घान्द्रुकः पर्यटकीय गाउँको एक मानक – कथालिका

घान्द्रुकः पर्यटकीय गाउँको एक मानक

  • कुनै बेला आफ्नै खेतबारीमा उत्पादन भएको खाद्यान्नबाट पर्यटकलाई बिभिन्न परिकार खुवाएर सन्तुष्ट बनाउने घान्द्रुकवासी अहिले खाद्यान्नका लागि शहर बजारमा निर्भर छन् ।

हेर्दा राम्रो घान्द्रुके गाउँ छ, बस्ने भए मायालु दिलमा ठाउँ छ… निकै पहिले लोकपप गायक तिलक बम मल्लले गाएको यो गीत नसुन्ने, नगुनगुनाउने सायदै होलान् । उसैगरी पर्यटकीय गाउँ घान्द्रुक नपुग्ने, नसुन्ने र जान रहर नगर्ने पनि सायदै मानिसहरु होलान् । कारण गीत जस्तै चर्चित, मौलिक र सुन्दर छ घान्द्रुक गाउँ । घान्द्रुकको सुन्दरता, आँखै अघि देखिने दर्जनौ हिमाल, अनेकन बाधा, अड्चनका बाबजुद पनि संरक्षण गरेर राखिएका अनेकन ग्रामीण मौलिकताले धेरैलाई काबिल बनाउँछ ।

घान्द्रुक, आन्तरिक तथा बाह्य पर्यटकका लागि नामै काफी छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्ने यो गाउँ नेपाली र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा स्थापित छ ।

हिमालका आकर्षक सौन्दर्यता दृष्यावलोकन, गुरुङ संस्कृृतिले भरिपूर्ण, ढुंगाले छाएका घर, ढुंगै छापिएका आँगन घान्द्रकु गाउँको प्रमुख विषेशता हो । यहाँको सुन्दर हराभरा वातावरण, स्थानीयको आत्मियता आतिथ्यतले पनि जो कोहीलाई लोभ्याँउछ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो गाउँ पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा रहेका यो गाउँ समुन्द्रि सतह देखि १,९४० मिटर उचाइमा छ । घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाका लागि पनि प्रख्यात छ । यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन् । रहरलाग्दो ढुंगा छापेको बाटा मौलिक छन् ।

पदयात्राको हब
घान्द्रुक पदयात्राको हव मानिन्छ । कुनै पनि नयाँ यात्री, आगन्तुकहरुले पदयात्रामा कहाँ जाने भनेर सोच्दा र सोध्दा जवाफमा आउने नाम हो घान्द्रुक ।

यहाँबाट विभिन्न स्थानमा ट्रेकिङमा जान मिल्ने भएकाले आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्छ । अन्नपूर्ण संरक्षण क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्र्छे, अन्नपूर्ण आधार शिविर यसै गाउँ हुँदै जान सकिन्छ । घान्दु्रक—घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझ लोकप्रिय पदयात्रा मार्ग हो ।

पछिल्लो समय यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटिएको छ । लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङ्ला भन्ज्याङ्ग पास गरेर मुक्तिनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रिय पदयात्रा छोटिएर अहिले ५÷६ दिनमा झरेको छ । घान्द्रुक गाउँ सम्मै अहिले मोटरमै पुग्न सकिन्छ । हिडेर जान चाहानेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ ।

