कौराह नाचको निरन्तरता र संरक्षणमा नयाँ पुस्ताको आकर्षण र जिम्मेवारी घट्दो छ । यही क्रम जारी रहे अबको दशक पछि कसले नाच्ला कौराह ? यो विषय निकै सोचनीय छ ।
पोखरा औद्योगिक क्षेत्रकी इसु थापाको उमेर बल्ल १७ वर्ष पुग्यो । आधुनिकता र विलासीपूर्ण जीवनको रहर जागृत हुने बेला । उनी आधुनिक दुनियाँसँग पुरै बेखबर त छैनन्, तर आफ्नै संस्कार र संस्कृति उनलाई प्रियकर लाग्छ ।
कहीकतै कार्यक्रममा सहभागिताका लागि निम्तो आएको खण्डमा आफ्नै समूहका साथीसंग कौराह नाच्न पुगिहाल्छिन् । उनलाई सुरुआतदेखि नै आफ्नो पहिचान र संस्कृति बोकेको कौराह नाच प्रति विशेष मोह थियो । चाउथे कदममार्ग इकाई समिति पोखरा १४ ले कौराह नाच सिकाउन थालेपछि यो नाच नाच्ने धोको पुरा भएको छ । सुरुमा सिकाउने रहेछ यसो सिकिहालौं न त भन्ने सोंचले इसु नाच सिक्न गएकी थिइन् । सिक्ने चाहना अहिले इसुका लागि सोख बनेको छ, कहींकतै खैँजडी मजुराको ताल बजे पनि रोकिएर बस्न मन लाग्दैन, मन त्यसै त्यसै नाचका लागि आतुर हुन्छ ।
कौराह गीत नाचका विषयमा अञ्जान युवा पुस्ता
सुरुआतमा त उनलाई कौराह किन र कसरी नाचिन्छ ? यसको महत्व र इतिहासको विषयमा थाहा थिएन । नाच्न सिक्दै गएपछि भने पुर्खाको धरोहर भएको थाहा पाएको इसु बताउँछिन् । ‘मलाई नाच भन्ने थाहा भए पनि यसको विषयमा अन्य जानकारी थिएन,’ उनी भन्छिन्, ‘अहिले सिक्दै जाँदा हाम्रो समुदायको संस्कार, संस्कृति र पहिचान रहेछ भन्ने थाहा भयो ।’
कौराह नाच मगर समुदायको धरोहर र पहिचान हो । यद्यपि, अहिले अधिक युवापुस्ताले यसलाई बेवास्ता गरिरहेका छन् । यसको मुख्य कारण भनेको पश्चिमा संस्कृतिको प्रभाव, रोजीरोटीका लागि बैदेशिक फरक संस्कृतिलाई अबलम्बन र प्रविधिको विकास भएको स्थानीय अगुवा बताउँछन् ।
बाह्य संस्कृतिको बारेमा धेरै जानकारी तर आफ्नै मौलिक कला संस्कृतिका बारेमा अधिकाशं युवा अहिले बेखबर देखिन्छन् । लोप हुन लागेको कौराह नाचको परम्परामा पनि युवा पुस्तामा उस्तै समस्या देखिन्छ । केही पुराना पुस्ता भने आफ्नो समुदायको परम्परालाई जोगाउन सक्रिय छन् ।
लोपोन्मुख संस्कृति बचाउन पुरानो पुस्ताको जोड
लोपोन्मुख कौराह नाच सिक्न सिकाउन पनि पुरानो पुस्ताको जोड छ । ‘समुदायगत परम्पराको विषयमा जान्न चाहने व्यक्तिले सिक्न चाहेका छन् ।’ कौराह सिकाउन जोडबल गरिरहेका पूर्ण पुलामीले भने, ‘तर अहिले धेरैले भुल्दै गइरहेका छन्, यसको बारेमा समुदायलाई जानकारी दिन आवश्यक भएकाले हाम्रै समुदायकालाई महत्व दिएका छौं ।’
