गुफाको कथाः ‘सात तला छ, जहाँ ढुंगा बल्छ’ – कथालिका

गुफाको कथाः ‘सात तला छ, जहाँ ढुंगा बल्छ’

  • भालेडाँडाको जंगलमा अवस्थित सात वटा तलामा विभाजित यस गुफाको उचाई करिब १०० मिटर र चौडाइ २५ मिटर हारहारीको छ ।

ढुंगा र चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओडार । जुन नेपालका पहाडी र हिमाली भुगोलमा अनगिन्ती छन् । एसियाकै ठुलो गुफा समेत नेपालमा रहेको दाबी छ ।

पोखरा त तालसँगै गुफाहरुको शहर/उपत्यकाको रुपमा पनि चिनिन्छ ।महेन्द्र गुफा पोखरा नजिकै रहेको प्रसिद्ध गुफा हो । नेपालकै सबै भन्दा गहिरो बैतडीको पाताल भुमेस्वर गुफा, इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयज र फ्रान्सेली गुफा विशेषज्ञको टोलीले गरेको प्रारम्भिक अध्ययनमा आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो । पर्वतको गुप्तेश्वर र अल्पेश्वर गुफा, तनहुँको बन्दिपुर स्थित सिद्ध गुफा, गुल्मीको विचित्र गुफा, खोटाङको हलेसी लगायतका बिभिन्न स्थानमा चर्चित गुफा छन् ।

जात्रा, पर्व, मन्दिरका अलावा झरना, खोला, गुफा लगायत प्रकृतिको अधिक सुन्दर रचनाहरूले पर्यटकलाई बेसी लोभ्याउँछ । र त गुफा लगायतका प्राकृतिक बनावट वा भूसंरचना पर्यटकीय केन्द्र बन्ने सम्भावना बोकेका नेपालमै प्रशस्त छन् ।

सात तले गुफा

हाम्रा सभ्यता, संस्कृति र जीवनसँग जोडिएका गुफाहरू सदैव आकर्षक र साहसिक प्रतित हुन्छन् । यस्तै एउटा गुफा धादिङ स्थित सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा भेटिएको छ । गाउँपालिका स्थित भालेडाँडाको जंगलमा अवस्थित सात वटा तलामा विभाजित यस गुफाको उचाई करिब १०० मिटर र चौडाई २५ मिटर हारहारीको छ ।

फरक परिचय र इतिहास बोकेको साततले गुफा प्रचार र प्रवद्र्धनको अभावमा ओझेलमा छ । स्थानीयका साथै सिङ्गै राष्ट्रले गुफा पर्यटन मार्फत लाभ लिन सक्ने गुफाको मौलिकता र महत्वको हिसाबले यथोचित चर्चामा आउन नसकेको स्थानीय बताउँछन् ।

गुफा भित्र अँध्यारोमा पनि चमक

गुफा प्रवेश बिन्दु साँघुरो भएता पनि करिब ३ मिटर भित्र गइसकेपछि गुफा फराकिलो र उज्यालो प्रतित हुन्छ । निष्पट्ट अँध्यारोमा पनि गुफाभित्र झिलिमिली देखिने ढुंगाहरू रहेको स्थानीय बताउँछन् । “आकाशजस्तो टलल टल्किन्छ’ गुफासम्म आउने सिढी निर्माण कार्यमा सरिक एक स्थानीय भन्छन् । गुफा भित्र सयौं चमेराहरु पनि बस्दै आएका छन् ।

हेर्दा आश्चार्य लाग्ने यस गुफा भित्र बिभिन्न प्रकारका प्राकृतिक मूर्तिका आकृतिहरु देखिन्छन् । गुफा भित्र भगवानका आकृति देखिनुका साथै बिभिन्न जनावरका आकृति पनि अंकित छन् । गुफा भौगर्भिक इतिहास बताउने प्रमुख कडी हो । गुफामा प्राकृतिक अवस्थामा निर्मित यस्ता आकृतिहरूले गुफाको प्राचीनतालाई पुष्टि गरेकाले यसबारेमा थप भौगर्भिक अध्ययन–अनुसन्धान आवश्यक देखिएको भूगर्भका विद्यार्थी आश्विन दुवाडी बताउँछन् ।

गुफा के हो ? कसरी निर्माण हुन्छ ?