सिजनमा बास पाउनै मुश्किल

पर्यटकीय सहर पोखराबाट नजिकै, सुन्दर, मौलिक अनि हिमालका दृश्य नजिकैबाट नियाल्न सकिने लगायतका कारण प्रायः व्यवसायमा अफ सिजन हुँदा समेत घान्द्रुक पर्यटकको आगमनले गुल्जार बनिरहेको हुन्छ । पछिल्लो केही वर्ष यता त विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको पनि उस्तै भिड देखिन्छ । पर्यटकीय सिजनमा त यहाँ बास पाउन पनि मुश्किल हुन्छ । होटल व्यवसायी या होमस्टे सञ्चालकलाई पुर्ववत जानकारी गराएर पुगेको अवस्थामा मात्रै खानपान र बासस्थान पाइन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि मुलुककै उत्कृष्ट गन्तव्य हो पोखरा । त्यही पोखराबाट केही घण्टाको दुरीमा रहेको घान्द्रुक अर्को आकर्षक र स्मरणीय गन्तव्य हो घान्द्रुक । २०७२ सालको भुकम्प पछि घान्द्रुकमा आन्तरिक पर्यटक समेत ठुलो संख्यामा पुग्ने गरेका छन् । अहिले त बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक बढी पुग्ने गरेको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष समेत रहेका किसम गुरुङ बताउँछन् । ‘हाल घान्द्रुकमा पर्यटन व्यवसायीका लागि अफ सिजन हो, खासै धेरै पर्यटक अहिले छैनन्,’ उनले भने । किसमका अनुसार दसैं र तिहार घान्द्रुकका लागि सबैभन्दा राम्रो सिजन हो । यहाँ यो समयमा होटल तथा होमस्टेका कोठा आए जति पर्यटकलाई पु¥याउन हम्मेहम्मे पर्छ ।

विदेश र बसाई सरेका युवा गाउँ फिर्दै
पर्यटकीय गाउँ घान्द्रुक बसाईं सराईंको समस्याबाट अछुतो छैन । प्रायः यहाँका स्थानीय सहर बजार झरेका छन् । गाउँमा पर्यटन व्यवसाय फस्टाउँदै गएको देखेर गाउँ फर्किने स्थानीय पनि छन् । यहाँको मुख्य पेशा व्यवसाय भनेको पर्यटन व्यवसाय हो । प्रायः जस्तो गाउँमा फर्किएर यही व्यवसायलाई निरन्तरता दिएका छन् । किसम स्वयंम् वैदेशिक रोजगारीबाट पर्यटन व्यवसाय गर्नै भनेर गाउँ फर्किएका हुन् । उनको परिवार पोखरामा बस्छन् ।

स्थानीय कृष्ण गुरुङ पनि १२ वर्ष कोरियामा बसेर गाउँ नै फर्किएर होटल व्यवसाय गरिरहेका छन् । लामो समय परदेशमा बिताएर गाउँ फर्किएपछि पाहुनाको लर्कोले आफुलाई गाउँमै तानेको उनको भनाई छ ।

‘गाउँमै प्रयाप्त सम्भावना र अवसर रै’छ । अब यहीं केही गर्नुपर्छ भन्ने सोचले परदेशमा पसिना बगाएर जोडेको कमाइ गाउँमै लगानी गरे । चार वर्षअघि करीब ४ करोड रुपैयाँको लगानीमा वल्र्ड भिलेज होटल खुलाए,’ कृष्ण भन्छन्, गाउँ फर्किने निर्णय र गरेको लगानीबाट हाल सम्म पछुताउनु परेको छैन ।’ अरू ठाउँका युवा विभिन्न बहानामा गाउँ छोड्ने र उतैबाट शहरतिर पलायन भइरहेको बेला घान्द्रुकमा भने उल्टो छ । कृष्णजस्तै घान्द्रुकका अधिकांश युवा अहिले गाउँ फर्किएका छन् । र विभिन्न पर्यटन व्यवसायमा लगानी गर्न हौसिएका छन् ।

किसमका अनुसार करिब ८०/९० घरमा होम–स्टे तथा होटल व्यवसाय सञ्चालन गरिएको छ । हुन त घान्द्रुकमा त्यस्तो खासै स्थानीय उत्पादन छैन । पोखराबाट प्रायः खाद्यान्न आपूर्ति हुने गरेको छ । ‘यहाँ धान उत्पादन हुँदैन, कोदो, फापर, साग, आलु जस्ता केही मात्रै यहाँ उत्पादन हुन्छन् । अरु त प्रायः पोखराबाट ल्याउनु पर्छ,’ उनले भने ।

