हिमालबाट उदाएकी सफल उद्यमी सुकुन – कथालिका

हिमालबाट उदाएकी सफल उद्यमी सुकुन

  • दलित भएकै कारण प्रशोधनमा बिभिन्न परिकार बनिरहँदा सुकुनको मनमा एउटै प्रश्न र भय हुन्थ्यो, गैरदलित समुदायले यी परिकार नखाइ दिए उद्योगको के हाल होला ? स्याउको सुकुटी, आलुको चिप्स लिएर घरदैलोमा जाँदा निसंकोच खाए पछि उनको संघर्षशील उद्यम यात्राले सफलताको बाटो तय ग¥यो ।

हिमाल पारीको जिल्ला मुस्ताङ । भौगोलिक आधारमा विकट भए पनि सुन्दर हिमश्रृंखला र भुबनोटले जे जति सुन्दर र सुसज्जित छ, आन्तरिक र बाह्यय पर्यटककाका लागि मनमोहक छ । उति नै यहाँको जनजीवन कठिन र कष्टप्रद पनि छ । त्यो भुगोलले मात्र होइन, यहाँको परम्परागत प्रथा, प्रचलनले पनि उपेक्षित समुदायका लागि माथि उठ्न उत्तिकै जटिलता छ ।

तर, त्यसका बाबजुद पनि स्थानीयले अथक मेहेनत, परिश्रमले आफ्नो परिवारको जीविका मात्र होइन, सिंगो समाज र देशमा समेत पृथक पहिचान बनाउन सफल समेत भएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाकी सुकुन रसाइली त्यसकै एक उदाहरणीय पात्र हुन् । जसको एक सफल उद्यमी र सामाजिक अभियन्ताका रुपमा गर्विलो परिचय छ । मुखिया प्रथा बिद्यमान भएको समाजमा दलित हुनु, त्यसमा पनि महिला हुनुको हिसाबले उनले बेहोरेका दुःख, समस्या र चुनौतीका पीडा कहाली लाग्दा थिए र छन् । र पनि उनले हिम्मत हारेनन् । निरन्तर कर्म उनको जीवनको आदर्श र सफलताको कारक बन्यो ।

काठमाडौंमा पहिलो पाइला टेके पछि…

सुकुनका लागि समाजमा अगाडि बढ्ने र बाहिरी दुनियाँलाई नजिकबाट नियाल्ने खुड्किलो बनेको थियो महिला स्वयंमसेविकाको जिम्मेवारी । त्यही बेला उनले विदेशी नागरिकको सहायतामा काठमाडौंमा तालिम लिने मौका पाइन् । जुन तालिम ६ महिनासम्म चलेको थियो । सुकुनले त्यही बेला पहिलो पटक काठमाडौं टेकिन् । तालिममा पिछडिएका, बेचिएका महिलाबारे बुझ्न पाइन् । त्यसपछि उनलाई लाग्यो, महिला पिछडिएका छन्, उनीहरुलाई जागरुक बनाउनुपर्छ । उनले तालिम लिएर काठमाडौंबाट फर्किदा महिला पुनःस्थापना केन्द्र ओरेक नेपालले मुस्ताङमा भर्खर आफ्नो शाखा स्थापना गरेको थियो । उनलाई महिला जागरुक सम्बन्धी तालिम लिएकाले काठमाडौंबाटै जागिरको लागि प्रस्ताव आयो । ओरेक नेपालको प्रतिनिधिले लिएको अन्तरवार्तामा नाम निकाल्न सफल भएपछि उनले त्यहाँ जागिर सुरु गरिन् । कमाई थोरै हुँदैमा उनले जागिर छोडिनन् । किनकि उनलाई समाजमा रहेका महिलाको अवस्था बुझ्नु थियो । ओरेकमा काम गर्दा उनले धेरै महिलामा प्रजनन सम्बन्धी समस्या भएको पाएकी थिइन् । ओरेकमा उनको कार्यकाल ५ वर्षको थियो । परियोजना सकिएपछि उनको जागरि पनि सकियो ।