हाम्रो देशका विभिन्न भागमा प्राकृतिक गुफा छन् । ती मध्ये कतिपय गुफा सर्वसाधारणले हेर्न मिल्ने गरी व्यवस्थित गरिएका छन् भने कतिपय ठाउँमा हाम्रो ध्यान पुग्न नै बाँकी छ । जे जति व्यवस्थित छन्, तिनीहरू कुनै न कुनै प्रकारले सांस्कृतिक र धार्मिक आस्थासँग गाँसिएका छन् । सोही अनुरूप तिनीहरूको देखभाल भइरहेको छ । तर, प्राकृतिक गुफाहरूलाई हामीले बहुआयामिक प्राकृतिक सम्पदाको रूपमा विकास गर्नुपर्नेमा त्यसो भइरहेको छैन । गुफा आफैँमा भू–विज्ञान बुझ्ने एउटा सुन्दर प्राकृतिक संग्रहालय भएको हुनाले यसको व्यवस्थापन शैक्षिक पर्यटकीय दृष्टिकोणले पनि गरिनुपर्छ । यी गुफा कुनै एउटा कालखण्डमा त्यो ठाउँमा भएको भौगर्भिक वातावरणका ठूला प्रमाण हुन् । गुफाहरू प्रायः चुनढुङ्गा भएको ठाउँमा बनेका हुन्छन् ।

चुनढुङ्गामा ‘क्याल्साइट’ नाम गरेको खनिज हुन्छ, जो अम्लीय पानीमा बिस्तारै घुल्छ र पानीसँगै बगेर जान्छ । यसरी चुनढुङ्गाको सानो अंशलाई पानीले (खासगरेर भूमिगत जलले) आफैँसँग विलीन बनाएर लाँदा त्यहाँ बिस्तारै खाल्टो पर्न थाल्छ । यो क्रम लाखौँ–करोडौँ वर्ष चलेपछि त्यहाँ गुफा बन्ने भूगर्भशास्त्री प्रा.डा. तारानिधि भट्टराईले बताए । भूमिगत जल बग्ने बाटोमा बन्ने हुनाले गुफा पनि बगेको खोलाको एउटा भाग जस्तो देखिन्छ । कतिपय ठाउँमा अहिले पनि गुफाको सिलिङबाट भूमिगत जलका थोपा झरिरहेका भेटिन्छन् । नियालेर हेर्ने हो भने त्यो पानीको थोपा जहाँ खस्छ त्यहाँ भर्खर उम्रिएको बाँसको तामा जस्तो टुसो पलाएको देखिन्छ । पानीको थोपा चुहिने सिलिङको ठाउँलाई नियालेर हे¥यो भने गाइको थुन आकारको आकृति झुण्डिरहेको देखिन्छ । यस साततले गुफामा पनि गाईको थुन आकारका आकृतिहरू प्रशस्त मात्रामा झुन्डिरहेको पाइन्छ ।

पानीको थोपा कतै गाइको दूध मिसिएको जस्तो सेतो हुन्छ भने कतिपय ठाउँमा कञ्चन हुन्छ । भूमिगत जलले ‘क्याल्साइट’लाई आफूमा घोलेर ल्याउँदा पानी दूध मिसिएको जस्तो सेतो देखिएको हो । यो बाहेक, गुफामा अहिले पनि अरू भौगर्भिक प्रक्रिया चलिरहेका हुन सक्छन् या विगतमा क्रियाशील भएका प्रक्रियाले बनाएका आकर्षक आकृति हुन सक्छन् । त्यसैले विज्ञानका अध्येताका लागि र बालबालिकालाई विज्ञानमा चासो बढाउनका लागि गुफा निकै महत्व र आकर्षणको विषय भएको भूगर्भशास्त्री भट्टराईको भनाई छ । यद्यपि, गुफालाई अहिलेसम्म पनि वैज्ञानिक सम्पदाका रूपमा व्यवस्थित गरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने सोच बनाउन नसकेको उनी बताउँछन् । यो काम गर्न अब पनि ढिलो गर्न नहुने भट्टराई सुझाउछन् ।