माग बमोजिम सांस्कृतिक कार्यक्रम
देशका प्रायः गाउँमा सञ्चालनमा आएका होमस्टे तथा पर्यटकीय स्थानमा पुग्ने हो भने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको देख्न र हेर्न पाउँछौं । कौराह, सोरठी, सालैजो लगायतका स्थानीय नाच तथा अन्य सांस्कृतिक कार्यक्रम होमस्टेको, आकर्षण, परिचय र अनिर्वाय प्रचलन जस्तै बनिरहेको हुन्छ । घान्द्रुकमा भने यस्तो सांस्कृतिक कार्यक्रम आयोजना हुँदैन । विक्रमका अनुसार यहाँ सांस्कृतिक कार्यक्रम विदेशी तथा नेपाली पाहुनाले चाहेको अवस्थामा मात्रै प्रदर्शन गरिन्छ । ‘पाहुनाको माग अनुसार हामीले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने हो, नत्र अन्यत्र होम–स्टेमा जस्तो यहाँ हुँदैन,’ उनले भने, ‘पर्यटकले चाहेको अवस्थामा भने आमा समुहले सामान्य नाच प्रदर्शन गर्छन्, कौराह, घाटु भन्ने यहाँ खासै चलन छैन ।’ विक्रमका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमको लागि भावी योजना भने भइरहेको छ ।

हरेक घरमा दुई,तीन सय भेडा पाल्ने त्यो गाउँ
८५ वर्षीय नरसुब्बा गुरुङ वि.सं २०१९ सालमा विवाह गरेर घान्द्रुक आएकी थिइन् । त्यो बेला उनको उमेर २३ वर्ष थियो । उनलाई त्यो बेलाको घान्द्रुक र अहिलेको घान्द्रुकमा आकाश जमिनको फरक लाग्छ । उनी भर्खर विवाह गरेर आउँदा खेतबारी बाँझो हुन्नथ्यो, पुरैमा खेतीपाती लगाइन्थ्यो । ‘अहिले खेतबारीमा जति पनि झार उम्रिएर बाझा छन्, त्यहाँ सबै खेती हुन्थ्यो ।’ उनी भन्छिन्, ‘गाइवस्तु त कति कति, हरेक घरमा २,३ सय भेँडा पालिन्थ्यो ।’

नरसुब्बालाई हिँडेर घर–माइत गर्न एक दिन लाग्थ्यो । खेतबारी, उकालो ओरालीदेखि हरेक दुःख भोगेकी उनलाई पहिले र अहिलेको घान्द्रुकमा धेरै फरक आएको भन्ने लाग्छ । परिर्वतन आएकोमा धेरै खुसी लागे पनि पुराना मौलिकदाँ भत्किँदै हराउँदै जाँदा केही दुःख भने लाग्ने गरेको उनी बताउँछन् । ‘अहिले त स्वर्ग जस्तै लाग्छ, पहिले त हामीले कति दुःख भोग्यौं कति, भनिसाध्य छैन,’ खुसीको भावमा नरसुबाले भनिन्, ‘अहिलेको पुस्ता त भाग्यमानी हुन्, सबै सुविधा छ ।’ यद्यपि, ढुंगे घर हराउँदै जाँदा, संस्कार र संस्कृति लोप हुँदै जाँदा भने नमिठो लाग्ने गरेको उनको भनाई छ ।

  • अहिले परम्परागत संस्कृति र पुराना घरलाई विस्थापित गर्दै बजारिया डिजाइनमा होटल तथा रेष्टुरेण्ट र घर निर्माण हुने क्रममा छ । निर्माण भइरहेका केही संरचनालाई मौलिकतासंग जोड्ने प्रयास भने जारी रहेको स्थानीय बताउँछन् ।