जिल्लामा ओरेकको परियोजना सकिएपछि उनलाई समय व्यतित गर्न मन लागेन । विदेश जाने र टन्न कमाउने रहर कहिले भएन । सानै उमेरमा उनको विवाह भएको थियो । विवाह हुँदा सुकुनको १४ र उनका श्रीमानको उमेर १८ वर्षको थियो । विवाह उनको राजीखुसीमा भएको थिएन । त्यो बेला उनी बल्ल कक्षा ८ मा पढ्दै थिइन् । विवाह पछि नै उनले घर बाहिर काम गर्न सुरु गरेकी थिइन् । सुकुनका श्रीमान विदेश जाने मात्रै भनिरहन्थे । यता नेपालमै गर्नुपर्छ भन्ने सोच सुकुनको थियो । जति सम्झाउने कोसिस गरे पनि नसके पछि उनले श्रीमानलाई विदेश पठाइन् । विदेश गएर केही वर्ष पछि घर फर्किन आग्रह गर्दा उनका श्रीमान् घर आउनै मान्दैनथे । सामाजिक अभियन्ता भएर हिंडिरहँदा र श्रीमान साथमा नहुँदा उनले धेरै चुनौती झेलेकी छिन् । १४ वर्ष (१० वर्ष दुबई र ४ वर्ष साउदी अरेबिया) उनका श्रीमान् विदेश बसे । अहिले सुकुनका श्रीमान नेपाल आएका छन् र उनलाई साथ दिइरहेका छन् ।

छिमेकीले ‘कामी’को होटल भनिदिए, पाहुना भड्काइदिए

चुनौती, दुःख र पीडालाई साथी बनाएर हिँड्ने सुकुनलाई अब अगाडि बढ्नुपर्छ, आफैं केही व्यवसाय गर्नुपर्छ भन्ने लागिसकेको थियो । उनलाई लाग्यो, मुस्ताङमा पर्यटक आइरहन्छन्, होटल खोल्छु । त्यसपछि श्रीमान र परिवारसंग सल्लाह गरेर मार्फा बसाइ सरिन् । सुरुमा उनलाई केही हिच्किचाहट थियो । दलित भनेर आफ्नो होटलमा खाना खान कोही नआउने हुन् कि, छेमेकीले केही पो भन्ने हुन् कि ? तर, यी सबै प्रश्न र संशयका बीच उनी हारिनन्, आफ्नो निर्णयमा दृढ रहिन् । २०६१÷६२ सालमा उनले मार्फामा होटल सञ्चालनमा ल्याइन् ‘देउराली होटल एण्ड रेष्टुरेण्ट’ नाम दिएर । होटल सञ्चालन गरिसके पछि सुकुनलाई गैरदलित समुदायमा टिकिरहन सहज भएन, जातीय विभेद भोग्नुप¥यो । ‘छिमेकीले ट्रेकिङमा जाने पर्यटकको समूहलाई त्यो कामीको होटल हो, त्यहाँ खाना खान नजानु भनिदिएछन्, त्यो समूहले मलाई आएर भने,’ भावुक हुँदै सुकुनाले भनिन्, ‘यो कुराले असाध्यै पीडा दियो, अनि सोच्न बाध्य बनायो, आखिर दलित भनेको कस्तो हुन्छ र हामीलाई केही गरेर खान्छु भन्दा किन यति धेरै भाँजो हालिन्छ ?’ उनलाई लाग्छ, यो दलित भन्ने शब्द नै हटाउनुपर्छ ।