गुफाको आयु

हरेक गुफाको निश्चित आयु हुन्छ । गुफाको आयु अब कति होला ? गुफालाई बचाउन र गुफाको आयु लम्ब्याउन के–के गर्नुपर्ला ? गुफाको वास्तविकता पत्ता लगाउनका लागि गुफाको भौगर्भिक अध्ययन अपरिहार्य हुन्छ । देशका अन्य भूभागमा पछिल्लो समय आएर मानवद्वारा पत्ता लागेको गुफामा अन्धाधुन्ध सिढी निर्माण एवम् भौतिक पूर्वाधारहरू निर्माण गरिँदा गुफा चिरिने÷भासिने लगायतका समस्याहरू देखिएका छन् । तसर्थ, हालसालै चर्चामा आई निर्माण कार्य थालिएको यस साततले गुफाले देशका अन्य गुफाको नियति नभोगोस् भन्ने तर्फ अहिल्यै सचेतता अपनाउनु बुद्धिमत्तापूर्ण हुने भूगर्भशास्त्री भट्टराई बताउँछन् ।

गुफा संरक्षणका लागि पहल

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस गुफा संरक्षणका लागि ‘साततले गुफा संरक्षण’ अभियान थालिएको छ । यस कार्यक्रम अन्तर्गत भक्त बहादुर मगरको अध्यक्षतामा एक समिति सक्रिय छ । जसको अग्रसरतामा १० लाखको रुपैयाँको लागतमा गुफा प्रवेशद्वारसम्म सिंढी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदीको ब्यबस्था नहुदाँ आन्तरिक तथा बाह्य पर्यटकको गनतव्य बन्न सकेको छैन । धार्मिक एवम् ऐतिहासिकताका साथै समयक्रममा आएर पर्यटकीय दृष्टिबाट समेत अत्यन्त महत्वपूर्ण स्थानको रूपमा परिचय साट्न आतुर यस गुफाको सबलीकरणका लागि थप कदम चाल्नु आवश्यक देखिन्छ ।

नेपालजस्तो मुलुकले पर्यटन क्षेत्रलाई अब झन् महत्व दिएर अघि बढ्नुपर्ने निर्विवाद विषय हो । यस तथ्यको जगमा उभिएर भन्नुपर्दा यस साततले गुफालाई राज्य तहबाटै (केन्द्र वा प्रदेश सरकार) उपेक्षाको आहालबाट बाहिर निकाल्ने सत्प्रयत्न गरिनु पर्छ । यसो गर्दा यस महत्वपूर्ण स्थानविशेषको पहिचान चौतर्फी फैलिनुका अलावा पर्यटक भित्र्याएर आर्थिक उपार्जनको स्रोतसमेत खुल्दै जाने अपेक्षा गर्न सकिन्छ ।

भूगर्भशास्त्री या भौगर्भिक इन्जिनियरको सल्लाह र प्रत्यक्ष रेखदेखमा सात तले गुफालाई केन्द्रित गरि भौगर्भिक पर्यटकीय पदमार्गको विकास गरेको खण्डमा भौगर्भिक महत्वका दृष्टिकोणले उपर्युक्त पर्यटकीय स्थल साततले गुफाले पर्यटनमार्फत समग्र पालिका र देशले नै लाभ लिन सक्ने गुफा संरक्षण समितिका अध्यक्ष भक्तबहादुर मगरले बताए ।

गुफा कसरी पुग्ने ?

पृथ्वी राजमार्ग अन्तर्गतको नवनिर्मित घाटबेसीको मोटर पुल काटेर पिपलटार हुँदै गाडीबाट २० मिनेटको छोटो समयमा गुफा परिसर पुग्न सकिन्छ । गुफा तल रहेको चौतारामा गाडी बिसाई करिब पन्ध्र मिनेटको सिंढीको बाटो पैदल हिड्ने हो भने गुफाको प्रवेशद्वारमा पुग्न सकिन्छ ।

२०८०, १७ असार आईतवार ०५:३०
कथालिका नयाँ कथा
कथालिका