घान्द्रुकमा यति धेरै परिर्वतन आउनुमा थुप्रैको देन छ । ढुंगे घर विस्थापित हुँदै आरसीसीको घर निर्माण हुने क्रम बढ्दो छ । परम्परागत घरमा निर्माण भएका होमस्टे पनि आधुनिक घरका रुपमा विकसित हुन थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु नै हो गुरुङ संस्कृति र पुराना ढुंगे घर । अहिले भने यस्ता परम्परागत संस्कृति र पुराना घरलाई विस्थापित गर्दै बजारिया डिजाइनमा होटल तथा रेष्टुरेण्ट र घर निर्माण हुने क्रममा छ । निर्माण भइरहेका केही संरचनालाई मौलिकतासंग जोड्ने प्रयास भने जारी रहेको स्थानीय बताउँछन् । घान्द्रुकको रहनसहन, चालचलन यसै परिर्वतन भएको भने होइन । विदेशिएका लाहुरे लगायतले त्यहाँको संस्कृति सिकेर आउने र त्यही अवलम्बन गर्न खोज्दा उल्लेख्य परिर्वतन आउन थालेको स्थानीय बताउँछन् ।

गाउँमा अहिले न मकैको सुली, न परालको टौवा
धुव्र गुरुङ उमेरले ६५ वर्ष पुगे । त्यो समयमा त आन्तरिक भन्दा बाह्य पर्यटक घान्द्रुक पुग्थे बढी मात्रामा । ट्रेकिङ रुट पनि भएकाले बाह्य पर्यटक बढी घान्द्रुकमा पुग्ने गरेको उनको अनुभव छ । उनले घान्द्रुकमा धेरै परिर्वतन देखेका छन् । ‘त्यो बेलामा कोदो मकै लगाइन्थ्यो, मकैको सुली र परालको टौवा यहाँका हरेक घरमा हुन्थे,’ उनले भने, ‘पर्यटकलाई गाउँमा उत्पादन भएका अर्गानिक खाना खुवाइन्थ्यो,’ खेती लगाउने मान्छे नभए पछि खेतबारी बाँझै राख्न बाध्य भएको उनले बताए । अहिले गाउँका प्रायः मान्छे लाहुरे भएपछि बेलायत गएको उनको अनुभव छ । ‘यहाँ त अहिले घर कुरुवाहरु मात्रै छन्, अनि केको खेती लगाउनु ?’ उनले भने ।

आफ्नै आँखा अगाडि धुव्रले यहाँको परिर्वतन नियालिरहेका छन् । कुनै बेला आफ्नै खेतबारीमा उत्पादन भएको खाद्यान्न पर्यटकलाई खुवाएर सन्तुष्ट बनाउने घान्द्रुकवासी अहिले खाद्यान्नका लागि बजारको भर पर्नुपर्छ । परम्परागत ढुंगे घर विस्थापित हुने क्रम वृद्धि हुँदा धुव्रलाई नमिठो लाग्छ । ‘बाटोको विकाससंगै ढुंगे घर हराउने क्रम बढ्यो, हामीले यहाँका स्थानीयलाई घर निर्माण गर्दा भित्र जस्तो भए पनि बाहिर मौलिकता बोकेको चिनोहरु राख्नुस्, मौलिक डिजाइन बनाइदिनुस् भन्ने गरेका छौं,’ उनले भने, ‘होइन भने त यहाँको अस्तित्व लोप भएर जाने सम्भावना छ । यसका लागि हामीले गाउँपालिकामा समेत कुरा गरिसकेका छौं ।’ परम्परा र मौलिकता हराउँदै जाँदा पर्यटक नै नआउने पो हुन् कि भन्ने चिन्ता उनको छ ।

विदेशी भन्दा आन्तरिक पर्यटक खोज्छन् आधुनिक सुविधा
घान्द्रुक आधुनिक स्वरुपमा परिवर्नत हुन बाध्य हुनुमा केवल घान्द्रुक र स्थानीयको रहर चाहना मात्र कारक छैन । आन्तरिक र बाह्य पर्यटकले खोज्ने सुविधा हो । विदेशी भन्दा नेपाली पर्यटकले बढी सुविधा खोज्ने र सोही सुविधालाई पूरा गर्न होटल व्यवसायीले आधुनिक संरचना निर्माण गरेको होटल व्यवसायी बताउँछन् ।