स्थानीय उत्पादन, प्रवर्द्धनका लागि मार्फामा उद्योग

होटल व्यवसायमा मात्रै सुकुनले आफूलाई सीमित राखिनन्, स्याउको सुकुटी बनाउँथिन् । उनले ३ देखि ४ सय किलोसम्म स्याउ ल्याएर प्रशोधन गरेर रातभरि काट्थिन् । काटेको स्याउ बिहानमा सुकाएर हावा चल्ने बेलामा उठाउनु सुकुनको दैनिकी थियो । केही पर्यटकलाई दिन्थिन्, पछि मुस्ताङमै माग बढ्न थाल्यो । स्याउको सुकुटीको माग बढेपछि उनलाई अब यो व्यवसायलाई उद्योगकै रुपमा अगाडि बढाउनुपर्छ भन्ने सोच आयो । सुकुनले व्यवसायलाई उद्योगको रुपमा अगाडि बढाउने प्रण गरिसकेकी थिइन् । त्यसैले उनी घरेलु तथा साना उद्योग कार्यालयमा थप बुझ्न गइन् । घरेलु गएपछि उनले थाहा पाइन्, महिलाको नाममा जग्गाको लालपुर्जा भए मात्रै आफ्नो नाममा उद्योग सञ्चालन गर्न पाउने रहेछन् । उनलाई सजिलो भयो, किनकि उनको जग्गाको लालपुर्जा आफ्नै नाममा थियो । सबै प्रक्रिया र कागजपत्र मिलेपछि उनले २०७० सालमा ‘मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग’ जिल्लाको घरपझोङ गाउँपालिका २ मार्फामा स्थापना गरेकी हुन् । उद्योग सञ्चालन भएपनि संरचना निर्माण गर्न उनलाई अर्को चुनौती आइलाग्यो, आर्थिक अभाव भयो । भगवान् भन्छन् रे, तँ आँट म पु¥याउँछु । सुकुनको जीवनमा यो उखान ठ्याक्कै मेल खायो । त्यो बेला जिल्लामा हिमाली आयोजना भित्रियो, जसले त्यो बेला पशुपालन तथा कृषि क्षेत्रलाई मात्रै अनुदान दिन्थ्यो । हिमाली आयोजनाका प्रतिनिधिसंग बुझ्न जाँदा उनलाई संरचनाको खाका ल्याउन भनियो । पहिलो पटक खाका बुझाउँदा सफल भइनन्, र पनि निराश भएनन् । फेरि दोस्रो पटकमा उनी सफल भइन् ।

उनको चुनौती यतिमा मात्रै सीमित भएन । हिमाली आयोजनामा छनौट भइसकेर उद्योग सञ्चालन गर्ने समयमा नेपालमा भुकम्प गयो, भारतले नाकाबन्दी ग¥यो । प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य वृद्धि भयो । पछि उनले कृषि विकास बैँकबाट लोन लिएर आफ्नो प्रशोधन केन्द्रका लागि काम अगाडि बढाएकी थिइन् । ‘यहाँ चुनौती पाइला–पाइलामा आउँछन् ।’ उनी भन्छिन्, ‘महिलाले अवसरको खोजी आफै गरेर बाटो आफैँं बनाउने हो ।’ सुकुनलाई लाग्छ, व्यवसाय गर्न चाहने हरेकले समयलाई चिनेर व्यवस्थापन गर्न सक्नुपर्छ, अनि मात्रै सफल भइन्छ । ४५ लाखको लगानीबाट सुरु भएको उनको प्रशोधन केन्द्रमा अहिले करिब १ करोड ३० लाखसम्म लगानी छ । सुकुनको प्रशोधन केन्द्रमा अहिले स्याउबाट बनाइने परिकारका लागि १० देखि १६ टनसम्म कच्चा पदार्थ खरिद गर्छिन् । ‘बिजनेस गर्नेले उपभोक्ताका लागि सोच्नुपर्छ, नाफा खान खोजियो भने पछि बिलाएर जान्छ ।’ कथालिकाले आम्दानीको विषयमा गरेको प्रश्नको जवाफ दिँदै उनी भन्छिन््, ‘जीवन बाँचिएको छ, रोजगारीमा आउनेलाई उनीहरुको कमाई दिइएको छ, यही आम्दानी हो ।’ कामदारको ज्याला, कच्चा पदार्थको ढुवानी लगायतको खर्च कटाएर वर्षमा ५ देखि ६ लाखसम्म बचत हुने उनको भनाई छ ।