पुलामी पोखरा झरेको करिब १९ वर्ष भयो । स्याङ्जाको हरिनास गाउँपालिका चित्रेका उनी गाउँमै हुँदा कौराह नाच्ने, खैँजडी बजाउने र गीत गाउने गर्थे । हाल पोखराको माटेपानीमा बस्ने उनले गाउँ छोडेपनि गाउँको संस्कार चटक्कै माया मार्न सकेका छैनन् । हाल नेपाल मगर संघ माटेपानी इकाई पोखराका अध्यक्ष रहेका उनलाई सधैं लाग्थ्यो, यो कौराह नाच्ने परम्परा लोप हुन दिनु हुँदैन । त्यसैले ‘चाउथे कदममार्ग एकाई समिति पोखरा १४’ को आग्रह अस्वीकार गर्न सकेनन् । यही समितिको आग्रहमा उनले नयाँ पुस्तालाई कौराह नाच्ने र गाउने परम्परा सिकाइरहेका छन् । उनको मुख्य विषेशता भनेको खैँजडी बजाउनु हो, यी बाहेक कौराह नाच्न र गाउन सक्छन् । उनलाई लाग्छ, नयाँ पुस्तामा कौराहको विषयमा जान्ने, नाच्ने र गाउने बारेमा चाँसो छैन । ‘नयाँ पुस्तामा कौराह र यसको इतिहासका विषयमा बुझ्ने कोसिस गरेको देखिँदैन ।’ उनी भन्छन्, ‘घरमा गएर बल गर्नुपर्छ, उनीहरुलाई सकेसम्म सम्झाउन र बुझाउनुपर्छ ।’ कहिलेकाहीं माटेपानी इकाईको अध्यक्षको नाताले नयाँ युवालाई आफ्नो संस्कार र परम्परालाई जोगाउनुपर्छ, लोप हुन दिनु हुँदैन भनिरहेका हुन्छन् पूर्णबहादुर । तर धेरैले सिक्न र जान्नै चाहन्नन् संस्कार र संस्कृतिको विषयमा । ‘घरघरै गएर भनिरहँदा धेरैले मान्दैनन् ।’ उनले भने, ‘जतिले परम्परा जोगाउन केही भए पनि इच्छा राख्छन्, उनीहरुलाई हामीले सिकाउँछौं ।’
निःशुल्क सिकाइदै, तर चासो र निरन्तरतामा कमी
कौराह गाउन, नाच्न र खैँजडी बजाउने परम्परा धेरै जस्तो लोप हुन लागिसकेको छ । सम्बन्धित समुदायभित्रका थोरै युवाले यो परम्पराका विषयमा रुचि देखाउने गरेका छन् । थोरै मध्येमा पर्छिन् पोखरा कै चाउथेकी १५ वर्षीय रितिका थापा मगर । सानै उमेरमा उनले कौराह नाच्न सुरु गरिसकेकी छिन् । धेरै अभिभावकको चिन्ता हुन्छ, आफ्नो सन्तानले पढाईका ध्यान दिँदैनन् कि भन्ने । किनकि नेपाली समाजमा कला र खेललाई करियरका रुपमा अगाडि बढाउन चाहने सन्तानलाई अभिभावकले खासै साथ दिँदैनन् । तर, यी १५ वर्षीया रितिकाले आफ्नो पढाई र परम्परा जोगाउने कार्यलाई एकैसाथ अगाडि बढाइरहेकी छिन् । ‘नाच्ने सिक्ने भनियो सिकियो, खासै थाहा थिएन ।’ मुसुक्कै मुस्कुराउँदै उनले भनिन्, ‘सिकेर हेरौं न भनेर कौराह सिकेको अहिले यसमै दिल बसिसक्यो । त्यति सजिलै छोड्न सकिन्छ जस्तो लाग्दैन ।’ नाच्न थालिसके पछि यो आफ्नो समुदायको पहिचान रहेछ भन्ने आफूले जानकारी पाएको रितिकाले बताइन् । पढाईका साथै कार्यक्रममहरुमा आफ्नो कौराह नाच्ने कला प्रस्तुत गर्नु रितिकाले समय व्यवस्थापन गरिरहेको बताउँछिन् ।
