हन्डरले नहारेका ढकाल : जो शानदार नेतृत्वमा पुगे – कथालिका

हन्डरले नहारेका ढकाल : जो शानदार नेतृत्वमा पुगे

चन्द्रप्रसाद ढकाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भए अनुसार बिहीबार सम्पन्न ५७औं साधारणसभा मार्फत २०औं अध्यक्षमा उनी निर्वाचित भएका हुन् । बागलुङ जिल्लाको एउटा गाउँमा जन्मेर देशकै निजी क्षेत्रको नेतृत्वमा पुगेका ढकाल आईएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । निजी क्षेत्रको नेतृत्वमा पुग्ने उनी पहिलो बागलुङे हुन् ।
घरपरिवार र भाई बहिनीलाई दुःखबाट पार लगाउन संघर्षमा होमिएका चन्द्रको अहिले हरेक नेपाली घरपरिवारसंग कतै न कतै सम्बन्ध जोडिएको छ । रेमिट्यान्स कम्पनी आईएई सञ्चालनमा ल्याएपछि उनले एकपछि अर्को व्यवसायिक सफलता हाँसिल गरिरहेका छन् । आईएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका छन् ।

बालापनमै पारिवारिक बोझ

अहिले देशकै निजी क्षेत्रको नेतृत्वमा पुगेका चन्द्रपसाद ढकालको विगत निकै संघर्षपूर्ण रहेको छ । बागलुङ नगरपालिका—१२ अमलाचौरमा जन्मिएका उनले जीवनका थुप्रै उकाली ओराली पार गरेर अहिलेको चरणमा आईपुगेका हुन् । विकट गाउँको सामान्य परिवारमा उन्मेका उनी अहिले सफल व्यवसायीको सूचीमा दर्ज हुँदै सिंगो निजी क्षेत्रको नेतृत्वमा पुग्न सहज र सरल थिएन । निम्न मध्यम वर्गीय परिवारका जन्मेका चन्द्रले एसएलसी दिइरहेकै बेला पिता गुमाउनु प¥यो । त्यसपछि सिंगो परिवारको जिम्मेवारी उनको आफ्नै काँधमा आईपुग्यो । दुःख र संघर्षबाट खारिएर उनी अहिले यो अवस्थामा आईपुगेका छन् ।

सामान्य परिवारमा जन्मेका चन्द्रको बाल्यकाल पनि सामान्य तरिकाले नै बित्यो । गाउँघरमा घाँस दाउरा, मेलापात गर्दै जीवन यापन गर्ने क्रम चल्यो । भर्खर १६ वर्षको उमेरमै बाबुको निधनपछि सिंगो परिवारको खाँबो बनेर उभिने जिम्मेवारी उनको काँधमा आईप¥यो । पारिवारिक जिम्मेवारीको बोझले थिचिएका उनी पहिलो पटक एसएलसीमा असफल भए । उनले आफ्नो कर्ममा निरन्तर लागिरहे ।

जागिरेदेखि व्यवसायीसम्म

पारिवारिक दायित्व पूरा गर्नुपर्ने भएकाले उनको मुख्य ध्यान भाई बहिनी र आमालाई अभावबाट टाढा राख्नु थियो । त्यसकै लागि उनी काठमाडौं आएर पढाईसंगै काम गर्न थाले । पढाई र कामलाई संगसंगै अगाडि बढाउनु कम चूनौतीपूर्ण थिएन । उनले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिर खाए र घर खर्च पठाउँदै पढाइ अगाडि बढाए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।

सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मेका कारण ढकाललाई व्यवसाय थाल्ने सजिलो थिएन । उनले २०४८ तिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । भाईलाई समेत काठमाडौं बोलाएर उनले व्यवसाय विस्तार गर्ने योजना बनाए । व्यवसाय बढाउनका लागि उनलाई १२—१३ लाख रुपैयाँ आवश्यक पथ्र्यो । त्यसको जोहोका लागि उनले आफुले नै काम गर्ने बैंकमा आवेदन दिए । तर हाकिमले उनलाई कर्जा दिएनन् । बैंकको नीति सकारात्म हुँदा हुँदै हाकिमका कारण कर्जा नपाएपछि उनले राजिनामाा दिए र ऋण लिए । अहिले उनी ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् ।