अनि उद्योगमा उत्पादित स्याउको सुकुटी, आलु चिप्स गैरदलितले रुचाए

हाल उनले सञ्चालन गरेको प्रशोधन केन्द्रमा स्याउको सुकुटी, ड्राइ एप्पल, एप्पल क्याण्डी, एप्पल माडा, एफ्रिकट जाम, आलुको चिप्स लगायत परिकार बन्छन् । हाल उनको प्रशोधन केन्द्रमा बनाइने आलुको चिप्स चर्चामा छ । ‘मुस्ताङी आलुको चिप्स यति छिटो हाइलाइटमा आयो कि, अहिले माग धान्न हम्मे–हम्मे परेको छ ।’ उनले भनिन् । उनको प्रशोधन केन्द्रबाट उत्पादित स्याउ र आलुका परिकार पोखरा, काठमाडौं, चितवन, भैरहवा, बुटवल लगायतका सहरमा निर्यात हुन्छ । सुकुन प्रशोधन केन्द्रलाई आवश्यक पर्ने कच्चा पदार्थ स्थानीय कृषिकबाटै खरिद गर्छिन् । मुस्ताङको स्याउ अहिले पनि ठेकेदार मार्फत् विक्री हुन्छ । सुकुनका अनुसार ठेकेदार सिधै स्याउको बगैँचामा पुग्छन्, अन्धाधुन्ध तरिकाले बोट हेरेर मात्रै स्याउ किनिदिन्छन्, तर उनीहरुलाई के कति स्याउ उत्पादन हुन्छ भन्ने थाहा हुँदैन । जब उनी किसानसंग जान्छिन्, अनि जवाफ पाउँछिन्, ‘हामीलाई ठेकेदारले यति रकम दिन्छु भनेका छन्, स्याउ बिक्री गरिसक्यौँ ।’ अन्धाधुन्ध ठेकेदार मार्फत् स्याउ बिक्री गर्दा उनीहरुले पैसा पाएका छैनन् । सुकुनले भने किसानलाई हाताहाती पैसा बुझाउँछिन् ।

सुकुन दलित भएकै कारणले आफुहरुले छोएको गैरदलितले नखाएको कैयन देखे भोगेकी छिन् । प्रशोधन केन्द्रमा यी सबै परिकार बनिरहँदा उनको मनमा एउटै प्रश्न आउँथ्यो, गैर दलितहरुले यी परिकार खान्छन् कि खान्नन् होला ? ‘आलुको परिकार बनाएर सुरुमा छिमेकीको घरदैलोमा आफैँ लिएर गएँ,’ उनी सम्झिन्छिन्, ‘उहाँहरुले निसंकोच खानुभयो ।’ आफ्नो प्रशोधन केन्द्रमा बन्ने परिकार बोकेर पसल–पसल पुग्थिन् । अहिले सुकुन प्रशोधन केन्द्र सहित राजनीति, समाजसेवा, सामाजिक अभियन्ताका रुपमा सक्रिय छिन् । उनको काम र सक्रियता देखेर उनका श्रीमान सहित दुई छोरी र दुई छोरा प्रफुल्ल छन् । एक छोरा त नेपाली सेनामा भर्ति भएका छन् । विदेश सकेसम्म जानु हुँदैन भन्ने सोच राख्ने सुकुनले छोरालाई विदेश जानबाट रोक्नै आर्मीमा भर्ती गराएकी हुन् । धेरैलाई लाग्न सक्छ, विकट जिल्लामा त्यति धेरै व्यवसाय गरेपछि सुकुनले सहरमा घर जग्गा जोडिसकेकी छिन् होला । उनले यो सोचलाई गलत सावित गरेकी छिन् । ‘हामीले आफ्नै ठाउँमा केही गरेर २ पैसा कमाउने हो, सहरमा घर जग्गा किनेर कसले देख्छ र ?’ उनले भनिन्, ‘सहरमा घरजग्गा किन्ने पैसाले उद्योगलाई फराकिलो बनाउने हो, मलाई सहरमा बस्न आवश्यक छैन, मुस्ताङकै यही गाउँमै खुसी छौ ।’

जातीय बिभेद र उपेक्षा अझै विकराल
मुस्ताङमा जातीय भेदभाव तथा छुवाछुत व्याप्त रहेको सुकुनको अनुभव छ । अहिले पनि छिमेकी सुकुनको घरमा खान आउँदैनन्, पर्यटक मात्रै आउँछन् । ‘हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय क्षेत्र भए पनि त्यही ठाउँमा बसोबास गर्ने दलित समुदाय पिछडिएका छन्,’ उनले भनिन् । सकुनका अनुसार मार्फामा विवाह होस् या अन्य भोज, त्यसमा दलित र गैरदलितले खाना खाने स्थान फरक हुन्छ, फरक देखेपछि उनीहरु त्यस्ता भोजमा जाँदैनन् । ‘भोजमा सुरुमा गैरदलितले खाएपछि दलितले खान्छन्, सुन्दर ठाउँ भए पनि यहाँ दलित समुदायका व्यक्ति उपेक्षित भएर बस्न बाध्य छन्,’ उनी भन्छिन्, ‘तीन तहको सरकारको ध्यान यो विषयतर्फ जान सकिरहेको छैन भन्ने लाग्छ ।’ छिमेकी आफ्नो होटलमा नआउने मात्र होइन, पाहुना पर्यटकलाई समेत नजान भन्ने छिमेकी र समाजमा जातिय बिभेदको अवस्था कुन रुपमा छ भन्ने कुरा सहजै अनुमान गर्न सकिने उनको कथन छ । ‘मेरो होटलमा गैरदलित आजसम्म आउनुहुन्न, चिया पनि खानुहुन्न,’ उनी प्रश्न गर्छिन्, ‘दलित मान्छे होइनन् ? कुकुर भान्सामा पुग्छ भने दलित जान सक्दैनौं, के दलित निधारमा लेखिएर आएको हुन्छ र ?’

