जीर्ण घर, रित्तिदो गाउँ – कथालिका

जीर्ण घर, रित्तिदो गाउँ

  • ‘पहिले–पहिले बलाम्दीमा छोरी दिएर के काम, भाँडा माझेर सुकाउन राख्यो भने पनि भीरबाट गुल्टिन्छ भन्थे,’ मेरो हजुरआमा यस्तै सम्झनाका कथन सुनाउनु हुन्छ । अहिले यस गाउँ पूर्वाधार विकासले सुसज्जित बन्दैछ । तर, गाउँघर भने रिक्तिदै गएको छ ।

ब्लगः

कुनै स्थान, कुनै गन्तव्य, कुनै बाटो, कुनै पाइला जीवनमै पृथक पृथक लाग्छ । जो नियमित यात्रामा भन्दा भिन्न अनुभूतिको हुन्छ । हो त्यही एक यात्रा । अनि आफ्नै गाउँ दशक पछि फर्किदाँको केही संकोच, केही उत्साह, केही खिन्नता ।

वर्षौं पछि गाउँ जाँदै गर्दा मनमा अनेक प्रश्न र कौतुहलताहरु थपिँदै थिए । आफू हिँड्ने गरेका गोरेटो, खेल्ने गरेको आँगन, खेतबारी, बनपाखा र गाउँ कस्तो भयो होला ? पछिल्लो समय सडक सञ्जालसंग जोडिएपछि त स्कुटर, बाइक र गाडीमा जिल्ला मुकामबाट करिब २, ३ घण्टामा पुग्न सकिन्छ । बाटो छोटो भए पनि यति समय सम्म गाउँ जान नसकेकोमा थकथकी लागिरहेथ्यो ।

स्याङ्जा जिल्लाको साविक मग्याम चिसापानी गाविस वडा नम्बर ८ र हाल हरिनास गाउँपालिका वडा नम्बर ३ को बलाम्दी गाउँ । जहाँ म जन्मिए, हुर्किए । सानो गाउँ तर सुन्दर बस्ती थियो कुनै बेला । तनहुँ र स्याङ्जाको सिमाना, मेरो गाउँ कटेपछि तनहुँ सुरु हुन्छ । तनहुँको दुलेगौँडा हुँदै अगाडि बढिरहँदा फरक अनुभव भइरहेको थियो मेरो मनमा । स्कुटरमा बस्दा समेत वरिपरीको वातावरणलाई नियालिरहेको थिएँ । हरियाली, सुन्दर अनि पहिलेभन्दा धेरै भिन्न । लाग्यो, यो १० वर्षको अवधीमा विकासले धेरै फड्को मारिसकेको रहेछ । स्कुटरमा यात्रा गरिरहँदा गाउँसम्म पुग्ने केही जीप आउने जाने गरिरहेका भेटिए । जीपलाई नियालिरहँदा मन पुराना यादले घेरिन्थ्यो, अनि मनमनै सोच्थेँ, कुनै बेला म पनि यसरी नै जीपमा बसेर गाउँसम्म पुग्थेँ, धुलो र धुवाँसंगै, अनि बस्ने ठाउँ नपाएर अटसमटस हुँदै । मनमा अनेकन कुरा खेलाउँदै दुई घण्टाको स्कुटरको यात्रा पछि जन्म गाउँ पुगेँ ।

गाउँ टेकेपछि खुसीसंगै उदास भावना छायो मनमा । प्रायः गाउँ सडक सञ्जालले जोडिएका छन्, दैनिकी धेरै सहज भएको छ । यी र यस्ता परिवर्तनले उत्साहित भए भने घर नजिकैको इमिलीको ठूलो रुख सडक निर्माणका क्रममा काटिएको लगायत देखेर खिन्न बने ।