पोशाक लगाएर, भाषा बोलेर मात्रै मौलिक कला, संस्कार, संस्कृति र परम्परा जोगिदैन । यसको संरक्षणका लागि सम्बन्धित समुदायको अग्रसरता, सरकारको लोपोन्मुख ऐतिहासिक कला संस्कृतिको संरक्षण नीति, आम नागरिकको साथ अपरिहार्य छ ।
अशोक आले मगरले कौराह गाउने, खैँजडी बजाउने र नाच्न सिकाउन थालेको कहिलेबाट हो, ठ्याक्कै मिति भन्न सक्दैनन् । तर, उनलाई थाहा छ, सिकाउन सुरुआत गरेको धेरै भइसकेको छ । उनी आजकै पुस्ताका प्रतिनिधि हुन् । उनलाई सानैबाट आफ्नो परम्परालाई जोगाउनुपर्छ भन्ने लाग्थ्यो । त्यसैले आफूले जानेका कुरा सिकाउँछन् केही नयाँ भाइबहिनीलाई । ठ्याक्कै यति उमेर समूहकालाई सिकाइन्छ भन्ने हुँदैन । अशोकले विद्यालय तहदेखि कलेज, ब्याचलर पढ्ने उमेर समूहकालाई सिकाइरहेका छन् । उनलाई लाग्छ, हाल युवापुस्तालाई सबैभन्दा बढी तान्ने भनेको गीत संगीत र नाचले हो । ‘अहिलेको पुस्ता भाषण लगायतका कार्यक्रम छ भन्यो नाक खुम्च्याउँछ, तर परम्परागत नाचले उनीहरुलाई आकर्षित गर्छ, गर्न सकिन्छ । यस मार्फत संस्कृति संरक्षणमा जिम्मेवार र उत्तरदायित्वको बोध गराउन सकिन्छ’ उनले भने ।
लामो समयदेखि सिकाइरहेका अशोकले सिकाए बापत् शुल्क लिँदैनन् । हालसम्म निशुल्क सिकाउनुको उद्देश्य अशोकको आफ्नो परम्परागत नाचको जर्गेना तथा युवापुस्तालाई आफ्नो समुदायको पहिचानका विषयमा जानकारी दिनु हो । ‘आफ्नो संस्कार, परम्परा, संस्कृतिलाई जोगाउनुपर्छ भन्ने हेतुले निशुल्क सिकाउने गरेको छु’ उनी भन्छन् । अशोकका अनुसार सिकेपछि निरन्तर रुपमा यसमा लाग्नेको संख्या न्यून छ । यद्यपि सिकेकाले आफ्नो परम्परा र संस्कारका विषयमा जानकारी पाएर जर्गेना गर्नुपर्छ भन्ने बुझेकोमा भने अशोकलाई खुसी लाग्छ । ‘सिकेका धेरै बाध्यताले विदेशिएका छन्, जिम्मेवारी थपिएपछि छोडेका छन्, र युवतीको कुरा गर्ने हो भने उनीहरु विवाह भएर गएका छन्,’ उनी भन्छन्, ‘तर जतिले सिकेका छन्, उनीहरुले आफ्नो पहिचान, संस्कार र परम्परालाई जर्गेना गर्नुपर्छ भन्ने बुझेका छन्, यो महत्वपूर्ण विषय हो ।’
पढाइसँगै परम्परा जोगाउन सक्रिय नभएका पनि होइनन्