सासु आमाको साथ सफलताको कारक
कसैको साथ बिना एक्लै सफलता हासिल गर्नु सहज हुँदैन । सुकुनलाई सामाजिक कार्यदेखि जागिर खाँदासम्म र प्रशोधन केन्द्र सञ्चालन गर्नु सहज थिएन । तर, उनले साथ पाइन् नसोचेको व्यक्तिबाट । नेपाली समाज पितृसत्तात्मक समाज हो, जहाँ अहिले पनि बुहारी भएपछि यो गर्नुहुन्न, त्यो गर्नुहुन्न, जागिर र घर बाहिरका काम गरेपनि घरको सबै काम भ्याउनुपर्छ भन्ने सोँच व्याप्त छ । यो सोचको भारी सुकुनले बोक्नुपरेन । सुकुन ओरेकमा जागिरे र स्वयंमसेविका हुँदा बालबच्चा हेर्नेदेखि घरका काम सासुले गर्थिन् । सुकुनको श्रीमान विदेश थिए । छोराछोरी हेर्ने र घरको जिम्मेवारी सम्हाल्ने उनकी सासु थिइन् । ‘उहाँ नहुनु भएको भए म आज यो स्थानसम्म पुग्दिनथेँ होला,’ उनले भनिन्, ‘मेरो हरेक सफलतामा उहाँ खुसी बन्नुहुन्थ्यो, मलाई छोरी सहर माया र भरोसा गर्नुहुन्थ्यो ।’ यसो भनिरहँदा सुकुनलाई आफ्नो जन्म दिने आमाप्रति गुनासो छैन । उनलाई लाग्छ, त्यो बेलाको समय, परिस्थिति र चलन त्यस्तै थियो, जसले गर्दा उनलाई सानैमा विवाह गर्नुप¥यो । ‘मेरो आमाले मलाई जन्म दिनुभयो, तर म मेरो सासुलाई आमा मान्छु, सानैमा विवाह भए पनि बुहारी भएर बस्नुपरेन,’ भावुक हुँदै सुकुनले भनिन्, ‘आज उहाँ यो धर्तीमा हुनुहुन्न, तर मेरो सफलता पछाडि उहाँको ठूलो हात छ ।’

उनी जिल्लाको महिला त्यो पनि दलित समुदायबाट संघर्ष गरेर स्थापित सफल उद्यमी हुन् । यति हुँदाहुँदै स्थानीय सरकारबाट कुनै सहयोग नपाएकोमा सुकुनलाई गुनासो छ । ‘उहाँहरुले भ्यु टावर, आमा समूह, क्लबको भवन निर्माणका लागि बजेट छुट्याउनुहुन्छ, तर महिला उद्यमी, स्थानीय उत्पादन र व्यवसायको लागि बजेट दिनुहुन्न,’ सुकुन भन्छिन्, ‘हामीले बजेट माग्न गयौं भने बजेट छैन भनेर टारिदिनुहुन्छ, अझैसम्म मैले जिल्लाको स्थानीय सरकारबाट एक पैसा सहयोग पाएकी छैन ।’ उनलाई लाग्छ, अब स्थानीय सरकारले उद्यमशिलतालाई अघि बढाउनु अनिवार्य छ । स्थानीय तहबाट सहयोग नभए पनि आफूलाई जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयले सहयोग गरेको उनले सुनाइन् । महिलाको आर्थिक वृद्धि र उनीहरुको सचेतनाका नाममा लगाइएको नारा, केवल नारामा मात्रै सीमित भएको सुकुनको गुनासो छ ।