गाउँमा पहिले जस्तो रौनकता थिएन, सुनसान प्रायः थियो । जति खेरै हिँड्ने बाटोमा मान्छे त्यति हिँडेको देखिएन । घाँस दाउरा गर्दै रमाइलो गर्ने जमात भेटिएनन्, पर्म लगाएर गाउँमा एकआपसलाई सहयोग गर्ने परम्परा लगभग हराइसकेको रहेछ । एकतमासले यो मन सोचिरहेको थियो, गाउँमा सोँचेको भन्दा धेरै परिर्वतन भइसकेको रहेछ । सोच्दा सोच्दै स्कुटर राखेको ठाउँमा धेरै बेरसम्म बसेछु । केही समयपछि मात्रै आफू जन्मिएको घरमा पुगेँ । हुन त अहिले म जन्मिएको घरमा हाम्रै आफन्त (फुपु) बस्नुहुन्छ । तर, खै किन हो ? मलाई त्यो घरलाई कहिले पनि अरु कसैको भइसक्यो भन्ने सोँच आएन । अहिलेसम्म पनि म कसैलाई भन्नुप¥यो भने हाम्रो घर भनिरहेको हुन्छु । अरु कसैको भइसकेको घरलाई हाम्रो, मेरो घर भन्नु उचित हो या होइन थाहा छैन । तर मनै त हो, पटक्कै मान्दैन । फुपु पनि हाल रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ भने उहाँका सन्तान पढाईका लागि सहर छिरेका छन् । सबै जना आ–आफ्नै संसारमा खुसी । अहिले त फुपुका आफन्त मात्रै त्यो घरमा बस्ने रहेछन् ।

घरसम्म पुग्न साथ पुराना यादले मनमा डेरा जमाइसकेको थियो । आफू जन्मिएको घर अचानक सुम्सुमाउन पुगेछु । यो घर छोडेको ठ्याक्कै १३ वर्ष पुगेछ । जब हजुरबुबाको निधन भयो, त्यसपछि म र मेरो परिवार त्यहाँ फर्किएर गएका छैनौं । हजुरबुबाको निधन भइसकेपछि मेरो परिवार बसाईं सरेर पोखरा आयौं । त्यो भन्दा अगाडि म पोखरा आइसकेको थिएँ आफ्नो पढाईका लागि । कहिलेकाहीँ आवश्यक काम परेको खण्डमा आमा पुग्नुहुन्छ । उहाँ पनि त्यस्तै मन दुख्छ भन्ने सोचेर होला प्रायः घरसम्म पुग्नुहुन्न । जहाँ काम हो, त्यहाँसम्म पुगेर फर्किनुहुन्छ । घर उही थियो, त्यही रुपरंग र त्यही स्वरुपमा । फेरी पनि मलाई भने अनौठो र उजाड लागिरहेको थियो । घरको आँगनमा सुन्तलाका तीन रुख थियो, त्यो देखिन, काटिएछ । अरु सबै त्यस्तै थिए । ती रुखमा सुन्तला खुब फल्थ्यो । स्कुलमा जाडोको बिदा हुँदा गाउँ पुग्यो भने लटरम्म सुन्तला फलिरहेको हुन्थ्यो । हामी सानो हुँदा गाउँसम्म नै सुन्तला किन्न व्यापारी डोको बोकेरै पुग्थे, हामीले पनि कति पटक देखेका हौं । तर हजुरबुबाले नाति नातिनाले खान्छ भन्दै साँचेर राख्नुहुन्थ्यो । कसैले ढुंगा हानेर खसाल्न आए पनि उहाँले कराएर भगाउनु हुन्थ्यो ।

  • तिम्रो लागि संसारकै सबैभन्दा सुन्दर र प्रिय स्थान कुन हो भन्ने कसैले प्रश्न ग¥यो भने धेरैको जवाफ हुन सक्छ आफू जन्मे, हुर्केको गाउँ ठाउँ । मेरो लागि पनि सोही कुरा लागू हुन्छ । पेसा र व्यक्तिगत आधारमा म धेरै ठाउँमा पुगिरहेको हुन्छु । तर, सबैभन्दा सुन्दर मेरो गाउँ लाग्छ ।