‘यहाँ घुम्न आउनेमा विदेशी भन्दा नेपाली पर्यटकले सुविधा खोज्छन्, आउनु भन्दा अगाडि या आइसकेपछि होटल र होम-स्टे खोज्दा ट्वाइलेट र बाथरुम अट्याच भएको कोठा खोज्छन्, हामीले पनि उनीहरुलाई त्यही अनुसारको सुविधा उपलब्ध गराउनुप¥यो,’ उनले भने, ‘बरु विदेशीले त्यस्तो खोज्दैनन् एड्जस्ट गर्छन्, तर प्रायः नेपालीलाई नै यहाँ बढी सुविधा आवश्यक हुन्छ ।’

पर्यटकको चाहना र आवश्यकतालाई परिपूर्ति गर्दा नै अहिले घान्द्रुकमा मौलिक भन्दा आरसीसी गरेर होटल तथा घर निर्माण गर्ने क्रम तीव्र भएको उनको भनाई छ । उनका अनुसार मौलिकता झल्काउने संरचना निर्माण गर्न समेत धेरै महंगो पर्छ । घान्द्रुकको विशेषता बनेको ढुंगे घर निर्माण गर्न करोडौं लागत लाग्छ । ‘ढुंगा खोज्न पनि टाढा जानुपर्छ, ज्यादै महंगो हुन्छ’ उनले भने, ‘लागत धेरै भएकाले त्यो भन्दा कम लागतमा पक्की घर बनाउने प्रचलन बढ्यो, पुरानो परम्परागत घर बनाउन छोड्ने धेरै भए ।’

बसाइँ लम्ब्याउन कृष्णचरित्र र ठाडो भाका देखाउने योजना
घान्द्रुकमा अहिले ठूला–ठूला होटल निर्माण हुने क्रम बढ्दो छ । आरसीसी भवन निर्माण हुँदा गाउँको परम्परा हराउने चिन्ता थपिएको छ । यही विषयलाई केन्द्रित गर्दै केहीले भने होटलको भित्री आवरण जस्तै भए पनि बाहिरी आवरण र रुप भने परम्परागत रुपमा निर्माण गरिरहेका छन् ।

ती मध्येकै एक हुन् ६२ वर्षीय कुलप्रसाद गुरुङ । उनले घान्द्रुकमा अहिले विशाल रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उक्त निर्माणका क्रममा मौलिकतालाई ध्यान दिइएको छ । उनलाई लाग्छ, घान्द्रुकमा जति पनि मौलिक परम्पराका नाममा विभिन्न कार्यक्रम आयोजना गरिन्छ, त्यो पूर्ण रुप होइन । अझै यस्ता कतिपय मौलिक संस्कृति छन्, जसलाई पर्यटक माझ प्रस्तुत गर्न सकिरहेको अवस्था छैन । स्वयंम् कलाकार रहेका कुप्रसादलाई कृष्णचरित्र, ठाडो भाका लगायत कला पर्यटक माझ प्रस्तुत गर्ने रहर छ ।

घान्द्रुकको आवश्यकतालाई मध्यनजर गर्दै आफूले रिसोर्ट निर्माण गरेको र अझै विस्तार गर्ने उनले योजना सुनाए । उनको रिसोर्टमा स्थानीयलाई नै रोजगारी दिने उनको उद्देश्य छ । ‘अबको मेरो योजना भनेको घान्द्रुकमा सके सम्म धेरै पर्यटक भित्राउने र मौलिकताको संरक्षणका लागि लाग्ने हो,’ उनले भने, ‘पर्यटकको मनमा १ दिनका लागि आएका छन् भने थप २ दिनसम्म बस्ने मनस्थिति बनाउने परिस्थिति बनाउनु छ ।’

घर-घरमा भाडामा भेषभुषा
फेरिएकै किन नहोस्, घान्द्रुकमा पर्यटकको आवागमन कम भएको छैन । मौलिक परम्परा र संस्कृतिले गर्दा नै पर्यटक घान्द्रुक पुग्ने भएकाले उनीहरुलाई यसको संरक्षण र जर्गेना कसरी गर्ने भन्ने चुनौती नभएको होइन । र त गुरुङ संस्कृति र यहाँको मौलिकतालाई जोगाइराख्न स्थानीय पनि सक्रिय छन् । गाउँमा बाँकी रहेका ढुंगे र परम्परागत घरको संरक्षणका लागि उनीहरु एकजुट हुन थालेका छन् ।

