी गीत गाउँदै जाँदा शरिरको प्रत्येक अंगहरु विस्तारै चल्न थाल्छन् । बेटैको लौरीले ठोकी ठोकी पावै चलैला भन्दा खुट्टा चल्न थाल्छ । त्यसैगरी शरिरका अन्य अँगहरु चल्दै जान्छन् ।

चोया चन्दन साडी समाई उठैला
बेटैको लौरी टेकी उठैला
सत्य साँचो गुरु होउला उठैला 

यसरी गीत गाउँदै जाँदा सती गएको घाटु उठ्छन् । घाटु उठेपछि बच्चालाई दूध खुवाउने लगायतका प्रक्रियाहरु चल्छन् । घाटुको आँखा खोल्नका लागि पुनः देवी देवताका नाम जम्दै गीत गाउनुपर्छ । जून भगवानको नाम लिँदा घाटुको आँखा बन्द भएको थियो आँखा खोल्नका लागि उही भगवानको नाममा गीत गाउनुपर्छ ।

सत्य साँचो सिम भूमे जाउ थकान (ठेगानमा)

घाटुको आँखा खुलेपछि अन्तिम एउटा झम्के पाराको गीत गाईन्छ । जून गीतमा नाँच्दा घाटुको ज्यान हल्का हुने र आफ्नो नियमित दैनिकीमा फर्किन सहज हुने बताइन्छ ।

यो कण्ठाश्री शिरफूलैमा पहिरिउ
दश बीस भैकलीराम 
झियाराम पातकी भैकलीराम
यो कण्ठाश्री जुतियामा पहिरिउ
घाटुका लागि यत्ति नै कलाकार चाहिन्छ भन्ने छैन । नाँच्नका लागि एक जना देखि चार पाँच जनासम्म जति भए पनि हुन्छ । गीत गाउनका लागि पनि आठ/दश जना भए पुग्छ । बजाउनका लागि घाटुको पाउमा बाँधिने चाँप बाहेक अरु हुँदैन । घाटु नाच यसरी नै सुरु भयो भन्ने कुनै प्रमाण भेटिदैन । यद्यपि, विगतमा मनोरञ्जनको कुनै पनि माध्यम नहुँदा यसैलाई मनोञ्जनको माध्यम बनाइएको हुन सक्ने तर्कहरु छन् । समयक्रमसंगै मनोरञ्जको प्रशस्त माध्यमहरुको विकास हुँदै जाँदा युवापुस्ताले घाटु नाचलाई चासो नदिँदा अहिले लोपोन्मुख अवस्थामा छ । ‘आजकाल युवाहरुलाई यसप्रति कुनै मतलब छैन, बुढाबुढीहरु बसेका छन्, दिन काटेका छन् भनेर भन्छन,’घाटु गुरु कुलबहादुर भुजेलले भने,‘यो हाम्रो परम्परा हो यसलाई जोगाउनुपर्छ भन्नेमा कसैको ध्यान छैन ।’

सती घाटुले भगवान छन् भन्ने कुरालाई बल दिने अर्का घाटु गुरु ताराबहादुर घर्ती बताउँछन् । ‘सती घाटु भगवान छन् भन्ने कुरालाई कुराको प्रमाण हो,’ उनी भन्छन्,‘गीतबाट बोलाउँदा आउने र पठाउँदा जाने कुराले त्यसलाई देखाएको छ ।’

पुस्तान्तरणको खाँचो 

आधुनिक प्रविधिको विकास नहुँदासम्म गाउँघरमा सति घाटु एउटा मनोरञ्जनको माध्यम पनि थियो । अहिले समय फेरियो र आम मानिसको मनोरञ्जनको स्वाद पनि फेरियो । जसले गर्दा यस खालका मौलिक र परम्परागत संस्कार संस्कृतिसंग जोडिएका कुराहरु अहिले विस्तारै हराउने क्रममा छ । अहिले सती घाटु पनि लोप हुने संघारमा छ । युवापुस्ताले यसप्रति चासो नदिँदा आफुहरुको शेषपछि हराउने हो कि भन्ने चिन्ता लाग्ने गरेको घाटु गुरु पतिराम भुजेल बताउँछन् । ‘नयाँ मान्छेले यो कुरा सिक्ने खोज्दैनन् हामीसंगै यो घाटु पनि हराउँछ कि भन्ने चिन्ता छ,’ उनले भने । सती घाटु संरक्षणका लागि स्थानीय तहले केही प्रयास गरे पनि त्यो पर्याप्त छैन ।

सती घाटुलाई नयाँ पिढीमा हस्तान्तरणका लागि केही प्रयासहरु गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति नभएको वडाध्यक्ष खडक पुन बताउँछन् । ‘हामीले यसको संरक्षण गर्नुपर्छ भनेर सोचेका छौं,’ उनले भने,‘केही प्रयास पनि गरेका छौं तर त्यसले उल्लेख गर्नसक्ने गरी सफलता हात लागेन ।’ बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी पनि सति घाटु जोगाउन आफुहरुले कोसिस गरिरहेको बताउँछिन् । ‘यो हाम्रो पालिकाका मुख्य सांस्कृतिक पहिचान हो,’ उनी भन्छिन्,‘यसलाई जोगाउनुपर्छ भन्नेमा हामी सजग छौं । विभिन्न ठाउँहरुमा लगेर प्रदर्शन गर्ने र प्रचार प्रसार गर्ने कामहरु भएका छन् । मुख्य कुरा अन्तर पुस्ता हस्तान्तरणको हो । त्यसमा अलि समस्या भैरहेको छ ।’ बडिगाडको सिसाखानीको अलावा बागलुङको गलकोट नगरपालिका-१० पाण्डवखानी र ११ रिघामा पनि सती घाटु देख्न पाइन्छ । नयाँ पुस्ताले सिकेर अगाडि बढाउन तयार नदेखिए पछि यो संस्कृति लोप हुने खतरामा छ ।

२०७९, २२ चैत्र बुधबार ०६:२९
कथालिका नयाँ कथा
कथालिका