यी सबै यादले मलाई भावुक बनाइसकेको थियो । सबै भन्दा बढी त हजुरबुबाको याद । ती याद मनमा अझैसम्म छन् जस्ताको तस्तै । घरलाई एकतमास लाएर सुम्सुमाइरहँदा कान्छी त आइस् भन्दै हजुरबुबाले बोलाउनु भयो कि जस्तो लाग्थ्यो । आँगनमा आएर एकटक लागेर घरलाई धेरै समय नियालिरहेँ अनि याद आयो आफू खेलेको, रमाइलो गरेको र बालहठका कारण परिवारलाई सताएको । जीवन हो, अविरल अगाडि बढिरहन्छ, खोला जस्तै एकनास बगिरहन्छ, बाँकी त केवल याद हो आफूसंग रहने । म संग पनि जन्मिएर हुर्किएको घर र गाउँको याद मात्रै बाँकी थियो । घरलाई नियालेर टोलाइरहेका आँखामा कति बेला आँसुले ठाउँ ओगटेछ थाहै पाइन । घर अरु कसैको भइसकेको हो भन्ने थाहा छ, तर मन मान्दैन, भित्रभित्रै रोइदिन्छ, यादले यसै सताइदिन्छ अनि अनायसै मुखबाट अहिलेसम्म निस्किन्छ हाम्रो घर । घरका हरेक कुनालाई हेरिरहँदा बोलाउन गाउँका एकजना फुपु र छेमा आइपुग्नु भयो मलाई चिनेपछि । फुपु सुन्तलाको रुख त काटिएछ है भन्दै कुरा गरिरहँदा फुपुले अचानक भन्नुभयो, ‘घरधनी पनि गयो, यहाँको रुपरंग पनि तिमीहरुसंगै गयो ।’ उहाँको यो कुरा सुनेर झनै मन खिन्न भयो । धेरैबेर बसेर उहाँहरुसंग गफ गरिरहने फुर्सद भएन । उहाँहरु आफ्नो कामका लागि कतै जान लाग्नु भएकाले रोकिराख्ने कुरा पनि भएन । त्यसैले सबै जना आ–आफ्नो बाटो लाग्यौं ।

तिम्रो लागि संसारकै सबैभन्दा सुन्दर र प्रिय स्थान कुन हो भन्ने कसैले प्रश्न ग¥यो भने धेरैको जवाफ हुन सक्छ आफू जन्मे, हुर्केको ठाउँ । मेरो लागि पनि सोही कुरा लागू हुन्छ । पेसा र व्यक्तिगत आधारमा म धेरै ठाउँमा पुगिरहेको हुन्छु । तर, सबैभन्दा सुन्दर मेरो गाउँ लाग्छ । घरलाई धेरै बेर नियालिरहने हो भने झन् बढी भावुक भइन्छ भन्ने सोँचले केही बेर गाउँ घुम्न थाले । धेरै डुलिरहने फुर्सद थिएन । विशेष कामले त्यहाँ पुगेकाले सोही दिन फर्किनुपर्ने बाध्यता थियो । पहिले जुन रौनकता थियो, त्यो अहिले गाउँमा भेटिएन । गाउँ सुनसान थियो । गाइवस्तु चराउन जाने, घाँसदाउरा काट्ने, मेलापात गर्ने खासै भेटिएनन् । युवा पुस्ता त न्यून मात्रामा मात्रै छन् भन्दा हुन्छ, धेरै शहर झरिसकेका रहेछन् । घरधनी सहर केन्द्रित भए पछि कैयन घर भत्किसकेछन्, कैयन जिर्ण बनेका छन् । सडक सञ्जाल पुगेपछि गोरेटो बाटोमा झार उम्रिएको थियो । सधैं ओहोरदोहोर भइरहने बाटो सुनसान बनेछन् । पल्लो गाउँसम्म पुग्ने बाटोमा सयौं वर्ष पुरानो समीको रुख थियो । त्यो रुख पनि सडक निर्माण हुने भए पछि काटिएछ । समीको रुखको नामोनिसान थिएन ।