अबको सपनाः उद्योग व्यवसाय विस्तार, रोजगार सिर्जना
सुकुनलाई अझै सफलता पाएको जस्तो भने लाग्दैन । ‘व्यवसायलाई अझै अगाडि बढाउनु छ, रोजगारी सिर्जना गर्नु छ,’ उनी भन्छिन्, ‘जातीय छुवाछुत विरुद्धको एउटा लडाईँ लड्नै बाँकी छ ।’ यो सफलताले उनलाई घमण्डी बनाएको छैन, मै हुँ भन्ने सोच सुकुनको मनमा आएको छैन । यही काम गरेरै सुकुनले विभिन्न पुरस्कार तथा सम्मान पाएकी छिन् । सुकुनले गत वर्ष नेपाल उद्योग बाणिज्य महासंघबाट उत्कृष्ट महिला उद्यमीको सम्मान प्राप्त गरिन् । त्यस्तै, लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ तथा अन्तर्राष्ट्रिय नारी सम्मान कार्यक्रममा सम्मानित भइसकेकी छिन् । यति मात्रै होइन, केही दिन अगाडि आयोजना गरिएको ‘स्ट्याण्डर्ड चाटर्ड न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ बाट सम्मानित भएकी छिन् । ७ वटा विधामा १३ जनालाई प्रदान गरिएको यो अवार्ड पाउने सुकुन गण्डकी प्रदेशकी एक्ली प्रतिनिधि हुन् । उनको नाममा डकुमेन्ट्री समेत बन्दै छ ।

सुकुनलाई अहिले सबैभन्दा नराम्रो लाग्ने कुरा भनेको भ्रुण हत्या हो । महिला प्रजनन् क्षेत्रमा काम गर्ने भएकाले धेरै ठाउँमा लिंग पहिचान गरेर छोरी भएको अवस्थामा भ्रुण हत्या गरेको उनले थाहा पाएकी छिन् । सुकुनलाई लाग्छ यो अपराध हो । ‘छोरी भएर जन्मनु पाप होइन, यसमा त गर्व गर्नुपर्छ, हामीमा त्यस्तो धेरै शक्ति छ, जुन पुरुषमा छैन,’ उनी भन्छिन् । छोरीले समाज र देशका लागि धेरै काम गर्न सक्छन् र छोरा भन्दा कम हुँदैनन् भन्ने बुझाउन जरुरी रहेको सुकुनको बुझाई छ । उनलाई लाग्छ, यो समाजमा छोरी जन्मिँदा र आफू छोरी भएर जन्मिएकोमा दुःख मान्ने अझै छन् । ‘छोरी भएर जन्मिएकोमा गर्व गर्नुस्, महिला पुरुष भन्दा कम छैनन्, उनीहरु शक्तिको प्रतीक हुन्,’ सुकुन भन्छिन्, ‘लिंग पहिचान गरेर छोरीको भ्रुण हत्या नगर्नुस्, छोरीलाई जन्म दिनुस्, उसले बाँच्न पाउनुपर्छ, संसार देख्न पाउनुपर्छ ।’

महिलाले अवसरको खोजी आफैँ गरेर परनिर्भरताबाट माथि उठ्नुपर्नेमा उनको जोड छ । ‘अहिले पनि धेरै महिला आफ्नो लागि निर्णय गर्न सक्दैनन्, बाबा, श्रीमान, वा अन्य पुरुष पात्रसंग सल्लाह गर्छन्,’ उनी भन्छिन्, ‘म भन्छु आफ्नो लागि आफैँ निर्णय गर्नुपर्छ, आफूले आफैँलाई विश्वास गर्नुपर्छ ।’ नेपालमा अहिले पनि महिला घरेलु हिंसा सहन बाध्य छन् । केही घटना बाहिर आए पनि कैयन घटना घरमै सीमित बन्छन् । सुकुन भन्छिन्, ‘हिंसा सहनु हुँदैन, हिंसा गर्ने मात्रै होइन, सहनु पनि अपराध हो ।’ महिला हिंसा अन्त्य गर्ने हो भने उनीहरु आर्थिक रुपमा सबल बन्न जरुरी रहेको उनले बताइन् । ‘जबसम्म महिला आर्थिक रुपमा मजबुत र सक्षम हुँदैनन्, तबसम्म महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘जति ठूला–ठूला नारा लगाएर महिला अधिकार सम्बन्धी काम गरेपनि आर्थिक सुधार नहुँदासम्म महिला हिंसा रोकिनु असम्भव हो ।’

 

२०८०, २९ असार शुक्रबार ०५:३४
कथालिका नयाँ कथा
कथालिका