१९ वर्षीया पवित्रा थापा मगर कौराह नाच सिकेर कार्यक्रममा कला प्रदर्शन गर्न थालेको लामो समय भइसकेको छ । केही वर्ष अगाडिबाटै उनले आफ्नो पहिचान र पूर्खाको इतिहास बोकेको यो नाच सिकेर नाच्न थालेकी हुन् । सुरुमा त उनले कौराहको विषयमा खासै जानकारी लिएकी थिइनन् । टिभीमा सामान्य कौराहमा भिडियो देखेकी उनलाई खैँजडीको तालमा आफैं नाच्न पाउँदै औधी खुसी लाग्छ । ‘टिभीमा देख्दा सामान्य लाग्थ्यो, तर अन्य गीत भन्दा खैँजडीको तालमा कौराह नाच्दा छुट्टै आनन्द आउँछ ।’ उनी भन्छिन्, ‘यसबाट हामीले पूर्खाको विरासत बचाउन सकेका छौं, परम्परालाई कायम राख्ने कोसिस सफल भए जस्तो लाग्छ ।’ परम्परागत पोशाक लगाएर खैँजडीको तालमा कम्मर मर्काउन पाउँदा सबैभन्दा खुसी र आनन्द मिल्दो रहेछ पवित्रालाई । श्वास र शरीरमा बल रहेसम्म कौराहमा नाच्ने उनको रहर रहेछ । उनको परिवारबाट समेत उनी यसरी हिँडिरहँदा कुनै समस्या छैन । झन् आफ्नो संस्कार जर्गेनाका लागि हिँडिरहँदा खुसी हुन्छन् ।
जिया राना मगरको पनि अनुभव पवित्राको भन्दा फरक छैन । पोखरा चाउथे घर भएकी १९ वर्षीय जियालाई मगर समुदायको कौराह नाच जर्गेना गर्न आफूले थोरै मात्र योगदान दिएको छु भन्दा आनन्द महसुस हुन्छ । सुरुमा केही नगर्नु भन्दा सिकेर हेरौं न, केही जानिन्छ र बुझिन्छ भन्ने हिसाबले सिक्न थालेको भए पनि उनलाई अहिले आफ्नै समुदायको लोप हुन थालेको संस्कारलाई जोगाउन लागेको रहेछु भन्ने हुन्छ । कौराहलाई सुरुआती समयमा सामान्य नाच होला भन्ने सोचेकी उनले यसको विषयमा जानकारी पाउँदा नतमस्तक भएकी थिइन् । ‘मैले यो नाचलाई सामान्य सोचेको थिएँ, सिक्दै जाँदा धेरै जानकारी पाएँ ।’ उनले भनिन्, ‘अब आफूले यो भन्दा बढी सिकेपछि अरुलाई सिकाउने लक्ष्य हो ।’ लोप हुन लागेको मगर समुदायको चर्चित यो संस्कार जोगाउन समुदाय एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ ।
केहीले सन्तानको पढाई बिग्रिन्छ कि भन्ने सोचले सिक्न हुँदैन भनिरहेका हुन्छन् । जियालाई भने सबैतिर सन्तुलन मिलाएर अगाडि बढ्न सके परम्परा जोगिन्छ र सन्तानको पढाई तथा भविष्य बिग्रिदैन भन्ने लाग्छ । ‘मैले समयको सन्तुलन मिलाएर आफूलाई अगाडि बढाइरहेको छु, कहिलेकाही निरन्तर कार्यक्रम परिरहेको हुन्छ, पुगिरहेको हुन्छु र पढाई जारी छ ।’ उनी भन्छिन्, ‘जातीय पहिचान बोकेको पोशाक लगाएर हिँडेर मात्रै हुँदैन, परम्परा जोगाउनु छ भने समुदायकाले आफ्नो सन्तानलाई परम्परा, संस्कार, संस्कृति र रीतिरिवाजको विषयमा जानकारी दिनुपर्छ ।’
‘पोशाक लाएर मात्र मौलिकता र संस्कृति जोगिदैन’