मेरो गाउँको मात्रै होइन, गाउँ छोडेर सहर झर्ने र बसाइँसराइ गर्ने हाल नेपालका प्रायः गाउँको समस्या हो । सन्तानलाई उचित शिक्षा दिने, रोजगारी लगायतका अन्य कारणले नेपालका गाउँ रित्तिन थालेका छन् । युवापुस्ता वैदेशिक रोजगारका लागि विदेशिने र नेपालमै भएका सहर झर्ने क्रम बढ्दा बालबच्चा र वृद्धवृद्धा मात्रै छन् गाउँघरमा । यो समस्याबाट मेरो जन्म गाउँ पनि अछुतो रहने कुरा भएन । बसाइँसराइले गाउँ रित्तिन थालेपछि काम गर्ने मान्छे भएनन् । खेतबारी बाँझै हुन थालेका छन् । गाइवस्तु पाल्ने प्रचलन हराउँदै गएको छ । यी सबै दृष्य देखिरहँदा लाग्यो, गाउँ अब गाउँ रहेन । हुन त म आफैं पनि बसाईँ सरेर सहर झरेको हुँ । त्यसैले कसैलाई किन गाउँ छोडेको भन्ने प्रश्न गर्न मिल्दैन । तर, राम्रा परिर्वतन देख्दा देख्दै अवसरको खोजीमा गाउँ छोड्नेको संख्या बढिरहेको र गाउँ रित्तिएको देख्दा मन खिन्न हुने रहेछ ।

गाउँ छोडेर सहर केन्द्रित हुनु कसैको रहर हुँदैन । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको उचित सुविधा भएको भए आफू जन्मिएको माटो छोडेर हिँड्ने थिएनन् । कुनै समय बलाम्दीबाट पोखरासम्म आउन दिनभरी लाग्थ्यो । हिँडेर तनहुँको हाल शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौँडा आइपुग्नै ९÷१० घण्टा लाग्थ्यो । अनि गाडी चढेर पोखरा आउनुपर्ने समय थियो । सडक सञ्जाल गाउँमा जोडिएपछि दिनभरी लाग्ने समय छोटिएर २÷३ घण्टा भएको छ । सुविधा त पुग्यो, गाउँ छोड्नेको संख्या भने घटेन । मेरो गाउँलाई त झन् भीरको टाकुरा भनिन्थ्यो रे । तल अजंगको भीर माथि टुपुक्क बसेको गाउँ, यस्तै छ बलाम्दी । ‘पहिले–पहिले बलाम्दीमा छोरी दिएर के काम, भाँडा माझेर सुकाउन राख्यो भने पनि भीरबाट गुल्टिन्छ भन्थे,’ मेरो हजुरआमा यस्तै सम्झनाका कथन सुनाउनु हुन्छ । पहिलो पटक गाउँमा बस पुग्दा भीरको टाकुरामा कसरी गाडी पुग्यो भन्ने प्रश्न हामी आफैंले सुनेका हौं । बत्ती, पानीको सुविधा राम्रै छ । सहरमा १८ घण्टासम्म लोडसेडिङ हुँदा बलाम्दी लगायतका गाउँमा झलमल्ल बिजुली बल्थ्यो । फेरी पनि गाउँ छोड्नेको जमात विस्तारै बढिरहेकै छन् ।

गाउँ हेर्दै हिँडिरहँदा समय कति बेला बित्यो पत्तै पाइन, समयले नेटो काटिसकेछ । मन त केही दिन आफू जन्मिएको घर र गाउँमै बस्ने थियो । तर, परिस्थिति र समय त्यस्तो थिएन । केही समय वरपरको सुन्दर दृश्य नियालेर मन र आँखाभरी सजाउँदै फर्किएँ । फर्किँदा बाटोमा पर्ने चौतारा हेरेँ, जहाँ हामी सुस्ताउँथ्यौँ, थकाई माथ्र्यौं । त्यही चौतारा सडक बनाउने क्रममा आधा भत्किसकेछ । मान्छे बस्ने ठाउँ थिएन, जराले सानो स्थान ओगटेको थियो । थकाई मेटाउन बनाइएको चौताराले आफैंँ थकाई मार्न खोज्दै छ कि जस्तो देखिएको त्यो दृश्य । एक दशकको अन्तरालमा गाउँ जाँदा मनभरी याद सजाएर आएँ । केही बिर्सिसकेका याद फेरी ताजा बनाइदियो यो यात्राले । थाहा छैन अब आफू जन्मिएको गाउँमा फेरी फर्किएर जाने मौका कहिले मिल्छ ? तर, यो यात्रा मनमा मिठो सम्झना र जिवन्त बनेर बसिरहनेछ ।

 

२०८०, १३ असार बुधबार १४:११
कथालिका नयाँ कथा
कथालिका