गुरुङहरुको संस्कृति जोगाउनकै लागि घान्द्रुक पुग्ने पर्यटकका लागि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । केही रकम तिरेर गुरुङ पोशाक केही क्षणका लागि पहिरिन पाउने व्यवस्था गरिएको छ । पहिले एउटा मात्रै घरमा पोशाक उपलब्ध गराउने गरिएकोमा अहिले माग बढी भएपछि अधिकाशं होटल, रिसोर्ट तथा होम स्टेले गुरुङ पोशाक पर्यटकका लागि उपलब्ध गराउन थालेका छन् । यसबाट पनि समुदायको मौलिक भेषभुषा, संस्कृति केही हद सम्म संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको आशा छ ।

टिकटकमा भिडियो हेरेकै भरमा गुरुङ पोशाक लगाउने आशा सहित आउने पर्यटक बढी छन् । यहाँ आएपछि पोशाक मात्रै होइन, संस्कार, संस्कृति, परम्परा, गाउँबाट देखिने सुन्दर हिमालका दृष्य तथा गाउँमा बाँकी रहेका ढुंगे घर देखेर हरेक पर्यटक लोभिने गरेका छन् । आन्तरिक होस् बाह्य पर्यटक, सबैका लागि उत्कृष्ट गन्तव्य बन्छ यो गाउँ । कुनै विशेष चाडपर्व या अवसरमा त झन् पर्यटकको उल्लेख्य आगमन हुन्छ यहाँ । सिजनको समयमा खबर नगरेर घान्द्रुक पुगेको अवस्थामा बाँस समेत पाउन मुस्किल हुने स्थानीय बताउँछन् ।

टिकटकले तान्दै पर्यटक
पवित्रा सापकोटा चितवनको भरतपुरबाट घान्द्रुक घुम्न आइन् । पहिलोपटक घान्द्रुक आइपुगेकी उनलाई यहाँको वातावरण, बिहान देखिने हिमालको दृश्य, संस्कार र संस्कृति लगायतले लोभ्यायो । कथालिकाकर्मीले पवित्रासंग कुराकानी गरिरहँदा उनी गुरुङहरुको मौलिक पोशाकमा चिटिक्क सजिएर फोटो खिच्न ठीक्क परेकी थिइन् । ‘मलाई त यहाँको सुन्दर वातावरण, हिमाली दृश्य र स्थानीलये जोगाइराखेका संस्कृति गज्जब लाग्यो,’ घान्द्रुकको प्रशंसा गर्दै उनी भनिरहेकी थिइन् ।

‘घान्द्रुकले सांस्कृतिक पक्षलाई जर्गेना गर्ने कार्य गरिरहेको रहेछ, यो पक्ष उत्कृष्ट लाग्यो,’ घान्द्रुक पहिलो पटक आएको उनले भनिन्, ‘हामीले गुरुङको मौलिक पहिचान बोकेको पोशाक पहिरिन ३ घण्टा कुरेका हौं ।’

उनलाई घान्द्रुकसम्म आउन गुरुङको मौलिक पोशाकले विशेष तानेको रहेछ । ‘टिकटकमा अन्यले गुरुङ पोशाक पहिरिएर भिडियो देखेपछि यहाँसम्म आउन मन लागेको थियो, म यहाँसम्म आउनु टिकटकको ठूलो भूमिका छ,’ उनले हाँस्दै भनिन् । पवित्रा मात्रै होइन, त्यहाँ पुग्ने जो कोहीको उद्देश्य भनेको अहिले गुरुङ पोशाकमा चिटिक्क सजिएर फोटो खिच्नु हुन्छ । घुमघाम पनि हुने, गुरुङहरुको मौलिक संस्कार र संस्कृतिको विषयमा जान्न पाइने, ट्रेकिङको रुट लगायत कारणले पनि घान्द्रुक पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड बाह्रै महिना हुन्छ ।