कौराह नाचको निरन्तरता र संरक्षणमा नयाँ पुस्ताको आकर्षण र जिम्मेवारी घट्दो छ । यही क्रम जारी रहे अबको दशक पछि कसले नाच्ला कौराह ? यो विषय निकै सोचनीय छ । चाउथे कदममार्ग इकाई समिति पोखरा-१४ की अध्यक्ष सुनमाया आलेमगर समुदायको परम्परालाई जोगाउन भाषा र पोशाक मात्रै होइन, कौराह नाचलाई संरक्षण गरिनुपर्छ भन्ने हेतुले आफूहरुले परम्परागत कौराह नाच नयाँ पुस्तालाई सिकाइएको बताउँछिन् । ‘आगामी पुस्ताले कौराह भन्ने थियो रे भन्ने कुरा पुस्तकमा मात्रै देख्न पाउँछन् कि भन्ने हाम्रो चिन्ता हो,’ उनी भन्छिन्, ‘त्यसैले हामीले कौराह नाच खैँजडीको तालमा र मुखले गीत गाएर नयाँ पुस्तामा बानी पार्न खोजेका हौं र केही हदसम्म सफल भयौं जस्तो लाग्छ ।’ उमेर पुगेका र जिम्मेवारी लिएपछि केहीले सिक्न छोडेको अध्यक्ष सुनमायाले बताइन् । तर पनि सिक्ने र सिकाउने प्रक्रिया चलिरहेको उनको भनाई छ ।
उनीहरुले सिकाउने समयमा कुनै उमेर हद हेर्दैनन् । इकाईमा पहिले खबर गर्नुपर्छ । सिक्ने र सिकाउने क्रममा अफ्ठ्यारो परिस्थिति नआएका होइनन् । यस्ता जटिल परिस्थितिलाई पार गरेर नयाँ पुस्तालाई चाउथे कदममार्ग इकाई समितिले खैँजडीको तालमा मुखले गीत गाउँदै कौराह नाच्न सिकाइरहेको छ । ‘केही सानो उमेर समूहकालाई सिकाउँदा गाह्रो हुने रहेछ, उनीहरुले पढाईलाई ध्यान दिनुप¥यो, कौराह सिक्नुप¥यो, यसले केही अफ्ठ्यारो हुन्छ ।’ उनी भन्छिन्, ‘त्यस्ता नानीहरुले कौराह सिक्न झन् मेहनत गरिहेका हुन्छन्, त्यसैले समस्या, चुनौतीलाई पार गरेर सिक्ने र सिकाउने प्रक्रिया जारी छ ।’ कौराह सिकाउने क्रममा सिकाउने टोलीले परिवारलाई विश्वस्त पार्छन् अनि मात्रै सिकाउन सुरु गर्छन् ।
सुनमायालाई लाग्छ, भाषा बोलेर र पोशाक लगाएर मात्रै मगर समुदायको परम्परा जोगिने होइन । नयाँ पुस्ता पश्चिमा संस्कृतिमा ढल्किने क्रम बढिरहेको अवस्थामा उनीहरुलाई आफ्नै संस्कार र परम्पराका विषयमा जानकारी दिनु अहिलेको आवश्यकता हो । ‘आफ्नै मौलिक कला संस्कृति, परम्पराको विषयमा केही थाहा छैन र वास्ता हुँदैन भने पोशाक लगाएर तथा भाषा बोलेर मात्रै जातीय परम्परा जोगिने होइन,’ उनी भन्छिन्, ‘पोशाक त आजभोलि जसले पनि लगाउँछन्, यसका लागि लोप हुन लागेका परम्परा, संस्कृति जोगाउन आ आफ्नो तर्फबाट पहल र जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । सरकारले पनि यसमा यथोचित पहल र सहयोग गर्न अपरिहार्य छ ।’