वैदेशिक रोजगारीदेखि रेमिट्यान्स कम्पनी सञ्चालकसम्म

चन्द्रप्रसाद ढकाल यत्तिकै अहिलेका चन्द्रप्रसाद ढकाल बनेका होईन् । त्यसका लागि उनले थुप्रै हण्डर ठक्कर खाएका छन् । जीवनका चार दशक लामो व्यवसायिक यात्रामा उनले अनेकन बाधा अड्चनहरु पार गरेका छन् । नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख कम्पनी आईएमईका संस्थापक उनी कुनै समय आफै समेत वैदेशिक रोजगारीमा थिए । कार्गो व्यवसायमा सफलता मिल्दै जाँदा उनी आफ्नो व्यवसाय विस्तारका लागि अमेरिका जाने तयारीमा थिए । त्यहाँ नेपाली गलैंचा र तयारी पोशाकको निकै राम्रो बजार पनि थियो ।

व्यवसाय विस्तारका लागि अमेरिका जाने भिसा पनि पाए । गाउँले दाईको सल्लाहमा जापान हुँदै अमेरिका जाने भनेपछि उनले त्यही तारतम्य मिलाए । जापान पुगेर १० महिना जापानकै एक छापाखानामा काम गरे । त्यो बेला जापानमा राम्रो कमाई थियो । उनले केही रकम पनि कपाए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । नेपालमा व्यवसाय हेर्दै आएका भाई जापान जाने भएपछि चन्द्र अमेरिका नगई जापानबाटै नेपाल फर्किए । त्यतिबेलासम्म विदेशबाट नेपालमा पैसा पठाउन भरपर्दो माध्यम थिएन । हुण्डीबाट पैसा पठाउँदा ठगिने संख्या बढ्दो थियो ।

जापान बस्दा नै उनले यसको समाधानका लागि दिमाख खियाउन थालेका थिए । सन् २००१ मा नेपालले मलेसियामा वैदेशिक रोजगारी खुला ग-यो । वर्ष दिनमै धेरै नेपालीहरु त्यहाँ पुगे । हुण्डीका कारणबाट मलेसिया पुग्ने नेपालीहरु पनि ठगिनेक्रम बढिरह्यो । विदेशमा कमाएको रकम नेपालमा पठाउने औपचारिक माध्यम नभएपछि राष्ट्र बैंक पनि चिन्तामै थियो । यही मौका छोपेर ढकालले समस्यालाई अवसरमा बदल्ने काम गरे । ढकालले करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेर काम गरेका थिए । एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो ।

त्यही अनुभवका आधारमा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । डा. तिलक रावल गभर्नर रहेको राष्ट्र बैंकले उनको प्रस्ताव सहजै स्वीकार ग-यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि उनले तत्काले मलेसियाको ४–५ ठाउँबाट आईएमईको सेवा सुरु गरे । नेपालमा काठमाडौं, पोखरा लगायतका मुख्य शहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था गरिएको थियो । अहिले आईएमई हर घरसंग परिचित छ । नेपाली कामदार पुगेका प्रायः सबै देशमा आईएमई पुगेको छ । अचेल सेवाग्राहीहरु अरु नै रेमिट कम्पनी वा बैंकमा पुग्दा पनि ‘आईएमई गर्दिनु’ भन्ने अवस्था आईएमई नेपालमा मनि ट्रान्सफरको पर्यायबाची नै बनेको छ ।

व्यावसायिक फड्को

रेमिट कम्पनी आईएमई सञ्चालनबाट सफलता हात पारेका चन्द्रले फाइनान्स कम्पनीतर्फ पनि हात बढाए । पछि त्यसलाई वाणिज्य बैंकसंग मर्ज गरे । हाल उनी देशै ठूलो चुक्ता पुँजी रहेको ग्लोबल आईएमई बैंकको अध्यक्ष छन् । आईएमई ग्रुप बनाएर उनले दुई दर्जन बढि व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपाल सहित विश्वबजारमा स्थापना गरेका छन् । आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिएको बताइन्छ ।

सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार आईएमई ग्रुपले गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी भएर सक्रिय छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आईएमई ग्रुपको लगानी छ ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् ।

सफलतासंगै मान सम्मान

व्यावसायिक सफलता हात पारेसंगै ढकाललाई मान सम्मान पनि प्राप्त भैरहेका छन् । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा ढकालले काम गरिरहेका छन् । २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले उनलाई सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित भइसकेका छन् ।

‘हामी आमजनतालाई सिधै फाइदा वा सेवा पु¥याउने क्षेत्र, सरकारले प्राथमिकतामा राखेको क्षेत्र र व्यवसायको रुपमा अघि बढाउन सम्भावना भएको क्षेत्रमा लगानी गर्ने गरेका छौं,’ ढकालले भने । प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य राखेर काम गर्ने अध्यक्ष ढकाल बताउँछन् ।

२०८०, १ बैशाख शुक्रबार १०:१९
कथालिका नयाँ कथा
कथालिका