पवित्रासंगै आएकी थिइन् कल्पना अधिकारी । चितवनको गर्मीमा बसेकी उनलाई घान्द्रुक शीतल लाग्यो । उनलाई घान्द्रुकको राम्रो पक्ष संस्कृतिलाई जर्गेना गरेको विषय लागेछ । ‘घान्द्रुकले सांस्कृतिक पक्षलाई जर्गेना गर्ने कार्य गरिरहेको रहेछ, यो पक्ष उत्कृष्ट लाग्यो,’ घान्द्रुक पहिलो पटक आएको उनले भनिन्, ‘हामीले गुरुङको मौलिक पहिचान बोकेको पोशाक पहिरिन ३ घण्टा कुरेका हौं ।’  त्यसैले पनि होला के परिर्वतन भएछ भन्ने विषयमा कल्पनाले थाहा पाउन सकिनन् । तर, यहाँको खानपानदेखि लिएर हरेक कुराले उनलाई तान्यो । ‘मौलिक पोशाक लगाएर फोटो खिचिरहँदा जसरी मगर, गुरुङले आफ्नो संस्कार, संस्कृति र पोशाकको जर्गेना गरिरहेका छन्, हाम्रा भएका संस्कारलाई पनि जोगाउनुपर्छ भन्ने ख्याल आयो मेरो मनमा ।’ उनले भनिन् ।

खचाखच पर्यटक, व्यवस्थित आतिथ्यता
लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङका अनुसार घान्द्रुकमा ७० देखि ७५ वटासम्म होमस्टे तथा होटल छन् । करिब १ हजार सय घरधुरी घान्द्रुकमा रहेको उनले बताए । ‘चाडपर्व र विशेष अवसरमा त २५ सयसम्म पर्यटकलाई एकैदिन राखिएको तथ्यांक छ,’ उनले भने । कुनै समयमा त पर्यटक बढी आउने भएकाले उनीहरुको बासस्थानका लागि होमस्टे तथा होटल मिलाउन समेत हम्मेहम्मे हुने गरेको अनुभव रहेको उनले सुनाए ।

हुन त घान्द्रुकमा पर्यटकका लागि कुनै खास सिजन भन्ने हुँदैन । प्रायः हरेक महिनामा नै पर्यटक आवागमन हुने गरेको छ । उनका अनुसार पर्यटक उच्च भएको र एउटा होटल तथा होमस्टेमा व्यवस्था गर्न सकिएन भने एकअर्कामा समन्वय गरेर पर्यटक राखिन्छ । एकै पटक धेरै पर्यटक गाउँमा पुगेको अवस्थामा भने ‘यसरी एकअर्को होटल तथा होमस्टेबीच समन्वय हुनु यहाँको अर्को विशेषता हो,’ उनले भने ।

पर्यटकको बसाई लम्ब्याउन मौलिकता जोगाइराख्नुपर्छ भन्ने उनलाई पनि लाग्छ । तर, पर्यटककै सेवा र सुविधालाई मध्यनजर गर्दा मौलिकता हराउँदै गएको कुराले पनि सोचमग्न बनाउने गरेको उनको कथन छ । त्यसैले अब मौलिकतालाई घान्द्रुकमा विशेष ध्यान दिइने उनी बताउँछन् । ‘यसरी कंक्रिटको घर निर्माण हुँदै जाने र मौलिकता तथा संस्कृति हराउँदै जाने हो भने त घान्द्रुकको अस्तित्व र पृथक परिचय हराउँदै जानेछ,’ उनी भन्छन्, ‘त्यसैले अब योजनावद्ध रुपमा हामी यो विषयलाई गम्भिर रुपमा छलफल गरेर अगाडि बढाउँछौ ।’

२०८०, २९ जेष्ठ सोमबार ०४:५१
कथालिका नयाँ कथा
कथालिका